20090904

उपराष्ट्रपति झाको सुविधा शुक्रबारबाट फिर्ता

सरकारले सर्वोच्च अदालतको आदेश नमान्ने उपराष्ट्रपति परमानन्द झाको सुविधा शुक्रबारबाट फिर्ता लिएको छ। यसैगरी उनलाई दिइएको सुरक्षामध्ये सैनिक सुरक्षा फर्केको छ। उनको निवासमा राखिएको नेपालको झण्डा पनि शनिबारदेखि नराख्ने निर्देशन त्यहाँका सुरक्षाकर्मीलाई दिइएको छ। अब उनको सुरक्षामा सशस्त्र प्रहरी मात्र हुनेछ। दिउसो ४ बजेपछि सुरक्षाको जिम्मा प्रहरीले लिएको हो। त्यसको केही समयपछि उनको निवासमा उपराष्ट्रपति भएवापत राखिएको झण्डा पनि झिकिएको छ। यसअघि बिहीबारको इन्द्रजात्रा हेर्ने कार्यक्रममा गृह मन्त्रालयले उनलाई निम्ता गरेको थिएन।


'नेता भ्रष्टाचारी भएको' भन्दै

कार्यकर्ताले चर्को आलोचना गरेपछि


एकीकृत माओवादीका अनियमितता छानबिन गर्न गठित उच्चस्तरीय आयोगमा सबैभन्दा बढी नेताहरूले घरघडेरी किनेका उजुरी परेका छन्। युद्धकालमा पार्टी नेतृत्वको सम्पत्ति 'पार्टीकरण गरी सर्वहाराकरण हुने' घोषणाविपरीत उनीहरुले घरघडेरी किनेको आरोप छ।

भाषणमा सधै सर्वहाराको भजन गाउने एकीकृत नेकपा माओवादीको नेतृत्व भित्रभित्रै कसरी व्यक्तिकेन्द्रित विलासी र येयासी जीवन बिताइरहेको छ भन्ने कुराको उदाहराण खोज्न अब धेरै टाढा पुग्नु नपर्ने भएको छ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नै यसका अब्बल उदाहरण बनेपछि अन्य नेता तथा कार्यकर्तालाई पनि वैध वा अवैध जुनसुकै तरिकाले भए पनि व्यक्तिगत सम्पत्ति थुपार्न मार्गप्रशस्त भएको छ। लडाकु शिविरको गोप्य प्रशिक्षणमा क्यान्टोनमेन्टमा आएको रकमले हतियार खरिद गरी निर्णायक लडाईं लडेर कांग्रेस एमालेजस्ता दलहरूलाई समाप्त पारी नयाँ जनवाद ल्याउने गुरु योजना प्रस्तुत गरेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशभरका सम्पूर्ण सर्वहाराको सम्पत्ति आफ्नै ज्वाइँको खातामा थुपारी परिवारसहित विलासी जीवन बिताएको तथ्य फेला परेको छ। पार्टीका नेताहरूको सम्पत्ति छानविन गर्न गठित मोहन वैद्य नेतृत्वको आयोगमा अध्यक्ष दाहाललगायतका स्थायी समिति सदस्यहरू विरुद्ध यस्तो उजुरी परेपछि देशभरका सर्वहाराहरू झस्किनुपर्ने स्थिति उत्पन्न भएको छ।
नेताहरूको सम्पत्ती छानविन गर्न बनेको समितिको बुधवार बसेको बैठकमा अध्यक्ष दाहालले सर्वहारा कार्यकर्ताले बुझाएको रकम र उनीहरूले उद्योगी ब्यापारीहरूसँग दुःख गरी उठाएको चन्दा अध्यक्ष दाहालका ज्वाईँ अर्जुन पाठकको नाममा खाता खोली पारिवारिक मोजमस्तीमा खर्चने गरेको भन्दै हालेको उजुरी फेला पारेको छ।
पार्टीका प्रत्येक सभासद्ले बुझाउने मासिक १० हजार रुपैयाँ, क्यान्टोनमेन्टमा लामखुट्टेलाई शरिर टोकाई घर छोडी बसेका छापामारको नाममा आएको रकम र चन्दावापत उठेको केही रकम ज्वाई नेता पाठकको नाममा खाता खोलेको र सोही खातावाट रकम निकालेर प्रचण्ड,उनकी पत्नी सीता र छोरा प्रकाश देश विदेश शयर गरेको तथा देशका महंगा तारे होटेलमा चार पुस्तै बसेर डिनर गर्ने गरेको भन्दै दाहाल विरुद्ध उजुरी परेको थियो। माओवादीका २ सय ३९ जना सभासद्ले मासिक १० हजारका दरले बुझाउने रकम र छापामारको भरणपोषणका लागि सरकारले दिएको रकम प्रचण्ड परिवारले मस्तीमै खर्चने गरेकोप्रति उनीहरूको आपत्ती रहेको थियो। स्रोतका अनुसार छानविन आयोगले छानविनका क्रममा बुधवार पाएको उजुरीमा अध्यक्ष दाहालले आफ्नै ज्वाइँ अर्जुनलाई स्वकीय सचिव पनि राखेको उनैका नाममा पार्टीको पुरै नगद बैंकमा राखेको र अर्जुनकी पत्नी तथा प्रचण्डपुत्री रेणु दाहाललाई सभासद् बनाएर ब्यक्तिगत विकासको अवसर आफ्नालाई मात्र दिएको आरोप छ।
जनयुद्धका क्रममा ज्यान गुमाएका सयौंको परिवारमा बिचल्ली रहेको र उनीहरूको जीवन खण्डहर बन्दै गएको अवस्थामा राज्य र जनतावाट उठेको रकममा अध्यक्षले परिवारसहित देश विदेश घुम्ने र आफ्ना चारपुस्ता तारे होटेलमा ज्युनार गरेर सर्बहारा वर्गमाथि कुठाराघात रहेको उजुरीमा उल्लेख छ।
प्रचण्ड विरुद्ध मात्र होइन करिव तीन दर्जन उजुरी पार्टी स्थायी समिति सदस्य विरुद्ध परेका छन्। स्थायी समिति सदस्य विरुद्धका उजुरीमा गुप्त रुपमा लुकाएर परिवारका सदस्यका नाममा घर बनाएको, जग्गा किनेको र तस्करहरूसँग मिलेर अकुत सम्पत्ती कमाएको तथ्य पनि फेला परेको छ। पार्टी निकटको विद्यार्थी संगठन अखिल क्रान्तिकरीले शैक्षिक ठग भन्दै एमाले कांग्रेस समर्थकलाई कारवाही गर्ने घोषणा गरेका वेला पार्टीका नेताहरूले गुप्त रुपमा महंगा शैक्षिक संस्थाहरूमा लगानी गरेको पनि फेला परेको छ।
मंहंगा घर घडेरी खरिद गरेको, बोर्डिङ स्कूल र उच्च माविमा लगानी गरेका नेताहरूको नामै किटानी गरी परेका उजुरीमा स्थायी समिति सदस्य वर्षमान पुन अनन्त, नेवा राज्य समितिका इन्चार्ज हितमान शाक्य देखि ट्रेड युनियनका अध्यक्ष शालिकराम जमरकट्टेलसम्म छन्। यस्ता नामको सूचिमा कृष्णबहादुर महरा, सीपी गजुरेल, जनार्दन शर्मा, दीनानाथ शर्मा लगायत ८ जना नेता परेका छन्। उनीहरूले रक्तचन्दन तस्कर र भन्सार कारोवारीवाट पनि नियमित रकम असुली गरेको तथ्य फेला परेको पनि उजुरीमा छ। यस्तै पोलिटब्युरो सदस्य अग्नि सापकोटाका छोराले सरकारी गाडी प्रयोग गरेरै रक्तचन्दन खासा निकासी गर्ने गरेको र उनीहरूवाट संकलित रकम एक मासिक पत्रिकामा लगानी गरेको र राजमार्गमा वाइसीएल परिचालन गरी संकलन गरेको रकम पनि सापकोटाले अनियमितता गरेको उजुरीमा छ।
नेताहरूलाई चोख्याउन मात्र आयोग बनाइएको हुन सक्ने कार्यकर्ताहरूले आवाज उठाएका छन्। दुई वर्ष अगाडी मात्र सार्वजनिक भएका माओवादीका प्राय सबै नेताहरू हाल करोडौं रुपैया पर्ने गडी चढ्छन् र उनीहरूले महंगा होटेलमा खान पिनको हैसियत बनाएका छन्। कार्यकर्ताहरूलाई भने सर्वहारा जीवनशैलीको प्रशिक्षण उनीहरूले दिंदै आएका छन्। कार्यकर्ताले पालना गर्नु पर्ने १५ बुँदे आचार संहिता केन्द्रले पारित गरी कार्यकर्ताहरूमा लागु गर्ने वताउदै आएको छ।
नेता मोहन वैद्यको संयोजकत्वमा गठित आयोगले बिहीबारबाटै छानबिन थाल्ने भएको छ। आयोगमा उजुरी पठाउन १५ गतेसम्मको म्याद दिइएको थियो। 'घर बनाएको, गाडी किनेको, ठेकेदारबाट पैसा लिएको, बैंकमा सेयर किनेकोलगायतका विषयमा उजुरी परेको छ,' आयोगका एक सदस्यले नागरिकसित भने, 'छानबिन बिहीबार सुरु हुन्छ।' अपेक्षाअनुसार उजुरी नपरेको उनले बताए। उनले भने, 'एक सयको हाराहारीमा आएको होला।' आयोगले तीन महिनाभित्र प्रतिवेदन बुझाउने छ। आयोगलाई सघाउन प्राविधिक समिति समेत बन्ने भएको छ। पार्टी स्थायी समिति सदस्य, पोलिटब्युरो र केन्द्रीय सदस्यविरुद्ध पनि उजुरी परेको स्रोतले जनाएको छ। स्रोतका अनुसार बढी जसो सहरमा घर बनाएका, घरघडेरी जोडेका, ठेक्कापट्टा गरेका विषयमा छन्। पार्टीले सभासद्, पार्टी केन्द्रीय सदस्यदेखि माथि, जनवर्गीय संगठनका कोषाध्यक्षसम्म र जनमुक्ति सेनाका ब्रिगेड कमान्डरसम्मको सम्पत्ति छानबिन गर्ने भएको छ। उजुरी पठाउने कतिपयले नाम लेखेको र कतिपयले उल्लेख नगरेको आयोगका एक सदस्यले बताए। उनका अनुसार आयोगमा पार्टी बाहिरकाले पनि उजुरी पठाएका र कतिपय त हल्का खाले पनि आएको बताए। 'कपालमा जेल लगाएको जस्ता विषयमा पनि उजुरी परेका छन्,' एक सदस्यले भने। कार्यकर्ताले नेताका नभई तिनका नजिकका नातागोताको सम्पत्ति छानबिन गर्न माग गरिरहेका छन्। उनीहरुले आफ्ना नजिकका नातेदारका नाउँमा सहरमा घरघडेरी, सेयर, बैंक ब्यालेन्स र गरगहना राखेको आरोप लगाउँदै आएका छन्। गाउँमा सम्पत्तिको नाउँमा एक टुक्रा जमिन पनि नभएका नेताका नातेदार सहरमा महलका मालिक बनेका उनीहरुको दाबी छ। आफ्ना पायक पर्ने मुख्य सहर महेन्द्रनगर, धनगढी, टीकापुर, घोराही, तुलसीपुर, बुटवल, पोखरा, काठमाडौं, विराटनगरजस्ता सहरमा तिनका आफन्तले महल ठड्याएको कार्यकर्ताको आरोप छ। यसैगरी नेताका नातेदारका नाउँमा घर-घडेरी किनिएका छन्। 'नेता भ्रष्टाचारी भएको' भन्दै कार्यकर्ताले चर्को आलोचना गरेपछि गत महिना सम्पन्न केन्द्रीय समितिले वरिष्ठ उपाध्यक्ष मोहन बैद्यको अध्यक्षतामा सात सदस्यीय उच्चस्तरीय छानबिन आयोग गठन गरेको थियो। आयोगले भदौ १५ गतेसम्म नेताका अनियमितताबारे उजुरी पठाउन आग्रह गरेको थियो। जिल्ला जिल्लामा रिपोर्ट पठाउन सर्कुलर गर्नुका साथै नेताहरुले काठमाडौं, पोखरा, धरान, वीरगन्ज, नेपालगन्ज र रुपन्देहीका राज्य समितिस्तरीय प्रशिक्षणमा कार्यकर्तालाई उजुरी गर्न हौस्याएका थिए। -किरण पुन

रेडियो दोभानको नवौं वार्षिक उत्सव बनभोज कार्यक्रम

वासिंड.टन डीसीबाट विगत आठ वर्षदेखि हरेक आइतबार दिउँसो प्रत्यक्ष प्रशारण हुँदै आएको रेडियो दोभानले आफ्नो नवौं वार्षिक उत्सव एक बनभोज कार्यक्रमको आयोजना गरी सेप्टेम्बर ६ तारिख आइतबार मनाएको छ ।मेरिल्याण्डस्थित केविन जोन पार्कमा सम्पन्न उक्त बनभोज कार्यक्रमको प्रमुख अतिथिका रुपमा नेपाली नायक राजेश हमाललाई रेडियो दोभानका तर्फबाट रेडियोका अध्यक्ष नगेन्द्र पौडेलले कदर पत्र प्रदान गर्नुभएको थियो ।विशेष अतिथि नायक राजेश हमालले विदेशमा रहेर पनि नेपाल र नेपाली भाषासंस्कृतिलाई संझदै रेडियो चलाउनुभएकोमा रेडियो संचालकहरुलाई धन्यवाद दिनुभयो । हमालले रेडियोले नेपाली समाजलाई बलियो बनाउन मद्दत गर्ने बताउँदै रेडियोको सफलताको कामना गर्नुभयो । नायक हमालले आफू अमेरिका आउँदै पटक रेडियो दोभानले आफूसित प्रत्यक्ष कुराकानी गरेको स्मरण समेत त्यहाँ गराउनुभएको थियो । त्यसैगरी अर्का नेपाली नायक सरोज खनालले आफू जहाँ भएपनि नेपाली भाषा संस्कृति र कलालाई छाड्न नसकेकै कारण आज अमेरिकामा रहेर पनि नेपाली कलालाई निरन्तरता दिएको जनाउँदै आगामी सेप्टेम्बर १९ तारिख अमेरिकामा रहेका नेपाली कलाकारहरु मिलेर एक दशैंको उपक्ष्यमा सांस्कृति कार्यक्रम गर्न लागेको बताउँदै आगन्तुक नेपालीहरुलाई समेत सो कार्यक्रमा आउन हुन अनुरोध गर्नुभयो ।त्यसैगरी कार्यक्रममा अमेरिकाका लागि नेपाली दूताबासका प्रथम सचिव बाबुराम शर्माले आफू भर्खरैमात्र अमेरिका आइपुगेको र यसरी रेडियो दोभानको कार्यक्रममा आउन पाएर खुशी भएको बताउँदै रेडियो दोभानको आगामी दिनमा समेत उत्तरोत्तर प्रगतिको कामना गर्नुभयो ।कार्यक्रमको शुरुमा रेडियो दोभानकै संस्थापक सदस्य डिगबहादुर तामाड.ले नेपाली समाजको एकमात्र रेडियोलाई संचालनका लागि बनभोजमा आगन्तुक सबैलाई चन्दा दिइ सहयोग गर्न अपील गर्नुभएको थियो ।सैगरी रेडियो दोभानका अर्का सदस्य निरन्जनमानसिंह रेग्मीले आगन्तुक सबैलाई स्वागत गर्नुभएको थियो भने कार्यक्रमका सभापति नगेन्द्र पौडेलले आगन्तुक सबैलाई धन्यवाद ज्ञापन गर्दै नेपाली समाजका लागि आफूहरुले संचालन गर्दै आएको रेडियोलाई सबैले हरतरहले सहयोग पुर्याउन आग्रह गर्दै सबै आगन्तुकहरुलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।त्यसैगरी स्थानीय सबै सामाजिक संघसंस्थाहरुलाई कार्यक्रम संचालक मुक्ति दवाडीले धन्यवाद दिंदै आगामी दिनमा समेत रेडियो संचालनका लागि हरेक प्रकारबाट सहयोग गर्न आग्रह गर्नुभएको थियो ।कार्यक्रममा डीसी मेट्रो क्षेत्र -वासिंड.टन डीसी, बाल्टिमोर, मेरिल्याण्ड, भर्जिनिया) का नेपालीहरुको उपस्थितिरहेको थियो ।रेडियो दोभान हरेक आइतबार दिउँसो १ बजेदेखि २ बजेसम्म मेरिल्याण्डस्थित एम ९५० को डब्ल्युसीटीएन स्टेशनमार्फत् प्रत्यक्ष प्रशारण हुने गर्छ र यसका कार्यक्रमहरु रेडियो दोभान डटकमबाट समेत सुन्न सकिन्छ । - नेपाली पोष्ट

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक