20240928

देशैभर भारी वर्षा, बाढी, पहिरो, थुप्रै धनजनको क्षति, हेर्नुस् कहाँ कहाँ के अवस्था छ ? के भयो ? प्रधानमन्त्रीले अमेरिकाबाट भने- भोलिबाट वर्षा रोकिन्छ, कार्यक्रम सकेर फर्किने तयारी गर्दैछु

Latest Update: भारी वर्षाका कारण आएको बाढी, पहिरो र डुबानबाट बेलुका ८:३० बजेसम्म मृत्यु हुनेको संख्या ८७ जना पुगेको छ । यसअघि साँझ ५ बजेसम्म ६६ जनाको मृत्यु भएकोमा पछिल्ला विवरणअनुसार थप २१ जनाको मृत्यु पुष्टि भएसँगै मृत्यु हुनेको संख्या ८७ पुगेको हो ।

अविरल वर्षाका कारण देशभरका विभिन्न आयोजनाबाट उत्पादन हुने करिब १२ सय मेगावाट बिजुली उत्पादन बन्द भएको छ । नेपाल विद्युत् प्राधिकरणकाअनुसार लिखु, सोलु, कोसी, काबेली, तमोर करिडोरका विभिन्न आयोजनाहरुको विद्युत् उत्पादन बन्द भएको हो ।


Updated...
अविरल वर्षासँगै बाढीपहिरो र डुबानका घटनाबाट हालसम्म ६६ जनाको मृत्यु भएको छ । ६९ जना बेपत्ता छन् । ६० जना घाइते भएका गृह मन्त्रालयले जानकारी गराएको छ । शनिबार साँझ ६ बजेसम्मको विवरणानुसार, सडक, पुल, सार्वजनिक सम्पत्ति र व्यक्तिका निजी घर तथा आवासमा क्षति पुगेको छ । बाढीपहिरो र डुबानको जोखिममा रहेका मानिसको उद्धार कार्य भइरहेको मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बाढी पहिरोबाट उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलका सुरक्षाकर्मी कार्य क्षेत्रमा खटिरहेको जानकारी दिएका छन्। अमेरिका भ्रमणमा रहेका प्रधानमन्त्रीले विपद्को उद्धारका लागि सुरक्षा निकायलाई सम्पर्क गर्ने नम्बरहरू सार्वजनिक गरिएको भन्दै समस्या परे सम्पर्क गर्न आग्रह गरेका छन्। उनले भनेका छन्, ‘तोकिएको नम्बरमा सुरक्षाकर्मीलाई सम्पर्क गरौँ र उहाँहरूलाई सबैले सहयोग गरौँ। बाढी पहिरोको प्रभावमा परेको ठाउँको सूचना तत्काल सुरक्षाकर्मीसम्म पुर्‍याउन मद्दत गरौँ। वर्षाले क्षति पुर्‍याउन सुरु गर्नासाथ कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, मुख्य सचिव एकनारायण अर्याल लगायतसँग उद्धारका विषयमा समन्वय गरिएको थियो। सोही योजना अनुसार सरकारले देशैभर हजारौँ उद्धारकर्मी तैनाथ गरेको छ।’ मौसमविद्सँग केहीबेर अघि बुझे अनुसार वर्षा पूर्ण रूपमा रोकिन भोलि दिउँसोसम्म लाग्ने बताएको जनाएका छन्। संयुक्त राष्ट्रसंघको महासभामा लगायतका कार्यक्रम सकेर स्वदेश फर्किने तयारीमा रहेको भन्दै विपद्को बेला हातेमालो गरेर उद्धारमा सहयोग गर्न अपिल गरेका छन्। 



काठमाडौं ।  दुई दिनदेखिको लगातारको वर्षाका कारण भएका विपद्का घटनामा देशभर अहिलेसम्म ४९ जनाको मृत्यु भएको छ । त्यसमध्ये उपत्यकाका भक्तपुर, ललितपुर र काठमाडौँमा मात्रै ३२ जनाले ज्यान गुमाएका छन् । नेपाल प्रहरीका सहप्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीका अनुसार विपद्का घटनामा परेर हालसम्म ३४ जना घाइते भएका तथा ४० जना सम्पर्कविहीन भएका छन् । उहाँले देशभरिमा ४४ स्थानमा मुख्य राजमार्ग अवरुद्ध भएको पनि जानकारी दिनुभयो । प्रहरीले सबै निकायको समन्वयमा उद्धार कार्य जारी राखेको छ । अहिलेसम्म एक हजारभन्दा बढीको उद्धार गरिएको छ । काठमाडौँ, ललितपुर र भक्तपुरमा मात्रै विपद्का घटनाबाट १७ जना घाइते तथा १२ जना बेपत्ता भएका छन् । सशस्त्र प्रहरी बलले आपत्कालीन उद्धारका लागि हटलाइन नम्बर १११४ मा सम्पर्क गर्न आग्रह गरेको छ ।

अविरल वर्षापछि आएको बाढीपहिरो तथा डुबानका कारण देशभर २३ सडकका ६३ स्थानमा यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ । सडक विभागले शनिबार दिउँसो १२ बजेसम्म सङ्कलन गरेको प्रारम्भिक विवरणअनुसार बाढीपहिरोका कारण हिमाली तथा पहाडी क्षेत्रका अधिकांश सडकखण्डमा यातायात आवागमन प्रभावित भएका छन् । प्रारम्भिक विवरणअनुसार २३ बाटोका ६३ स्थानमा अवरुद्ध भएका छन् भने काठमाडौँ उपत्यका प्रवेश गर्ने सबै नाका बन्द भएका विभागको सम्भार महाशाखा प्रमुख अर्जुन अर्यालले जानकारी दिनुभयो ।

“ठाउँठाउँमा बाटो अवरुद्ध भएकाले विभागका कर्मचारी सबै स्थानमा पुग्न सकेका छैनन् । विद्युत् तथा इन्टरनेट सम्पर्क विच्छेद हुँदा सबै विवरण सङ्कलन गर्न पनि सकिएको छैन । यो प्रारम्भिक विवरण मात्रै हो”, अर्यालले भन्नुभयो, “पाँचथरबाट ताप्लेजुङ जाने बाटोतर्फ हेवाखोलामा गत वर्ष राखिएको बेलिब्रिज बगाएको छ । अरनिको राजमार्गको लार्चा भन्ने स्थानको बेलिब्रिज र बिपी राजमार्गको खुर्कोटबाट मन्थलीतर्फ जाने बाटोको पुल बगाएको छ ।”


कुलेखानी जलविद्युत् आयोजनाको जलाशय खोलिएकाले कान्ति लोकपथमा बागमती पुल उच्च जोखिममा परेको अर्यालले बताउनुभयो । बिपी राजमार्गमा नेपालथोक भन्दा केही अगाडि रोशी खोलामा आएको बाढीले एक सय मिटर जति बाटो बगाएको छ ।


अहिले काठमाडौँ उपत्यका छिर्ने सबै बाटो बन्द अवस्थामा रहेको अर्यालले जानकारी दिनुभयो । धेरै नदीमा पानीको सतह निरन्तर बढिरहेकाले अधिकांश पुल जोखिमको अवस्थामा रहेका उहाँले बताउनुभयो ।


सडक विभागका अनुसार त्रिभुवन राजपथ पूर्ण अवरुद्ध छ । सिर्सिया–पथलैया–हेटौँडा–भैँसे–पालुङ–नौबिसे–काठमाडौँ खण्डमा पनि पहिरोका कारण राजमार्ग बन्द भएको हो । त्यस्तै, पृथ्वी राजमार्गअन्तर्गतको नौबिसे–मुग्लिन–पोखरा राजमार्ग अवरुद्ध छ । धादिङको कमेरे भन्ने स्थानमा पहिरो गएपछि उक्त सडक अवरुद्ध भएको हो ।


अरनिको राजमार्गअन्तर्गत काठमाडौँ–धुलीखेल–दोलालघाट–खाडीचौर–कोदारी राजमार्ग पनि अवरुद्ध भएको छ । उक्त राजमार्गअन्तर्गत सिन्धुपाल्चोकको लार्चा पुल बगाएपछि यातायात सञ्जाल पूर्ण विच्छेद भएको विभागको सम्भार महाशाखा प्रमुख अर्यालले जानकारी दिनुभयो ।


त्यसैगरी, कालीगण्डकी कोरिडोरअन्तर्गत तानसेन–रिडी–कोरला सडकमा पर्वतको केराबारी भन्ने स्थानमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । उक्त सडकखण्डअन्तर्गत गुल्मीको राक्स्या र बरल्ला क्षेत्रमा पनि पहिरो खसेको छ ।


राप्ती राजमार्गअन्तर्गत अमेलिया–शीतलपाटी–थारमारे मुसिकोट खण्डअन्तर्गत सल्यानको राम्री भन्ने स्थानमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ । सिद्धार्थ राजमार्गअन्तर्गतको बेलहिया–भैरहवा–बुटवल–वर्तुङ–राम्दी–स्याङ्जा–पोखरा सडक अवरुद्ध छ ।


पुष्पलाल (मध्यपछाडि राजमार्ग) अन्तर्गत ओखलढुङ्गाको भडारे क्षेत्रमा पहिरो जाँदा सवारी साधन सञ्चालनमा अवरोध सिर्जना भएको छ भने भेडेटार–रबी–राँके सडकअन्तर्गत पाँचथर जिल्लामा सडक अवरुद्ध छ ।


सडक डिभिजन नुवाकोटअन्तर्गत ठोरी–भण्ठारा–मलेखु–गल्छी–त्रिशूली–वेत्रावती–मैलुङ–स्याफ्रुबेसी खण्डअन्तर्गत घादिङको भुट्टार क्षेत्रमा तथा बालाजु–त्रिशूली–धुन्चे–स्याफ्रुबेसी खण्डअन्तर्गत नुवाकोटको ३५ किलो र ताँदी पुलमा आएको बाढीका कारण सडक अवरुद्ध भएको विभागले जनाएको छ ।


भेरी कोरिडोरअन्तर्गत छिन्चु–कुदु–जाजरकोट–दुनै–तिन्जे–मरिम सडकखण्डमा पश्चिम रुकुमको त्रिवेणी भन्ने स्थानमा सडकमा पहिरो खसेको छ । यो सडकखण्डअन्तर्गत जाजरकोट जिल्लाको नमुना बस्ती क्षेत्रमा पनि बाढी र पहिरोका कारण समस्या देखिएको विभागले जनाएको छ ।


मेची राजमार्गअन्तर्गत केचना–चन्द्रगढी–चारआली–इलाम–फिदिम–गणेशचोक–ताप्लेजुङ–ओलाङचुङगोला खण्डमा पाँचथरको फिदिम नजिकै पहिरोका कारण सडक अवरुद्ध भएको छ । त्यस्तै माडर–चौराहवा–गोलबजार–सिरहा–साँघुरे–उदयपुर–मिचैया–कटारी–घुर्मी–हिलेपानी–ओखलढुङ्गा सल्लेरी सडकखण्ड प्रभावित बनेको छ । मिर्चैया–कटारी–घुर्मी–हिलेपानी–ओखलढुङ्गा–सल्लेरी सडकमा पनि सवारीसाधन सञ्चालन हुने सकेका छैनन् ।


सहिद मार्गअन्तर्गत कोइलाबास–लमही–अर्जुनखोला–घोराही–घर्तिगाउँ–थवाङ–लुकुम खण्ड, रोल्पाको घर्तीगाउँ र दुई खोली खण्डको गरगरे भन्ने ठाउँमा पहिरो गएको छ । यो राजमार्गमा रोल्पाको होलेरी र दारबोट खण्डमा पनि अवरोध सिर्जना भएको छ । अर्घाखाँचीको लौलिहवा–गोरुसिङ्गे–सन्धिखर्क सडकअन्तर्गत नरपानी–खुम्ती–सन्धिखर्कमा पहिरो गएको सडक विभागले जनाएको छ ।


त्यसैगरी, पुष्पलाल राजमार्गअन्तर्गत खोटाङको खोक्सेली तथा चिसापानी, सिन्धुलीको रिठ्ठाबोट, फिक्कल, ट्याँउ खोला र कुखुरेटार, हर्जेनी, बलेनी, सालघारीलगायत क्षेत्रमा बाढी र डुबानको समस्या देखिएको छ ।


तमोर कोरिडोरअन्तर्गत चतरा–मुलघाट–माझीटार–अमरापुरडाँडा–गणेशचोक सडकको चतरा पुलदेखि बराह क्षेत्रसम्म जाने बाटोमा तथा रिडी–बालकोट–हंसपुर–प्युठान–सुर्खेत खण्डअन्तर्गत दाङको मुर्कुटी भन्ने स्टानमा सडक पूर्ण रूपमा अवरुद्ध छ । डुम्रे–बेँसीसहर–चामे सडकअन्तर्गत मनाङको ताल डाँडा क्षेत्रमा पनि यातायात सञ्चालनमा समस्या भएको छ ।


कान्ती राजपथअन्तर्गत हेटौँडा–बागमती–टिकाभैरव–भैँसेपाटी–एकान्तकुना सडकखण्ड पनि अवरुद्ध छ । यो राजमार्गको आँपचौर भन्ने स्थानमा बाढी र पहिरोका कारण सडक अवरुद्ध भएको हो ।


ग्वार्को–लुभु–लाकुरीभञ्ज्याङ–कुशादेवी–पनौती–दाहालटार खण्डअन्तर्गत ललितपुरको लाँकुरीभञ्ज्याङस्थित मानेदोभान क्षेत्रमा बाढी र पहिरोका कारण समस्या सिर्जना भएको छ । दक्षिणकाली नगरपालिका–८ को सिस्नेरी सडकखण्ड, कीर्तिपुर नगरपालिका–६ को बल्खु फर्पिङ र वडा नं १० को त्रिभुवन विश्वविद्यालय सेवा आयोग अगाडि पहिरो खसेका छ । गोदावरी नगरपालिका–६ को लेले टिकाभैरव जाने बाटोमा पहिरो खसेको छ ।


नदीमा पुल बगाएको र ठुलो पहिरो खसेको स्थानमा बाहेक अन्य स्थानहरूमा कम्तीमा दुई घण्टाभित्र अवरोध हटाउने गरी विभागको टोली परिचालन गरिएको विभागको सम्भार महाशाखा प्रमुख अर्यालले राससलाई जानकारी दिनुभयो । सडक सञ्चालन गर्न शवभिन्न सडक डिभिजन तथा मातहतका कार्यालयका टोली तयारी अवस्थामा रहेका उहाँले बताउनुभयो ।


“बाटो र पुल बगाएको स्थानमा बाहेक ठुलो पहिरो नभएका ठाउँमा बढीमा दुई घण्टाभित्रमा सडक खुलाउन सक्नेगरी तयारी अवस्थामा बसेका छौँ । निरन्तर पानी परिरहेको छ । अधिकांश स्थानमा लेदोसहितको बाढीपहिरो आउने जोखिम रहेकाले पहिरो पन्छाएर सडक सञ्चालनमा केही समस्या भएको छ”, अर्यालले भन्नुभयो ।

यता अविरल वर्षाका कारण आएको पहिरोले दोलखाको बिगु गाउँपालिका–१ लामाबगरस्थित ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको बाँध क्षेत्रका संरचना (हेडवक्स)मा क्षति पुर्‍याएको छ ।


माथिल्लो तामाकोशीमा पानीको बहाव उच्च भएपछि शुक्रबार साँझ ७ बजेबाट विद्युत् उत्पादन बन्द गरिएको छ । बाँधका सम्पूर्ण ढोका (गेट)हरू खुल्ला गरिएको छ ।


बाँधस्थलभन्दा केही तल दायाँतर्फ रहेको नियन्त्रण कक्ष, बालुवा थिग्र्याउने पोखरी (डिस्याण्डर) र बाँधबाट डिस्याण्डरसम्म पानी पुर्‍याउने नहर (कल्भर्ट)मा क्षति पुगेको छ । नियन्त्रण कक्ष, डिस्याण्डर र कल्भर्ट रहेको स्थानभन्दा माथिबाट खसेको पहिरोका कारण ती संरचनामा ठुलो क्षति पुगेको अनुमान गरिएको छ ।


आयोजनाको प्रवर्द्धक कम्पनी अपर तामाकोशी हाइड्रोपावर लि.का प्रमुख कार्यकारी अधिकृत (सिइओ) मोहन गौतमले विद्युत गृह रहेको स्थान गोंगरबाट बाँधसम्मको प्रवेश मार्गमा पर्ने खोलाहरूमा बाढी आएका कारण कोही पनि त्यहाँसम्म पुग्न नसकेको बताउनुभयो ।


गौतमले पहिरोको प्रकृति हेर्दा नियन्त्रण कक्ष, डिस्याण्डर र कल्भर्टलगायतका संरचनामा क्षति पुर्‍याएको अनुमान गरिएको उल्लेख गर्नुभयो । पहिरोका कारण जलाशय क्षेत्रमा ठुलो परिमाणमा ढुङ्गा, लेदो थुप्रिएको छ ।


नियन्त्रण कक्षमा रहेका दुई जना कर्मचारीलाई उद्धार गर्न लागिएको र हालसम्म कुनै मानवीय क्षति भने नभएको उहाँले बताउनुभयो । जिल्ला प्रशासन कार्यालय, दोलखासँगको समन्वयमा उद्धारमा लामाबगरस्थित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल परिचालन गरिएको छ । 


तामाकोशी आयोजनाको डिजाइन डिस्चार्ज (पानीको बहाव) ६६ क्युसेक हो । अहिले तामाकोशी नदीको बहाव बाँधस्थलमा ४६१ क्युसेक छ । नेपाल विद्युत प्राधिकरणसँग भएको विद्युत् खरिद बिक्री सम्झौता बमोजिम नदीमा पानीको बहाव २५० क्युसेक हुनासाथ विद्युत गृह बन्द गर्नु पर्ने छ । शुक्रबार दिउँसो ४ बजेपछिबाट पानीको बहाव २५० क्युसेक नाघेको र पानीको बहाव बढ्ने क्रम रहेपछि साँझ ७ बजेबाट विद्युत् उत्पादन पूर्ण रूपमा बन्द गरिएको थियो ।

अविरल वर्षाका कारण उत्पन्न विषम परिस्थितिको सामना तथा तत्काल उद्धार तथा राहतका काम प्रभावकारी रूपमा सञ्चालन गर्न सुरक्षा निकाय एवम् संयन्त्र सक्रियतापूर्वक प्रभावित स्थानमा परिचालन भएका छन् ।


गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा शनिबार गृह मन्त्रालयमा भएको ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य कमाण्ड पोष्ट’को बैठकले वर्षाबाट भएको जनधनको क्षतिको विवरण सङ्कलन गर्ने तथा उद्धार एवम् राहतका कामलाई अझ प्रभावकारी बनाउने निर्णय गरेको छ ।


गृहमन्त्री लेखकले अवरुद्ध सडक यथाशीघ्र खुलाउनेतर्फ विशेष ध्यान दिन निर्देशन दिनुभयो । “विपदबाट हुने क्षति न्यूनीकरणका लागि सबै सुरक्षा संयन्त्र परिचालन भएका छन्”, उहाँले भन्नुभयो ।


काठमाडौँ उपत्यकामा आज नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको उद्धार टोलीले सात सय ५० जनाभन्दा बढीको उद्धार गरेको गृहमन्त्री लेखकले जानकारी दिनुभयो ।

उता कोशी ब्यारेजमा पानीको बहाब अत्यधिक बढेपछि पुलमाथिबाट पानी बगेको छ ।


सुनसरीका प्रहरी उपरीक्षक विपिन रेग्मीका अनुसार शनिबार अपरान्ह चार बजे ५ लाख ४९ हजार क्युसेक बाढी मापन भएको छ ।


बाढी कोशीको पुलमाथिबाट पनि बगेको उनले बताए । बाढीको बहाव उच्च भएपछि कोशीमा सवारी आवतजावत पनि बन्द गरिएको उनले बताए ।


यहाँ शनिबार साँझ मापन गरिएको साढे ५ लाख क्युसेक पानी ३७ वर्षयताकै उच्च हो । यसअघि सन् १९८७ मा ५ लाख २३ हजार क्युसेक मापन भएको थियो ।

यता  बागमती प्रदेशका १० जिल्ला (उपत्यकाको काठमाडौं, ललितपुर र भक्तपुरबाहेक) मा ११ र १२ असोजको दुई दिनमा विपदका घटनाबाट २१ जनाको मृत्यु भएको छ ।


विपद्का घटनाबाट २५ जना बेपत्ता र ३१ जना घाइते भएका छन् । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका अनुसार दुई दिनमा बाढी, पहिरोलगायतका विपदका घटनाबाट सबैभन्दा बढी मृत्यु हुनेमा काभ्रेका १० जना रहेका छन् ।बाढीपहिरोबाट काभ्रेमै ११ जना बेपत्ता र ११ जना घाइते भएका छन् ।


सिन्धुपाल्चोकमा बाढीपहिरोबाट ६ जनाको मृत्यु ४ जना बेपत्ता र १६ जना घाइते, दोलखामा पहिरो खसेर ३ जनाको मृत्यु १ जना घाइते भएको प्रदेश प्रहरी कार्यालयका निमित्त प्रवक्ता प्रहरी नायव उपरीक्षक जीतेन्द्र बस्नेतले जानकारी दिए । उनका अनुसार धादिङ र सिन्धुलीमा १–१ जनाको मृत्यु र १–१ जना घाइते भएको छ । धादिङमा ३ जना बेपत्ता भएको प्रहरीले जनाएको छ ।


मकवानपुरमा ७ जना बेपत्ता भएका छन् । शनिबार मकवानपुरको इन्द्रसरोबर गाउँपालिका–३, स्थितबत्सलादेवी माविको एन्फा एकेडेमीमा रहेका बालक पहिरोले पुरिएको विवरणबाहेक प्रदेशका १० जिल्लामा २१ जनाको मृत्यु भएको हो ।


इन्द्रसरोबरमा पहिरोले पुरिएका ६ जनामध्ये ३ जनाको शव भेटिएको गाउँपालिका अध्यक्ष देवकृष्ण पुडासैनीले जानकारी दिए । उनीहरुको सनाखत हुन बाँकी छ । पहिरोमो पुरिएर बेपत्ता भएकाका अन्य ३ जनाको अवस्था अझै अज्ञात छ ।


चितवन, नुवाकोट, रसुवा र रामेछापमा विपदबाट हालसम्म मानवीय क्षति नभएको डीएसपी बस्नेतले जानकारी दिए । विपदका घटनाबाट १५ वटा पशुचौपायाको मृत्यु भएको प्रहरी तथ्यांक छ । ६६ वटा घरमा पूर्ण र २ वटा घरमा आंशिक क्षति पुगेको डीएसपी बस्नेतले जानकारी दिए । १९२ परिवार प्रभावित क्षेत्रबाट स्थानान्तरण भएको उनले बताए ।


२ वटा पक्की पुल र एउटा बेलिब्रिजमा क्षति पुगेको छ । ५९ वटा घर तथा कार्यालय उच्च जोखिममा रहेको प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ । विपद्तका घटनामा उद्दारका लागि ४ हजार ११९ जना प्रहरी परिचालन गरिएको कार्यालयले जनाएको छ ।

FB_IMG_1727514281296-1727514309.jpg


FB_IMG_1727514283503-1727514309.jpg
 
यसै बिच सरकारले लगातारको वर्षाका कारण बाढीपहिरो र डुबानमा परेर घाइते भएकाको निःशुल्क उपचार गर्ने भएको छ । शनिबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकबाट यस्तो निर्णय गरिएको हो । बाढी, पहिरो र डुबानमा परेर घाइते भएकाको निःशुल्क उपचार गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

प्राप्त पछिल्लो अपडेट अनुसार काठमाडौंसहितका केही स्थानमा शनिबार अपराह्नपछि पानी पर्न कम भएको छ । राति फेरि वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । राति (शनिबार बेलुका ६ बजेदेखि आइतबार बिहान ६ बजेसम्म) वर्षा भए पनि हिजोआजको जस्तो नहुने महाशाखाका मौसमविद् रोजन लामिछानेले बताए । राति काठमाडौंसहित कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा वर्षाको सम्भावना रहेको उनले जानकारी दिए । “मौसममा सुधार हुँदै छ । काठमाडौंलगायत स्थानमा अहिले वर्षा रोकिएको जस्तै छ,” उनले बाह्रखरीसित भने, “राति फेरि वर्षाको सम्भावना छ । तर, हिजोअस्तिको जस्तो नहुन सक्छ ।” 

अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक