20241223

रास्वपाले सभापति रवि लामिछानेको पक्राउका विषयमा अदालतको न्यायिक प्रक्रियालाई सघाउने निर्णय, रवि लामिछानेकै सिफारिसमा उपसभापति डीपी अर्याललाई कार्यवाहक सभापति

 रास्वपाले सभापति रवि लामिछानेको पक्राउका विषयमा अदालतको न्यायिक प्रक्रियालाई सघाउने निर्णय गरेको छ। सोमबार बसेको पार्टी सचिवालयको आकस्मिक बैठकले कास्की प्रहरीको हिरासतमा रहेका सभापति लामिछानेको न्यायिक प्रक्रियालाई पूर्णरूपमा सघाएर जाने निर्णय गरेको हो। रास्वपाले उपसभापति डीपी अर्याललाई कार्यवाहक सभापति बनाएको छ । पार्टी सचिवालय बैठकले यस्तो निर्णय गरेको हो । यसअघि दुईजना उपसभापति डा. स्वर्णिम वाग्ले र अर्यालमध्ये एकलाई बनाउने भनिएको थियो । तर सोमबार कास्की जिल्ला अदालतमा उपस्थित गराइएका रास्वपा सभापति रवि लामिछानेकै सिफारिसमा अर्याललाई कार्यवाहक तोकिएको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए । “जिम्मेवारी दिनका लागि रवि लामिछानेज्यूबाट सिफारिस गरिएको र सचिवालय बैठकले पारित गरेको हो,” झाले भने,“कास्की अदालत परिसरमा स्रेस्तेदारको उपस्थितिमै उहाँले सिफारिस गर्नुभयो र कानुनी प्रक्रिया मिलाएर उहाँ (अर्याल)लाई जिम्मेवारी दिइएको हो । बैठकमा पनि सर्वसम्मतिले पारित गरेको हो ।”

यसै बिच राष्ट्रिय स्वतन्त्र पार्टी ‘रास्वपा’का सभापति रवि लामिछाने कास्की प्रहरीको हिरासत कक्षमा सुतिरहेको फोटो सार्वजनिक गरेको आरोपमा पक्राउ परेका डा. निकोलस (कमल) भुसाल रिहा भएका छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धानको कार्यालयले थलीबाट आइतबार साँझ पक्राउ गरेको थियो भने सोमबार नै कास्की ल्याइएको थियो । सोमबार नै उनको रिहाइका लागि जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको थियो । तर, अदालतले अनुमति भने दिएन । अदालतको अनुमति नपाए पनि जिल्ला प्रहरी कार्यालयले बाहिरबाटै अनुसन्धान गर्नेगरी उनलाई छाडेको कास्की प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिए ।

गत बुधबार रातिदेखि रवि हिरासत कक्षमा सुतिरहेको सीसीटीभी फुटेजको फोटो भाइरल भएको थियो । त्यसपछि गृहमन्त्री रमेश लेखकले नै फोटो बाहिरिएको विषयमा छानबिन गर्न निर्देशन दिएका थिए । फोटोलाई लिएर व्यापक चर्चा भएपछि बिहीबार भुसालले सामाजिक सञ्जालबाट तस्बिर आफूले खिचेको दाबी गरेका थिए । लगत्तै कास्की प्रहरीले एक विज्ञप्तिमार्फत भुसालले नै फोटो खिचेर सार्वजनिक गरेको हुन सक्ने र उनले साइबर कानुनको उल्लंघन गरेको बताएको थियो ।

अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक