20241124

रवि लामिछानेले सहकारीलाई चेक काटेर रकम दिएको फेला, चार जिल्लामा पक्राउ पुर्जी, सहकारी ठगीको अभियोगमा संलग्नता पुष्टि गर्ने महत्वपूर्ण प्रमाण भएको प्रहरीको दाबी


 राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा गोर्खा मिडिया नेटवर्कमा तत्कालीन प्रबन्धक रवि लामिछानेले सहकारीलाई चेक काटेर रकम दिएको फेला परेको छ । गोर्खा मिडिया नेटवर्कमा रहँदा सहकारी संस्थाबाट लिएको ऋण र कारोबारबारे आफूलाई जानकारी नभएको दाबी गर्दै आउनुभएका लामिछानेको हस्ताक्षर सहितको चेक बुटवलको सुप्रिम र पोखराको सूर्यदर्शन सहकारी संस्थालाई बुझाएको प्रहरीले फेला पारेको हो । सहकारी ठगी, संगठित अपराध, किर्ते र सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका लागि हिरासतमा रहनुभएका लामिछानेले काटेको चेकलाई प्रहरीले बलियो प्रमाण मानेको छ । रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारीलाई तिरेको ४० लाख ४२ हजार रुपैयाँको चेकमा रविको हस्ताक्षर भेटिएको प्रहरी उच्च स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार यसबारे उहाँसँग सोधपुछ र बयान लिने कामसमेत भइसकेको छ ।

सहकारी ठगीको अभियोगमा उहाँको संलग्नता पुष्टि गर्ने महत्वपूर्ण प्रमाण भएको प्रहरीको दाबी छ । तर, लामिछानेले भने यसमा पनि इन्कारी बयान नै दिनुभएको छ । लामिछानेले चाहिँ आफू गोर्खा मिडिया नेटवर्कमा प्रबन्ध निर्देशक हुँदा कतिपय अवस्थामा अत्यावश्यक कामका लागि रित्तो चेक काटेर घर्रामा छाड्ने गरेको जिकिर गर्नुभएको प्रहरी स्रोत बताउँछ । ‘ड्रयरमा राखेका बेला अरू कसैले चेकमा नाम लेखेर पठाएको हुनसक्ने रविले बयान दिनुभएको छ । स्रोतका अनुसार रविको बैंक खाता केलाउँदा शंकास्पद तथ्यहरू फेला परेका छन् । गृहमन्त्री हुनुअघि नै रविको बैंक खातामा शंकास्पद रकम जम्मा भएको र निकालेको देखिएको प्रहरी स्रोतको दाबी छ । सहकारीको रकम अपचलनबारे अनुसन्धान गर्न उहाँलाई गत कात्तिक २ गते पक्राउ गरिएको थियो । काठमाडौंबाट पक्राउ पर्नुभएका उहाँलाई त्यसै राति कास्की पु¥याइएको थियो । उहाँ एक महिना बढी समयदेखि कास्की प्रहरीकै हिरासतमा हुनुहुन्छ ।

चार जिल्लामा पक्राउ पुर्जी

सहकारी संस्थाको रकम अपचलन प्रकरणमा पक्राउ पर्नुभएका रास्वपा सभापति रवि लामिछानेको हिरासत बसाइ लम्बिँदै गएको छ । गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ पर्नुभएका पूर्वगृहमन्त्री लामिछानेको हिरासत बसाइ मात्रै लम्बिएको छैन अनुसन्धानको क्षेत्र र जिल्ला दौडाहा पनि बढिरहेको छ । पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन आरोपमा पक्राउ पर्नुभएका लामिछानेलाई कास्कीसँगै रुपन्देही ल्याएर प्रहरीले बयान लिइसकेको छ । सहकारी ठगी प्रकरणमा रुपन्देहीमा पनि पक्राउ पुर्जी जारी भएपछि उहाँको बयान लिइएको थियो ।

उहाँलाई अब काठमाडौंसमेत ल्याएर बयान लिने तयारी छ । जिल्ला अदालत काठमाडौंले पनि पक्राउ पुर्जी जारी गरिसकेको छ । उहाँलाई फेरि चितवन लैजाने तयारी पनि छ । कास्कीमा मुद्दा दर्ता हुनुअघि नै चितवन प्रहरीले बयानका लागि लैजाने तयारी गरेको हो । संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दामा पूरक जाहेरी लिएर अनुसन्धान गरिरहेको चितवन प्रहरीले चितवनको पनि बयान सकियो भने एकैपटक मुद्दा दर्ता गर्न सहज हुनेगरी गृहकार्य थालेको हो । प्रहरीले जिल्ला अदालत चितवनबाट शुक्रबार लामिछानेलगायत पूरक जाहेरी दर्ता भएका सबैलाई हिरासतमा लिनको लागि नै पक्राउ पुर्जी लिइसकेको छ । लामिछानेविरुद्ध चितवनमा समेत सहकारी ठगी र संगठित अपराधको अनुसन्धानका लागि गत शुक्रवार पक्राउ गर्न अदालतले अनुमति दिएको थियो । त्यसअघि गत आइतबार काठमाडौंमा समेत पक्राउ पुर्जी जारी भएको थियो ।

साहारा सहकारीबाट रकम गएका पाँचवटा संस्थाका १० जनाविरुद्ध किटानी जाहेरी परेको थियो । कास्की अदालतमा मुद्दा दर्ता हुनुअगावै अनुसन्धानको लागि चितवन ल्याउने तयारी रहेको प्रहरीले जनाएको छ । सम्पत्ति शुद्धीकरण र संगठित अपराध दुवै जाहेरी लामिछानेमाथि भएकोले प्रहरीले ९० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न पाउने कानुनी व्यवस्था छ । यसरी हालसम्म चार जिल्लाबाट उहाँविरुद्ध पक्राउ पुर्जी जारी भइसकेको छ ।

एउटा जिल्लामा हिरासतमा राख्ने अनुमति हुँदाको म्याद लिएको अवधिभित्र अन्यत्रसमेत लगेर बयान लिनुपरेको प्रहरीले जनाएको छ । प्रतिनिधि सभामा चौथो ठूलो दल रास्वपाले लामिछानेलाई हिरासतबाहिरै राखेर गर्न सकिने अनुसन्धानमा राजनीतिक प्रतिशोध साँधेर हिरासतमा राखेको आरोप लगाउँदै आएको छ । उहाँ गोरखा मिडियाको प्रबन्धक रहँदा यी जिल्लाका सहकारीबाट रकम लिएर अपचलन गरेको उहाँमाथि आरोप छ । पोखराको सूर्यदर्शन सहकारीको रकम काठमाडौंस्थित गोर्खा मिडिया प्रालिमा प्रयोग गरेर अपचलन गरेको आरोप लामिछानेमाथि छ । पोखराको सूर्यदर्शन सहकारीबाट करिब पाँच करोड रुपैयाँ गोर्खा मिडियामा गएको भन्दै मिडियाका अध्यक्ष जिबी राई, तत्कालीन प्रबन्धक रवि लामिछाने, सञ्चालक छविलाल जोशी, कुमार रम्तेललगायत विरुद्ध उजुरी परेको छ ।

संसदीय छानविन विशेष समितिले पनि उनीहरूलाई दोषी देखाउँदै थप अनुसन्धानका लागि सिफारिश गरेको थियो । समितिको सिफारिशलगत्तै रवि र छविलाल जोशीलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ भने जिबी फरार छन् । चितवनको साहारा सहकारीको रकम पनि गोर्खा मिडियामा प्रयोग गरेर अपचलन गरेको आरोप रवि लामिछानेलाई छ । कास्की प्रहरीले रविविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दामा पनि अनुसन्धान गरिरहेको छ ।

गोरखा मिडियामा रहँदा रविका पार्टनर पूर्व-डिआइजी एवं गोरखा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक छविलाल जोशी बञ्जाडे पनि कास्की प्रहरीको हिरासतमा छन् । काठमाडौंको कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा छविलाई जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा बयान लिएर कास्की पठाइएको छ । कास्की हुँदै सुप्रिम सहकारी रहेको रुपन्देही, सानो पाइला सहकारी रहेको वीरगञ्ज, सहारा सहकारी रहेको चितवन र स्वर्णलक्ष्मी सहकारी रहेको काठमाडौंमा पनि रविमाथि अनुसन्धान प्रक्रिया अघि बढिसकेको छ । यी सहकारीबाट गोरखा मिडिया नेटवर्कमा ६५ करोड ५४ लाख रुपैयाँ पुगेको देखिन्छ ।

थप १५ दिन हिरासतमा राख्न अनुमति

रास्वपा सभापति लामिछानेलाई हिरासतमा राख्न थप १५ दिनको म्याद थप भएको छ । जिल्ला अदालत कास्कीका न्यायाधीश भीमलाल बेल्बासेको इजलासले आइतबार रविलाई थप १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । कात्तिक २ गते काठमाडौंबाट पक्राउ पर्नुभएका रविविरुद्ध कास्की प्रहरीले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति सुदृढीकरण मुद्दामा अनुसन्धान गरिरहेको छ । लामिछानेसँगै गोर्खा मिडिया नेटवर्कका अर्का सञ्चालक पूर्वडिआइजी छविलाल जोशी, उस्तै कसुरमा पक्राउ परेका लीला पछाईं र रामबहादुर खनाललाई १५ दिन हिरासतमा राख्न म्याद थप भएको छ । लामिछानेलाई अनुसन्धानका लागि सुरुमा ६ दिन, त्यसपछि सात दिन, १० दिन र १३ दिन म्याद थप गरिएको थियो ।

आइतबार सरकारका तर्फबाट जिल्ला सरकारी वकिल कार्यालयकी न्यायाधिवक्ता कमला काफ्ले, सहायक जिल्ला न्यायाधिवक्ताद्वय विपिनराज तिवारी र शान्तिदेवी शर्मा, पीडिततर्फका कानुन व्यवसायी युवराज पराजुलीले बहस गर्नुभएको थियो । लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ता नारायण घिमिरे, मेघराज पोखरेल, हरिप्रसाद सुवेदी र अधिवक्ता नारायणदत्त कँडेल र जोशीका तर्फबाट वरिष्ठ अधिवक्ता जगन्नाथ ढकालले बहस गर्नुभएको थियो । सरकारी वकिल र पीडिततर्फका कानुन व्यवसायीले अनुसन्धानको प्रक्रिया जारी रहेको, तथ्य प्रमाण बुझ्ने काम बाँकी रहेको, विभिन्न कागजात आइनपुगेकोले म्याद थप गर्नुपर्ने तर्क गरेका थिए । लामिछानेका कानुन व्यवसायीले प्रमाणबिना नै लामिछानेलाई म्याद थप गर्नुपर्ने कुनै प्रमाण नरहेको दोहोर्‍याएका थिए ।

यता सर्वोच्च अदालतले दुर्गा प्रसाईंलाई पक्राउ गर्नुको कारण पेस गर्न आदेश दिएको छ । उहाँका छोरा निराजनले दिएको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्दै न्यायाधीश मनोजकुमार शर्माको इजलासले प्रसाईंसहित दुर्गालाई पक्राउ गर्नुको कारण लिएर उपस्थित हुन आदेश दिएको हो । बन्दी पनि सर्वोच्चमा उपस्थित गराउन भनिएको हो । प्रसाईँले विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुरमा दोस्रोपटक मंसिर ४ गते साइबर ब्युरोले पक्राउ गरेको थियो । प्रधानमन्त्री केपी ओलीविरुद्ध अफवाह फैलाएपछि प्रसाईंलाई भक्तपुरस्थित निवासबाट नियन्त्रणमा लिएको थियो ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक