20220915

आफू चर्चामा आउनकै लागि मानिस कतिसम्म गर्न पछि पर्दैन भन्ने कुरा आजकल सामाजिक संजालमा आँखा लगाए मात्र पनि प्रष्ट हुन्छ !

- सुन्दर शर्मा

हिजोआज सोसल मिडियाको प्रयोग ह्वात्तै बढेको छ । तर, कहाँ र कस्तो अवस्थामा यसको प्रयोग गर्ने भन्ने कुराको भेउ नपाउँदा सदुपयोग भन्दा दुरुपयोग बढी भैरहेछ । फेसबुक, इन्स्ट्राग्राम, ट्विटर, युट्युब, टिकटक आदि जस्ता सोसल मिडियामा अनावश्यक र अनुत्पादक सामग्री तथा फोटो पोष्ट गर्ने कार्यले समाजमा भद्दा मजाक गरिरहे जस्तो लाग्छ । कतिले पश्चिमा संस्कृतिको अनावश्यक सिको गरिरहेछन् । राम्रो कार्य र संस्कारको अनुशरण गर्नु त ठिकै हो तर हामी आँखा चिम्लेर आधुनिकताको नाममा कैयौँ विकृति निम्त्याइरहेका छौँ । वर्तमान समयमा प्रविधिले हामीलाई यति धेरै सुविधा दिएको छ कि त्यसको सही प्रयोग भएमा विश्व आफ्नै कोठामा भेट्न सकिन्छ । हाल उपलब्ध विभिन्न सोसल मिडियाले ब्यक्तिको बौद्धिक विकासमा अब्बल भुमिका खेलिरहेको छ- त्यसको सही र उचित प्रयोग गरेमा । तर, धेरैजसोले यस्ता प्लेटफर्मको दुरुपयोग गरिरहेछन् ।


आफू चर्चामा आउनकै लागि मानिस कतिसम्म गर्न पछि पर्दैन भन्ने कुरा आजकल सामाजिक संजालमा आँखा लगाए मात्र पनि प्रष्ट हुन्छ । चर्चाको लागि ‘वाहियात हर्कत’ पोष्ट्याइरहेको भेटिन्छ । ती पोष्टले न पाठक र दर्शकलाई फाइदा पुग्छ न त स्वयम् पोष्ट्याउने ब्यक्तिलाई फाइदा हुन्छ । यस्ता हर्कतले दिन-प्रतिदिन एक प्रकारको नशामा लठ्ठीरहेका छन् सोसल मिडिया प्रयोगकर्ताहरू ।


यहाँ आफूले प्रत्यक्ष महसूस गरेका र चित्त नबुझेका केही उदाहरण प्रस्तुत गर्दैछु । यो लेखोट कसैको जिवनमा मेल खान्छ भने त्यो एक संयोग मात्र हुनेछ ।


सामाजिक संजालमा श्रद्धाञ्जली :

कसैको मृत्युमा श्रद्धाञ्जली दिन कति हतार हो मान्छेलाई । अस्पतालमा भएको मृत्युको खबर परिवारसम्म नपुग्दै बाहिरकाले फोटोसहितको श्रद्धाञ्जली सामाजिक संजालमा पोस्ट गर्दै आफू चर्चामा आउने यो कस्तो परम्परा बसाउँदै छौँ हामी ?


मृत्युको शोकमा डुबेको परिवारको भावनाविपरीत मानवता बिर्सिएर अन्तिम संस्कार हुन नपाउँदै श्रद्धाञ्जली लेख्न कति हतार हो यी फेसबुकेहरूलाई ! मानौँ साँच्चिकै उनिहरूलाई यो मृत्युले अपुरणिय क्षति भए जसरी । जिउँदो हुँदा वर्षौंवर्षसम्म पनि भेटघाट र सन्चोबिसन्चोको वास्ता नगर्नेले फेसबुकको भित्ता श्रद्धाञ्जलीले रङ्गाएको पटक्कै नसुहाउने । मृतकको लाससँगै कालो चस्मा पहिरिएर फोटो खिचि सामाजिक संजालमा पोस्ट गर्दै हार्दिक श्रद्धाञ्जली रे !!


कति त मलामी जाँदा र बाढिपहिरो बस्तीमा अनुगमनमा जाँदा पनि कालो चश्मासहितको फोटो पोष्ट्याइरहेका हुन्छन् । कस्तो अविवेकी र सम्वेदनहीन सोच भएका मान्छे ।


अरुको दु:ख-कष्टलाई पनि रमाइलो उत्सव जसरी लिने यस्ता मानिस देख्दा उदेक लाग्छ । यो फोटो पोष्ट्याउने रोग ‘कोभिड डेल्टा’ भन्दा पनि खतरनाक हुँदैछ ।


विवाह उत्सव आदिको फोटो :

इन्गेजमेन्ट वा बिहेको विभिन्न फोटोलाई परिवारका विभिन्न सदस्यले पोष्ट्याउने र हेर्नेले प्रत्येक फोटोमा शुभकामना र बधाई लेख्ने ! उही कार्यक्रमको फोटो एकपटक आमाले, अर्कोपटक बुबाले पोस्ट गर्छन् । केटीले झन् आफ्नो बिहेको फोटो पोष्ट गर्नैपर्‍यो । हजुरबुबा-आमाले पनि रहर गर्छन् । दाजुभाइ र दिदीबहिनीले पनि फोटो राख्नैपर्‍यो । अब पालो आयो सामाजिक संजाल हेर्नेको । के सबैले पोष्ट गरेका उही प्रकृतिका फोटोमा लाइक र कमेन्ट गर्नैपर्छ र ? परिवारमा भएका यस्ता कार्यक्रमको फोटो सबैको पारिवारिक सल्लाहमा एकजनाले पोस्ट गरे हुँदैन र ?


प्लेन चढ्दै गरेको फोटो पनि सामाजिक सन्जालमा पोष्ट्याउनै पर्ने ? यो कति सस्तो लोकप्रियता होला ! मेरा एकजना आफन्तले भर्खरै गाडी खरिद गरे । शोरुममा नै छोराछोरी र श्रीमतीले पालैपालो गाडीको स्टेयरिङ समाएको फोटो सामाजिक सन्जालमा पोस्ट गरे । ४ र ६ पढ्ने छोराछोरीलाई स्टेयरिङ समाउन लगाइ फोटो खिच्ने ती महाशयको बुद्धि कति फराकिलो होला । सायद यसैलाई भन्छन् होला मपाइँ देखाको !


मेरो एक युएस बस्ने साथीले महावीर पुनलाई सहयोग गर्दैछु भनी जानकारी गरायो । उ विगत २५ वर्षदेखि युएस बस्दैछ । नेपालमा पनि प्रशस्त सम्पत्ति भएको हुँदा १०-२० लाख त पक्कै सहयोग गर्छ होला भन्ने लागेको थियो । भोलिपल्टै ५००० रु. सहयोग गरेको प्रमाणसहित आफ्नो बडेमानको फोटो फेसबुकमा पोष्ट्याएको देखियो । महावीर पुन जस्ता अभियन्तालाई उनी जस्ता धनीले १०-२० लाख सजिलै सहयोग गर्न सक्थ्यो । तर उसले सहयोग रु. ५००० गर्‍यो भने आफ्नो विज्ञापनचाहिँ लाखौँको ।


भर्खरै बुबाको मुख हेर्ने चाड मनाइयो । जिन्दगीभर बाबुआमाले सन्तानको लागि धेरै नै त्याग गरेका हुन्छन् । तिनै सन्तानले एक केजी फलफुलसहित बाबुआमाको फोटो पोष्ट्याउँछन् औँशीमा, मानौँ फोटो पोष्ट नगरे त्यो दिनको उपादेयता नै रहँदैन ।


उहिले आमाले बच्चालाई आफ्नै दूध खुवाउँदा पनि सारीको आँचलले छोपेर कसैले नदेख्ने गरी खुवाउँथिन् । तिनै सन्तान अहिले एक केजी स्याउले बाबुआमाको मुख हेर्दा सारा संसारलाई जानकारी गराउन सामाजिक संजालमा फोटो पोष्ट गर्छन् ।


छतको गमलामा रोपेको एक बोट फूललाई चारैतिरबाट फोटो खिचि सामाजिक सन्जालमा राख्ने । अनि हेर्नेले ‘वाउ.. ! ब्युउटीफुल गार्डेन’ भनी कमेन्ट गर्ने । अचम्मै लाग्छ हो मलाई त ।


मन्दिरमा पूजा गर्दै गरेको ब्यक्तिको आँखा क्यामरातिर हुन्छ । शिवलिङ्गमा चढाउनको लागि बेलपत्र हातमा छ । तर फोटो खिच्नकै रन्को छ । मन्दिरमा एकाग्र हुनुपर्ने ब्यक्ति विभिन्न पोजसहितको फोटो खिच्न र टिकटक बनाउनमै ब्यस्त छ । तिनै फोटो पोष्ट गर्दै लेख्छ- जय शम्भो !


कसैको घरमा मिठो खाजा पाक्यो भने पोस्ट गर्नैपर्ने । कतै घुम्न जाँदा सुत्ने बेडको समेत फोटो पेष्ट्याउने । छि: कस्तो मनोदशा भएका होलान् ।


विगत ३२ सालदेखि युरोप बस्दै आएको मेरो एक मित्र २ सालअघि आफ्नी १५ वर्षे छोरी लिएर नेपाल आइपुगे । उनकी छोरीले रामेछाप जिल्लाको एक सरकारी स्कुलका बालबालिकालाई सहयोग गर्ने भन्दै आफू अध्ययनरत स्कुलका बालबालिकाबाट ‘च्यारिटि फण्ड’मार्फत केही रकम जम्मा गरेकी रहिछन् । निर्धारित कार्यक्रम अनुसार सो ५० हजार रकम वितरण पनि गरियो । तर ती बाबुछोरीले आफ्नै खल्तीबाट सहयोग गरेजसरी फोटो सामनजिक सन्जालभरि पोष्ट गर्दै आफ्नो महान् कार्यको विज्ञापन गरेको देखियो । चन्दा दिने सहयोगी हातको नाम त परै जाओस् युकेको सो स्कुलको नामसमेत उच्चारण गर्न आवश्यक ठानेनन् । उनिहरूले आफ्नो महान् कार्यको विज्ञापन विभिन्न सामाजिक सन्जालभरि छापे ।


के विदेशी कल्चरको हुबहु नक्कल गर्न आवश्यक छ ?

विदेशका कयौँ राम्रा कुरा (स्वस्थ खानेकुरा खाने, सोसलाइज हुने, बाबुको पुर्ख्यौली सम्पत्तिमा अधिकार नखोज्ने, सानैदेखि आत्मनिर्भर बन्ने, समयको ख्याल गर्ने, छोरा र छोरीमा कुनै भिन्नता नगर्ने, किताब पढ्ने बानी बसाउने तथा अनुसन्धानात्मक कार्यमा रुचि राख्ने आदि) वास्ता गर्दैनौँ । तर हाम्रो देशको माटो र धर्म संस्कृतिसँग कुनै मेल नखाने संस्कृतिको हुबहु नक्कल गर्न पछि पर्दैनौँ ।


ओझेलमा परेका हाम्रा केही धार्मिक र परम्परागत संस्कारहरूको उदाहरण प्रस्तुत गर्दैछु ।


बुकुवा अर्थात् हल्दी

हाम्रो धार्मिक संस्कारअनुसार छोराछोरीको शुभ विवाहको पहिलो स्टेप बुकुवा घस्ने कार्यबाट सुरु हुन्छ । पिसेको काँचो हलेदो, भुटेर पिसेको तोरीको धुलो, कुमकुम, मह, गुलाबको रस वा फुल, दही आदिको समिश्रणद्वारा तयार पारिएको बुकुवा एक पवित्र सौन्दर्य प्रशाधनको सामग्री मानिन्छ । शुभ दिन र शुभ साइतमा यसको लेपनद्वारा वर र बधुको अनुहार तथा छालामा मसाज गरिन्छ । जसले अनुहारको चमकमा निखारता ल्याउँछ भन्ने मान्यता छ । हाम्रा यस्ता पवित्र संस्कारलाई अनुशरण गर्न झर्को मान्ने अनि शहरको ठुलो होटेलमा ‘मेहेन्दी रश्म’ भन्दै उफ्रिने । यो मेहेन्दी कार्य बरु आयातित हो । बुकुवा (हल्दी) हाम्रै माटो सुहाउँदो संस्कार हो ।


बेबी सावर र गोदभराइ (दहीचिउरा)

विदेशमा मनाइने यो ‘बेबी सावर’को चलन हिजो आज नेपालमा एकादशीको पूजा र बडादशैँको टीकाभन्दा पनि बढी महत्त्वका साथ मनाउने गरिन्छ । विदेशमा गर्भ पहिचानपछि उसको खुशीको लागि सामान्य तरिकाले मनाइने यो बेबी सावर नेपालमा भने बडो तामझामका साथ मनाउन थालिएको छ । नेपालको कानुनअनुसार गर्भको लिङ्ग पहिचान गर्न पुर्ण बन्देज छ । यस्तोमा १० मिटर कपडाबाट बनाएको गाउन र क्राउन पहिरिएर तडकभडकका साथ मनाइने बेबि सावरको औचित्य के ? मात्र सामाजिक संजालमा फोटो पोष्ट गर्नको लागि मात्र ?


हाम्रो आफ्नै संस्कार र संस्कृति छन्- दहीचिउरा खुवाउने वा गोद भराइ ( काख भर्ने) । यो गर्भवतीको गोद भराइ संस्कार हिन्दू धर्ममा महत्वपूर्ण मानिन्छ । गर्भवती भएको ८ महिनामा मनाइने दहीचिउरा वा गोद भराइ कार्य गर्भवतीको लागि साँच्चिकै अविष्मरणीय क्षण हो । घर र माइतीतर्फका आफन्त सामेल भइ मनाइने यो कार्यले गर्भवतीलाई सकारात्मक उर्जा दिन्छ ।


जन्मदा छोरी थियौ, बिहेपछि पत्नी बन्यौ र अब भोलिका दिनमा तिमी आमा अर्थात् जननी बन्दैछौ । तिम्रो स्वरुप र कर्तब्य परिवर्तन हुँदैछ । तिमीले नयाँ नाता प्राप्त गर्दैछौ भन्दै गर्भवतीलाई अविश्मरणीय क्षणको अनुभूति गराइन्छ । यसै खुशियालीमा आफन्तले गच्छेअनुसारको विभिन्न उपहारका साथै धेरै सारा शुभकामना र आशीर्वादले उसको काख भरिदिने । यो पर्व भनेको एउटी नारी आमामा रुपान्तरण हुन थालेको नयाँ दिन र प्रतिबिम्बहरूको सम्झनास्वरुप मनाइने संस्कृति हो ।


यति राम्रो हाम्रो संस्कृतिलाई बेवास्ता गर्दै बेबी सावरको नाममा उठेको भुँडीको विभिन्न कोणबाट फोटो खिच्ने र सामाजिक सन्जालमा पोष्ट गर्दै एक किसिमको व्यापार गरिँदैछ हिजोआज । यो व्यापार केवल कति लाइक र कमेन्ट आयो भनी हेर्ने मात्र हो, अरु केही उपलब्धि हात लाग्दैन । गर्भवतीले भुँडीवाला फोटो सामाजिक सन्जालमा राख्दा मात्र स्वतन्त्रता मिल्ने होइन । नेपाली महिलाले जस्तो उच्छृङ्खल क्रियाकलाप त पश्चिमाहरू पनि गर्दैनन् ।


आधुनिक बन्नु एउटा कुरा हो । तर आधुनिकताको नाममा समाजले पचाउन नसक्ने क्रियाकलाप गर्नुलाई जायज मान्न सकिँदैन । विदेशीका कयौँ राम्रा कार्यको हामी अनुशरण गर्दैनौँ । तर हाम्रो देशको माटो, धर्म-संस्कृतिसँग कुनै मेल नखाने ‘बेबी सावर’ मनाउनचाहिँ मरिहत्ते गर्छौं । चाहे भोलि पकाउन भान्सामा चामल नहोस् तर आज बेबि सावर मनाउनै पर्‍यो । कस्तो बिडम्बना !!


प्रत्येक समाजले आफ्नो सांस्कृतिक मान्यता बनाएको हुन्छ र त्यसैलाई अनुशरण गर्दा आ-आफ्नो धर्म र संस्कृतिको जगेर्ना हुन्छ । आफ्नै मौलिकता बोकेका ऐतिहासिक र सांस्कृतिक रीतिरिवाजले समाजलाई आकर्षक र सृजनात्मक बनाउन सघाउँछ ।


धर्म र समाजप्रतिको जिम्मेवारी, मानवप्रतिको अगाध प्रेम, आ-आफ्नो राष्ट्रियता, धर्म र संस्कृतिप्रतिको सङ्लो आस्था छ भने मात्र त्यो स्वागतयोग्य र सम्मानयोग्य दर्जामा समेटिन्छ ।

अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page

click on this logo for home page

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक