20101021

नेताहरु आफ्नै डम्फुको तालमा : कुन नेताको के कुरा पत्याउने हो !?

प्रचण्डलाई छलफलका लागि बसौं भने प्रचण्डले कुनै रेस्पोन्स नै गर्नुहुन्न -  रामचन्द्र
बालुवाटार छाडेर कोटेश्वर जा भन्नुहुन्छ भने पनि जान तयार छु - माधवकुमार नेपाल
 मुलुक झनै जटिल अवस्थामा जाने - माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ
प्रधानमन्त्रीको निर्वाचनमा दिइएको उम्मेदवारी निकासका निम्ति -  सुशील कोइराला
 यथास्थितिबाट अगाडि बढ्न थप सहमतिको आवश्यकता- एमाले अध्यक्ष झलनाथ
  प्रधानमन्त्रीका उमेदवार रामचन्द्र पौडेलको उमेदवारी र कङ्ग्रेसको अडान कुनै पनि सहमतिको बाधक नभएको दाबी गर्दै उनले दलबीच ठोस छलफलको पहलमा कमजोरी हुनु नै अहिलेको बाधक भएको.....
बताए। जब जब गम्भीर भएर बसियो सहमति भएको छ। बस्दै नबसेपछि कसरी सहमति हुन्छ- उनको प्रश्न थियो। छलफलका लागि आफूले गरेको प्रयासबारे जानकारी दिँदै प्रधान मन्त्रीले भने- पाँच दिन भयो, प्रत्येक दिन बिहान प्रचण्डलाई छलफलका लागि बसौं भनेर फोन गर्छु तर प्रचण्डले कुनै रेस्पोन्स नै गर्नुहुन्न। दिक्क लागिसक्यो। तर बीचमै सँगै बसेका माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भनिहाले- ठीक छ प्रधानमन्त्रीज्यू, तपाईं ठोस पहल गर्नूस्, अध्यक्षसँग भेट गराउने जिम्मेवारी मेरो ल। कात्तिक दोस्रो सातासम्म बजेट ल्याउनैपर्ने बाध्यता बताउँदै प्रधानमन्त्रीले दलहरुसँग प्रश्न गरे- सरकार पनि दिन नसक्ने, अनि बजेट पनि ल्याउन नदिने भन्ने कुरा हुन्छ र ? प्रधानमन्त्रीले अनमिनको थपिएको म्यादभित्रमा शान्ति प्रक्रिया निष्कर्ष पुर्‍याउन नसकिए मुलुक झनै जटिल अवस्थामा जाने चेतावनीसमेत दिए।

प्रधानमन्त्री माधवकुमार नेपालले आफूले गतिरोध अन्त्यका लागि प्रधानमन्त्रीबाट राजिनामा दिएको बताउँदै आग्रह गरे- अब मैले के त्याग गर्नुपर्छ भन्नूस्, म तयार छु। उनले थपे- मलाई बालुवाटार छाडेर कोटेश्वर जा भन्नुहुन्छ भने पनि जान तयार छु। त्यसका लागि मैले झिटीगुण्टा बाँधेर कोटेश्वर पठाइसकेको छु, तर नयाँ सरकार नबनुन्जेलसम्मका लागि नयाँ प्रधान मन्त्री भने खोज्नुपर्‍यो- उनले भने। रिपोर्टस क्लबद्वारा आयोजित चियापान कार्यक्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले सल्लाह, सहमति र राजनीतिक दलबीचको आपसी विश्वासबाट मात्र मुलुकले जारी राजनीतिक गतिरोधबाट निकास पाउने पनि बताए। दलबीच जुन दिन आपसी विश्वास बढछ्, त्यही दिन गतिरोध अन्त्यका विषयमा सहमति बन्छ- उनको भनाइ थियो।

नेपाली कङ्ग्रेसका सभापति सुशील कोइरालाले प्रधानमन्त्रीको निर्वाचनमा पार्टीको तर्फबाट दिइएको उम्मेदवारी निकासका निम्ति भएको दाबी गरेका थिए। ठोस कुरा नभई उमेदवारी फिर्ता हुँदैन। शान्ति र संविधान लेखन कार्यलाई टुङ्गोमा पुर्‍याउने कुरा हुनुपर्‍यो। हाम्रो उम्मेदवारी समस्या होइन, समाधानका लागि हो- उनको भनाइ थियो।
नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले यथास्थितिबाट अगाडि बढ्न थप सहमतिको आवश्यकता औल्याउँदै पौडेलले उमेदवारी फिर्ता लिए मुलुक अगाडि बढने दाबी गरेका थिए।
माओवादी उपाध्यक्ष डा. बाबुराम भट्टराईले मुलुकलाई अगाडि बढाउन नयाँ सहमतिको आवश्यकता औल्याउँदै शान्ति, संविधान र सत्ता साझेदारीमा प्याकेजमै सहमति खोज्नुपर्ने बताएका थिए। आफूहरुले बजेट ल्याउन दिन्नौ भनेर नभनेको स्पष्ट पार्दै उनले नयाँ सरकार बनाएर बजेट ल्याउ मात्र भनेको बताए। माओवादीका अर्का उपाध्यक्ष नारायणकाजी श्रेष्ठले राजनीतिक सङ्कटका कारण आर्थिक सङ्कट आएको दाबी गर्दै पहिला राजनीतिक सङ्कट अन्त्यका लागि लाग्नुपर्ने धारणा राखे।

गृह मन्त्री भीम रावलले बजेट नआएको र नयाँ सरकार नबनेकाले विशेष सुरक्षा योजना कार्यान्वयन गर्न नसकेको दाबी गर्दै बजेट ल्याउन दिन्नौं भन्ने माओवादी भनाईले मुलुकमा अप्ठ्यारो स्थिति ल्याउने चेतावनी दिए।

अर्थ मन्त्री सुरेन्द्र पाण्डेले अहिले सरकारसँग खर्च गर्ने सात अर्बमात्र बाँकी रहेको यथार्थ बताउँदै कात्तिक १५ गतेसम्म बजेट नआए सम्पूर्ण सरकारी क्षेत्र खर्चबिहीन तहस नहस हुने दाबी गरे।

वाणिज्य तथा आपूर्ति मन्त्री राजेन्द्र महतोले ठूला राजनीतिक दलहरुको नियत ठीक नभएका कारण सहमति ननिस्केको दाबी गर्दै ब्यङ्ग्यात्मक शैलीमा भने- एउटा प्रधान मन्त्रीको कुर्सीमा तीन जना बस्न खोज्ने, अनि कसरी हुन्छ सहमति ?

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक