गृहमन्त्री रमेश लेखकले बाढीपहिरोमा परी देशभर २१८ को मृत्यु, २७ बेपत्ता र १४३ जना घाइते भएका जानकारी दिँदै विपद्पछिको प्रतिकार्यलाई सरकारले उच्च प्राथमिकतामा राखेर काम गरिरहेको स्पष्ट पारेका छन् । प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको मंगलबारको बैठकमा उनले विपद्मा परेका नागरिकको खोज तथा उद्धार र राहतमा सरकार केन्द्रित भएको बताए । उनले घाइतेको निःशुल्क उपचार र पहिरोका कारण अवरुद्ध मुख्य र सहायक राजमार्ग खोलेर आवागमन सहज बनाउनेतर्फ सरकार केन्द्रित भएको जानकारी दिए । “खोज तथा उद्धार जारी छ । राहत सामग्री वितरणको कार्य पनि जारी छ । सरकारी अस्पतालमा घाइतेको निःशुल्क उपचार भइरहेको छ । राहत सामग्री परिचालन र पुनर्स्थापनालाई प्रभावकारी बनाउन जिल्ला विपद् व्यवस्थापन समिति सक्रियतापूर्वक लागेका छन्,” उनले भने ।
नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र स्वयंसेवकले विपद्मा फसेका चार हजार २२ जनाको उद्धार गरेका उनले बताए । ५० वर्षपछि भारी वर्षा भएको जानकारी दिँदै उनले काठमाडौं उपत्यका र वाग्मती प्रदेश बढी प्रभावित भएका बताए । नेपाली सेनाका तीन हजार ९०६, नेपाल प्रहरीका १४ हजार ८०२, सशस्त्र प्रहरीका १२ हजार २३ जनशक्ति विपद्पछि खोज र उद्धारमा खटिएका उनले जानकारी दिए ।
यसैबिच प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिले मंगलबार सरकारलाई चारबुँदे निर्देशन दिएको छ । विपद्का विषयमा विभिन्न कार्य अघि बढाउन समितिले निर्देशन दिएको हो । सरकारलाई समितिले सम्भव भएका सबै उपाय प्रयोग गरेर राहत र पुनर्स्थापनाको काम अगाडि बढाउन निर्देशन दिएको छ । हवाई भाडा नबढाउन पनि निर्देशन दिइएको छ ।
“...सडक यातायात सुचारु गर्नका लागि भएका बाटाहरू तत्काल यातायातका साधन चल्ने गरी मर्मतसम्भार गर्न, सडकमा पहुँच हुन नसकेका जिल्लाहरूमा हवाई यातायातको व्यवस्था गर्न, खाद्यान्न, तरकारी, फलफूल आदिको पूर्ववत् मूल्य बढ्न नदिन बजार अनुगमन गर्न र पीडितहरूले राहत छिटोभन्दा छिटो पाउने व्यवस्था गर्न सरकारलाई निर्देशन गर्दछ,” मंगलबारको समिति बैठकको दोस्रो नम्बर निर्णयमा उल्लेख छ ।
विभिन्न स्थानमा अलपत्र परेका यात्रीलाई तुरुन्तै उद्धार गरी गन्तव्यमा पुर्याउन पहल गर्न पनि निर्देशन दिइएको छ । जनधनको थप क्षति हुन नदिन तत्काल आवश्यक सबै तयारी गर्न निर्देशन दिइएको छ ।
“वर्षाका कारण नष्ट भएका सिँचाइ, कुलोहरू, पिउनेपानी, विद्युत्, टेलिफोन सडक आदिको तत्काल मर्मत गरी जनताको दैनिकी र यस अवस्थामा घाइतेहरूको औषधि उपचारलाई सहज बनाउन नेपाल सरकारलाई निर्देशन दिने,” चौथो नम्बर निर्णयमा उल्लेख छ ।
यता सडक पूर्णरुपमा सञ्चालनमा नआएसम्म वायु सेवा कम्पनीलेहरूले अधिकतम भाडा नलिने भएका छन्। संस्कृति,पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेको विशेष पहलपछि सडक सञ्जााल सञ्चालनमा नआएसम्म सरकारले तोकेको अधिकतम् हवाई भाडा नलिन बायुसेवा कम्पनीहरू सहमत भएका छन । वायु सेवा सञ्चालक समितिले सडक सञ्चालनमा नआएसम्म मंहगो भाडादरमा टिकट बिक्री नगर्ने भएका हुन्। यसअघि तीन दिनका लागि मात्र कम भाडादरमा टिकट बिक्री गर्न सहमत भएका हवाई कम्पनीहरूले अहिले सडक यातायात पूर्णरुपमा सञ्चालन नभएसम्म कम भाडादरमै टिकट बिक्री गर्ने भएका हुन्।
वायु सेवा सञ्चालक समितिले प्रेस विज्ञप्ति जारी गर्दै बाढी पहिरोपछि सडक सञ्जाल समेत सञ्चालनमा नआउँदासम्म सरकारले तोके बमोजिम लिँदै आएको उच्चतम् भाडादरमा हवाई टिकट नबेच्न निर्देशन दिइएको हो । यसअघि गत असोज १३ गते मन्त्री पाण्डेको निर्देशनमा वायु सेवा कम्पनीहरू हवाई भाडा घटाउन सहमत भएका थिए । अविरल वर्षासँगै बाढी पहिरोका कारण देशभरका अधिकांश सडक सञ्जाल र राजमार्गहरू अवरोध भएका छन् । बाढी-पहिरो र डुबानले गर्दा देभभरको जनजीवन प्रभावित बनेको छ। केही जिल्लाहरूमा मानवीय क्षति भएको छ। सडक पुलपुलेसा पनि भत्किएका छन्।
वर्षाका कारण विभिन्न स्थानमा बाढी -पहिरोमा परी हालसम्म २१७ जनाको मृत्यु भएको छ भने २८ बेपत्ता छन्। १४३ जना घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। प्रहरीका अनुसार बाढी पहिरोमा फसेका ४ हजार ३३१ जनाको उद्दार गरिएको छ।
No comments:
Post a Comment
बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक