20221125

सम्पन्न निर्वाचन, एमालेको अहिलेको संरचना र अब लिनुपर्ने बाटो

  - गणेश पाण्डे 

१५ बर्ष भएछ, उहाँलाई प्रत्यक्ष भेटेको । ११ बर्षदेखि ईश्वर पोखरेललाई नजिकबाट फलो गरिरहेको छु । उपप्रधानमन्त्री तथा प्रधानमन्त्री कार्यालयको मन्त्री भएका बेला उहाँको सल्लाहकार भएर प्रधानमन्त्री कार्यालयमा डेढ महिनासँगै काम गर्ने अवसर पनि पाएँ। देश कोरोना संकटमा रहेका बेला उहाँ आफैले मेरो टिममा बसेर सहयोग गरिदिनुस् भनेपछि म उहाँको टिममा बसेर काम गरेको थिएँ । बितेको डेढबर्ष उहाँलाई आवश्यक परेको बेला सल्लाह, सुझाव र सहयोग पनि गर्दै आइरहेको छु । उहाँको सरल जीवन, मनका कुरा कोरीबाटी नगरी भन्ने बानी, हुन्छ लाई- हुन्छ र हुन्न लाई हुन्न भन्ने, चिप्लो नधस्ने स्वभावलाई पनि नजिकबाट महसुस गरेको छु ।

यसपालि काठमाडौं क्षेत्र नम्बर ५ को चुनावलाई नजिकबाट हेर्ने मौका मिल्यो । मेरो गृहजिल्ला लमजुङको भन्दा यहाँको चुनाव मेरा लागि धेरै सिकाइ बन्यो । ईश्वर पोखरेलले चुनाव हार्नुभयो । चुनाव हारेकोमा जति मन भारी छ, त्यो भन्दा बढी भारी उहाँमाथिका षडयन्त्र र घेराबन्दीलाई चिर्न नसकेर भएको छ । चुनावमा हारजित भइनै हाल्छ । राजनीतिमा घृणा, अन्याय, अत्याचार, दमन सबै कुरा पनि सहनुपर्छ । तर, काठमाडौं क्षेत्र नम्बर ५ को चुनावको बारेमा धेरै साथीहरुले सोधेकाले केही लेख्ने प्रयास गरेको छु । 

पहिलो कुरा त यसपालि एमालेमाथि चरम घेराबन्दी थियो । राजनीतिक घेराबन्दीमात्र थिएन, देशी-विदेशी शक्तिहरुदेखि मिडियाबाट पनि चर्को घेराबन्दी थियो । तटस्थ भनिएका केही मिडियाको नांगो रुप नै थियो । अर्कोतर्फ अनेक रुप र रंगमा ‘पेड’ मानिसहरु यस क्षेत्रमा उम्मेदवार बनेर आएका थिए । राजनीति नबुझेका तर राजनीतिमा लागेर केही गरौं भन्ने रहर भएका केही क्षमतावान युवाहरुदेखि चरित्रहत्या गर्ने सुपारी लिएर उम्मेदवारको भेषमा आएका एक जना युट्युबे सुरुका दिनदेखि नै योजनाबद्ध रुपमा चरित्रहत्यामा सक्रिय थिए । बाहिरी मान्छेहरुसँग मात्रै होइन्, आफ्नै भनिएकाहरुसँग पनि लड्नुथियो, त्यो लडाईं निकै जटिल थियो ।  

यस्तै यस्तै परिवेशमा काठमाडौं ५ को चुनावी अभियान अगाडि बढेको थियो । जनताको सकारात्मक प्रतिक्रिया नै थियो । तर, मतदानको दुई दिन अघि बुढानिलकण्ठमा बिरामी भएका छिमेकी भेट्न जानुभएका एमाले प्रदेश सभाका उम्मेदवार दीपक निरौलाका सम्बन्धमा यसरी प्रायोजित घटना भयो कि त्यसलाई ‘मेकअप’ गर्ने समय नै भएन । एकातिर बालुवाटारबाट बोलाइएका प्रहरीले सुरक्षाका लागि भनेर निरौलालाई प्रहरी चौकीमा लगियो । बाहिर चाँहि ईश्वर पोखरेलका मान्छे पैसा बाँड्दाबाँड्दै प्रहरीले समातेर थुनेको छ भनेर हल्ला फैलाइयो । मिडियामा पनि तिनै प्रायोजित खबर आए । आफूलाई मैं हुँ भन्ने मिडियाले समेत त्यस घटनाको सत्यतथ्य बुझ्नतिर लागेनन् । एकोहोरो समाचार आयो । निर्वाचन परिचालन कमिटीकी संयोजक शान्ति अधिकारीले तुरुन्तै घटनाका सम्बन्धमा पठाएको प्रेस विज्ञप्ति समेत मिडियाले बेवास्ता गर्यो । काठमाडौंकै घटनामा समेत सत्य र तथ्य नखोज्ने हाम्रा मिडियाका बारेमा म आफैले के टिप्पणी गर्नु र ! मिडियाका कुनै फोरममा कुरा गरौंला । 

अर्कोतर्फ, ईश्वर पोखरेलका नाममा ‘ट्याङ्कीमा पैसा लुकाएको, कोरोनाको बेला अर्बौं लुकाएको’ जस्ता भयानक ‘न्यारेटिभ’ बनाइएको छ । २०६१ साल माघ १९ गते राजा ज्ञानेन्द्रले शाही कू गरेका बेला ईश्वर पोखरेल आपूर्ति मन्त्री हुनुहुन्थ्यो । उहाँ माओवादीबाट हत्या गरिएका एमालेका सांसदको शोकमा सहभागी हुन सप्तरी पुग्नुभएका थियो । नेताहरुलाई जहाँ जस्तो अबस्थामा छ, त्यस्तो अबस्थामा नजरबन्दमा राख्ने राजा ज्ञानेन्द्रको आदेश अनुसार उहाँलाई सप्तरीको एक होटलमा शाही घोषणा हेर्दाहेर्दै प्रहरीले नजरबन्दमा राख्यो । पछि जिल्ला प्रहरी कार्यालयमा लगेर राखियो । त्यतिबेला शेरबहादुर देउवादेखि सबै नेता महिनौंसम्म नजरबन्दमा हुनुहुन्थ्यो । धेरै नेतालाई घरबाट समातेर लगेर प्रहरी हिरासतमा राखिएको थियो । त्यसैक्रममा ईश्वर पोखरेललाई पनि सप्तरीमा राखियो । तर, त्यतिबेला जसरी पनि दलहरुलाई बदनाम गराउने नियतमा लागेका राजा ज्ञानेन्द्र नजिकको एउटा साप्ताहिक पत्रिकाले ‘ईश्वर पोखरेलको घरको पानी ट्याँकीमा पैसा भेटिएको’ जस्ता झुटा समाचार छाप्यो । शेरबहादुर देउवा लगायत थुप्रै नेता विरुद्ध शाही आयोगले मुद्दा लगाउने र बदनाम गराउने काम गरेको थियो । राजाको विरोध गर्ने नेताहरुलाई बदनाम गर्ने, झुटा मुद्दा लगाउने, दुःख दिने काम ज्ञानेन्द्रको शाहीकालमा भएका थियो । त्यतिबेला धेरै दुःख पाउने नेतामा ईश्वर पोखरेल पनि एक हुनुहुन्थ्यो । सर्वोच्च अदालतले छाड्न आदेश दिएपछि उहाँ रिहा हुनुभयो । र, काठमाडौंमा २०–६३ सालको जनआन्दोलनको जनपरिचालनमा लाग्नुभयो । उहाँ जस्तै नेताहरुका कारण आज जनताले गणतन्त्रको अनुभूति गर्न पाएका छन् । तर, १८ बर्षअघिको यही झुटो कुरा अहिले नै भएको जसरी ईश्वर पोखरेलका नाममा अनावश्यक हल्ला गर्ने गरिएको छ । 

अर्कोतर्फ, श्रद्धेय अध्यक्ष केपी ओली नेतृत्वको सरकार, मन्त्रीहरु र उहाँको पक्षमा चट्टानी अडान गर्ने नेताहरुलाई यो बीचमा छानीछानी चरित्रहत्या र मिथ्या प्रचार गर्ने काम गरिएको थियो । त्यसमा बढी प्रहार ईश्वर पोखरेलमाथि भएको थियो । उहाँले गरेका राम्रा कामको त्यतिबेला उपप्रधानमन्त्रीको सचिवालयका तर्फबाट बाहिर लैजाने काम नै भएन । म जतिबेला उहाँको सल्लाहकार भएर प्रधानमन्त्री कार्यालयमा पुगेको थिएँ, उहाँको काम गर्ने तरिका देखेर आफै दंग पर्थें । कोरोनाले गर्दा जनताले दुःख पाएका थिए । कर्मचारीतन्त्रको असहयोग चरम थियो । त्यस्तो अबस्थामा पनि उहाँ दैनिक १५–१६ घण्टा प्रधानमन्त्री कार्यालयमा बसेर समन्वय गर्ने, सिसिएमसीबाट आवश्यक नीतिहरु बनाउने गर्नुहुन्थ्यो । इटाली, अमेरिका, भारत जस्ता सम्पन्नशाली देशले समेत कोरोनाविरुद्धको लडाईं राम्रोसँग लड्न सकेनन् । सीमित स्रोत र साधनका बाबजुद पनि केपी ओली नेतृत्वको सरकारले जनताको ज्यान जोगाउनेदेखि खोप ल्याउनेसम्मको काम गरेको थियो । कोरोनाको परिक्षण गर्ने ल्याब समेत नभएको देशमा ८८ वटा त ल्याब नै स्थापना गरिएका थिए । मान्छे देखेर मान्छे डराउनुपर्ने बेलामा उहाँहरुले गरेको कामको वाहवाही हुनुपर्ने थियो । तर, कसरी ढाल्न सकिन्छ भनेर लागेकाहरुका अगाडि उहाँको केही लागेन । किनकी समाजमा अफवाहहरु निकै छिटो फैलिन्छिन् । बाँचुञ्जेल मान्छे नचिन्ने, झुटा आरोप लगाउने तर मरेपछि वाहवाही गर्ने हाम्रो समाजको रिति नै हो । 

ईश्वर पोखरेलले चुनाव हार्नुभएको मात्रै हो, उहाँको विचारले हारेको छैन् । स्वीजरल्याण्डको छात्रवृत्ति त्यागेर बीए पाससम्मको सबै सर्टिफिकेट र नागरिकता जलाएर नेपालका भूमिहीन गरिबहरुको मुक्तिका लागि धनुषाको चमार बस्तीका जनतालाई संगठित गर्दै भूमिगत राजनीति गरेका र नेपालको अहिलेको मुख्य कम्युनिष्ट धारको रुपमा नेकपा एमालेलाई कोके, माले हुँदै यहाँसम्म ल्याउन अनवरत संघर्ष गरेका नेताको एक दिन समयले मुल्याँकन गर्ने नै छ । तत्कालिन रुपमा उहाँको यो पराजयले उहाँको मन दुःखेको त छ होला, तर यो काठमाडौं क्षेत्र नम्बर ५ को दुर्भाग्य हो । यस क्षेत्रका पार्टी कार्यकर्ता र नेताहरुको पनि दुर्भाग्य हो । अहिलेका कतिपय अनुत्तरित प्रश्नहरुको समयले जबाफ दिन नै छ । उहाँले यो चुनावमा कुनै झुटा आश्वासन दिनुभएन । चर्काचर्का चुनावी नारा पनि ल्याउनुभएन । बिरोधीका बारेमा एक शब्द पनि बोल्नुभएन । बरु, आफैले गरेका काम राम्रोसँग जनतालाई भन्न र बुझाउन सक्नुभएन । आफ्नै पार्टी पंक्तिसँग बढी अल्मलिरहनुभयो, पार्टी बाहिरका शुभेच्छुकहरु, युवापंक्ति र अरु पार्टीका मतदातालाई भेट्न भ्याउनुभएन । 

यसो त एमालेको अहिलेको संरचनामै पनि परिवर्तन हुन जरुरी यो चुनावले देखाएको छ । काठमाडौं जस्तो ठाउँमा माथिल्लो कमिटीमा रहेका नेताहरु न प्रविधि बुझ्छन, न अहिलेको समयको लय बुझ्न सक्छन् । यो चुनावको नतिजालाई सामान्य रुपमा नलिई पार्टीले गम्भीर समिक्षा गरेर आफ्नो संरचनामा व्यापक सुधार नगर्ने हो भने आगामी निर्वाचनमा एमालेका लागि झन् बढी भारी पर्नेछ ।

- यो लेखकको निजी बिचार हो ।   

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक