20220514

भारतीय प्रधानमन्त्री कार्यालय र विदेश मन्त्रालयका अन्य केही अधिकारीका साथमा मोदी लुम्बिनी आउने


 लुम्बिनी / प्रधानमन्त्री शेरबहादुर देउवा पाचौंपटक प्रधानमन्त्री भएपछि उनलाई भारतीय समकक्षी नरेन्द्र मोदीले २ जेठमा बुद्ध जयन्तीको अवसरमा तेस्रोपटक भेटवार्ता गर्ने भएका छन् । यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा भारत भ्रमणको क्रममा भेट भएको थियो । ४४ दिनपछि दुई समकक्षी देउवा र मोदी तेस्रोपटक भेट गर्न लागेका हुन् ।

नेपालसँगको चिसोपनलाई मत्थर बनाउन मोदीले योपटकको बुद्धजयन्तीको अवसरमा गर्न लागेको भ्रमणको सदुपयोग गर्न सक्नेछन् । लुम्बिनीमा हुने भेटमा देउवा र मोदीबीच देउवाको पछिल्लो भारत भ्रमणका क्रममा भएको सहमति कार्यान्वयन’ छलफल हुनेछ । लुम्बिनीलाई भारतका बोधगया, सारनाथ र कुसीनगरसँग जोडेर बौद्ध सर्किट अघि बढाउने विषयमा समेत दुई प्रधानमन्त्रीबीच छलफल गर्ने तयारी छ । भारत सरकारले लुम्बिनीमा बौद्ध संस्कृति तथा परम्परा केन्द्र निर्माण गर्ने भएको छ । प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री मोदीले केन्द्र निर्माण शिलान्यास गर्ने कार्यक्रम छ । मोदीसँगको भेटमा पश्चिम सेती जलविद्युत् आयोजना भारतीय कम्पनीलाई ठेक्का दिने’boutमा देउवाले सार्वजनिक कार्यक्रमबाटै बताइसकेका छन् । यसअघि पश्चिम सेती जलविद्युत् आयोजनाको काम चिनियाँ कम्पनी थ्री गर्जेजलाई दिएको भए पनि समयमा काम अघि नबढ्दा समस्या भएको थियो । चिनियाँ कम्पनीलाई जिम्मा दिएको सो आयोजना काम हुन नसकेपछि सरकारले सम्झौता रद्द गरिसकेको छ । मोदी लुम्बिनीमा आयोजना हुने विशेष पूजाआजा तथा ध्यानमा केन्द्रित हुनेछन् । उनले ध्यान केन्द्रमा करिब १ घण्टा बिताउने कार्यक्रम छ ।

यसअघि १९ चैतमा देउवा र मोदीबीच नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा पहिला एकल र त्यसपछि प्रतिनिधिमण्डलस्तरमा द्विपक्षीय बैठक भएको थियो । त्यसको डेढ महिनापछि देउवा र मोदीबीच फेरि दिवा भोजसहितको बैठक तय भएको हो । देउवा प्रधानमन्त्री भएपछि समकक्षी मोदीसँग गत नोभेम्बर पहिलो साता संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलनका दौरानमा स्कटल्यान्डमा पहिलो भेट भएको थियो । त्यसपछि देउवा चैत १८ देखि २० सम्म मोदीको निम्तोमा नयाँ दिल्ली गएका थिए । मोदी २०७१ मा पहिलोपटक प्रधानमन्त्री भएलगत्तै नेपाल आएका थिए । यसबीचमा उनी चारपटक नेपाल आइसकेका छन् । दुुईवटा भ्रमण धार्मिक तीर्थाटनसँग जोडिएको छ । यसअघिको नेपाल भ्रमणका क्रममा मोदीले लुम्बिनी भ्रमणमा आउने धोको रहेको बताएका थिए । पाँचांै भ्रमणमा मोदीको लुम्बिनी भ्रमण गर्ने इच्छा पूरा हुन लागेको हो ।

मोदीले पहिलोपटक २०७१ साउन ३ र ४ मा नेपालको राजकीय भ्रमण गर्दा पशुपतिनाथको दर्शन गरेका थिए । त्यस्तै, मोदी दोस्रोपटक २०७१ मंसिर १० र ११ मा काठमाडौंमा भएको १८औं दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को शिखर सम्मेलनमा भाग लिन आएका थिए । त्यसबेला मोदीले तत्कालीन पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफसँग हात मिलाउँदा चर्चा चलेको थियो । भारतीय विदेश सचिव विनय मोहन क्वात्रा, नेपाल डेस्क प्रमुख अनुराग श्रीवास्तव, भारतीय प्रधानमन्त्री कार्यालय र विदेश मन्त्रालयका अन्य केही अधिकारीका साथमा मोदी लुम्बिनी आउनेछन् ।


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक