20091007

वर्षाका कारण सुदूरपश्चिममा ३५ जनाको मृत्यु !!!


चार दिनदेखि परिरहेको अविरल वर्षाका कारण सुदूरपश्चिममा ३५ जनाको मृत्यु भएको छ। एकजना बेपत्ता भएका छन्। वर्षासँगै आएको पहिरोमा पुरिएर अछाममा १८, डडेल्धुरामा १२, बझाङ्गमा दुई र डोटी र बैतडीमा एक–एक जनाको मृत्यु भएको हो भने कञ्चनपुरमा बाढीले वगाउदा एकजना बेपत्ता भएका छन्। मंगलबार बिहान १० बजे अछामको बाचलकोट गाविस वडा नं.९ भासुवनमा आएको पहिरोले ४ वटा घर पुरिँदा बालबालिका र युवाहरु गरी १८ को मृत्यु भएको छ। पहिरोले पुरिएर ज्यान गुमाएका मध्ये बोहरा थरका कैलु, तारा, जमुना, पारु, फुँगे र सुरत बोहराको मात्रै सनाखत भएको छ। पहिरोबाट ५०० घरपरिवार विस्थापित भएका छन्।
लगातारको भीषण वर्षाका कारण छिमेकी गाउँबाट गएकाहरु पनि उद्धार गर्न नसकि फर्किएका छन्। अछामका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले उद्धारका लागि प्रहरी टोली पठाएपनि लगातारको वर्षाका कारण उद्धारकार्यमा कठिनाई भईरहेको बताए। त्यस्तै अविरल वर्षाका कारण डडेल्धुराको मष्टामाण्डौ गाविस वडा न १ गर्खागांउमा दुई घर पहिरोमा पुरिदा १२ जनाको मृत्यु भएको छ। मष्टामाण्डौ १ गार्खागांउमा मंगलबार विहान करिव ४ वजे दुई घर पहिरोमा पुरिएपछि एकै परिवारका डम्वरवहादुर, माता देवी, सुनादेवी, हेमा र ठगुदेवी भूलको मृत्यु भएको छ। त्यसैगरी विजय भूल सहित उनको परिवारका पद्मा, लालीदेवी, रमेश, महादेव र वसन्ती भूलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ। घटनास्थलबाट पुनी भूल र विस्ना भूलको सकुसल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक तुलसी आर्यालले जानकारी दिए। बझाङ्गमा मंगलबार बिहान साढे सात बजे घरमाथिबाट आएको पहिरोमा पुरिएर माझीगाँउ गाविस ३ नुवाकोटका धनराज उपाध्यायकी छोरीहरु १८ वर्षिया जुना र अढाई वर्षिया पञ्चकलाको मृत्यु भएको ब्कभाङ्गका प्रहरी नायव उपरिक्षक बशन्त पन्तले जानकारी दिए।
यस्तै डोटीको दिपायल सिलगढी नगरपालिका १३ पाँङ्गरी गाँउका तिलक विष्टका पाँच वर्षिय नावालक छोरा पूर्ण विष्टको ज्यान गएको छ। विष्टको घर पुरिँदा एकहल गोरु, चार गाई र ६ ओटा बाख्रा समेत मरेका जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। त्यसैगरि बैतडीको मल्लादेही गाविस ७ विर्खमका करविर सार्कीको घर पहिरोले वगाउदा उनका ११ वर्षिय महेश सार्कीको ज्यान गएको छ। यता कञ्चनपुरको देखतभुली गाविसमा मछेली नदीले बगाँउदा तीस बर्षिय उदुवा राना बेपत्ता भएका छन। चार दिन दिनसम्म लगातार रुपमा परेको वर्षाका कारण सुदूरप्ाश्चिमको जनजजीवन प्रभावित बनेको छ। वर्षाबाट कञ्चनपुर, कैलाली, डडेलधुरा सहित आसापासका छिमेकी जिल्लामा भित्र्याउन लागिएको धानवाली डुबानमा परेको छ भने राजमार्ग र बाटोघाटो अवरुद्ध हुँदा जनजीवन प्रभावित भएको छ। कैलालीको टीकापुर, भजनी, चौमाला लगायतका ठाउँ डुवानमा परेका जिल्ला प्रहरी कायालय कैलालीले जनाएको छ। डडेल्धुरामा पनि हजारौं रोपनी धानवाली नष्ट भएको छ भने सर्व साधारणको जनजीवन कष्टकर बन्दै गएको छ। अबिरल बर्षाका कारण कञ्चनपुर जिल्लामा दर्जनौ गाँउ डुबानमा परेका छन। डुवानका कारण भएको धनजनको क्षतिको एकिन विवरण भने प्राप्त हुन सकेको छैन्। लगातार परेको वर्षाले भाँसीमा रहेको विद्युतको ३३ हजार केभि लाइनको पोल ढलेपछि लालपुर देखी सदरमुकाम भीमदत्तनगर, सुडा र दोधारा–चाँदनीमा भएको विद्युत आपूर्ति सेवा अझै सुचारु हुन सकेको छैन्। सोमवार दिउँसोदेखि भएको विद्युत आपूर्ति बन्दका कारण भीमनगरबाट प्रकाशित हुने सम्पूर्ण पत्रपत्रिकाहरु बन्द भएका छन्। नगरपालिकाका १९ वटै वडा, सुडा र दोधारा–चाँदनी गाविसमा विद्युत आपूर्ति बन्द भएको नेपाल विद्युत प्राधिकरण कार्यालय भीमदत्तनगरले जनाएको छ। लगातार परिरहेका वर्षा आज रोकिने सम्भावना भएका कारण आजै ढलेको विद्युत पोलको मर्मत हुन सक्ने विद्युत प्राधिकरणको लालपुरस्थित सब–स्टेशनले जनाएको छ।

चार दिनदेखिको लगातार वर्षाले दाङ सल्याण, सल्याण रुकुम सडक खण्डको ठाँउ ठाँउमा पहीरो झरेपछि यातायात अवरुद्ध भएको छ। सल्याण लुहाम बजारको त्रिबेनी नजिक पहीरो झरेपछि मंगलबार रातीबाट दाङ सल्याण सडक खण्ड बन्द भएको हो। पहिरोका कारण सडक अवरुद्ध भएपछि बुधबार बिहानैदेखि दाङ सल्यान चल्ने कुनैपनि सवारीका साधनहरु चल्न सकेका छैनन्। त्यस्तै सल्यान, रुकुम र मुसिकोटमा ठाँउठाँउमा झरेको पहिरोका कारण मंगलबारदेखि बन्द सडक खण्ड अझै खुलेको छैन। त्यसैगरी लगातारको वर्षाले दाङ, सल्याण र रुकुममा मकै र धानबालीमा गरी लाखौको क्षती पुर्‍याएको छ। राप्ती पहाडी जिल्ला रुकुम, रोल्पा र सल्याणमा कृषकले भित्र्याउने समयमा मकैबाली बारीमा कुहिन थालेको बताएका छन। दाङमा पनि लगातार बर्षाले धानबाली ढुबानमा पारेकाले कुहिन थालेको छ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक