सहभागीहरुले सरकारी नीतिमा सुधार नगरेसम्म अर्थतन्त्र र व्यवसायी दुवै माथि उठ्न नसक्ने गुनासो गरे, सरकारी नीति झन्झटिलो भएको भन्दै सहज बनाउन माग
नारायणगढ / देशको बर्तमान अर्थतन्त्रको अवस्थाबारे एभिन्यूज खबर टेलिभिजनले देशका सबै सात प्रदेशमा आयोजना गरेको कार्यक्रम मध्येको एक कार्यक्रम, बहस तथा वृहत अन्तरक्रिया कार्यक्रम आज बागमती प्रदेशको चितवनमा सम्पन्न भएको छ । भरतपुरमा आयोजित कार्यक्रममा सहभागीहरुले सरकारी नीतिमा सुधार नगरेसम्म अर्थतन्त्र र व्यवसायी दुवै माथि उठ्न नसक्ने गुनासो गरेका छन् । उनीहरुले नेपाली उत्पादनको प्रवद्र्धन र बजारीकरणमा ध्यान दिन सरोकारवाला निकायको ध्यानाकर्षण समेत गराए । अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले चितवनमा पर्यटकीय सम्भावना प्रचूर भए पनि सरकारले पर्यटक प्रवद्र्धनका लागी चासो नदिएको गुनासो गरे । उनीहरुले उद्योग व्यवसाय गर्ने वातावरण नभएको भन्दै उद्योग दर्तादेखि सञ्चालनसम्म समस्या भोग्नु परेको बताए । सरकारी नीति झन्झटिलो भएको भन्दै उद्योगी व्यवसायीहरुले परिमार्जन गरी सहज बनाउन माग गरे ।
उनीहरुले नेपाली उत्पादनहरुको प्रवद्र्धन र बजारीकरण नभएसम्म मुलुक समृद्ध बन्न नसक्ने औंल्याए । कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल, अर्थबिद अनलराज भट्टराई, नेपाल उद्योग परिसघंका कार्यबाहक अध्यक्ष विरेन्द्र राज पाण्डे लगायतले अर्थतन्त्रको समस्या र समाधानबारे धारणा राखेका थिए । उनीहरुले अर्थतन्त्र उकास्नका लागि नीतिगत सुधार आवश्यक रहेको औंल्याउदै सरकारले वित्तिय सुधारका लागि तत्काल नितीगत सुधार गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले सरकारी उदासिनताकै कारण अर्थतन्त्र दबाबमा परेको भन्दै जनताका सुझावलाई सरकारले मनन गर्नुपर्ने बताए । उनले अर्थतन्त्रलाई सुदृढीकरण र निजीक्षेत्रको समस्या समाधानका लागि सरकारसँग समन्वय गरी नीति नियम परिमार्जन गर्न सहयोग गर्ने प्रतिबद्धता समेत जनाए ।
अन्तरक्रिया कार्यक्रमको सहजकर्ताको भूमिमा रहेका नेपाल उद्योग वाणिज्य महासंघको पूर्व वरिष्ठ उपाध्यक्ष एवं एभिन्यूज खबर टेलिभिजनका कार्यकारी अध्यक्ष भाष्कर राज राजकर्णिकारले बैङ्कमा प्रसस्त पैसा जम्मा हुँदा, ब्याजदर एकल दरमा घट्दा पनि लगानीको वातावरण बन्न नसकेको भन्दै आन्तरिक रुपमा अर्थतन्त्रमा थुप्रै समस्या रहेको बताए । कार्यक्रममा नीजि, सरकारी र सार्वजनिक बिभिन्न संघ संस्था र स्थानीय उद्योगी व्यवसायीको सहभागिता रहेको थियो । अर्को अन्तरक्रिया कार्यक्रम मधेश प्रदेशको बीरगंजमा पौष १३ गते, कोशी प्रदेशको बिराटनगरमा पौष १५ गते र गण्डकी प्रदेशको पोखरामा पौष १८ गते हुने छ । सो बहस कार्यक्रम एभिन्यूज खबर टेलिभिजन, एभिन्यूज खबरको यूट्युव र फेसबुकमा प्रत्यक्ष रुपमा प्रसारण हुने छ ।
No comments:
Post a Comment
बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक