20100118

चमत्कार गर्ने कुरा गर्ने प्रचन्ड का बोलीहरु यसरी छिन् छिन् मा फेरिन थालेपछि ....!


निर्वाचनबाट सबैभन्दा ठूलो हैसियत पाएको दलका सबैभन्दा ठूला नेता नै एउटा चटके भएर प्रकट हुन्छन्, उनले बोलेको कुरा कसैले पत्याउनै नहुने, बिहान बोलेको कुरा बेलुका खण्डन हुने र राष्ट्रकै लागि गम्भीर र संवेदनशील विषय ठट्टा मजाक बनाइदिने गर्छन् भने त्यो देशको अवस्था कस्तो होला? एकीकृत नेपाल कम्म्युनिस्ट पार्टी (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल देशमा एउटा त्यस्तो पात्रका रुपमा स्थापित हुँदैछन्, जसले सार्वज्ानिक ठाउँमै बोलेका कुरा गरेका भाषणप्रति कुनै एउटा नागरिकका लागि थोपोसम्म भर पर्न नहुने भएको छ।

त्यसका केही उदाहरणः
पुस २४ गते उच्चस्तरीय संयन्त्र बन्यो। यसका एक सदस्य प्रचण्डले संयन्त्रको गठन सन्दर्भमा पत्रकारहरूलाई जानकारी दिंदै प्रधानमन्त्री नै अहिलेको समस्या भएको हुँदा उनलाई यो संयन्त्रमा राख्ने कुरै आउँदैन भने। उनको यो भनाइ त्यसपछिका पाँच दिनसम्म कायम रह्यो।...
यी सबै दिन उनले सार्वजनिक समारोहमा पनि एकपटक भनिरहे। जब उनी पश्चिमबाट फर्किएर राजधानी आए, संयन्त्रका संयोजकबीच भेटवार्ता भयो। त्यसपछि पुस ३० गते उनले भने– “प्रधानमन्त्री यो संयन्त्रमा रहन्छन्, यो कुरा पहिले नै तय भएको थियो। यो विषयमा उनको पूर्व भनाइ पाँचै दिनमा उल्टियो।”
***
पुस २५ गते राजधानीको एउटा समारोहमा उनले भने– “राष्ट्रिय स्वाधीनताको मुद्दा उठाएका हुँदा मदन भण्डारी र राजा वीरेन्द्र मारिए, माओवादीले अहिले त्यसरी नै राष्ट्रियताको मुद्दा उठाएपछि मलाई पनि सुरक्षाको खतरा आएको छ।” यसको दुई दिनपछि सुदूरपश्चिमको टनकपुरमा आयोजित एउटा सार्वजनिक समारोहमा (पुस २६) मा उनले भने– सुरक्षा खतरा देशभक्त र क्रान्तिकारीलाई जहिल्यै पनि हुन्छ। मलाई खतरा छ भनेर कहीं भनेको छैन। यसमा उनले अझ थपे– सुरक्षा खतरा अहिलेभन्दा पहिले बढी थियो। सुरक्षा खतरा छ भन्यो भनेर गरिएको प्रचार अतिरञ्जित हो।
***
पुस २२ गते चर्चित खन्ना गार्मेन्टमा उनले आफ्नै उपाध्यक्ष डा. बाबुराम भट्टराईलाई भारतले प्रधानमन्त्रीका लागि प्रस्ताव गरेका व्यक्ति भनी किटानी गरे। उनको भनाइ थियो– बाबुरामजीसँग मेरो झगडा भएर होइन, सत्ताको नेतृत्व कसले गर्ने भन्ने अन्तर्विरोधमा भारत खेलिरहेको छ, उनलाई प्रधानमन्त्री बनाएर सबै कुरा हल हुने भारतले प्रस्ताव राखिरहेको छ।
उनको यो भनाइ पार्टीभित्र नै चर्को आलोचनाको विषय बन्यो। चलिरहेको आन्दोलनको संयोजक स्वयम् डा. भट्टराई थिए। भारतविरुद्ध चौथो चरणको आन्दोलन पनि उनकै संयोजकत्वमा भइरहेको छ, जसको नेतृत्वमा स्वाधीनताको नाम दिएर जसका विरुद्ध आन्दोलन चलिरहेको छ, त्यसैलाई त्यही देशको एजेन्टका रुपमा प्रस्तुत
गरिएको यो घटना आफैंमा अनौठो थियो। अध्यक्ष प्रचण्डले यो भनाईलाई एक दिन पनि टिकाउन सकेनन्। भोलिपल्ट पुस २२ गते नै उनले भने– भारतले कहिले मलाई कहिले बाबुरामलाई प्रधानमन्त्री बनाउन भनिरहेको छ। यो पछिल्लो भनाइ पहिलेको भन्दा ठीक उल्टो हुन जान्छ। आफूलाई वा अर्कोलाई प्रधानमन्त्री बन भन्नु स्वाभाविक हो। जसरी पहिले उनले व्यक्ति किटेर फलानालाई बन भनिरहेको छ भनिदिएका अभिव्यक्ति अस्वाभाविक थियो।
***
पुस २२ गते नै उनले आफू माओवादीको नेतृत्वको सरकार भए त्यसको प्रधानमन्त्री भनी घोषणा गरे। त्यस दिनको केन्द्रीय बैठकपछि पत्रकार सम्मेलन गर्दै उनले भने– पार्टीको नेतृत्वमा सरकार बन्ने अवस्था आएमा अध्यक्षका रुपमा मैले नै सरकारको नेतृत्व गर्ने महत्वपूर्ण निर्णय बैठकले गरेको छ।
अध्यक्ष प्रचण्डको यो पछिल्लो भनाइ उनले केहीपहिले आफैंले भनेको भन्दा बिल्कुलै भिन्न छ। माओवादीले पहिले पार्टीका शीर्षनेताहरू सरकारमा नजाने निर्णय गरेको थियो। जब निर्वाचन भयो, सबै शीर्ष नेता सरकारमा गए। पछिल्लो समय प्रधानमन्त्रीबाट राजीनामा दिएर प्रचण्डले सरकार छाडेलगत्तै केन्द्रीय समितिमा उनले अब आफूले सरकारको नेतृत्व नगर्ने भनी सार्वज्निक रुपमै बताएका थिए। उनको यो भनाइ धेरै दिनसम्म टिकेन। उनकै अध्यक्षतामा बसेको पुस २२ गतेको बैठकमा उनकै प्रस्तावअनुसार दोश्रो तहका व्यक्ति प्रधानमन्त्री हुँदा पार्टीभित्र चलखेल बढ्ने खतरा देखाएर पार्टी अध्यक्षले नै अबको सरकारको नेतृत्व गर्ने भन्ने निर्णय भयो।
***
पुस ७ गते बानेश्वर भाषण प्रचण्ड कसरी मुख फेर्छन् भन्ने सबैभन्दा बढी चर्चित रह्यो। उनले त्यहाँ नेपालका अरु दल नोकर र भारत ती सबैका मालिक भन्ने संज्ञा दिंदै अब नागरिक सर्वोच्चता दिल्ली पुगेको भन्दै अब नेपालमा कुनै दलसँग वार्ता नगरी सोधै भारतसँग वार्ता गर्ने बताउँदै त्यही मञ्चबाट वार्ता शुरु गरेको भनी घोषणा गरेका थिए। आफ्नो देशको नागरिक सर्वोच्चता जस्ता नारा राजनीतिमा अर्को देश भारतको सोझै हस्तक्षेप गराउन खोजेको भनी गम्भीर आरोप लाग्यो। आफ्नो नेतृत्वको संयुक्त सरकार दिएर तेश्रो चरणको आन्दोलनको समापनको दिन उनले व्यक्त गरेका यी भनाइले नेपालमा सरकार बनाउन र नेपाली जनताको सर्वोच्चता कायम गर्न पनि भारत सोझै अग्रसर हुन प्रचण्डले आह्वान गरेको अर्थ लाग्न थाल्यो। उनको यो भाषण सकिएको केही क्षणपछि जुन बेला यता नेपाली टीभी च्यानलहरूले प्रचण्डका यी भनाइ प्रत्यक्ष प्रसारण गरिरहेका थिए, त्यही बेला बीबीसीलाई अन्तर्वार्ता दिंदै उनले भने– दिल्लीसँग वार्ता व्यङ्ग्य मात्रै हो। कतिसम्म भने उनले बोलेका कुरा अखबारले हु–बहु छाप्दा ती अखबारले पीत पत्रकारिता गरेको सम्मका आरोप उनले लगाए। यो उनको आफ्नै बोलीप्रति आफ्नै व्यङ्ग्य थियो।
***
पुस ७ गते लाखांै जनताबीच नेपालका राजनीतिक दललाई नोकर भन्दै अब तिनीहरूसँग वार्ता गर्नुको कुनै अर्थ नरहने र वार्ता पनि नगर्ने भनी गरिएको सार्वज्ानिक घोषणा तीन सातामै तुहियो। त्यसो त नोकर भनी संज्ञा दिएकै दिन बेलुका प्रचण्ड प्रधानमन्त्रीले दिएको रात्रिभोज खान प्रधानमन्त्रीले भनेको ठाउँमा पुगेका थिए भने जुन देशका विरुद्ध आन्दोलन शुरु भएको घोषणा गरिरहेको देश भारतका राजदूतसँग त्यसकै भोलिपल्ट भेट गरेका थिए। यी सबै हुँदै रहँदा तिनै नोकर भनिएकाहरूमध्येका एक, नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइराला संयोजक रहेको उच्चस्तरीय राजनीतिक संयन्त्रको नाममा उनी एक सदस्य बन्न पुगे। पुस २४ गते कोइराला निवासमा भएको भेटवार्तापछि यो संयन्त्र बनेको जगजाहेर छ। त्यसमा प्रचण्डले हुन्न भनेका प्रधानमन्त्री पनि सदस्य भइसकेका छन्।
***
मंसिरको पहिलो साता प्रचण्डले यो सरकार छिट्टै ढलेर तत्कालै नयाँ सरकार बन्ने घोषणा गरेका थिए। नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालालाई भेट्न सिंगापुर गएर मंसिर ३ गते फर्कंदा उनले भने–'अहिलेको गठबन्धन अप्राकृतिक र कृत्रिम हो। यो गठबन्धन खेल छिट्टै भंग हुन्छ, केही दिनपछि प्राकृतिक रुपमा नयाँ गठनबन्धन बन्छ।' उनले यसो भन्दा कोइरालासँगको भेटवार्ता प्रसंग जोड्दै उहाँ पनि नयाँ गठबन्धनको पक्षमा रहेको भन्ने सन्देश दिन खोजेका थिए। कोइरालासँग सौहार्द्रपूर्ण वार्ता भएको, अहिलेको स्थितिप्रति उहाँमा चिन्ता देखिएको जस्ता अभिव्यक्तिपछि नयाँ गठबन्धन तत्काल बन्ने भनिंदा सिंगापुरमा सरकार परिवर्तनका सन्दर्भमा कुरा भएको भन्ने बुझे नेपाली जनताले।
***
मंसिर ३ गते प्रचण्डले दिएको यस्तो सन्देश अर्को तीन दिन पनि टिकेन। मंसिर ७ गते नेपाल फर्कंदा कोइरालाले बाटैमा भन्नुभयो– यही सरकारले निरन्तरता पाउँछ। त्यसपछि कोइराला–प्रचण्डबीच कोइरालानिवासमा भेट भयो। त्यसबेला सार्वजनिक भएको समाचारअनुसार कोइरालाले प्रचण्डलाई सरकारबारे हुँदै नभएको कुरा गरेर भ्रम पारेको भनी प्रश्न गर्नुभयो। प्रचण्डले आफ्ना पहिलेका अभिव्यक्ति सच्याउँदै त्यो भेटपछि पत्रकारसँग भने– मैले कोइरालासँग सरकार परिवर्तनका बारे कुरा भएको भनी बताएकै थिइनँ, पत्रकारहरूले गलत बुझे।
प्रचण्डले त्यसबेला (मंसिर ३ गते) भनेको केही दिन माघ ३ गते ठीक दुई महिना पुगेको छ। तर यो दिनसम्म सरकार टसमस भएको छैन। उल्टो त्यही सरकारका प्रधानमन्त्रीलाई आफू सदस्य रहेको संयन्त्रमा राख्न मन्जुरी दिइयो।
***
नागरिक सर्वोच्चताको नारा दिएर झण्डै नौ महिनासम्म आन्दोलन गरिरहेको माओवादीको यो नारा स्वयम् के हो भन्नेबारे प्रचण्डले २०६६ भदौ २१ गते विराटनगरको एउटा सभामा भने, 'प्रत्येक जनताका हातमा जबसम्म हतियार पुग्दैन तबसम्म नागरिक सर्वोच्चता कायम हुँदैन। सबैका हातमा बन्दुक पुग्न पर्योस, हामीले भनेको नागरिक सर्वोच्चता त्यही हो।' प्रत्येक जनताले बन्दुक पाउन् भन्ने विषयलाई नागरिक सर्वोच्चता मान्ने माओवादी अध्यक्ष प्रचण्डको यो भनाइ सर्वत्र विरोधको विषय बन्यो। राजनीतिक दल, नागरिक समाजदेखिका विभिन्न वर्ग व्यवसायका व्यक्तिहरूले बन्दुकको वर्चश्वलाई नागरिक सर्वोच्चतासँग जोडेको कुराको तीव्र आलोचना गरे। अन्तर्राष्ट्रिय क्षेत्रबाट पनि व्यापक आलोचना भयो। त्यसपछि उनले आफ्नो भनाइको खण्डन गरे, मैले जनताका हातमा बन्दुक पुगोस् भनेको होइन, बन्दुकमा जनताको नियन्त्रण हुनुपर्छ भनेकोलाई पत्रकारले बङ्ग्याइदिए। -source: weekly Nepal

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक