20220303

पार्टीहरू देश र जनतालाई हलाल गर्ने र बेच्ने दलाल बने पछि !

- राजन कार्की

एक विद्वानले भनेका थिए– पार्टीहरू विचारको दलाल हुन् । नेपालका सन्दर्भमा पार्टीहरू देश र जनतालाई हलाल गर्ने र बेच्ने दलाल बने । दलालको धर्म दलाली खानु हो, दलालीका लागि दलालले न आमा भन्छ, न बाबु । नेपाली राजनीतिको सक्कली तस्वीर यही हो ।

टेक्ने खुट्टाले हो, सोच्ने दिमागले । निधारबाट पसिना चुहाउने हो, कर्ममा विश्वास गर्ने हो । राजनीतिले पुस्तालाई सोचेर निर्णय लिनुपर्छ, स्वार्थको थाङ्नामा सुतेर कम्बल ओढेर घ्यू खाने राजनीति राजनीति होइन, व्यापार हो । नेपालमा जे भइरहेको छ, व्यापार भइरहेको छ ।

राजनीतिक व्यापार खुब फस्टाएको छ । लखनौं लूट छ व्यापारमा । राजनीतिमा सेवाभाव, समर्पण र त्याग, बलिदानी सोच भनेको भाषणमा सिमित भइसक्यो । कागजको विकास र भाषणको समृद्धि भनेको व्यापारीको खेलोमात्र हो । यस्तो कार्यले जनजीवनलाई यातनामात्र दिन्छ ।

नेता कस्तो हुनुपर्छ, यसबारे भारतको एउटा उदाहरण यस्तो छ– नेहरु एकदिन एक कार्यक्रम उद्घाटन गर्न गए । एकाएक नेहरुले गार्डलाई सोधे– चुरोट छ ? त्यहाँ चुरोट खान बन्देश थियो, कसैले चुरोट छ भनेनन् । गार्डले चुरोट किनेर ल्याउन मान्छे खटाए । यो देखेर नेहरुले पर्दैन पर्दैन भनिदिए । यति नै बेला नेहरुको टोलीमा गएका एक सदस्यले चुरोटको बट्टा र लाइटर नेहरुलाई दिनखोजे । नेहरुले ती सज्जनलाई भने– भैगो भाइ भैगो, नियम नियम नै हो । प्रधानमन्त्री होस् कि सामान्य नागरिक । नियम सबैका लागि हुनुपर्छ । यति भनेर नेहरुले चुरोट पिउन इन्कार गरिदिए ।

अर्को उदाहरण–सन १९३१ को । अमेरिकाका जानेमानेका पत्रकार वेव मिलर । गान्धी गोलमेच परिषदमा सहभागी हुन गान्धी आएको थाहा पाएर भेट गर्न पुगे । लामो अन्तर्वार्तापछि पत्रकार वेवले अनेकौं ख्यातिप्राप्त व्यक्तिहरुको हस्ताक्षर संकलन गरेको एउटा डिब्बा अघि सारेर गान्धीलाई पनि त्यसमा हस्ताक्षर गरिदिन आग्रह गरे । गान्धीले त्यो डिब्बा हातमा लिएर र वल्टाइपल्टाइ गरेपछि भने– यो त सिगरेटको बट्टा हो । यो बट्टामा कहिल्यै चुरोट नराख्ने भए मात्र म सही गर्छु । वेव मिलरले बचन दिएपछि गान्धीले सही गरे । त्यसपछि त्यो डिब्बामा पत्रकार मिलेर भिजिटिङ कार्ड राख्न थाले ।

रामकृष्ण परमहंस जो ख्यातिप्राप्त विद्वान हुन्, उनी हरेक दिन आफ्नो लोटा आफै सफा गर्थे । उनका शिष्यले एकदिन सोधे– सधैं लोटा सफा गर्नुको रहस्य के हो ? परमहंसले जवाफ दिए– हामीले लोटा जस्तै अन्तर्मनलाई पनि यसैगरी माझ्नुपर्छ । लोटा हरेक दिन माझिएन भने फोहर हुन्छ, नराम्रो संगत, प्रभावले हाम्रो मन पनि दुषित हुन्छ । निरन्तर संष्कारले मनलाई लोटाजस्तैगरी माझ्नुपर्छ । ताकि नराम्रोको मैलोले चरित्र फोहरी नबनोस् ।

नैतिकता सम्बन्धमा अर्को प्रसङ्ग बृटिश प्रधानमन्त्री चर्चिलको अमेरिकी भ्रमणबारे । राष्ट्रपति रुजवेल्ट बिरामी थिए, ह्वील चेयरमा बसेर चर्चिल बसेको कोठामा छिरे, चर्चिल ढोका खुला राखेर नाङ्गै नुहाउँदै थिए । रुजवेल्टले देखिहाले र आपत्ति प्रकट गरे । के गरेको यो लाज त लाग्नुपर्छ । चर्चिलले हाजिरी जवाफ शैलीमा जवाफ दिए– म यही कुरा अमेरिकालाई देखाउन चाहन्छु । बेलायतका लागि के नै बाँकी छ र अमेरिकाका लागि लुकाउनु छिपाउनु पर्ने ?

आँ गर्दा अहंकार बुझिन्छ भनेको यही हो । हाम्रो राजनीति, हाम्रो संसद, सरकार, हाम्रा नेता, नागरिक समाज, बुद्धिजीवीले नैतिकता के हो ? हामीले समाज र देशलाई केही दिनका लागि हामी कस्तो चरित्र र व्यवहारमा उत्रनुपर्छ भन्ने उदाहरण हो यो ।

विश्लेषकहरूले पटक पटक भनिसकेका छन्– हाम्रा शासक, प्रशासकहरू शिवरात्रिमा मेला भर्न भारतबाट आउने नागाबाबाजस्तै हुन् । न ती बाबालाई लाज, शरम, घीन लाग्छ, न हाम्रा नेताहरूलाई । फरक यत्ति छ, नागा बाबा नाङ्गै हिड्छन्, हाम्रा शासक, प्रशासक लुगा त लगाउँछन् तर तिनको चरित्र नागाबाबाभन्दा लज्जाहीन देखिन्छ । यस्तो लज्जाहीन नेतृत्वले सुशासन दिन्छ, शान्ति र समृद्धि ल्याउँछ भन्नु नीतिकथाका सोम शर्माले देखेको सपनाजस्तै हो । जुन हामी निरन्तर देखिरहेका छौं, भोगिरहेका छौं ।

  हो, हामी नाङ नेताको सर्वाङ्गो शासनबाट शासित छौं अर्थात् प्रताडित छौं । लोकतान्त्रिक भनिएका कसैसँग पनि लोकलज्जा नै छैन । बिधिको शासन कागजमा सिमित छ । इमान र नैतिकताको कसीमा घोट्ने हो भने प्रत्येक नेता खोटो देखिन्छ । मुख मीठो छ, मन बिटुलो । अनुहार जुनारजस्तो छ, व्यवहार विषालु सर्पजस्तो । स्वार्थको बिष भरिएको चिप्ला भाषण छ, व्यवहार बद्नाम र दुषित छ । न गृहनीति, न विश्वनीति सबैतिर नेपाल असंलग्न नेपाल नाङ्गै छ ।

अरुले पम्फु भरिदिएपछि मोटाउँछन्, अरुले पम्फु हाल्न छाडेकि हावा फुस्केको बेलुनजस्तो फुस्स हुन्छन् । नेपालको राजनीति भनेको ‘जितनी चावी भरि रामने, उतनी चली खिलौना ।’ नेपाली राजनीतिक नेताहरुको छुनुक मुनुक र फुरफुर त्यतिमात्र हो । भारतको ‘छिमेकी फस्ट’, चीनको बीआरआई अथवा अमेरिकाको एमसिसी, नेपालले अपनाउने शासन पद्धति के हो ? हो, नेपाल गरीब छ र सबैको सहयोग स्वीकार्छ । सहयोग कसरी स्वीकार्ने र कुन तरिकाले विकास गर्ने, स्पष्ट नीति र प्रतिवद्धता नहुँदा सिङ्गो मुलुक विवाद र बहसले बरालिदै गएको छ । यसको अर्थ नेतृत्वमा सक्षमताको अभाव हो । अर्थात, नेपाल आफ्नै खुट्टामा उभिएको छ कि अर्काको टेकोमा ? आफ्नै क्षमतामा शीर उठाइरहेछ कि अर्काको धापमा ? यो यक्ष प्रश्न हो ?

ठूलै जनक्रान्ति छेडियो २०५२ साल फागुन १ गते । १० वर्षे जनयुद्धमा १७ हजार मारिए । परिवर्तन आयो । परिवर्तनपछिका १५ वर्ष सानो अवधि होइन । केही गर्नका लागि २०१७ देखि २०२८ सालको ११ वर्षलाई हेर्न सकिन्छ । २०७८ मा आइपुग्दा पनि हामी त्यही अवधिको संरचनामा बाँचिरहेका छौं । त्यो अवधिका उपलब्धि बेचेर पेट पालिरहेका छौं भने २०६५ को परिवर्तनपछि के ग¥यौं भन्ने स्वभाविक प्रश्न हो ।

परिवर्तनपछि हरेक नेता सत्तामा पुगे । अहिले पनि तिनकै हातमा सत्तामा लगाम छ । लगाम भएर के गर्ने ? प्रगतिको मार्गमा दौडनुपर्ने सत्तालाई स्वार्थको दलदलमा लगेपछि दौडिने होइन, भासिने हो । दिनदिनै सत्ता भ्रष्टाचार, अनीति, हत्या, बलात्कार अर्थात असामाजिक दलदलमा भासिनेक्रम जारी छ । बिद्रोही, असन्तुष्ट सैनिक चुस्ता फुकालेर राजनीतिक पहिरन लगाउँदैमा समाज परिवर्तन हुने होइन रहेछ । परिवर्तनपछि देवत्वकरण भएको नेतृत्वमा न देव छ, न दया, न विवेक । ढुंगामा भगवान देख्ने र ढुंगालाई पूजा गरेर आत्मसन्तोष लिने सोझो नेपाली भावनामा यिनीहरु शोषण र दमनको परेड खेलरहेका छन्, मानौं नेपाल र नेपाली भनेको लुटिनकै लागि कहिल्यै कसैको उपनिवेश नबनेर रहेको पर्ती जग्गा हो । सदावहार नेता सूर्यमुखी झैं फुलिरहेका छन्, संसद, सिंहदरवारमा झुलिरहेका छन् । यिनले बालेको भ्रष्टाचार र दुराचारको आगोमा आमनागरिक झुल्सिरहेका छन् । यो नेतृत्वको पागलपन हो, राजनीति होइन, तिल्के चटकेको झिल्के ब्यापारमात्र हो ।

कपट लोकतन्त्रको छुराजस्तो लाग्ने हतियार हो, जसले बली दिन पालिएको बोकोलाई झैं नेपालीत्व, नेपाली एकताको छातीमा घोपिरहेको छ । राजनीति र प्रशासकले मिलेर रगत पिइरहेछन्, खानेले मान्छेको मासु खाइरहेका छन् । सिंगो मुलुकले महँगो मूल्य चुकाइरहेको छ । परिवर्तन नेपाल र नेपालीका लागि सराप बन्यो ।

जो हरेक पल राजनीतिक हतियार चलाएर पापमात्र गरिरहेका छन्, तिनीहरू लोकतान्त्रिक संघीय गणतन्त्रको प्रवचन दिइरहेका छन् । हामी सुनिरहेका छौं । जो आफुलाई प्रगतिशील, पुँजीवादी समाजवादी ठान्छन् र खुला अर्थतन्त्रको कुरा गर्छन्, तिनीहरु एकदोस्रालाई पाहा पछारेझैं पछारीरहेका छन् । हाम्रो नेतृत्व बेडोइन्स जातिका सन्तानजस्ता लाग्छन्, जो फिरन्ते हुन् र घर कहिल्यै बनाउँदैनन् । जे पायो खायो गर्ने बेडोइन्सजस्तो नेतृत्वले राष्ट्रिय घर बनाउलान् भनेर तिनकै दैलो किन ढुकिरहेका छौं ? जो आफ्नै घर बनाउन आफ्नै खुट्टामा, सिद्धान्त बोकेर उभिन सक्दैन, त्यस्ता भिजेका परालखुट्टेले सबै अट्ने देश घर बनाउलान् ? आमनागरिक किन भ्रमजालोबाट मुक्ति खोज्दैनन् ?

पञ्चायतलाई कालरात्रि भनेर खूब कालोमोसो दलियो ? बहुदल र लोकतन्त्रले के के न देला भनेर मतदान गरेको ग¥यै छौं । न बहुदलले केही दियो, न लोकतन्त्रले । जे दियो, नेतृत्वले लियो । नेतृत्वका आसेपासेले लिए । लोकतन्त्र कति मैलो भइसक्यो । लोकतन्त्र लोकजीवन बन्नै सकेन । यसरी लोकतन्त्रजस्तो सुकिलो व्यवस्थालाई नाली बनाउने नेता अझै हामी चिन्दैनौं भने हाम्रो चेत र चेतना, बुद्धि र विवेकको के अर्थ रह्यो र ?

मन, बचन र कर्मलाई भ्रष्टाचार बनाउने नेतृत्व अर्थात् नैतिक धरातल खुस्केकाहरु लोकतन्त्रका पण्डित बनेका छन् र यिनै पण्डितले स्वर्गानुभूति दिलाइदिन्छन् भनेर हामी आमनागरिक स्वर्गजस्तो समृद्धि कुरिरहेका छौं । नेपाली ज्ञानी छन्, सहनशील छन्, बुझेका छन् तर त्यो ज्ञान व्यवहारमा ल्याउन सकेका छैनन् ।

रामायणकालिन महर्षि परशुराम यति घमण्डी र रिसाहा थिए कि जोसँग पनि लड्न तयार हुन्थे । कतिसम्म भने आफ्ना पिताजी क्षेत्रीयसँगको युद्धमा मारिएपछि उनले क्षेत्रीलाई विद्या नै नसिकाउने संकल्प गरे । त्यो आख्यानको त्यही हठजस्तै हठ पालेका शठहरूले लोकतन्त्रको आवरणमा नेपाली समाजलाई ज्यानमारा, गुण्डा, बलात्कारी, तस्करी, भ्रष्टाचारीजस्तालाई काखी च्यापेर पद्धतिलाई, समाजलाई, राजनीति र लोकलज्जाका सबै सीमा लाघिरहेका छन् । यी यति छाडा साँढेका चरित्र बोकेर कुर्लिरहेका छन् कि यिनलाई साइजमा ल्याउन काँढे कोर्राकै आवश्यकता छ । तर काँडे कोर्रा हान्ने कुनै बलिदानी ताकत अझै देखिएको छैन । मानौं, नेपाल र नेपाली समाजले मूल्य चुकाउनै बाँकी छ ।

इतिहासको एक दिन, २००४ साल, वीपी नजरवन्दमा थिए र उनको स्वास्थ्य खराव थियो । भारतका महात्मा गान्धी, डा.राममनोहर लोहिया, डा.राजेन्द्रप्रसादले श्री ३ पद्मशमशेरलाई पत्र लेखेर उपचार गर्न पठाइदिन आग्रह गरेका थिए । समय कति बदलियो, अहिले त सिपाहीलाई जर्नेलले दिने आदेशमात्र आउँछ । मानौं नेपालको राजनीति विदेशमेड रिमोटले पो चल्छ । हाम्रा लागि लोकतान्त्रिक संघीय गणतन्त्र बालकको टाउकोमा डोकोको भारी बोकाएजस्तो भएको छ । लोकतन्त्र नेता र पार्टी कार्यकर्ता चराउने गौचरणजस्तो भयो । लोकतन्त्रमा लोकको ओजन रहेन, लोकलाई भोजन भएन ।

 

GO TO HOME PAGE

Go to Home Page
click on this logo for home page

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक