20091211

"पठाइदिउँ स्वर्गवास? उतै छन् यदु गौतम र उतै लाउँछेस् यदुको हातबाट सिन्दूर भन्दै गाली गर्न थाले।"

तीन पटकसम्म टाउको ढुंगामा ठोक्काइदिएका थिए। त्यसपछि बाँधेर ब्लेडले हात खुट्टा चिरे। अब त मर्छे भन्दै भिरबाट खसालिदिए - पत्रकार टीका बिष्ट

  "जिम्मेवार राजनीतिक दलकै संरक्षणका कारण' गम्भीर प्रकृतिका अपराध" : प्रधानमन्त्री

'मैले आफ्नो जिम्मेवारीमात्र पूरा गरेको हुँ ,कसैको केही बिगार गरेको छैन, नाइँ मलाई नमार,' काठमाडौं मोडेल अस्पतालको १४ नम्बरको क्याबिनमा उपचार गराइरहेकी पत्रकार टीका बिष्टको भनाइले त्यहाँ पुगेका धेरैलाई झस्काइदियो। समाचारकै कारण मंगलबार अज्ञात समूहको सांघातिक आक्रमणमा परेकी बिष्टको स्वास्थ्य अझै गम्भीर छ। चिकित्सकका अनुसार उनको स्वास्थ्य स्थीर रहे पनि होस खुलेको छ। उनलाई भेट्न बिहीबार अस्पताल पुगेका सभामुख सुवासचन्द्र नेम्वाङ, पूर्वसेनापति रुक्मांगत कट्वाल र सञ्चारकर्मीसँग घटनाबारे बताउने प्रयास गर्दा उनलाई निकै गार्‍हो भयो। पत्रकारहरूतिर हेरेर गहभरि आँसु पार्दै बिष्टले भनिन्, 'मृत पत्रकारको सूचीमा नाम राख्छौं भन्दै आक्रमण गरेर फालिदिएका थिए, तर,.......
सास रहुन्जेल म विचलित हुन्नँ।' घटनाबारे बताउने प्रयास गर्दा शरीरले साथ दिएन। 'बेलाबेला चिच्याएर घटनाको संवाद बोल्छिन्,' सँगै रहेका दाजु उदयकुमारले नागरिकसँग भने, 'तर, बोल्नै नसक्ने भएपछि संवाद बीचैमा रोकिन्छ।' बिष्टका अनुसार मंसिर १३ गते गाउँमा आमा बिरामी भएको खबर आएपछि भेट्न जाने मनस्थिति बनाएकी उनको मोबाइलमा 'नो नम्बर' देखिएर घन्टी बजेको थियो। बिरामी आमालाई झनै च्यापेर फोन आयो कि भन्दै फोन उठाउँदा उताबाट धम्की आएको थियो। 'मैले को बोल्नु भयो भनेर सोधेको, उताबाट आवाज आयो, किन चाहियो तँलाई, दुनियाँको सिन्दूरको बारेमा लेख्ने? खुब पत्रकार भइछेस्, शान छ हगि?' उनले अस्पतालमा बताइन्, 'तीर्थाको सिन्दूरको बारेमा लेख्ने तँलाई के अधिकार, पठाइदिउँ स्वर्गवास? उतै छन् यदु गौतम र उतै लाउँछेस् यदुको हातबाट सिन्दूर भन्दै गाली गर्न थाले।' लामो समयसम्म उनको कुरै नसुनी एकोहोरो गाली गरेका उनीहरूले आफूहरूविरुद्धमा समाचार लेखेको भन्दै मारेर मृत पत्रकारको सूचीमा राखिदिने धम्की दिएर फोन काटेका थिए।

बिष्टका अनुसार फोन आएकै दिन उनको कोठावरिपरि अपरिचित केटाहरू घुमेका थिए। धम्की आएपछि उनले स्थानीय सञ्चार माध्यम र स्थानीय प्रशासनमा लिखित रूपमा सुरक्षाको माग गरेकी थिइन्। उनले भनिन्, 'पत्रकारसम्बद्ध संघसंस्था र प्रमुख जिल्ला अधिकारीलाई समेत धम्कीको बारेमा जानकारी गराएकी थिएँ,' बिष्टले भनिन्, 'त्यसपछि घटनाको दिनसम्म करिब दस दिन फोन आएन।'

मंसिर २३ गते बिहान रुकुममा २०५६ सालमा २२ जनाको ज्यान जाने गरी भएको घटनाको विषयमा लेख लेख्ने सोचमा सिस्ने एफएमबाट काम सकेर निस्कन लागेकी उनलाई 'भाउजू बिरामी छन्, सल्ले अस्पताल आउनू' भन्दै फोन आएको थियो। त्यसपछि हतारिँदै अस्पतालतिर लागेकी उनी ५० मिटर टाढा नपुग्दै तीनजना मुखुन्डोधारीले लखेट्न थालेका थिए।

आक्रमणकारीदेखि भाग्दै गर्दा उनले आत्तिएर साथी तेजकुमार शर्मालाई दौडँदै फोन गरेकी थिइन्। तेजकुमारले आफू बागखोरमा रहेको बताएपछि अर्का पत्रकार धनवीर दाहाललाई फोन गरेकी थिइन्। धनवीरसँग आफू आक्रमणकारीको पञ्जामा परेको बताउँदै गर्दा मुखमा पट्टी बाँधेको कालो चस्मा लगाएको तीमध्येको एकले उनलाई समातेको थियो। अर्कोले उनको ब्याग खोसेर ल्यापटप, मोबाइल, रेडियो फुटाएको र अर्काले मुखमा पट्टी बाँधिदिएको उनले बताइन्। उनीहरूले घाँटीमा समाएर तीन पटकसम्म टाउको ढुंगामा ठोक्काइदिएका थिए। त्यसपछि बाँधेर ब्लेडले हात खुट्टा चिरे। बिष्टले भनिन्, 'अब त मर्छे भन्दै भिरबाट खसालिदिए।'

उनीहरूले मरेको भन्दै फ्याँके पनि आफू जीवितै रहेर कलम चलाइरहने उनले प्रतिवद्धता जनाइन्। 'मरेका पत्रकारको सूचीमा नाम राख्ने रहर छैन,' उनले भनिन्, 'सरकारले सुरक्षा दिए जुनसुकै स्थानमा बसेर पनि पत्रकारिता गर्न सक्छु।'

चिकित्सकका अनुसार बिष्ट अघिल्ला दिनभन्दा अलि बोल्न सक्ने भएकी छिन्। उपचारमा संग्लन अर्थोपेडिक शिक्षा श्रेष्ठका अनुसार टाउकोदेखि खुट्टासम्मै नराम्रा असर परेको छ। उपचार थालेको ७२ घण्टापछि मात्र अवस्थाबारे स्पष्ट भन्न सकिने उनले बताए। उनका अनुसार ढुंगामा बजारिएकाले मांसपेसी र टाउकोमा चोट पुगेको छ। अस्पतालका वरिष्ठ न्युरोसर्जन डा. प्रकाश विष्टका अनुसार उनको स्वास्थ्यमा सुधार आउन करिब १० दिन लाग्न सक्छ। 'होस खुल्यो भन्दैमा सुधार आएको भन्न मिल्दैन,' बिष्टले भने, 'कतिपय परीक्षण बाँकी छन्।'

बिष्टमाथि आक्रमणको विरोधमा पत्रकारहरूले विहीबार देशभरका जिल्ला प्रशासन कार्यालयअघि धर्ना दिएका छन्। नेपाल पत्रकार महासंघको अगुवाइमा भएको विरोधमा पत्रकारहरूले दिउँसो तीनबजे जिल्ला प्रशासन कार्यालयअघि मुखमा कालो पट्टी बाँधेर आधा घन्टा धर्ना दिएका थिए। जिल्ला प्रशासन कार्यालय काठमाडौंमा भएको कार्यक्रममा महासंघका महासचिव पोषण केसीले घटनाको तीन दिन बित्दा पनि दोषी पत्ता लाग्न नसक्नु दुखद भएको बताए। समयमै जानकारी पाउँदा पनि सरकारले उपचारका लागि राजधानी ल्याउन ढिला गरेकामा उनले आक्रोश पोखे।
समाचार लेखेकै कारण ३ दिन अघि पत्रकार टीका बिष्टलाई आक्रमण गरिए पछि रुकुमका अन्य पत्रकारहरु पनि त्रसित बनेका छन्। जीवन नै संकटमा परेपछि कतिपय पत्रकारहरुले पेशा छाडने सोच बनाएका छन् भने अन्य कतिपयले अप्ठेरो समाचार नलेख्ने मनसाय बनाएका छन्।

टीकामाथि आक्रमणपछि पत्रकार मात्र होइन, रुकुमका राजनैतिक दलहरु समेत अन्यौलमा छन्। घटना बारे दलहरुको धारणा बुझ्न खोज्दा नेकपा माओवादीबाहेक अन्य दलहरुले स्पष्ट रुपमा बोल्न सकेका छैनन्। माओवादीका जिल्ला सेक्रेटरी वीरताले उक्त घटनामा आफ्नो पार्टी संलग्न नरहेको दाबी गरे। तर नेकपा एमाले र नेपाली कांग्रेसले भने स्पष्ट बोल्न सकेका छैनन्। नेकपा एमालेका कार्यवाहक जिल्ला अध्यक्ष टोपबहादुर ओली टीकामाथिको आक्रमणमा माओवादी संलग्नताको आशंका गर्छन्, 'माओबादीले गरे जस्तो लाग्छ, छिटो छानबिन हुनुपर्छ।'

सबैले छिटो छानबिनको माग गरे पनि घटनाको ३ दिन बित्दा पनि घटनामा सामेल हुनेहरुको पहिचान हुन सकेको छैन्। प्रशासनले अनुसन्धान भैरहेको बताएको छ। रुकुमका प्रमुख जिल्ला अधिकारी सम्भु प्रसाद मरासिनीले बिहीबार यस विषयमा अनुसन्धान भैरहेको बताए। आक्रमणको विरोधमा बुधबारदेखि सदरमुकाम मुसिकोट बन्द तथा स्थानीय एफ एममा समाचार नबजाएका पत्रकारहरुले बिहीबार पनि विरोध जारी राखे।

प्रधानमन्त्री माधवकुमार नेपालले 'जिम्मेवार राजनीतिक दलकै संरक्षणका कारण' गम्भीर प्रकृतिका अपराधमा संलग्न व्यक्तिमाथि कारबाही गर्न कठिन भइरहेको बताएका छन्। बाराका पत्रकार वीरेन्द्र साह, कैलालीका प्रकाश ठकुरी, कोटेश्वरका व्यवसायी रामहरि श्रेष्ठका हत्याराहरू 'खुलेआम हिँडिरहेको' गुनासो गर्दै उनले ६१ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका अवसरमा राष्ट्रिय मानव अधिकार आयोगद्वारा बिहीबार आयोजित कार्यक्रममा भने, 'उनीहरूलाई गिरफ्तार गरी कारबाही अघि बढाउन सरकार तयार छ, तर यसमा तपार्इंहरू सबैको साथ चाहिन्छ।' 'शक्तिशाली अपराधी खुलेआम अपराध गर्छन् र खुलेआम हिँड्छन्,' मानव अधिकारवादी संघसंस्था, कूटनीतिक समुदाय तथा नागरिक समाजका प्रतिनिधि उपस्थित कार्यक्रममा प्रधानमन्त्रीले भने, 'तपार्इंहरूको साथ भए जति ठूलो अपराधी भए पनि कारबाही गर्न सक्छौं।'
राष्ट्रसंघीय मानव अधिकार उच्चायोगका नेपाल प्रतिनिधि रिचर्ड बेनेटले पीडितको सत्य, न्याय तथा क्षतिपूर्ति दिलाउन अन्तर्राष्ट्रिय मापदण्डबमोजिमको बेपत्ता आयोग यथासक्य चाँडो गठन गर्न आग्रह गरे।
'अदालतले सफाइ दियो'
प्रधानमन्त्रीले अछाममा महिला प्रहरी बलात्कार घटनाका दोषी पक्राउ गरी थुनामा रहेको र उनीहरूको मुद्दा अदालतमा विचाराधीन रहेको बताए। आरोपीमध्ये केहीलाई जिल्ला अदालतले मुक्त गरेको भन्दै यसमा सरकारलाई नमुछ्न उनले आग्रह गरे। 'सरकारले उनीहरूमाथि मुद्दा चलाएको हो, मुद्दाको सुनुवाइ अदालतले गर्ने हो, अदालतले उनीहरुमध्ये केहीलाई छोड्न (सफाइ) आदेश दिएको छ भने सरकारले के गर्न सक्छ?'
घटनामा मुछिएकालाई तल्लो अदालतले रिहा गरेका सम्बन्धमा आफूले प्रधानन्यायाधीश मिनबहादुर रायमाझीसँग चासो व्यक्त गरेको समेत प्रधानमन्त्रीले बताए। -- अर्जुन सुवेदी
एक वृद्धाको विभत्स हत्या
नुवाकोटको सुदूरपूर्वी दुर्गम वेतिनी गाविसमा एक वृद्धाको विभत्स हत्या भएको छ। हत्या गरेको शङ्कामा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। सदरमुकाम विदुरदेखि २० कोष पूर्वमा रहेको वेतिनी गाविस वडा नं. ८ ढोडेनी निवासी ८५ वर्षिया वृद्धा साहिँली तामाङको गएराति निर्मम तरिकाले घाँटी रेटेर हत्या भएको अवस्थामा शव फेला परेको छ। वृद्धा तामाङको शव टाउको र शरीर छुट्टिएको अवस्थामा फेला परेको नुवाकोट प्रहरीले जनाएको छ। घरमा एक्लै बस्दै आएकी तामाङको परिवारमा कोही पनि छैनन् भने वेतिनी गाविस वडा नं. ९ मा उनका सौतेनी छोराका परिवार बस्ने गरेका छन्। राति आएको अज्ञात समूहले वृद्धाको धारिलो हतियार प्रयोग गरी हत्या गरेको पाइएको छ। हत्याको शङ्कामा प्रहरीले स्थानीय १९ वर्षीय शंकर लामा, ३५ वर्षीय तोप्तेन तामाङ, ४३ वर्षीय चुतर तामाङ, २४ वर्षीय शीर लामा र ३५ वर्षीय सोल्पे तामाङलाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको प्रहरी निरीक्षक कोमल शाहले बताएका छन्।

पहिले ढुङ्ग्री, तिलहरीलगायतका विभिन्न गहना लगाउँदै आएकी तामाङको हत्यापछि  उनको शरीरमा कुनै पनि गहना फेला नपरेको उनका सौतेनी छोरा तोक्पेन तामाङले शुक्रबार बताए। तामाङको मृत्युपछिको अन्तिम संस्कार घेवामा करिव डेढ लाख रुपैयाँ खर्च लाग्ने विषय उठान गर्दै तोक्पेन तामाङले आफूलाई मृतक सौतेनी आमाले आफ्नो निधनपछि गरिने अन्तिम संस्कार घेवाका लागि चाहिने रकम र गहना आफूसँग छ, तिमीहरुले ऋण गर्नुपर्दैन' भन्दै आएकाले वृद्धाको साथमा करिव ७० हजार नगदसमेत हुनुपर्ने र सोसमेत लुटिएको तोक्पेनले बताए। - देवचन्द्र भट्ट

1 comment:

  1. testa aparadhiharulai chito vanda chito karbahi garinu paryo.patrakar tika bistako aakramanma samlagna ti aparadhiharulai chito vanda chito khoj talas gari tiniharulai pani kada karbahi garinu paryo. sarkar k herera baseko 6 ahile samma pani?

    ReplyDelete

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक