20090611

माओवादीले मान्छे ज्युँदै जलाउन थाले !

नेपाली कांग्रेसका कार्यकर्ता राधाराम भन्डारीलाई एकिकृत नेकपा माओवादीका कार्यकर्ताले आगो लगाइदिएका छन्। कांग्रेस मेची नगर वडा नम्बर ४ का सभापति भन्डारीलाई झापा चारआलीमा आइतबार राति माओवादी कार्यकर्ताले आगो लगाइदिएका हुन्।
माओवादी कार्यकर्ताले बन्दको अवज्ञा गरेको भन्दै उनलाई आगो लगाएका हुन्। उनको खुट्टा जलेका छन्। बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उनको उपचार भइरहेको छ। राष्ट्रपति रामवरण यादवले प्रधानसेनापतिमा रुक्माङ्द कटवालालाई थमौति गर्न दिएको निर्देशन पछि माओवादीले आन्दोलन गरिरहेका छन्। जेठ २० गतेदेखि हरेक दिन जसो बिहान वा दिउसो २ घन्टा बन्द गर्ने उनीहरुको कार्यक्रम छ।

Watch Jire Khursani-June 08, 2009 in Comedy  |  View More Free Videos Online at Veoh.com

एकीकृत माओवादी र पुनर्गठित माओवादी बीच झडप, दुई प्रहरीसहित १० जनाभन्दा बढी घाइते

एकीकृत नेकपा माओवादी र पुनर्गठित नेकपा माओवादी मातृका यादव पक्षबीच विहिबार रौतहटमा झडप हुँदा दुई जना सशस्त्र प्रहरीसहित १० जनाभन्दा बढी घाइते भएका छन्। सो घटनालाई नियन्त्रणमा लिन सशस्त्र प्रहरीले तीन सेल अश्रुग्याँस र दुई राउण्ड हवाई फायरसमेत गर्नुपरेको थियो। झडपमा सशस्त्र प्रहरी जवानहरू रतन श्रेष्ठ र सुरेन्द्रराज बडूको टाउकोमा गम्भीर चोट लागेको छ। अन्य घाइतेमा मुखा बिन, लडाई मुखिया, दुखियादेवी, जयनाथ महरा, राजकुमार यादव, कमरचन्द्र यादव, हरिश्चन्द्र यादव, दशैं यादवलगाय छन्। घाइतेहरूको जिल्ला अस्पताल, गौरमा उपचार भइरहेको छ। जिल्ला विकास समिति, रौतहटले सखुअवा गाविसमा विकास निर्माणका लागि दिएको बजेटबाट एकीकृत नेकपा (माओवादी)ले सो गाविसमा सहिद गेट र पोखरी बनाउने निर्णय गरेको तर त्यसमा आफ्नो पार्टीको सहमति नलिएको भन्दै नेकपा (माओवादी) मातृका यादव समूहले विरोध गरेपछि विवाद बढेको थियो। विवादले उग्ररुप लिएपछि आज बिहान दुबै समूहका कार्यकर्ता हताहत भएका थिए।
दुवै पक्षबीच तनाव बढ्दै गएपछि जिल्लाको देवाहीस्थित सशस्त्र प्रहरी बेसका प्रहरी निरीक्षक गणेशप्रसाद पाण्डेको नेतृत्वमा गएको टोलीले अश्रुग्याँस र हवाई फायर गरी स्थिति नियन्त्रणमा लिएको थियो।

Watch Tito Satya-June 04, 2009 in Comedy  |  View More Free Videos Online at Veoh.com
भूतको डरले गाउँले विस्थापित

दैलेख सदरमुकाम देखी १३ कोष पश्चिममा पर्ने जम्बुकाँध गाविस ३ को गर्जे गाउँका १० घर परिवार भुतको डरले घर छोडेर हिँडेका छन् । घरमा भुतले सताउन थालेको भन्दै उनीहरुले छिमेकी गाउँमा शरण लिएका हुन् । नजिकैको राताओडारको भुतले राती घरमा आएर सताउन थालेपछि आफुहरु बिस्थापित हुनु परेको नयाँराम र्घर्तीले बताउनुभयो । पहिला पहिला घर नजिकै अनौठो आवाज आउने गरेको भए पनि पछिल्ला दिनहरुमा गोठमा बाँधेका गईबस्तु फुकाएर बारीमा लगाईदिने गरेर भूतले गाउँमा आतंक नै मच्चाउने थालेको स्थानीयबासिन्दाले बताएका छन् । ज्योतिष र धामीझाक्रीले समेत भुत आएको र त्यस ठाउँमा नबस्न सल्लाह दिएपछि घरबारी नै छाडेको खत्रिले बताउनुभएको प्रकाश अधिकारीले जनाएका छन् ।


प्रचण्ड यहीँनेर चुक्नुभयो

- देवप्रकाश त्रिपाठी

माओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको सरकार विस्थापित भएर एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको नेतृत्वमा नयाँ गठबन्धनको सरकार गठन हुनु सतहमा हेर्दा सामान्य 'हेराफेरी' जस्तो देखिए पनि यसमा अन्तरनिहित पक्ष केलाउँदा असामान्य बदलावका सङ्केतहरू देखिएका छन्। वर्तमान राजनीतिको मर्म बुझ्दा यसको केन्द्रबिन्दुमा केही विशिष्ट भावहरू फेलापार्न सकिन्छ। सतहमा सरकार परिवर्तन भएको देखिए पनि चुरोमा भेटिने मर्ममा एउटा नयाँ वेग प्रकट हुँदै गरेको सहजै महसुस हुन्छ। लोकतन्त्र स्थापनायताको तीन वर्ष माओवादीको वैचारिक एवम् राजनीतिक नेतृत्वमा अग्रसर राजनीति सत्ताबाट माओवादीको बहिर्गमनसँगै नयाँ दिशातर्फ मोडिने तयारीमा छ। गत वर्ष सम्पन्न संविधानसभा निर्वाचनको परिणामले झस्काएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शक्तिहरू माओवादी नेतृत्वमा सरकार गठन हुने अवस्थालाई सहज रूपमा लिन सक्ने अवस्थामा थिएनन् र माओवादीले आफ्नै नेतृत्वमा सरकार गठन गर्न राखेको इच्छालाई निषेध गर्न सक्ने सामर्थ्य पनि उनीहरूमा थिएन। माओवादीलाई सरकारको नेतृत्व गर्न नदिएरभन्दा दिएर 'एक्स्पोज' गरिसकेपछि मात्र उनीहरूको पक्षमा उत्पन्न हुनसक्ने ज्वारभाटालाई शिथिल गराउन सकिन्छ भन्ने विश्वास माओवादीइतर शक्तिमा थियो। निषेधको यस्तो आकाङ्क्षा जीवित रहेका बेला प्रचण्डको नेतृत्वमा सरकार बनेको थियो। त्यसरी निषेधको आकाङ्क्षा प्रबल भए पनि सरकारलाई ढाल्ने साहस भने प्रकट हुन सकिरहेको थिएन। माओवादी नेतृत्वको सरकार विस्थापित गरिनुपर्छ भन्ने मान्यता जोडदार भए पनि यो त्यति सहज ठानिएको थिएन। तर, माओवादी आफैंले सेनापति प्रकरण सिर्जना गरेपछि प्रचण्ड विस्थापनको ढोका उघि्रयो। जतिबेला तत्कालिक प्रधानमन्त्री प्रचण्ड सेनापति पदबाट रुक्मांगद कटवाललाई हटाउन 'सङ्घर्ष' गर्दै हुनुहुन्थ्यो त्यतिबेला राजनीतिको अर्को धु्रव कतै प्रचण्ड पछि हट्ने र सेनापति परिवर्तनको प्रक्रियामै पूर्णविराम लाग्ने हो कि भनेर चिन्तित हुँदै थियो। राजनीतिक एवम् कूटनीतिक चालबाजीलाई स्पष्ट रूपमा बुझ्ने सामर्थ्य पर्याप्त मात्रामा भएको ठानिएका प्रचण्ड यहीँनेर आइपुग्दा चुक्नुभयो र 'अर्कोलाई लात्ती हान्दा आफैं खाल्डोमा पर्नुभयो। यसरी प्रचण्डले सेनापति बदल्ने निर्णय गर्नुभएपछि राष्ट्रपतिको कदम चट्टानको पहाड बनेर अघि सर्छ भन्ने उहाँले नबुझ्नुभएको होइन, तर सत्ताको राप र अति आत्मविश्वास तथा अन्य दलका खास–खास नेताहरूप्रतिको भरोसाका कारण राजीनामा दिएर राजनीतिको अर्को धु्रवलाई 'क्षेप्यास्त्र' हान्ने निष्कर्षमा उहाँ पुग्नुभयो, जुन प्रचण्डको दोस्रो गल्ती थियो। यसरी पहिलो गल्ती सेनामा हात हाल्नु र दोस्रो गल्ती अरू दलका नेतामाथि भर पर्दै प्रधानमन्त्री पदबाट राजीनामा दिनु हुन पुग्यो। सेनापति प्रकरणले माओवादीलाई अप्रत्यासित रूपले रक्षात्मक अवस्थामा पुर्या्एको छ, पूर्ववत अवस्थामा आइपुग्दा माओवादीले युद्धकालको भन्दा ठूलठूला जोखिमपूर्ण स्थितिलाई पार गर्नुपर्ने देखिन्छ। त्यो किनभने बितेका तीन वर्षभित्र गैरमाओवादी कित्ता रक्षात्मक पङ्क्तिमा थियो र माओवादीले तर्जुमा गरेको गोरेटोमा लुरुलुरु हिँड्न बाध्य थियो। तर, अब सरकार बदलिएका कारण परिस्थिति बदलिएको होइन कि परिस्थिति बदलिएका कारण सरकार बदलिएको अवस्था छ। माओवादीले तय गरेको बाटोमा डोरिनुपर्ने अवस्थाको अन्त्य भएको छ र अब लोकतन्त्र पक्षधरहरूले तर्जुमा गरेको 'फ्रेम'भित्र माओवादी बस्न बाध्य हुनुपर्ने स्थिति सिर्जना हुँदै छ। विद्रोह र हिंसात्मक सङ्घर्षको मार्ग अवलम्बन गरेमा धेरै ठूलो क्षति बेहोर्नुपर्ने सम्भावना एकातिर छ भने शान्तिपूर्ण सङ्घर्षमा उत्रिँदा त्यसलाई सहजै छिचोलेर अघि बढ्ने स्थिति गैरमाओवादी कित्ताले बनाइनै सकेको छ। जुन शक्तिसँग लड्ने सामर्थ्य नपुग्ने देखेर प्रचण्ड पछि हट्नुपरेको हो त्यही शक्तिको पूर्णसाथ वर्तमान सत्तागठबन्धनलाई रहेको र रहिरहने सम्भावना जीवित हुँदासम्म माओवादीका निम्ति स्थिति अनुकूल बन्नसक्ने देखिँदैन। यस्तो अवस्थामा माओवादीसँग चार विकल्प रहेका देखिन्छन्– पहिलो, वर्तमान गठबन्धन सरकारको अलोकप्रियता र त्यसमा पैदा हुनसक्ने अन्तरद्वन्द्व र अन्तरध्वंशको प्रतीक्षा गर्दै राष्ट्रिय सहमतिको सरकार निर्माण गर्नेतर्फ अघि बढ्न आत्मसमीक्षासहित साङ्गठनिक सुदृढीकरणमा लाग्नु, दोस्रो संविधानसभामार्फत संविधान निर्माण गर्न पाउनु तथा गणतन्त्र स्थापना गर्न सक्नुलाई दसवर्षे युद्धको सर्वाधिक उच्च सफलता ठान्दै यसभन्दा अगाडि बढेर जनवादी क्रान्ति यात्रामा सरिक भइरहने चिन्तन परित्याग गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शक्तिसँग समझदारी अभिवृद्धिमा केन्द्रित रहनु, तेस्रो घोषित जनवादी क्रान्ति र राज्यआश्रित अर्थ–प्रणालीका निम्ति पुनः सशस्त्र र शान्तिपूर्ण दुवै रूपमा सङ्घर्ष अघि बढाउँदै राज्यसत्तामाथि पूर्ण विजयका लागि लड्ने तयारी गर्नु र चौथो हाल भन्ने गरिएजस्तै राष्ट्रियता सुदृढीकरणका लागि 'राजा'सहित सम्पूर्ण राष्ट्रवादी शक्तिहरूको एउटै मोर्चा निर्माण गरेर विशुद्ध राष्ट्रियताकेन्द्रित सङ्घर्ष गरी सत्तामा पुग्ने नयाँ बाटो बनाउनु। उल्लिखित चारबाहेक अन्य विकल्प माओवादीसँग रहेको देखिँदैन। प्रचण्डको चरित्र, कार्यशैली एवम् सोच 'एक्स्पोज' भएको र आफ्नो पूर्वघोषित राजनीतिक एवम् रणनीतिक गन्तव्यप्रति प्रतिबद्ध रहेको ठानिएको वर्तमानमा माओवादी नेतृत्वले विगतमा जस्तै परिस्थिति सजिलै आफ्नो पक्षमा बनाउन सक्ने अवस्थामा ठ्याम्मै नरहेको यथार्थलाई सम्बद्ध पक्षले स्वीकार गर्नुपर्ने स्थिति छ। त्यसैले हिजोको शैली र सोचमा भोलिको राजनीतिलाई प्रभाव पार्न सक्ने धरातलबाट प्रचण्ड च्यूत हुनुभएको छ। आफ्ना शब्द–अलङ्कारको प्रक्षेपण र 'लिप सर्विस'कै भरमा अबको राजनीतिलाई प्रभावित गर्न नसकिने स्थिति रहेको हुँदा उल्लिखित चार विकल्पमध्ये एउटामा सुस्पष्ट रूपले जानु नै माओवादीका निम्ति उपयुक्त हुनसक्छ। तर, देशलाई जनवादीकरण गरेर जाने सोचले चाहिँ माओवादीलाई पटक–पटक अप्रत्यासित ढङ्गले अड्चन सिर्जना गर्ने कुरामा शङ्का गरिरहनुपर्ने देखिन्न। प्रचलित प्रजातन्त्रको पक्षमा उभिने हो भने माओवादीलाई आगामी कैयन वर्ष शासनमा रहिरहने अवसर प्राप्त भइरहन सक्नेमा भने विश्वासका अनेक आधारहरू भेटिन्छन्। तर, बन्दुक, क्रान्ति र बल प्रयोगको 'दर्शन'बाट दीक्षित माओवादीले बन्दुककै बलमा ठूलठूला सफलताहरू हासिल गरेका कारण उनीहरूमा उत्पन्न उच्च अहंकारको ह्याङओभर (धङधङी) बाट मुक्त हुन खोज्ने या सक्ने सम्भावना कम देखिएकोले माओवादीहरू सहजभन्दा असहज मार्गको खोजीमा लाग्छन् कि भन्ने आशङ्का बढाएको छ। उनीहरू जटिल र चरम जोखिमको बाटो छोडेर सहज रूपान्तरणको प्रक्रियामा सामेल हुने हो भने माओवादीइतर गठबन्धनले आफूमा रहेको दोष सार्वजनिक गर्न सुरु गरिसकेको छ। सरकारलाई पूर्णता दिने क्रममै वर्तमान गठबन्धनमा संलग्नहरूले आफ्नो 'औकात' देखाइसकेका छन्, जुन माओवादीका लागि विनालगानी प्राप्त उपलब्धि हो। 'महँगी नघटाएसम्म हामी सरकारमा सहभागी हुँदैनौँ, प्रधानमन्त्रीले एक वर्षभित्र कम्तीमा एक हजार मेगावाट विद्युत् उत्पादनका लागि निर्माणकार्य सुरु गर्ने प्रतिबद्धता नजनाएसम्म हामी मन्त्रिमण्डलमा सहभागी हुने छैनौँ, एक वर्षभित्र पाँच लाख युवालाई रोजगारी सिर्जना गर्ने कार्यक्रमसहित प्रतिबद्धता नआएसम्म हाम्रो पार्टीले सरकारलाई समर्थन गर्ने छैन, दुई वर्षभित्र नेपालका सबै गाविसमा विद्युत् लाइन विस्तार गरिने लिखित प्रतिबद्धता आएपछि मात्रै हाम्रो पार्टी सरकारका सहभागी हुनेछ, तीन वर्षभित्र नेपालका सबै ग्रामीण बस्तीमा पिउने पानीको व्यवस्था मिलाउने र कम्तीमा पनि कुल दुई लाख हेक्टर जमिनमा नयाँ सिंचाइ सुविधा पुर्यातइने कार्यक्रम ल्याएको अवस्थामा मात्र हामी मन्त्रिमण्डलमा सहभागी हुनेछौं, आगामी दुई वर्षमा देशको साक्षरता प्रतिशत उनान्सय पुर्यालउने र नागरिकहरूको स्वास्थ्योपचारको ग्यारेन्टी राज्यले लिएको अवस्थामा मात्र हामी 'फलाना'को सरकारलाई समर्थन गर्नेछौँ' भन्नेजस्तो सर्त कुनै विशेष सन्दर्भमा कुनै दल या नेताविशेषले राखेको देख्न–सुन्न नेपाली जनताले आजका मितिसम्म पाएका छैनन्। राणा या राजाको शासनकाललाई दोष दिनेहरूले सबैभन्दा उन्नत अवस्थाको रूपमा व्याख्या गर्ने गरेको अवस्था (लोकतान्त्रिक गणतन्त्र) अहिले देशलाई उपलब्ध छ। तर, व्यवस्था–अवस्था जति डिग्रीमा बदलिए पनि मानसिकता नबदलिएसम्म कसैको केही लाग्दोरहनेछ भन्ने तथ्यको पुष्टि विगत तीन वर्षको नेपाली राजनीतिले 'राणाको सट्टा राजा आएझैं' गरेको छ। राजाको सट्टा आफू आएको ठान्ने हाम्रा राजनीतिक नेतृत्व अहिलेसम्म देश र जनताप्रति संवेदनशील हुन सकेको छैन भन्ने पर्याप्त आधार छन्, पछिल्लो आधारचाहिँ मन्त्रिमण्डललाई पूर्णता दिनेक्रममा अन्तरराजनीतिक दल र दलहरूको आन्तरिक तहमा प्रकट भएको अस्वस्थ व्यवहार–प्रतिस्पर्धाले दिएको छ। वि.सं. २००७ सालको राजनीतिक परिवर्तनयताको ६ दशकभित्र नेपालमा अनेक रूप, रङ्ग र आकारप्रकारका सरकारहरू बने। प्रत्येक सरकारबीचको एउटा समानता के देखिँदै आएको छ भने हरेक नयाँ सरकार आशा जगाउँदै आउँछ र निराशा छर्दै ढल्छ। अरू त अरू माओवादीसमेत त्यसरी नै आयो र ढल्यो पनि। नितान्त नयाँ सोच, शैली र नीतिका साथ अघि बढ्ने अवसर माओवादीलाई अहिले प्राप्त भएको छ, यसको सदुपयोग गर्न उनीहरू फेरि पनि चुक्छन् भने यस्तोमा हार्दिक श्रद्धाञ्जली अर्पण गर्नुको विकल्प नभेटिन सक्छ। सरकार गठनको प्रक्रियामा काङ्गे्रस, एमाले र फोरमलगायतका दलहरूले दर्शाएको व्यवहारले जनतामा उनीहरूप्रति क्षोभ र विस्तृष्णा पैदा गराएको छ, यसरी जनता क्षुब्ध बन्दै गरेका बेला माओवादी कुनै पनि रूप र स्तरको सडक आन्दोलन नगरी धैर्यपूर्वक रहने प्रयास मात्र गर्दा पनि परिस्थिति वर्तमान गठबन्धनको विरुद्ध विकसित हुँदै जाने सङ्केतहरू देखिएका छन्। माओवादीहरू अधिर बन्छन् र हतारमा मनोवेगी कदम चाल्न तत्पर हुन्छन् भने उनीहरूले अपूरणीय क्षति बेहोर्नुपर्ने तथा राष्ट्रले चरम द्वन्द्वको सामना गर्नुपर्ने अवस्था आउने निश्चित छ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक