20241028

पोखराको सूर्यदर्शनसँगै बुटवलको सुप्रिम बचत तथा ऋण सहकारीको रकमसमेत अपचलन गरेको कागजात भेटिएपछि लामिछानेको रुपन्देही ‘कनेक्सन’ खुल्दै !

 पोखराको सूर्यदर्शन सहकारीको रकम ठगीमा पक्राउ पर्नुभएका पूर्व-गृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछाने माथिको अनुसन्धान रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारीतर्फ पनि सोझिएको छ । सुप्रिम सहकारीको बचत अपचलनमा ‘कनेक्सन’ देखिएपछि हाल कास्की प्रहरीको हिरासतमा रहनुभएका लामिछाने रुपन्देही तानिने हुनुभएको हो । पोखराको सूर्यदर्शनसँगै बुटवलको सुप्रिम बचत तथा ऋण सहकारीको रकमसमेत अपचलन गरेको कागजात भेटिएपछि लामिछानेको रुपन्देही ‘कनेक्सन’ खुलेको थियो । उहाँलाई थप अनुसन्धानका लागि रूपन्देही लैजाने तयारीसमेत प्रहरीले गरिरहेको छ । सूर्यदर्शन सहकारीभन्दा सुप्रिम सहकारीमा उहाँको प्रत्यक्ष संलग्नता देखिएको प्रहरीले जनाएको छ । यस्तै, साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थामा पनि लामिछाने तानिने हुनुभएको छ । ३७ करोड ६५ लाखभन्दा बढी रकम हिनामिनाको अभियोगसहित असोज ९ गतेदेखि जिल्ला अदालत चितवनमा मुद्दा चलिरहेको छ । जिबी राईसहित १७ जनाविरुद्ध किटानी जाहेरीमा दर्ता भएको मुद्दामा लामिछाने पनि तानिने हुनुभएको हो ।


सहकारीको रकम अपचलन गरेको आरोपमा सभापति लामिछानेसँगै नेपाल प्रहरीका पूर्व-डिआइजी छविलाल जोशीसहित १२ जनाविरुद्ध गत बिहीबार रूपन्देही जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो । सहकारी ठगीको आरोपमा पक्राउ परेका तत्कालीन गोर्खा मिडियाका सञ्चालक पूर्व-डिआइजी जोशीलाई अनुसन्धानका लागि गत सोमबार रूपन्देही लगिएको थियो । त्यसपछि कात्तिक ५ र ६ मा अनुसन्धान गरी जोशीलाई पुनः पोखरा नै पठाइएको छ । रूपन्देहीमा पूर्व-डिआइजी जोशीको बयान सकिएर पोखरा पठाइएसँगै अब अनुसन्धानका लागि सभापति लामिछानेलाई ल्याउने तयारी भएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रमुख एसपी रञ्जितसिंह राठौरले जानकारी दिनुभएको छ ।


बुटवलको सुप्रिम सहकारीबाट छविलाल जोशीको नाममा दुई करोड ५० लाख र रवि लामिछानेको नाममा एक करोड ९६ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्क प्रालिमा गएको संसदीय विशेष छानविन समितिको प्रतिवेदनमा उल्लेख छ । संसदीय छानविन समितिको प्रतिवेदनअनुसार जोशी र लामिछानेसहित गितेन्द्रबाबु (जिबी) राई, भूपेन्द्रबाबु राई, कुमार रम्तेल र गोर्खा मिडिया नेटवर्कका नाममा गरी सुप्रिम सहकारीबाट १४ करोड २९ लाख ३६ हजार रुपैयाँ रकम पठाइएको छ । सुप्रिम सहकारीका बचतकर्ता नारायणबहादुर पहराई सहितले गएको असोज ५ मा दिएको जाहेरीका आधारमा जिल्ला न्यायाधीश श्यामप्रसाद श्रेष्ठले रवि र छविसहित दीपक लामा, अनन्तबाबु राई, श्रीबल्भव नेपाल, विशाल तामाङ, रविना रिमाल, भगवती बम्जन, विज्ञान राई, सुरक्षा अधिकारी, नरेश जिसी र शिवबहादुर गुरुङलाई सहकारी ठगीसम्बन्धी फौजदारी कसुरमा मुलुकी फौजदारी कार्यविधिसंहिता २०७४ को दफा ९ उपदफा ३ बमोजिम पक्राउ गर्न अनुमति दिएको छ ।


इलाका प्रहरी कार्यालयले यसअघि गरेको छानविनमा सुप्रिम सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङ, संरक्षक जिबी राई, भूपेन्द्रबाबु राई, छविलाल जोशी, सहकारीका पूर्वसचिव दीपेश पुन, कुमार रम्तेल, सहकारीका व्यवस्थापक सागर केसी, दुर्गा पाण्डे, रोशनी गुरुङसहित २८ जनालाई प्रतिवादी बनाएर जिल्ला अदालत रुपन्देहीमा मुद्दा दायर गरिएको थियो । तीमध्ये अध्यक्ष गुरुङ पुर्पक्षका लागि कारागार चलान भएका छन् । सहकारीका पूर्वसचिव एवं माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीका नेता दीपेश पुनसहित ६ जना धरौटीमा छुटेका छन् । कास्की प्रहरीले लामिछानेमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण लगायतमा अनुसन्धान गरिरहेको छ ।


धनराज गुरुङमाथि अनुसन्धान गर्न गगनको माग

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी उपसभापति धनराज गुरुङमाथि अनुसन्धान गर्न माग गर्नुभएको छ । उपसभापति गुरुङ ललितपुरको मितेरी सहकारी प्रकरणमा मुछिनुभएको छ । काठमाडौंमा सोमबार राष्ट्र बैंकका कर्मचारीहरूले आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्ने क्रममा महामन्त्री थापाले उपसभापति गुरुङको संलग्नताको चर्चा भएकाले अनुसन्धान गर्न सरकारसँग माग गर्दै भन्नुभयो, ‘कांग्रेसका उपसभापति धनराज गुरुङको संलग्नता सम्बन्धमा बाहिर चर्चा चलेको छ । सहकारीसम्बन्धी संसदीय समितिमा पनि यस विषयमा छलफल भयो, बहस भयो र थप अनुसन्धान गर्नुपर्छ, म त सरकारलाई यहीँबाट अनुरोध गर्न चाहन्छु, बकाइदा अनुसन्धान गर्नुस् । अनुसन्धान गर्नु पनि पर्छ ।’ महामन्त्री थापाले नेकपा एमालेका नेतासमेत रहनुभएको प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलमाथि पनि अनुसन्धान गर्न सरकारलाई आग्रह गर्दै भन्नुभयो, ‘एमाले नेता ऋषि पोखरेलको पनि नाम आयो, गर्नुस् अनुसन्धान । यदि गल्ती गर्नुभएको छ भने अभियोजन गर्नुस् र दण्ड दिनुस् । पाँचपटक प्रधानमन्त्री बनेको होस्, ठूलो होस्, सानो होस् कि अहिले भइरहेको प्रधानमन्त्री हो कि भोलि हुने प्रधानमन्त्री हो जोसुकै होस् कानुनभन्दा माथि कोही पनि छैन । न्यायको कठघरामा सबै उभिनुपर्छ भन्ने कुरा सरकारले स्थापित गराउन सक्नुपर्छ ।’


रविलाई थुनाबाहिर राखेर अनुसन्धान गर्न रास्वपाको माग

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सभापति रवि लामिछानेलाई थुनाबाहिर राखेर अनुसन्धान गर्न माग गरेको छ । गृहमन्त्री रमेश लेखक उपस्थित सोमबार बसेको प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा रास्वापाकी सांसद डा.चन्दा कार्कीले लामिछानेलाई थुनाबाहिर राखेर अनुसन्धान गर्न आग्रह गर्दै भन्नुभयो, ‘गृहमन्त्रीज्यूलाई विशेष अनुरोध गर्न चाहन्छु, थुनाबाहिर राखेर अनुसन्धान गर्न सकिन्छ कि भन्ने सोच्नुहुन अनुरोध गर्न चाहन्छु । संसदीय छानविन समितिमा नै सबै कागजात र बयान दिइसकेको अवस्था हो । प्रमाण नष्ट गर्ने र भाग्ने अवस्था छैन । रवि लामिछाने चुनावमा १२ लाख जनताले पत्याएको र संसद्को चौथो पार्टीको सभापति हुन् । लामिछानेप्रति विश्वास हुनेहरूले उनको पक्राउको विरोधमा प्रदर्शन गर्नु स्वाभाविक हो ।’


पन्तको जवाफ : ‘दुई करोड भोट ल्याए पनि भ्रष्टाचारमा अनुसन्धान हुनुपर्छ’

नेकपा एमालेका सांसद रघुजी पन्तले सबैभन्दा बढी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा चलाएका व्यक्तिहरू पूर्व-गृहमन्त्रीहरू रहेको टिप्पणी गर्नुभएको छ । सांसद पन्तले पूर्व-गृहमन्त्री खुमबहादुर खड्का, गोविन्दराज जोशी लगायतको नाम लिँदै उहाँहरूले चुनावमा धेरै मत ल्याउँदैमा भ्रष्टाचार गर्दैन भन्न नसकिने टिप्पणी गर्दै भन्नुभयो, ‘कसैले दुई करोड मत नै किन नल्याओस् ? कुनै पनि व्यक्तिलाई बिना न्यायिक अनुमति थुनिराख्नु गैरन्यायिक कुरा हो ।’


रास्वपाले आज बालुवाटार घेर्ने

पूर्वगृहमन्त्री एवं पार्टी सभापति रवि लामिछाने पक्राउको विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज (मंगलबार) प्रधानमन्त्री निवास बालुवाटार घेराउ गर्ने भएको छ । सहकारी ठगी र संगठित अपराधको मुद्दामा अनुसन्धान गर्न प्रहरीले लामिछानेलाई कात्तिक २ गते शुक्रबार रास्वपा केन्द्रीय कार्यालय वनस्थलीबाट पक्राउ गरेर सोही राति पोखरा पुर्‍याएको थियो । पक्राउ परेको भोलिपल्ट शनिबार पोखरा केन्द्रित आन्दोलन प्रभावकारी नभएपछि रास्वपाले काठमाडौं केन्द्रित आन्दोलन गरिरहेको छ । यसैक्रममा रास्वपाले आज लामिछाने पक्राउको विरोधमा सरकारविरुद्ध प्रधानमन्त्री निवास बालुवाटार घेराउ गर्न लागेको हो । लामिछाने पक्राउको विरोधमा रास्वपाले सोमबार हेटौँडामा पनि विरोध प्रदर्शन गरेको छ । राजनीतिक प्रतिशोध, भ्रष्टाचार र बेतिथिविरुद्ध एवं सहकारी पीडितको ८८ अर्ब फिर्ता सहितको न्यायका लागि भन्दै निरन्तर विरोध प्रदर्शन जारी राख्ने रास्वपा केन्द्रीय समितिले निर्णय गरेसँगै हेटौँडामा पनि विरोध र्‍याली निकालिएको रास्वपाले जनाएको छ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक