20101122

‘पालुङ्टारको बिचारले बालुवाटारको निद खायो, माओवादी एक हुँदा संसार नै जील खायो ।’ : भन्ने गीत गाएर डा. भट्टराईले सबैलाई हसाए

मोहन वैद्यको खरो प्रस्तुतिले बिस्तारित बैठकहलमा  सन्नाटा !
बिस्तारित बैठकमा सहभागी एकीकृत नेकपा माओवादीका झण्डै ३ सय जना कार्यकर्ता विरामी, शीर्षनेतालाई बजारका सुविधासम्पन्न घरमा, कार्यकर्ताहरु स्याउलाले बनाइएका झुप्रामा,  उपाध्यक्ष वैद्यले अध्यक्ष दाहाललाई साझा अध्यक्ष बन्न सुझाव, जनविद्रोहको लागि  परिस्थिति अनुकुल नरहेको भट्टराईको दावी

 'पालुङटारको विचारले वालुवाटारको निद खायो...माओवादी एक जुट हुँदा सन्सारै जिल खायो...' रुखो स्वभाव र औपचारिक मात्र कुरा गर्ने एकीकृत माओवादीका उपाध्यक्ष बाबुराम भट्राईले प्रेमध्वज प्रधानको पालुङटारको गोरुले सल्यानटारको विऊ खायो भन्ने बोलको गीतलाई रिमिक्स गरेर मन्तब्य सिध्याउँने क्रममा सकीनसकी गीत गाए। हलभरि ताली र गडगडाहट चल्यो। त्यसको दुई घण्टा नवित्दै अर्का उपाध्यक्ष मोहन वैद्यले खरो प्रस्तुतिले हलमा एकछिन त सन्नाटा छायो। अध्यक्ष पुष्पकमल दाहालप्रति फरक दस्तावेज राख्नुको औचित्य प्रष्ट्याउँदै उनले भने, 'यस्तै तवरमा पार्टीभित्र अवसरवादीको बाहुल्य हुँदै गयो र सच्चिएर अगाडि बढिन्न भने म पार्टीभित्र बस्दिन, अरु पनि बस्दैनन्।'
वैद्यले घुमाउरो शैलीमा विस्तारित बैठकले क्रान्तिकारी कार्यदिशा नलिए विद्रोह गर्ने चेतावनी दिए। 'सडक, सदन र सरकारको मोर्चाले पार्टी संसोधनवादतिर फस्छ, यसले अन्ततः पार्टी एमालेकरण हुने मात्र हो,' डेढ घण्टा लामो मन्तव्यमा वैद्यले भने, 'जनयुद्ध र दीर्घकालिन जनविद्रोहबाट मात्र सत्ता कब्जा हुन सक्छ, अहिले जनताको साथ पार्टीलाई छ, राष्टि्य परिस्थिति राम्रो छ। पार्टीले विद्रोहको ठोस योजना ल्याउनुपर्छ।'

नेतृत्वलाई खबरदारी गर्न र क्रान्तिको झण्डालाई निरन्तर फरफराउनका लागि आफूले फरक दस्तावेज राखेको वैद्यको जिकिर छ। अध्यक्ष दाहालद्धारा प्रस्तुत दस्तावेज छुट्टै लाईन नभएको उनको दाबी छ। 'अहिले पेश भएको उहाँ (दाहाल) को लाईन नै होइन, त्यो त बाबुरामको लाईन हो।', वैद्यले थप प्रष्टाए, 'खरिपार्टीको मेरो लाईन पारित भएको थियो, अध्यक्षले त्यसलाई कार्यान्वयन गरेनन्, त्यसैले मैले फरक मत राखेको हुँ।'

आफूले फरक दस्तावेज राखेर नेतृत्व दाबी नगरेको स्पष्टोक्ति वैद्यले दिए। 'प्रचण्डले भन्नुहुन्छ, किरणले लाईन मात्र ल्याउँछ, नेतृत्व गर्न सक्दैन भनेर। ल ठीक छ, लाइन म ल्याउँछ। म नेतृत्व गर्नै नसक्ने भने होइन तर अध्यक्षको रुपान्तरित नेतृत्वमा क्रान्ति सफल गर्ने मेरो सपना हो।', वैद्यले अगाडि भने, 'अहिले हेडक्वार्टरमा भएको व्यक्तिवादी प्रवृतिलाई सच्चाएर अध्यक्ष प्रचण्डकै नेतृत्वमा नेपाली क्रान्तिलाई सफल बनाउने मेरो लक्ष्य हो।'

भारतलाई न्युट्रिलाईज नगरिकन विद्रोह सम्भव छैन भन्ने दाहाल र भट्टराईको प्रस्तावमा वैद्यले असहमति जनाए। 'हामीले भारतीय सत्तासँग मात्र लड्ने हो, त्यहाँका जनतासँग होइन,' उनले भने, 'भारतीय माओवादी र उनका लाखौं समर्थक जनतासँग मिलेरै त्यहाँको सत्ता पक्षलाई न्यट्रलाईज गर्न सकिन्छ।'

विस्तारित बैठकको पूर्वसन्ध्यामा भट्टराईले सार्वजनिक गरेको आजको मार्क्सवाद नामक सानो किताबबारे वैद्यले खुलेरै आलोचना गरे। 'बाबुरामजीले लेख्नुभएको आजको मार्क्सवाद मार्क्सवादको विकास होइन, त्यसले मार्क्सवादलाई भ्रष्टिकरण गरेको छ।'

वैद्यले अध्यक्षबाट लगाएको गंगबु डिनरको आरोप पनि अस्वीकार गरे। 'त्यो डिनरमा महासचिव रामबहादुर थापा, उपाध्यक्ष नारायकाजी श्रेष्ठ, बाबुरामजी र मलगायत केही थियौं, त्यसमा पार्टी विग्रियो कसरी सच्चाउने भन्ने चिन्ता गरेका मात्रै हौं', वैद्यले भने, ' त्यसलाई अध्यक्षले अनावश्यक बढाइचढाइ गरेर पार्टीभित्र र बाहिरबाट घेराऊ परेको बोलिदिनुभयो। यसलाई उहाँले सच्चाउनै पर्छ।'

सोमबार विहान आफ्नो दस्तावेजबारे सवा दुई घण्टा लामो मन्तब्य दिएका उपाध्यक्ष भट्टराईले ढिलोचाढो सबै नेता आफ्नो लाईनमा सहमत भएरै छाड्ने दाबी गरे।
'डा बाबुराम भट्टराईले उठाएको विचार जहिले पनि सही छ, त्यो नेतृत्वले पछि बुझ्दै गयो', उनले विस्तारित बैठकमाझ फुर्तिसाथ भने,'जसरी चुनबाङमा बुझियो, यो कुरा इतिहासले पुष्ठि गर्दै आएको छ।'

दाहालले दस्तावेजमा 'बाबुरामसँग संघर्ष प्रधान, एकता कहिलेकाही' राखेको शब्दप्रति भट्टराईले आपत्ति जनाए। 'बाबुरामसँग प्रचण्डको आरोप ठीक कि बेठीक? २० वर्षदेखि हामीबीच संघर्ष, एकता र रुपान्तरण सँगसँगै हुँदै आएको छ। यसबारेमा अध्यक्षले प्रष्ट पार्नुपर्छ।'

आफूलाई भारतपरस्त गरेको आरोप समयक्रममा गलत सावित भएको भट्टराईको दाबी थियो। 'अझै पनि मलाई पार्टीभित्रैबाट भारतसँग नरम भएको आरोप लगाउँदै आएका छन्, ' भट्टराई हलमा आरोप लगाउनेलाई चुनौति दिदै भने, 'हाम्रो सिगो पार्टीले मैले भारतसँग कहाँनेर झुके, त्यो पत्ता लगावोस्, म पार्टीको जस्तोसुकै कारबाही भोग्न तयार छु।'

भट्टराईले ३५ वर्षको पछिल्लो अवधिमा क्रान्ति नभएको उदाहरण दिदै भने, 'हामीले पेरुको पाठ सिक्दै चुनवाङ बैठक गरेका हौ। चुनबाङ बैठकले जनयुद्ध र जनविदोहको संश्लेषित विचार ल्यायो, जुन पाटीको मौलिक लाईन हो।'

गंगबु डिनरबारे भट्टराई पनि थप स्पष्ट पारे। 'मार्क्सवादी पार्टीका नीति निर्माण गर्ने कुरा, संगठनात्मक संरचना कस्तो बनाउने भन्नेबारे त्यो डिनरमा छलफल गरेका हौं', भट्टराई भने, '२० वर्षको अन्तरालमा म उहा (वैद्य) सँग कहिलै छुट्टै बसेका थिइनँ, नेतृत्वको सामुहिकता र विचार संघर्षको विधि निर्माणको विषयमा छलफल भएको हो, यसबाट अध्यक्ष व्यक्तिवादी हुँदै गएको हो कि भन्ने आंशका हुन्छ। अध्यक्षले दुश्मनका मात्र होइन साथीहरुको घेराबन्दी परे भन्नु ठीक थियो त? यसबारे उहाँले जवाफ दिनुपर्छ।'

भट्टराईले वैद्यको दस्तावेज अनुसार मार्क्सवादको एउटै परिभाषा नहुने जिकिर गरे। 'पहिले सूर्यको किरणले स्ट्रेट भएर आउँछ भन्ने थियो, तर क्वाण्टम सिद्धान्त आएपछि त्यो बद्लियो। प्रकाश छिन्नविन्न र सिधा तरिकाले पनि आउँछ भन्ने सावित भयो।', भट्टराईको तर्क थियो, 'अहिलेको मार्क्सवाद पनि त्यही हो। त्यसलाई अहिलेको अवस्थामा नयाँ परिभाषा गरिनुपर्छ।'

उनले भारतलाइ चिढ्याएर होइन, उसलाई न्युटि्रलाईज गरेर जानुपर्ने तर्क दिए। 'अहिले सिधै भारतलाई चिढ्यायो भने उसले यहाँ हस्तक्षेप गर्ने सम्भावना रहन्छ, विभिन्न परिस्थिति हेरेर भारतलाई न्युटि्रलाइज गर्दै विद्रोहको योजना बनाउनुपर्छ, ताकि भारतले हस्तक्षेप गरेको वेला राष्ट्संघले सघावोस्। त्यस्तो अवस्थामा मात्र विद्रोहले अन्तर्राष्टि्रय मान्यता पाउँछ। होइन भने हामी पेरुजस्तै हुन्छौं, सत्तालाई टिकाउन सक्ने छैनौं।'

भट्टराईले फरक मत राखेर अध्यक्षमाथि थ्रेट नपारेको प्रष्ट पारे। 'बाचुञ्जेल स्टालिनका सत प्रतिशत विचार ठीक मान्ने र मरेपछि उनकै सहयोगी ख्रुश्चेबले स्टालिनलाई सबै बेठीक भएको आरोप लगाए,' उनले दाहालको कार्यशैलीप्रति लक्षित गर्दै भने, 'अध्यक्षको शैलीले उहाँ बाचुञ्जेल डरलाग्दो व्यक्ति बन्नुहुन्छ कि भन्ने हाम्रो आंशका हो, त्यो हुनुहुँदैन। त्यसैले पार्टीभित्र व्यक्तिगत भन्दा पनि सामुहिक नेतृत्व दिनुपर्छ भन्ने मेरो मान्यता हो।'

भारतको विरोध नगर्ने कम्युनिष्ट नेपाली कम्युनिष्ट हुन नसक्ने भट्टराईको तर्क छ।' सुगौलीसन्धीपछि हाम्रो देश अर्ध औपनिवेशिक, अर्ध सामन्तवाद हाबी छ, त्यसको नेतृत्व भारतले गरिरहेको छ, जसको अन्त्य हुनुपर्छ। त्यस्को नेतृत्व माओवादीले नै गर्नुपर्छ।', भट्टराई दाहाल र वैद्यप्रति आक्रोश पोख्दै भने, 'मैले निरन्तर पार्टीमा यस्तो धारणा राख्दै आएको छु, अनि म कसरी भए भारतपरस्त?'

भट्टराईले आफ्नो पनि विद्रोहकै लाइन भएको दाबी गरे। 'अब ६ महिनाको तत्कालिन कार्ययोजना बनाउनुपर्छ', उनको जिकिर थियो, 'त्यसका लागि सडक र सदनका मोर्चालाई तताउँदै विद्रोहको आधार तयार पार्नुपर्छ।'

 उपाध्यक्ष मोहन वैद्यले अध्यक्ष पुष्पकमल दाहाललाई साझा अध्यक्ष बन्न सुझाव दिएका छन् । दाहालकै नेतृत्वमा संघीय गणतन्त्रात्मक संविधान लेखिनुपर्ने वैद्यको जोड थियो ।गोरखाको पालुङटारमा जारी छैठौं विस्तारित बैठकमा आफ्नो प्रतिवेदनबारे प्रकाश पार्दै वैद्यले त्रुटि सच्याएर अघि बढ्न अध्यक्ष दाहाललाई सुझाव दिएको सञ्चारकर्मीहरुलाई बताए । वैद्य अघि अर्का उपाध्यक्ष बाबुराम भट्टराईले आफ्नो प्रतिवेदनबारे विस्तारित बैठकमा प्रकाश पारेका थिए । भट्टराई र वैद्यले....
प्रतिवेदनबारे प्रकाश पारिसकेपछि अध्यक्ष दाहालले मंगलबार विहान ८ बजे आफ्नो प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम छ । भट्टराईले आफ्नो प्रतिवेदन पेश गर्दै विचार र राजनीतिमा स्पष्टता र संगठनात्मक रुपान्तरणसहितको एकतामा जोड दिएका छन् । संघीय गणतन्त्रलाई संस्थागत गर्दै जनमुखी संविधान निर्माण गर्नुपर्ने भन्दै उनले तत्काल जनविद्रोहमा गए प्रत्युत्पादक हुने तर्कसमेत प्रस्तुत गरे । जनविद्रोहको लागि राष्ट्रिय अन्तराष्ट्रिय परिस्थिति अनुकुल नरहेको भट्टराईको दावी छ । तीनवटै प्रतिवेदनमा एकरुपता नभए महाधिवेशनमा लैजानुपर्ने प्रस्ताव गर्दै उनले पार्टीभित्र मजबुत एकताको विकल्प भने नरहेकोमा जोड दिए । आफ्नो प्रतिवेदन प्रस्तुत गरिसकेपछि डा. भट्टराईले ‘पालुङ्टारको गोरुले सल्यानटारको बिऊ खायो, कान्छी ल्याउँदा जेठी जील खायो’ भन्ने पुरानो गीतलाई आफ्नै शैलीमा प्रस्तुत गर्दै –‘पालुङ्टारको बिचारले बालुवाटारको निद खायो, माओवादी एक हुँदा संसार नै जील खायो ।’ भन्ने गीत गाएर सबैलाई हसाए ।
                       गोरखा पालुङटारमा जारी केन्द्रीय बिस्तारित बैठकमा सहभागी एकीकृत नेकपा माओवादीका झण्डै ३ सय जना कार्यकर्ता विरामी परेका छन् ।उनीहरुमा पेट दुख्ने र रुघाखोकी लाग्ने समस्या देखिएको छ । विरामी कार्यकर्ताहरुलाई विस्तारित बैठकस्थलमा राखिएका स्वास्थ्य केन्द्रबाट प्राथमिक उपचार गरिएको छ । खासगरी चिसो मौसम, पानी र खानपानको समस्याले माओवादी कार्यकर्ताहरु विरामी परेको हुनसक्ने बताईएको छ । विस्तारित बैठकमा सहभागी हुन देशभरबाट पालुङटारको तान्द्राङटार आएका राज्य समितिस्तरका झण्डै ६ हजार माओवादी कार्यकर्ताहरुलाई स्याउलाले बनाइएका झुप्रामा बस्ने व्यवस्था मिलाइएको छ । उनीहरुले ओढ्ने, ओछ्याउने र खाना खानको लागि आवश्यक, थाल, कचौरा, गिलास र चम्चा पनि आफूसँगै लिएर आएका छन् ।
एकीकृत माओवादी विस्तारित बैठकमा सहभागी शीर्षनेतालाई 'सुरक्षाका कारण' बजारक्षेत्रका सुविधासम्पन्न घरमा बासको व्यवस्था मिलाइएको छ। तल्लो तहका कार्यकर्ता भने नवनिर्मित स्याउलाका छाप्रामा बस्दैछन्। अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्षत्रय मोहन वैद्य, बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठसहित शीर्षनेतालाई बजारका सुविधासम्पन्न घरमा, स्थायी समिति सदस्यसम्मका नेता सर्वसाधारणका घर र होटलमा बस्नेछन् भने अन्य कार्यकर्ता छाप्रोमा रहनेछन्। बैठकस्थलभन्दा करिब डेढ किलोमिटर टाढाको पालुङटार-९ ठाँटीपोखरीस्थित बजारका घरमा अधिकांश शीर्षनेता रहनेछन्। हिजोदेखि सुरु विस्तारित बैठक ५ दिनसम्म चल्ने बताइएको छ ।

                            नेकपा एमालेको केन्द्रीय कार्यालय, मदननगरमा बसेको सात दलको बैठकले एनेकपा माओवादीले अस्थायी शिविरमा रहेका लडाकूलाई आफ्नो पार्टीको विस्तारित बैठकमा सहभागी गराएकामा आपत्ति जनाएको छ। सरकारको तलब सुविधा लिइ राष्ट्रसङ्घीय राजनीतिक मिसन (अन्मिन)को निगरानीमा रहेका माओवादी लडाकूलाई विस्तारित बैठकमा लैजानु विस्तृत शान्ति सम्झौता विपरीत भएको ठहर बैठकले गरेको छ। बैठकपछि नेपाली काँग्रेसका सभापति सुशील कोइराला, नेकपा (एमाले)का अध्यक्ष झलनाथ खनाल, मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदार, तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, राष्ट्रिय जनशक्ति पार्टीका अध्यक्ष सूर्यबहादुर थापा, नेकपा मालेका महासचिव सिपी मैनाली, दलित जनजाति पार्टीका अध्यक्ष विश्वेन्द्र पासवानले संयुक्तरुपमा जारी गरेको विज्ञप्तिमा लोकतान्त्रिक पार्टी, नागरिक समाज र अन्मिनको आग्रह विपरीत लडाकूलाई पार्टीको बैठकमा सहभागी गराइनु शान्ति सम्झौता विपरीत भएको जनाइएको छ। गोरखाको पालुङटारमा सुरु भएको माओवादीको विस्तारित बैठकमा लडाकू पनि सहभागी गराइएको सूचनाका आधारमा दलहरूले संयुक्तरुपमा त्यसको विरोध जनाएका हुन्। बैठकपछि एमाले प्रकाशन तथा प्रचार विभाग प्रमुख प्रदीप ज्ञवालीले पार्टीको विस्तारित बैठकमा रहने लडाकूहरू अब उक्त भूमिकामा नरहेको र उनीहरू केवल पार्टीका कार्यकर्ता मात्रै भएकाले उनीहरूलाई सुरक्षा निकायमा समायोजन र पुनर्स्थापनामा प्रश्न उठाइएको प्रतिक्रिया पत्रकारहरूलाई दिनुभयो। यसैगरी, बैठकले बजेट प्रस्तुत गर्न खोज्दा यही मंसिर ४ गते व्यवस्थापिका संसद्मा एनेकपा (माओवादी)का सभासद्ले गरेको अवरोधलाई लोकतान्त्रिक पद्धति, मुलुकको अर्थतन्त्र र संसदीय मूल्य, मान्यतामाथिको जघन्य आक्रमण भएको ठहर गरेको छ। बैठकले एमाओवादीलाई विगतका सहमति र समझदारीको पूर्ण पालना गरी शान्ति र संविधानप्रति जिम्मेवार हुन ध्यानाकर्षण गराएको छ।
मधेसी जनअधिकार फोरमले माओवादी विस्तारित बैठकमा सहभागि लडाकूलाई समायोजन प्रक्रियामा सहभागि गराउन नहुने बताएको छ। माओवादीसँग सबैभन्दा निकट रहँदै आएको फोरमले लडाकु समायोजनमा दिएको यो प्रतिक्रियाले यो विषयमा माओवादी इतरका सबै दल एक धारमा उभिन पुगेका छन्।

संसदीय दलको कार्यालय सिहदरबारमा सोमबार आयोजिते पत्रकार सम्मेलनमनमा फोरम अध्यक्ष उपेन्द्र यादवले समायोजनका मुखमा पुगेका लडाकूलाई राजनीतिक कार्यक्रममा सहभागि गराउनु दलहरुबीचको सहमति र सम्झौता उल्लंघन भएको बताएका छन्।

मधेशवादी दलमध्ये माओवादीसँग निकट रहेको फोरमले कांग्रेस, एमाले, फोरम लोकतान्त्रिक लगायत सात दलले माओवादीविरुद्व अभिव्यक्ति दिएको भोलिपल्ट लडाकुबारे 'समायोजनका लागि तम्तयार भएर लडाकू समायोजन विषेश समिति मतहत आईसकेका लडाकूहरुलाई पार्टीको कार्यक्रममा सहभागि गराउनु सहमति विपरित हो,' यादवले भने, 'दल विशेषको कार्यक्रममा सहभागी लडाकुलाई समायोजन गरिदैन।'

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक