20230430

आफु अन्यायमा परेकोले राजीनामा : एसपी आभूषण तिम्सिना

 
नेपाल प्रहरीका एसपी आभूषण तिम्सिनाले राजीनामा दिने भएका छन् । एसएसपी बढुवामा छुटेका तिम्सिनाले आफु अन्यायमा परेकोले राजीनामा दिने भएका हुन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफूमाथि अन्याय भएको भन्दै राजीनामा दिन लागेको बताएका छन् । हेर्नुहोस् उनको फेसबुक स्ट्याटस यस्तो छ :

मैले राजीनामा दिने निर्णय किन लिए ?

म, प्रहरी उपरीक्षक आभूषण तिम्सिना मिति २०५६ साल असार ३ गतेबाट जनसेवा गर्ने उत्कृष्ट संस्थाको रूपमा दरिएको नेपाल प्रहरीमा प्रहरी निरीक्षक पदमा नियुक्त भई हालसम्म नेपाल प्रहरीमा कार्यरत छु। मैले नियुक्तिको प्रमाणपत्र पाउने समयमा म लोकसेवा पास गरेर लोकसेवाको वरीयतामा पहिलो नम्बरमा नाम निकालेर भर्ना हुँदा ममा देशप्रतिको जुन अगाध निष्ठा, जनसेवा गर्ने जुन प्रगाढ भावना थियो त्यसलाई बोकेर नेपाल प्रहरीमा मेरा सहकर्मी साथीहरूसँगै सेवा प्रवेश गरेको थिए। तर आज मिति २०८० साल वैशाख १७ गतेबाट म मैले लगभग २५ वर्ष पुरा हुन ४९ दिन बाँकि रहँदा नेपाल प्रहरी जस्तो जनस्तर सम्म जोडिएको पवित्र संस्थाबाट राजीनामा दिएर अलगिने निर्णय गरेको छु। नेपालको संविधान २०७२ को मौलिक हकमा नअटाएका भेदभाव, असमानता, अन्याय, थिचोमिचो, विभेद, नातावाद, कृपावादको माखे साङ्लोबाट नेपाल प्रहरीका क्षमतावान्, उत्कृष्ट राष्ट्रसेवक कर्मचारीहरू कहिले मुक्त हुने र कानुनले नचिनेका शक्तिकेन्द्रहरू धाउने क्रम कहिले अन्त्य हुने भन्ने ठुलो प्रश्नको बोझले नेपाल प्रहरीका कर्मचारीहरू कहिले मुक्त हुने भन्ने प्रश्नको उत्तर खोज्ने प्रयास कहिले सार्थक हुने ?


अन्यायको सिकार भएका यी तिन दिन र रातहरूमा मैले अन्यायलाई चुपचाप सहनु भनेको अन्यायलाई र अन्यायी प्रबृत्तीलाई थप मलजल र जगेर्ना गर्नु हो भन्ने विश्वव्यापक धारणालाई गहिरिएर मनन गरेको छु । आफ्नै मानव अधिकारको हरण पटक पटक बेहोरेको व्यक्तिले आम नागरिकका मानव अधिकारहरूलाई कसरी रक्षा गर्ला भन्ने चिन्ताले म यी ३ रात सुत्न सकिन। चन्द्र शमशेरले राणा कालमै अन्त्य गरेको दास प्रथालाई निरन्तरता दिने पक्षमा म सार्वभौम नेपाली नागरिकको हैसियतमा कदापी छैन। पदबाट राजीनामा दिएर अलगिएको आजैका मितिबाट म सार्वभौम र कानुनको सम्मान गर्ने पूर्ण नेपाली नागरिकमा रूपान्तरित भएकोमा गौरवान्वित महसुस गरेको छु।


म आजैका दिनबाट नेपालको प्रत्यक्ष र समानुपातिक मतदाताको रूपमा दरिने आधारभूत योग्यतालाई पूर्ण विवेकका साथ प्रयोग गर्न पाउने हैसियतमा पुगेको गौरानुभुती भइरहेछ। अन्याय, विभेद, अत्याचार, भेदभाव, थिचोमिचो जस्ता मत्स्य न्यायको सिकार भएका आम नेपाली सर्वसाधारण नागरिकलाई न्याय दिलाउने संवैधानिक उद्देश्य लिएर स्थापना भएको नेपाल प्रहरी जस्तो पवित्र संस्थामा म आफैँ अन्यायमा परेको कृत्रिम सुखानुभूति गरेर आफैँ अन्यायमा परेको भावनाले पीडित व्यक्तिको रूपमा कसरी नागरिकका हक अधिकारको संरक्षण गर्न सक्छु र कसरी देश प्रतिको प्रगाढ आस्थालाई जीवन्त राख्न सक्छ भनेर मैले मेरो जागिरलाई निरन्तरता दिएर आम करदाता नेपाली नागरिकको काँधमा बोझको रूपमा रहिरहनु उचित नलागेर मैले मेरो जवानी लुटाएको संस्थाबाट अलग्गिने निर्णय गरेको छु।


आफू अन्यायको सिकार भएको र आफू प्रति भएको अन्याय चुपचाप सहेर बस्ने अधिकारीले जागिरमा रहँदा बस्दा आफू माथि भएको अन्यायको बिलौना मात्रै गरेर बस्ने अन्यायको व्यक्त गर्न नसक्ने तर भित्रभित्रै पिरोलिरहने बोझ र कुण्ठा बोकेर सङ्गठनमा अडेको व्यक्तिको रूपमा आफू समक्ष आउने आम नेपाली नागरिकहरूलाई कसरी न्यायको भरोसा दिलाउन सक्छु भन्ने कुरोको बोध पश्चात् मैले यो सङ्गठनमा रहिरहनु उचित मानिन।


मैले यो सङ्गठनमा रहँदा बस्दा मसँग काम गरेका मेरा सहकर्मी, सहयोद्धा प्रहरी कर्मचारीहरूले मलाई गरेको सहयोग मेरो जीवनमा मार्गदर्शक सिद्धान्तको रूपमा रहिरहनेछ। “Injustice Anywhere is threat to justice everywhere” भन्ने मार्टिन लुथर किङ्गको भनाइलाई आज मेरो अन्यायको विरुद्ध लडिरहने आदर्श मूल मन्त्र बनाएर मेरो जागिरे जीवनलाई यहीँबाट पूर्णविराम लगाउँदै न्याय दिलाउने संस्था आफ्नै सदस्यहरूलाई न्याय गर्न सक्दैन भने त्यो संस्थाको औचित्य बिस्तारै समाप्त हुँदै जाने तर्फ समेत नेपाल प्रहरीका साथीभाइ र अग्रजलाई समेत सुझाव दिन चाहन्छु। मैले जागिरे जीवनमा के कस्ता अन्याय सहनु पर्‍यो भन्ने कुरा म क्रमशस् मेरा आफन्त, साथीभाइ र इष्ट मित्रले पाउने गरी यही सार्वजनिक मञ्च मार्फत राख्नेछु।


यसका साथै नेपाल प्रहरीमा कार्यरत रहँदा मलाई सकारात्मक कार्यको लागि प्रेरणा दिने सम्पूर्ण अमर प्रहरीहरू, सङ्गठनमा कार्यरत हुँदा अशक्त भएका अशक्त प्रहरी कर्मचारीहरू,देशको लागि प्राणको आहुती दिन तयार भएका सम्पूर्ण पूर्व तथा कार्यरत प्रहरी कर्मचारीहरू प्रति हार्दिक नमनका साथ नागरिक समाजका मार्गदर्शकहरू प्रति कृतज्ञता व्यक्त गर्दै सम्पूर्ण प्रहरी कर्मचारीको सहज बृत्तीबिकास, सकारात्मक कार्य वातावरणको प्राप्ति एवम् आगामी दिनमा सफलता र सुस्वास्थ्यको कामना गर्दछु। धन्यवाद


जय नेपाल

आभूषण तिम्सिना

प्रहरी उपरीक्षक

अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page
click on this logo for home page

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक