20221231

आङ सान सुकीलाई भ्रष्टाचारको अभियोगमा सात वर्षको जेल सजाय, पुटिनले अमेरिकी राष्ट्रपति जो बाइडेन, फ्रान्सका इमानुएल म्याक्रोन र जर्मन चान्सलर ओलाफ स्कोल्जलाई नयाँ वर्षको शुभकामना नदिने, उत्तर कोरियाले मिसाइल प्रहार, दक्षिण कोरियाले चाल्यो अर्को कदम !

 म्यानमारको एक अदालतले अपदस्थ नागरिक नेतृ आङ सान सुकीलाई भ्रष्टाचारको अभियोगमा सात वर्षको जेल सजाय सुनाएको छ। नोबेल पुरस्कार विजेताको १८ महिना लामो सुनुवाइ समाप्त गर्दै अदालतले उक्त सजाय सुनाएको हो । सुकीलाई हेलिकप्टर भाडामा लिने, खरिद गर्ने र मर्मतसम्भार गर्ने सम्बन्धमा भ्रष्टाचार गरेको अभियोगमा थप सात वर्ष जेल सुनाएको हो । उनका कार्यले राज्यलाई घाटा पुगेको अदालतले जनाएको छ । सुकीलाई सैन्य सरकारले सन् २०२१ को फेब्रुवरीदेखि नजरबन्दमा राखेको छ । गत साता मात्र संयुक्त राष्ट्रसंघले सुकीलाई रिहा गर्न आग्रह गरेको थियो । उनीमाथि १९ आरोप लागेको थियो । शुक्रबार अन्तिम ५ आरोपमा सजाय सुनाइएको थियो । सुकी लामो समय देखि घरमा नजरबन्दमा विताएकी छन् ।


पत्रकारलाई अदालतको सुनुवाइमा उपस्थित हुन रोक लगाइएको छ भने सुकीका वकिलहरूलाई मिडियासँग बोल्न प्रतिबन्ध लगाइएको छ ।


उता  रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राष्ट्रपति जो बाइडेन, फ्रान्सका इमानुएल म्याक्रोन र जर्मन चान्सलर ओलाफ स्कोल्जलाई अंग्रजेी नयाँ वर्षको शुभकामना नदिने भएका छन् । रुसी प्रशासन क्रेमलिनले उक्त जानकारी दिएको हो ।


विश्व नयाँ वर्षको घण्टी बजाउन तयारी गरिरहेको बेला पुटिनले टर्की, सिरिया, भेनेजुएला र चीनलगायत क्रेमलिन-मैत्री देशका नेताहरूलाई बधाई सन्देश पठाएका छन् ।


तर, पुटिनले युक्रेनमा पुटिनको आक्रमणलाई लिएर मस्कोमाथि अभूतपूर्व प्रतिबन्ध लगाएका संयुक्त राज्य अमेरिका, फ्रान्स र जर्मनीका नेताहरूलाई नयाँ वर्षको शुभकामना दिने छैनन् । ‘हामीसँग हाल उनीहरूसँग कुनै सम्पर्क छैन’, क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले भने ।


पुटिनले २४ फेब्रुवरीमा युक्रेनमाथि रुसी हमला सुरु गरेका थिए । 


प्राप्त अर्को समाचार अनुसार उत्तर कोरियाले शनिबार कम्तिमा एउटा “अनिर्दिष्ट ब्यालेस्टिक मिसाइल“ प्रहार गरेको दक्षिण कोरियाको सेनाले जनाएका छन् । प्योङयाङका पाँच ड्रोनहरू साझा सीमा पार र दक्षिणको हवाई क्षेत्रमा उडेको केही दिनपछि उत्तरले व्यालेस्टिक मिसाइल प्रहार गरेको हो ।


‘उत्तर कोरियाले पूर्वी सागरमा अज्ञात ब्यालेस्टिक मिसाइल प्रहार गर्‍यो’, दक्षिण कोरियाका संयुक्त सेना प्रमुखले शनिबार भने । उक्त मिसाइल जापानी सागरमा खसेको बताइएको छ ।


कोरियाली प्रायद्वीपमा सैन्य तनाव यस वर्ष तीव्र रूपमा बढेको छ किनकि उत्तरले गत महिना अहिलेसम्मको सबैभन्दा उन्नत अन्तरमहाद्वीपीय ब्यालिस्टिक मिसाइलको प्रक्षेपण सहित हतियार परीक्षणहरूको अभूतपूर्व प्रदर्शन गरेको छ ।


उत्तर कोरियाली नेता किम जोङ उनले सन् २०२२ मा कीर्तिमानी गतिमा क्षेप्यास्त्र प्रहार गरे । आणविक हतियारको प्रयोगको लागि थ्रेसहोल्ड घटाए र विश्वव्यापी प्रतिबन्धहरूको बेवास्ता गरे । उनले सन् २०२३ मा पनि अझै क्षेप्यास्त्र प्रहार गर्ने सम्भावना छ ।


किमले यस हप्ता सन् २०२३ को लागि आफ्नो योजनाहरूको रूपरेखा प्रस्तुत गर्ने अपेक्षा गरिएको छ । किनभने उनको सत्तारुढ वर्कर्स पार्टी बैठकले वर्षको अन्त्यमा नीति तय गर्छ ।


यता दक्षिण कोरियाले मुख्य भूमि चीनबाट आउने यात्रुहरूलाई सीमित गर्न भिसा प्रतिबन्धहरू, परीक्षण र उडानहरू सीमितलगायतका कदम चालेको छ । बेइजिङमा कोभिड संक्रमणमा बृद्धिसँगै दक्षिण कोरियाले उक्त कदम चालेको हो ।


इटाली, जापान, भारत र अमेरिका लगायतका देशहरूले आफ्नै उपायहरू घोषणा गरेपछि कोभिड संक्रमणबाट जोगिन सियोलको निर्णय आएको हो । ‘अर्को वर्ष फेव्रुवरी सम्म चीनबाट (दक्षिण कोरिया) प्रवेश गर्नेहरूले आफ्नो आगमन अघि र पछि कोभिड परीक्षण गराउनुपर्नेछ,’ प्रधानमन्त्री हान डक–सूले शुक्रबार भने ।


हानले थपे, ‘चीनमा कोभिड–१९ को बिग्रँदै गएको अवस्थाका कारण हाम्रो देशमा भाइरसको फैलावट रोक्नको लागि सियोलले केही महामारी विरोधी उपायहरूलाई अनिवार्य रूपमा बलियो बनाउँदैछ।


चीनबाट आउने यात्रुहरूले दक्षिण कोरियाको लागि विमान चढ्नु अघि ४८ घण्टाभित्र नेगेटिभ पीसीआर परीक्षण वा प्रस्थान गर्नुभन्दा २४ घण्टाभित्र नेगेटिभ एन्टिजेन परीक्षण उपलब्ध गराउनु पर्नेछ । उनीहरूले आफ्नो आगमनको पहिलो दिन भित्र पीसीआर परीक्षण पनि गर्नुपर्नेछ । 


यसै बिच विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले चिनियाँ अधिकारीहरूलाई कोरोना महामारीको बारेमा वास्तविक जारीकारी दिन आग्रह गरेको छ ।


डब्लूएचओले चीनबाटै यसअघि सन् २०१९ मा सुरु भएको कोरोना महामारीका बेला पनि जानकारी दिन आनाकानी गरेको भन्दै यसबारे पर्याप्त जानकारी दिन आग्रह गरेको हो ।


डब्लूएचओले अस्पताल भर्ना, सघन उपचारको अवस्था र मृत्यु भएकाहरुको यकिन विवरण उपलब्ध गराउन पनि चीनसँग आग्रह गरेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन् ।


यसअघि जारी गरेका विभिन्न प्रतिबन्धहरु खुकुलो पारेसँगै चीनमा कोरोना महामारी संक्रमणको दर ह्वात्ते बढेको भन्दै डब्लूएचओले चिन्तासमेत व्यक्त गरेको छ ।


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक