20090614

माओवादी संयोजकको हत्या, माओवादी र एमालेबीच पुनः भिडन्त, २० जनाभन्दा बढी घाइते, लाठीचार्ज गर्नुका साथै हवाईफायर र अश्रुग्याँस प्रयोग !

माओवादी ईलाका नं ७ काठमाडौंका संयोजक राजेन्द्र फुयालको अज्ञात समूहले हत्या गरेको छ। एकसाता अघि अपहरणमा परेका फुयालको हत्यापछि पोष्टमार्टम भइसकेपछि आइतबार मात्र आफन्तले हत्या भएको जानकारी पाएका थिए। प्रहरीले हत्यापछि २८ गते नै शिक्षण अस्पताल महाराजगंजमारुपमा पोष्टमार्टम गराएको थियो। आइतबारमात्र अस्पतालले आफन्तलाई खबर गरेपछि हत्या भएको पुष्टि भएको थियो। काठमाडौं काभ्रेस्थलिमा घर भएका फुयाल एक सातादेखि सम्पर्कमा थिएनन्। हत्या एमाले निकट युथफोर्सले गरेको भन्दै आफन्त र माओवादी कार्यकर्ताले आइतबार शिक्षण अस्पताल महाराजगंज अगाडि चक्काजाम गरेका थिए।

यता कालिकोटमा आइतबार माओवादी र एमालेबीच पुनः भिडन्त भएको छ। भिडन्तमा २० जनाभन्दा बढी घाइते भएका छन् । माओवादीले आह्वान गरेको भेरी-कर्णाली बन्दको दिन वाइसियलले एमालेको पार्टी कार्यालयमा पुगी पार्टी सचिव कुर्मराज शाही, युथफोर्स इन्चार्ज दुर्गाबहादुर शाही र जिल्ला कमिटी सदस्य भरतराज धिताललाई आक्रमण गरेपछि भिडन्त सुरु भएको थियो ।
तीन जनालाई घाइते बनाइसकेपछि नारा जुलुस गरिरहेका सयभन्दा बढी वाइसियल र माओवादी कार्यकर्ताले खोजीखोजी एमालेका कार्यकर्तालाई कुटपिट गर्न थालेका थिए। त्यसपछि भिडन्तले चर्को रुप लिएको थियो ।

कालिकोटका प्रहरी प्रमुख डिएसपी रणबहादुर रायमाझीका अनुसार बन्द गर्न भन्दै वाइसियलले एमालेका कार्यकर्तालाई जहाँ भेट्यो, त्यहीँ आक्रमण गर्न थालेपछि लाठीचार्ज गर्नुका साथै हवाईफायर र अश्रुग्याँस प्रयोग गर्नु परेको थियो । स्थितिलाई तनावबाट रोक्न प्रहरी परिचलान गर्नुअगावै वाइसियलको आक्रमणबाट एमाले सचिव, युथफोर्स इन्चार्जलगायत दुई दजर्न एमाले कार्यकर्ता घाइते भइसकेका थिए । गम्भीर घाइते भएका पार्टी सचिव, युथफोर्स इन्चार्जसहित ५ जनालाई उपचारका लागि हेलिकोप्टरबाट नेपालगन्ज लैजाने तयारी भइरहेको प्रहरीले बताएको छ । रायमाझीका अनुसार एमाले-माओवादी भिडन्तका क्रममा केही प्रहरी पनि घाइते भएका छन् । अघिल्लो साता माओवादीले आक्रमण गर्दा कांग्रेस सभापति घाइते भएको कालिकोटमा उक्त घटनाको केही दिनपछि कांग्रेस कार्यकर्ताको आक्रमणमा चार जना वाइसियलका कार्यकर्ता घाइते भएका थिए । प्रत्यक्षदर्शीका अनुसार आक्रमणको पूर्ण तयारीका साथमा रहेका वाइसियलले हातमा लाठी र खुकुरी लिएर एमालेका कार्यकर्तालाई खोजीखोजी आक्रमण गरेका थिए । उक्त बेला कांग्रेसका कार्यकर्ताबीच पनि भागभाग चलेको थियो ।
यसैगरी माओवादीका कार्यकर्ताले आइतबार वीरेन्द्रनगरस्थित बागेश्वरी डेभलपमेन्ट बैंक तोडफोड गरेका छन्। पार्टीले आह्वान गरेको भेरी-कर्णाली बन्दमा खोलेको भन्दै बिहान १०:३० बजे माओवादी कार्यकर्ताले बैंकमा तोडफोड गरेका हुन्। बैंकका शाखा प्रबन्धक बद्रीप्रसाद शर्माले गेट बन्द गर्न खोज्दाखोज्दै एक्कासि तोडफोड गरिएको बताए। उनले भने- 'हामीलाई बन्दबारे कुनै जानकारी थिएन, थाहा पाउनेबित्तिकै बन्द गर्न खोज्दैथ्यौँ आएर एक्कासि तोडफोड सुरु गरिहाले।'

यसैगरी शान्ति सुरक्षा माग गर्दै काठमाडौं उपत्यकाका सबै विद्यालय बन्द भएका छन्। अपराधीको निसाना विद्यार्थी हुन थालेको भन्दै शिक्षासम्बन्धी संस्थाले बन्द आयोजना गरेका हुन्। केही दिनअघि सौरद्वीप स्कुलकी छात्राको अपहरण प्रयास भएको थियो। सोही विद्यालयको आह्वानमा भएको बन्दलाई शिक्षासम्बन्धी अन्य संघ/संस्थाले पनि समर्थन जनाएका छन्। विद्यालयका नानी ओसार्ने सवारी साधन बन्दकर्ताको निसाना बन्न नहुने एवं आपराधिक प्रवृत्तिका घटना नियन्त्रण गरिनुपर्ने भन्दै गरिएको बन्द जायज भएको नेपाल अभिभावक संघका अध्यक्ष सुप्रभात भण्डारीले बताए। विद्यालय बन्दका आयोजकलाई प्रधानमन्त्री माधवकुमार नेपालले आइतबार बिहान भेट गरेका छन्। भेटका अवसरमा प्रधानमन्त्रीले शिक्षण संस्था र विद्यार्थीको सुरक्षाबारे ढुक्क हुन आश्वसन दिए। 'म अहिलै प्रहरी प्रमुखलाई यसबारे निर्देशन दिन्छु'- प्रधानमन्त्रीको भनाइ उदृत गर्दै बैठकमा सहभागी भण्डारीले भने- तपाईँहरु ढुक्क हुनुहोस्।


सबैलाई चाहियो कमाउने मन्त्रालय, मन्त्रिमण्डल बिस्तार त भयो तर के भयो भयो ?

प्रधानमन्त्री माधवकुमार नेपालले सरकार गठन भएको तीन सातापछि मन्त्रीपरिषदलाई बिस्तार गरेका छन्। आइतबार मात्र प्रधानमन्त्री नेपालले एमाले र कांग्रेसका केही सदस्य थप गरेर मन्त्रीपरिषद विस्तार गरेका हुन् तर विस्तारित सदस्यले जिम्मेवारी सम्हालेका भने छैनन्। एमालेका तर्फबाट भिम रावल, शंकर पोखरेल, रविन्द्र श्रेष्ठ र रकम चेम्जोङलाई सिफारिस गरिएको छ भने कांग्रेसले पनि अफताव आलमलाई थप गरी पठाएको छ। थपिएका मन्त्रीहरुले नत शपथ ग्रहण गर्न पाएका छन, नत सपथ ग्रहण गरेका मन्त्रीहरुले जिम्मेवारी सम्हाल्न पाएका छन्। कांग्रेसका तर्फबाट परराष्टमा सुजाता कोइराला, उर्जामा डा. प्रकाशशरण महत, जलस्रोत तथा सिचाईमा डा. मिनेन्द्र रिजाल, स्थानीय विकासमा पूर्णकुमार शर्मा , स्वास्थ्यमा उमाकान्त चौधरी, श्रम तथा यातायातमा मोहमद अफताव आलम र संघीय सस्कृति तथा संविधानसभामा बालकृष्ण खाणँ लाई सिफरिस गरेको बताइएको छ। गठबन्धन दल मधेशी जनअधिकार फोरमसहित सरकारलाई समर्थन गरेका दलहरुले भने सहमति विना मन्त्रीपरिषद् विस्तार गरेको भन्दै आपत्ति जनाएका छन्। उनीहरुले प्रमुख मन्त्रालय बाँडफाँटमा छलफल नगरेको भन्दै आपत्ति जनाएका हुन्। मधेशवादी दलले गृह या संचार मध्ये एक तथा जलस्रोतलगाएतका मन्त्रालय माग गरेको छ। संचार मन्त्रालय फोरमलाई दिने प्रयास स्वरुप प्रधानमन्त्री नेपालले पार्टीभित्र थालेको प्रयास असफल भएको छ। पार्टीका नेताहरुसँग मधेशवादी दलको माग पूरा गर्न गरेको प्रयास असफल भएको हो। शंकर पोखरेलले सञ्चार मन्त्रालय नछाड्ने अडान र भिम रावलले गृह नपाए पार्टी त्याग्ने भनि चेतावनी दिएपछि मन्त्रीपरिषद्लाई पूर्णता दिन झनै कठिनाई भएको हो। सहमतिका लागि प्रधानमन्त्री नेपालले आइतबार दिनभर प्रयास जारी राख ेपनि सफल हुन भने सकेनन्।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक