सर्वोच्च अदालतले गैरआवासीय नेपाली संघ (एनआरएनए) को एकता महाधिवेशन गराउने क्रममा कुनै पनि किसिमको अवरोध नगर्न भन्दै संघको बालुवाटारस्थित सचिवालयलाई पत्राचार गरेको छ । सर्वोच्चको फैसला कार्यान्वयन निर्देशनालयले कात्तिक २७ गते सचिवालयलाई पत्राचार गर्दै गत चैत २१ गतेको परमादेशअनुसार ६ महिनाभित्र पूर्वअध्यक्ष शेष घलेको नेतृत्वमा एकताको महाधिवेशन गराउनका लागि सहजीकरण गर्न निर्देशन दिएको हो ।
फैसला कार्यान्वयन निर्देशनालयको उक्त पत्र शुक्रवार संघको सचिवालयका तर्फबाट अनिल ढुंगानाले बुझिसकेका छन् । निर्देशनालयको उक्त पत्रअनुसार गत मंसिर ४ गते एकताका लागि घले नेतृत्वको उच्चस्तरीय समितिको बैठक बस्दा कार्यालय बन्द गर्न पर्नुको कारण पनि माग गरिएको छ । यसबारेमा ७ दिनभित्र लिखित जानकारी गराइ अन्य आवश्यक कामकारबाही गर्न कुनै पनि प्रकारको अवरोध नगर्न पत्रमा भनिएको छ ।
सर्वोच्चको फैसलाअनुसार सचिवालयबाट सहयोग नभएको भन्दै यसअघि उच्चस्तरीय समितिका सदस्यद्वय रविना थापा र जानकी गुरुङले निर्देशनालयमा सहयोगका लागि निवेदन दिएका थिए । उक्त निवेदनअनुसार संघको कार्यालय बन्द भएपछि उच्चस्तरीय समितिको पहिलो बैठक कार्यालयमा बस्न नसकी बालुवाटारकै एक रेस्टुरेन्टमा बसेको थियो । उक्त बैठकले ६ महिनाभित्र एकताको महाधिवेशन गर्ने निर्णय गरेको थियो । सोही बैठकले एकताका लागि उच्चस्तरीय समितिको कार्यक्षेत्र (टीओआर) तयार गर्ने, मे २०२५ भित्र एकताको महाधिवेशन गर्ने, सचिवालय स्थापना गर्नेजस्ता निर्णय गरेको थियो ।
यस्तै एकता महाधिवेशन सहजीकरणका लागि प्रतिनिधि पठाउन परराष्ट्र र कानुन मन्त्रालयलाई पत्र लेख्ने निर्णय पनि बैठकले गरेको थियो । जसअनुसार मन्त्रालयबाट प्रतिनिधिको नाम आइसकेको र अब उच्चस्तरीय समितिको बैठक सोमबार सचिवालयमा नै बस्ने तय भएको समितिका एक सदस्य विनोद कुँवरले जानकारी दिए । उक्त बैठकबाट एकता सम्बन्धी थप निर्णय गरेर अघि बढने उनको भनाइ छ ।
तीन समूहमा रहेको एनआरएनएलाई मिलाउने गरी सर्वोच्चले गत चैत २१ मा फैसला गरेको थियो । तर बद्री केसीको निर्देशनमा केन्द्रीय कार्यालयले समितिलाई असहयोग गर्दै आएको छ । चैत २१ को फैसलापछि परेको अर्को मुद्दामा सर्वोच्चले आफूलाई वैधानिकता दिएको केसी पक्षले दाबी गर्दै आएको छ । गत साउनमा सर्वोच्चले गरेको दोस्रो फैसलालाई देखाउँदै केसी पक्षले उच्चस्तरीय समितिलाई नमान्ने संकेत गर्दै आएको अवस्थामा फैसला कार्यान्वयन निर्देशनालयले तोकिएकै मितिमा एकताको महाधिवेशन गराउनका लागि पत्राचार गरेको हो ।
गत मंसिर ४ गते बसेको उच्चस्तरीय समिति बैठकमा समितिको सदस्य रहेका बद्री केसीले सहभागिता जनाएका थिएनन् । समितिको दोश्रो बैठक आउँदो सोमबार ९पौष १ गते० संघको केन्द्रीय कार्यालयमा बस्ने जनाइएको छ।
No comments:
Post a Comment
बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक