20090524

"माओवादी त देशैभरिका नखरमाउला छन्"

माओवादी त साँच्चै 'मापाका' रहेछन्
रामेछापका राजन दाहाल र काठमाडौंका पुष्पकमल दाहालबीच भिन्नता छ भनेर अब कसरी भन्ने ?

- ईश्वर पोखरेल, महासचिब - एमाले

माओवादी त देशैभरिका नखरमाउला छन् । त्यसमा पनि रामेछापका माओवादी अझ बढी हिंस्रक छन्, आफ्ना कार्यकर्तामाथि पटक-पटक सांघातिक आक्रमण भएपछि एमालेपंक्तिको ठहर हो यो । देवशंकर पौडेल, राजनीतिमा लागेका त्यस्ता गौप्राणीमाथि रामेछापका माओवादीले आक्रमण गरे, दुई-दुईपटक । पहिले भदौ ०६४ मा पौडेललाई मोसो लगाई जुत्ताको माला लगाएर डुलाए । त्यतिले नपुगेर चुनावअघि ज्यानै मार्ने उद्देश्यले आक्रमण गरे । देवशंकरजी मरे भनेर उनीहरूले त भीरबाट फालिदिएका थिए, माओवादीको थप ज्यादती भोग्नु रहेछ, उहाँ बुट्यानमा अडिनुभयो । एमाले कार्यकर्ताले उद्धार गरे, भैँसी खेल्ने आहालको पानी नपाएको भए उहाँको ज्यान बच्थ्यो कि जान्थ्यो, भन्न कठिन छ ।

देवशंकर रामेछाप एमालेका सबैभन्दा सोझा प्रतीक हुन् । त्यस्ता सोझा मान्छेलाई कुट्न कसरी हात उठे होला माओवादीका भनेर मेरो मनमा पहिले नै कौतुहल थियो । तर, यसपालि आक्रमणको निसाना आफैँ भएपछि थाहा भयो, माओवादी त साँच्चै 'मापाका' रहेछन् ।

माओवादी अध्यक्ष प्रचण्डले काठमाडौंमा प्रधानमन्त्रीबाट राजीनामा दिएकै दिन रामेछापमा राजन दाहालले अरू दलका नेता-कार्यकर्तालाई जिल्ला छाड्न 'फतवा' जारी गरे । विपक्षी दलका नेता-कार्यकर्तालाई गाउँ छाड्न आदेश दिने र नमाने आफँ लखेट्ने भनेर तिनले माओवादी र वाइसिएलका कार्यकर्तालाई निर्देशन दिए । देशैभरि त्यसको निन्दा भयो, तर पनि माओवादी सुधि्रएनन् ।

३ जेठ, मदन आश्रति स्मृति दिवसमा एमाले जिल्ला कमिटी रामेछापले कार्यकर्ता भेला आयोजना गरेको थियो । केन्द्रबाट म, पशुपति चौलागाईं, रवीन्द्र श्रेष्ठ, कमला सुवेदी, कमलप्रकाश सुवेदी, केशव देवकोटा, टेलिभिजनका र अन्य पत्रकार साथीहरू हिँड्याँ । नयाँपुलदेखि प्रहरीको स्कर्टिङ थियो, बाटोमा कुनै अवरोध भएन, साँझ मन्थली पुगेर तामाकोसी गेस्ट हाउसमा बस्यौँ ।

जिविस हल हाम्रा साथीहरूले बुक गरिसकेका थिए । तर, माओवादीले जिविसमा त हामीले कार्यक्रम गर्ने हो, तिमीहरूलाई कहाँ छाडिन्छ भनेर दादागिरी देखाएछन् । तर, साथीहरूले महिनादिनअघि नै बुक गरेको हल छाड्थे किन ? साथीहरूले कार्यक्रम फिर्ता गरेनन्, ठाउँ पनि सारेनन्, जिविस हलमा कार्यक्रम भयो ।

ढुंगा पल्टाउनेहरू हतियारसहित तल झर्दै थिए, हवाई फायर भएपछि भागे
चार/पाँच सय कार्यकर्तालाई हामीले सम्बोधन गर्‍यौँ । हलबाहिर पनि लाउडस्पिकर थियो, श्रोता धेरै थिए । त्यसमा माओवादी पनि होलान्, उनीहरूले पनि सुने होलान् ।

कार्यकर्तालाई सम्बोधन गर्दा सामयिक राजनीतिको चर्चा नगर्ने कुरै भएन । माओवादीको सर्वसत्तावाद र दादागिरीको हामीले विरोध गर्‍यौँ । कार्यक्रम सफल भयो ।

३ गते मन्थलीमै बस्ने, बेलुका कर्मचारी र पत्रकारलाई भेट्ने कार्यक्रम थियो । तर, अन्तिममा मन्थलीमा रात नबिताउने निर्णय भयो । कारणः सुरक्षा । माओवादीले यति धेरै लफडा गरेका रहेछन् कि प्रहरी अधिकारीहरू पनि आजित भएका रहेछन् । हामी बस्यौँ भने माओवादीले केही लफडा गर्लान् र सुरक्षाका लागि चुनौती होला भनेर प्रहरी डराएका रहेछन् । प्रहरी अधिकारीहरूले र्फकनोस् त भन्न सकेनन्, तर नबसिदिए शान्ति हुन्थ्यो भन्ने आशय व्यक्त गरे । प्रहरी पनि त्यति त्रस्त छन्, निहत्था नागरिकको हालत के होला ?

सिडिओको कार्यालयमा कर्मचारी साथीहरूलाई भेटेर साँझ नपर्दै हामीले मन्थली छाड्यौँ । सुरक्षाका लागि इन्स्पेक्टरको नेतृत्वमा प्रहरी टोली खटियो ।

अगाडि पशुपतिजीको गाडी थियो, बीचमा प्रहरीको, पछाडि मेरो । मेरो गाडीमा रवीन्द्र श्रेष्ठ, टेलिभिजनका साथीहरू र मेरा सुरक्षागार्ड थियाँ ।

खिम्ती जलविद्युत् आयोजना, देवीटार आइपुग्न दुई किलोमिटर उता तिल्पुङ भीरमा हाम्रा गाडी गुड्दै थिए । माथि भीर छ, तल तामाकोसी छ, बीचमा कच्ची सडक ।

हामी आफ्नै सुरमा गफ गर्दै थियौँ, माथिबाट आएको गड्याङ र गुडुङ आवाजले स्तब्ध भयौँ, ढुंगा बर्सन थाले । भीरको बाटो गाईबस्तुले एक/दुईवटा ढुंगा पल्टाएको हो कि भन्ने भान भयो । तर, यति धेरै ढुंगा आए, गाईबस्तुले होइन मान्छेले पल्टाएको भन्ने प्रस्ट भयो ।

पशुपतिजीको गाडी स्पिडमा स्वाट्टै अगाडि बढ्यो, तर लगातार ढुंगा आएपछि हाम्रो गाडी अगाडि बढ्न सकेन । संयोग नै भनौँ सायद, भीरको बाटा ढुंगो कपेर सडक बनाइएको रहेछ, कोपेको ढुंगामुनि गाडी ओत लाग्ने ठाउँ देखियो, गाडी अलिकति ब्याक गरेर हामी सुरक्षित हुने प्रयास गर्‍यौँ ।
ड्वाङ-ड्वाङ गर्दै ढुंगा आइरहेका छन् माथिबाट, तल तामाकोसीमा छप्लाङ्ग आवाज आउँछ । अब के हुने हो भन्ने सन्त्रास छ । तैपनि प्रहरी साथीहरू गाडीबाट बाहिर निस्किएर भीरतिर हवाई फायर गर्न थाले ।

साहसपूर्वक प्रहरी गाडीबाहिर निस्किएर फायरिङ नगरेको भए ढुंगा पल्टाउनेहरू अझ तल-तल आएर हामीमाथि आक्रमण गर्ने सम्भावना थियो । हामी त गाडीभित्र थियौँ, प्रहरी साथीहरू भन्दै थिए- ढुंगा पल्टाउनेहरू हतियारसहित तल झर्दै थिए, हवाई फायर भएपछि भागे ।

ढुंगा आउन कम भएपछि हाम्रो गाडी अगाडि बढ्यो । पशुपतिजीहरू कुन अवस्थामा हुनुहुन्छ, चिन्ता त्यो पनि थियो । पर पुगेपछि थाहा भयो, ढुंगाले उहाँहरूको गाडी त कुच्याइदिएछ । जुन ढुंगाले लाग्यो, त्यो अलिकति सानो रहेछ, उहाँहरूको गाडीको एक हातपछाडि त भैंसी जत्रो ढुंगा खसेको रहेछ, त्यसले लागेको भए त गाडी र मान्छेको नामो निसान नै सकिन्थ्यो ।

भवितव्य टर्‍यो भन्दै हामी फटाफट अघि बढ्दै थियौँ, अलिक वर आउँदा केही मान्छे फूलमाला लिएर स्वागतमा उभिएका छन् । हाम्रो कार्यक्रम त मन्थलीमा थियो, बाटोमा केही कार्यक्रम थिएन, त्यहाँका कार्यकर्तालाई हामी आउने पत्तो पनि थिएन । त्यसो भए फूलमाला र मुस्कानसहित स्वागतमा उभिएका ती मान्छे को हुन् आखिर ? हामी सशंकित भयौँ, गाडी रोक्न लागेका थियौँ, तर अचानक दगुरायौँ । उनीहरू हेरेको हेर्‍यै भए ।

पछि थाहा भयो, पहिले ढुंगा बर्साउने पनि माओवादी हुन्, पछि फूलमाला लिएर उभिएका पनि माओवादी । ढुंगामुढामा कसको टाउको फुट्यो, कसको हात भाँचियो, को मर्‍यो, को जिउँदै छ भनेर विवरण संकलन गर्न खटिएका रहेछन् उनीहरू । फूलमाला त निहुँ मात्रै हो ।
आक्रमणबाट बचेर अलिक वर सानो बस्तीमा आएपछि हामीले गाउँलेसँग सोधपुछ गर्‍यौँ । माओवादीले गाउँ भेला छ भनेर मान्छेहरू जम्मा गरेर भीरतिर लगेका रहेछन् । दिउँसैदेखि गल लगाएर ढुंगा उठाएर पल्टाउन ठिक्क पारेका रहेछन् । अब पक्का भयो, त्यो कुनै तर्साउने चाल मात्र थिएन, हत्या गर्ने षड्यन्त्र नै थियो ।

हामी दाबीका साथ भन्न सक्छौँ, आक्रमणबारे केन्द्रका नेताहरूलाई पनि थाहा थियो । हामी मन्थलीमै भएका वेला रवीन्द्रजीलाई एउटा फोन आएको थियो । फोन गर्ने माओवादी कार्यकर्ता हुन् । उनले रवीन्द्रजीलाई सोधिछन्, 'दाइ ! तपाईंहरू कहाँ हुनुहुन्छ ? कुन अवस्थामा हुनुहुन्छ ? तपाइंहरूमाथि हमला हुने खबर छ ।'

रामेछापका कुनै कार्यकर्ताले सनकका भरमा आक्रमण गराएको भए त्यसको खबर काठमाडौंसम्म आइपुग्थ्यो कसरी ? काठमाडौंसम्म खबर पहिले नै आएको थियो भनेपछि घटना नियोजित हो भन्नेमा शंकै छैन ।
त्यसरात हामी चरिकोट बस्यौँ, त्यहाँ पत्रकार सम्मेलन भयो । नेताहरूलाई पनि आक्रमणबारे जानकारी दियौँ । देशैभरि हल्लाखल्ला भयो, धेरै साथीले फोन गरे । तर अचम्म, कुनै पनि माओवादी नेताले फोन गरेर शिष्टाचार व्यक्त गर्ने जाँगर देखाएनन् । त्यति ठूलो आक्रमण भएको छ, प्रेस, मानवअधिकारवादी सबैले विरोध गरेका छन् । तर, माओवादी नेताले शिष्टताको औपचारिकता पूरा गर्न पनि आवश्यक ठानेनन् । रामेछापका राजन दाहाल र काठमाडौंका पुष्पकमल दाहालबीच भिन्नता छ भनेर अब कसरी भन्ने ? प्रस्तुति : उमेश चौहान

3 comments:

  1. Ishworji, now they must be treated well like Litte.

    Tit For Tat

    ReplyDelete
  2. ISHWORJI,

    NOW BALL IS IN YOUR HAND. MAOISTS MUST BE TREATED VERY WELL LIKE LITTE OF SRI LANKA.

    TIT FOR TAT...............

    ReplyDelete
  3. god makes collapse to such terror party like maoist. we are waiting for this day. they must aslo cry 13000 soul and relative tears. god never bless them.we are wishing

    ReplyDelete

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक