20100116

माओवादी कब्जामा मन्त्रीको कार्यक्रमस्थल !

हजारौंको ज्यान लिएर ठूलो पार्टी बनेको माओवादीले सभास्थल नै कब्जा गरेको पहिलो घट्ना भएको स्थानीय विकास मन्त्रीको दुखेसो

उदयपुर / एकीकृत नेकपा माओवादीका कार्यकर्ताले शनिबार स्थानीय विकास मन्त्री पूर्णकुमार सेर्मालाई पूर्व निर्धारित स्थलमा कार्यक्रम गर्नबाट रोकेका छन्। जिल्ला विकास समिति सभाकक्षमा तयार गरिएको कार्यक्रमस्थल मन्त्री आउनुअघि नै कब्जा गरेकाले त्यहाँ मन्त्रीको कार्यक्रम हुन सकेन। पार्टी इन्चार्ज अनिललगायत् दर्जनभन्दा बढी वाइसिएल कार्यकर्ताले मन्त्री आउनेबित्तिकै कार्यक्रमस्थलबाट कालो झण्डा देखाउँदै नाराबाजी गरेपछि प्रहरीले मन्त्रीलाई अर्कै कोठामा लगेर कार्यक्रम गराएको थियो।सभाकक्ष माओवादीले कब्जा गरेपछि कडा सुरक्षा घेराबीच जिविस बैठक कोठामा आयोजित कार्यक्रममा उनले बन्दुक बोकेर जङ्गलमा रमाइरहेको माओवादीलाई राजनीतिक मूलधारमा ल्याइएको तर ऊ झन् उद्दण्ड हुँदै गएको ..............
टिप्पणी गरेका थिए। हजारौंको ज्यान लिएर ठूलो पार्टी बनेको माओवादीले विरोध गरेको थाहा भएको तर सभास्थल नै कब्जा गरेकोचाँहि पहिलो घट्ना भएको उनको भनाई थियो। 'लोकतन्त्रमा विरोध हुनु स्वाभाविक हो', सेर्माले दुखेसो गरे- तर सभाहल नै कब्जा गर्नु कस्तो परिपाटीको सुरुवात\ गर्न खोजेका हुन ?

शाहीकालमा कालो झण्डा देखाउने कङ्ग्रेस र एमालेले अहिले सेतो झण्डा देखाउँदै शान्ति स्थापनामा लागेका बेला माओवादी भने कालो झण्डा देखाउनेसम्म मात्र भएको बताए। 'तर विस्तार विस्तार उनीहरु पनि सेतो झण्डा समाउनतिर लाग्नेछन्- उनले आशा व्यक्त गरे। 'माओवादीले भनेको नागरिक सर्वोच्चता कस्तो खालको हो भन्दै उनले प्रश्न गरे- नागरिक सर्वोच्चतामा त विधिको शासन हुन्छ, कानुनी राज्य पो हुनुपर्ने हो।

माओवादीले चन्दा माग्ने र घरजग्गा कब्जा गर्नेजस्ता गैरकानुनी कार्य जारी राखेको आरोप पनि मन्त्री सेर्माले लगाए। स्थानीय विकास अधिकारी मोहननाथ मास्के, अधिकृतहरु युवराज पोखरेल र विश्वजीत राईले जिल्लाको वर्तमान वस्तुस्थितिबारे मन्त्री सेर्मालाई जानकारी गराएका थिए। गाविस सचिव योगेश्वर खनालले गाविसमा किरात जनवादी वर्कर्स पार्टी, पुनर्गठित माओवादीलगायत् समूहले चन्दा मागेर काम गर्न बाधा पुर्‍याएको भन्दै गुनासो गरेका थिए।

२० प्रहरी निलम्बन

सरकारले कपिलवस्तुका २० प्रहरीलाई निलम्बन गरेको छ। गए राति कपिलवस्तु कारागारबाट ८ कैदी सुरुङ खनेर भागेपछि उनीहरुमाथि अनुसन्धान गर्न प्रहरीले यो कदम चालेको हो। सइ मनबहादुर थापाको कमाण्डमा रहेको कारागार सुरक्षा टोलीले जिम्मेवारी पूरा गर्न नसकेको भन्दै उनीहरुलाई निलम्बन गरिएको प्रहरीले जनाएको छ। यसैबीच कैदी भागेको घटना सम्बन्धमा छानबिन गर्न जिल्लामा दुई वटा समिति गठन भएका छन्। जिल्ला प्रशासन कार्यालयले सहायक प्रमुख जिल्ला अधिकारी कोशलराज शर्माको अध्यक्षतामा एउटा समिति गठन गरेको छ। जसमा प्रहरी निरीक्षक केदार खनाल र अनुसन्धान अधिकृत शिशजङ्ग पाण्डे सदस्य छन्। त्यसैगरी प्रहरीले गठन गरेको समितिमा डिएसपी वसन्त रञ्जितकारको संयोजकत्वमा प्रहरी निरीक्षक केदार खनाल, मदन कुँवर, असइ रामचन्द्र पन्त, प्रह ओमप्रकाश यादव, सत्यनारायण यादव, श्यामसिंह चौधरी र प्रज श्रीराम छन्।

यसैबीच संयुक्त जनतान्त्रिक तराइ मुक्ति मोर्चाका दाङ इन्चार्ज विराटले जेलबाट भागेकाहरु आफ्नो सम्पर्कमा आएका दाबी गरेका छन्। भागेकामध्ये तीन जना आफ्ना सक्रिय कार्यकर्ता भएको दाबी पनि उनले गरे।

यसरी कैदी भागेपछि जिल्लाका सर्वसाधारण र व्यापारी भने त्रसित छन्। सुरुङ खनेर भाग्नेमा हत्या, बलात्कार, हातहतियार तथा खरखजना मुद्दामा बन्दी जीवन बिताइरहेकाहरु छन्। अढाइ फिट चौडा र १० फिट लम्बाइको सुरुङ खनेर उनीहरु भाग्दा कारागारका सुरक्षाकर्मीले थाहा नपाएको प्रहरीले जनाएको छ। भाग्नेहरुमा कर्तव्य ज्यान मुद्दा लागेका रामजस मुराबु, प्रभु तेली, श्रवणकुमार मौर्य छन्। हातहितयार तथा खरखजना अभियोगमा थुनामा रहेका तथा अदालतको आदेशपछि बन्दी जीवन बिताइरहेका केदार सहानी, स्कूल मियाँ अन्सारी, बगेदो मुसलमान फरार भएका छन्। उनीहरु तराइमा सशस्त्र संघर्ष चलाइरहेका समूहका सदस्य भएको सुरक्षास्रोतले नागरिकन्युजलाई बतायो।

भाग्नेमा बलात्कार अभियोग प्रमाणितपछि जेल जीवन बिताइरहेका शन्तकुमार पासी र लागू औषध मुद्दा प्रमाणितपछि जेलमा रहेका सन्तोष काहार पनि छन्। सुरक्षा घेरालाई चुनौती दिँदै कैदी भागेपछि कपिलवस्तुका सुरक्षा अधिकारी आइतबार बिहानै कारागार निरीक्षणमा छन्। प्रहरीले उनीहरुको खोजी भइरहेको जनाएको छ। राणाकालमा निर्माण गरिएको कारागार जीर्ण अवस्थामा छ। कारागार वि.सं. १९९५ सालमा निर्माण गरिएको थियो। २०६३ भदौमा पनि यस कारागारबाट यसैगरी सुरुङ खनेर ७ कैदी भागेका थिए।
- गोपाल भण्डारी

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक