20100218

विद्रोहका लागि तयारी स्वरूप माओवादीको दुई दिने केन्द्रीय प्रशिक्षणमा भित्र के के हुँदैछ ?

भक्तपुरको खरिपाटीमा बुधबार सुरू भएको दुई दिने केन्द्रीय प्रशिक्षणमा एकीकृत माओवादीका कार्यकर्ताले पार्टीको नेतृत्व 'एमालेकरण' भएको आरोप लगाउँदै पार्टीमा 'अनुभववाद, सुधारवाद र संशोधनवादको खतरा रहेको' चिन्ता जनाएका छन्। 'विद्रोहका लागि तयारीस्वरूप आयोजित प्रशिक्षण'मा कार्यकर्ताले भने नेतृत्वको चालचलनले विद्रोह हुनेमा आशंका व्यक्त गरे। 'जनयुद्ध'मा त्याग गरेका पूर्णकालीन कार्यकर्तालाई संरक्षण गर्न नसकेको आरोप लगाउँदै तिनले अनमिनबाट अयोग्य ठहर्‍याइएका 'जनमुक्ति सेना'लाई कसरी निकालियो भनी प्रश्नसमेत गरे। राज्य समितिका सेक्रेटरीले रिपोटिङ गर्दै पार्टीले आर्थिक परिचालन संस्थागत भन्दा पनि व्यक्तिमा केन्द्रीत रहेको भन्दै आलोचना मात्र गरेनन् पार्टी आचरणविरुद्ध गएको भन्दै सभासद् विनोद पहाडीलाई फिर्ता बोलाउनसमेत माग गरे। उनीहरुले पार्टीभित्र भएको अनियमितता छानबिन गर्न वरिष्ठ उपाध्यक्ष मोहन बैद्यको नेतृत्वमा बनेको आयोगले केही गर्न नसकेको भन्दै आलोचना पनि गरे। 'नेतृत्व एमालेकरण हुँदै गएको संकेत देखियो,' आफ्नो राज्यको रिपोटिंङ गर्दै अबध राज्य समिति सेक्रेटरी निर्मलकुमारलाई उद्धृत गर्दै ....
स्रोतले भन्यो। 'पूर्णकालीन कार्यकर्ताको व्यवस्थापन भएन। आर्थिक स्रोत परिचालन संस्थागत भन्दा व्यक्तिमा केन्द्रीत भयो,' नेतृत्वको आचरणप्रति असहमति जनाउँदै निर्मलकुमारले आक्रोश पोखे।

स्रोतका अनुसार निर्मलकुमारले कार्यकर्ता र नेतृत्वभित्र पनि घुर्की र बार्गेनिङ चलेको भन्दै सच्याउन नेतृत्वलाई आग्रह गरे। कार्यकर्ताका समस्याका कुरा उठाएपछि हल तालीले गुञ्जिएको थियो।
अबध राज्य समिति र पाल्पाका सभासद् पहाडीबीच बुटवलस्थित पार्टीको कार्यालय रहेको घरको विषयमा विवाद भएको थियो। सेती-महाकाली राज्य समिति सेक्रेटरी खगराज भट्टले अयोग्य भनेर निकालिएको जनसेनालाई किन भनेर कारण सोधेका थिए। शिविरबाट बाहिर निकाल्दा सम्बन्धित क्षेत्रको पार्टीलाई कुनै पनि जानकारी नगराई बेवारिसे छाडेको भन्दै नेतृत्वप्रति आक्रोश पोखे।  'अयोग्य भनेर निकालेको प्रक्रिया के हो? स्पष्ट नीति आओस्,' भट्टको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, 'फोन आउँदा मैले थाहा छैन भन्ने गरेको छु, के हो? जानकारी चाहियो।' दलबलले पार्टी चलाएको भन्दै नेतृत्वप्रति व्यंग्य गरेको कविता सुनाएपछि हल तालीले गुञ्जिएको थियो।

मगरात राज्य समिति सेक्रेटरी पूर्ण घर्तीमगरले पनि कार्यकर्ताको भरणपोषणमा नेतृत्वले ध्यान नदिएको भन्दै आलोचना गरे। उनले कार्यकर्ताका समस्याप्रति नेतृत्वले नजरअन्दाज गरेको भन्दै आक्रोश पोखेपछि हल फेरि तालीले गुञ्जिएको थियो।

भोजपुरा राज्य समिति सेक्रेटरी अन्जना बिशंखे, तमुवान्बाट कुमार, नेवाबाट अध्यक्ष दाहालका भाइ नारायण दाहाल, लिम्बुवानबाट प्रभाग, थारुवान्बाट महेश्वर गहतराज, किरातबाट हिमाल, ताम्सालिङबाट हितबहादुर तामाङ, भेरी-कर्णाली डिआर पौडेल, कोचिलाबाट गौरीशंकर खड्काले रिर्पोटिङ गरेका थिए।

बुधबार भूगोलअन्गर्तत बाँडिएका १३ राज्य समितिका सेक्रेटरीले रिपोर्टिङ गरेका छन् बिहीबार मोर्चा, प्रवास र विभागअन्तर्गतका ६ राज्य समितिले रिपोर्टिङ गरेपछि अध्यक्ष पुष्पकमल दाहालले प्रशिक्षण दिने छन्।

महासचिव रामबहादुर थापाले प्रशिक्षणलाई सम्बोधन गर्दै वर्गसंघर्ष निर्णायक विन्दुमा पुगेको दाबी गरे। सफल हुन्छ या हुँदैन? त्यसको छिनोफानो हुन बाँकी नै रहेको उनको भनाइ थियो।

'सफल हुने वा नहुने हो? क्रान्तिको विजयलाई निरन्तरता दिन सक्छौं या सक्तैनौं यसको जबाफ खोज्न केन्द्रीय प्रशिक्षणमा आएका छौं,' उनले भने। उनले फलामे अनुशासन र गोपनीयता भएमात्र क्रान्ति सफल हुने बताए।

केन्द्रीय समिति निष्कर्षविहीन
केन्द्रीय समिति विस्तारका लागि बुधबार बसेको केन्द्रीय समिति बैठक निष्कर्षविहीन भएको छ। विस्तारमा को को जाने भन्ने विषयमा टुंगो लाग्न नसकेपछि एजेन्डा नै प्रस्तुत नभएको एक केन्द्रीय सदस्यले बताए। उनले भने, 'विधानमा १७५ जनाको केन्द्रीय समिति रहने प्रावधान छ। २७५ पुर्‍याउँदा पनि नपुग्नेजस्तो भएर एजेन्डा नै आएन।'






No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक