20101106

२० लाख तिरेर नेपालबाट अमेरिका आउनेहरुको दर्दनाक कथा

- किशोर पन्थी र सुर्य थापाको खोजमुलक रिपोर्ट
जँगलै जँगल हिंडेर बर्सौँ लगाएर पनि अमेरिका पुगिने ग्यारन्टी छैन, ज्यान जाने र अनेकौँ दु:ख कस्टका नालिबेली सुन्दा पनि बिरह लाग्छ !
नेपालमा भ्रष्टाचार त के मौलाएको छ र ? त्यो भन्दा बढी मौलाएको त मानव तस्करी । भ्रष्टाचारीहरुले भन्दा ठूला ठूला महल ठड्याएका छन् मानव तस्करहरुले । हो, त्यहीं मानव तस्करीको जालो नेपालदेखि अमेरिकासम्म नै फैलिएको छ । नेपालदेखि अमेरिकासम्म फैलिएको मानव तस्करीको जालो सम्बन्धमा लामो अनुसन्धानबाट तयार पारिएको विशेष रिपोर्ट । नेपाली युवाहरुलाई गैरकानुनी रुपमा इराक र अफगानिस्तान जस्ता जोखिमपूर्ण मूलुकमा पठाउनका लागि मात्र होइन, मेक्सिकोको बाटो हुदै अमेरिका छिराउनका लागि नेपालमा मानव तस्करहरुको ठूलो गिरोह सकृय रहेको छ । तर इराक र अफगानिस्तानको तुलनामा नेपाली युवालाई अमेरिका पठाउने...
 मानवतस्करहरुको संजाल निकै डरलाग्दो रहेको छ । इराक र अफगानिस्तानको तुलनामा गैरकानुनी रुपमा अमेरिका पठाउने कार्य बढी जोखिमपूर्ण भएकाले यस्तो मानवतस्करीमा नेपाली दलालहरुको संजालको सम्बन्ध विदेशी दलालसंग जोडिएको छ ।

नेपालबाट यस्तो मानवतस्करीमा डनहरुदेखि मेनपावर संचालकहरुसमेत सकृय रहेका छन् । श्रोतका अनुसार नेपालबाट गैरकानुनी रुपमा अमेरिका पठाउनका लागि एकदर्जनभन्दा बढी व्यक्ति सकृय रहेका छन् । काठमाडौंमा बसेर नेपाली युवालाई गैरकानुनी रुपमा अमेरिका छिराउने धन्दामा अहिले सबैभन्दा बढी पोखराका पूर्ण थापा सकृय रहेका छन् । काठमाडौंका व्यापारीहरुबाट हप्ता उठाउने डनको रुपमा समेत चर्चा कमाएका पूर्ण थापाले अहिलेसम्म दर्जनौं नेपाली युवालाई गैरकानुनी रुपमा अमेरिका छिराइसकेका छन् । उनैले पठाएका कैयन युवा अमेरिका आउने नाममा लाखौं रकम खर्च गरेर बीचबाटै फर्काइने गरेका छन् । कैयन युवा अमेरिका आउने क्रममा कता बेपत्ता भए भन्ने कुराको अत्तोपत्तो नभएको समेत श्रोतले बताएको छ ।

नेपालबाट भारतको दिल्ली पठाइएका युवालाई राना थर भएका अर्का दलालले विभिन्न दलालहरुको सम्पर्क हुदै इक्वेडरसम्म पुर्‍याउने गरेका छन् । इक्वेडरमा पनि डिबी थापा नामका नेपाली दलाल सकृय रहेका छन् । इक्वेडरमा नै घरजम गरेर रेष्टुरेन्टसमेत खोलेर बसेका थापाले त्यहा पुर्‍याइएका नेपाली युवाहरुलाई कोलम्बीया पुर्‍याउछन् । कोलम्बियामा रहेका पोखराका बिष्णु केसीले अमेरिका छिराउनका लागि लगिएका युवाहरुलाई निकारागुवासम्म पुर्‍याउने चाजोपाजो मिलाउने गरेका छन् । निकारागुवाबाट , होण्डुरस हुदै ग्वाटेमाला छिराइसकेपछि त्यहा रामकृष्ण शर्मा नाम गरेका दलालले युवाहरुलाई मेक्सिको छिराउने व्यवस्था मिलाउछन् । रामकृष्ण शर्माले पहिले नेपालमा नै रहेर युवाहरुलाई गैरकानुनी रुपमा अमेरिका छिराउने काम गर्दै आएका थिए ।

मेक्सिको आइसकेपछि भने कार्लोस नामको विदेशी दलाल सकृय रहेको छ । होण्डुरसका नागरिक कार्लोसले नेपाली युवाका साथै विश्वका अन्य देशबाट आएका व्यक्तिलाई जंगलै जंगलको बाटो हुदै अमेरिकाको टेक्सास छिराउने काम गर्दै आएका छन् । नेपालबाट अमेरिका छिराउनका लागि मानव तस्करका अरु संजालहरु समेत सकृय रहेपनि यो संजाल नै मुख्य संजाल हो ।

यसरी छिराइन्छ अमेरिका

अमेरिका आउन चाहने नेपालीहरुले सुरुमा राजधानी काठमाडौंमा रहेका मानव तस्करहरुलाई भेटेपछि सुरु हुन्छ, गैरकानुनी रुपमा अमेरिका छिर्ने कठीन यात्रा । दुबई , कतार र मलेसिया पठाउने दलालहरुजस्तै मेनपावर नै खोलेर बसेका हुदैनन् अमेरिका पठाउने मानव तस्करहरु । उनीहरुसम्म पुग्नको लागि अमेरिका आउन चाहनेहरुले विभिन्न शुत्रहरुमार्फत पहल गर्नुपर्ने हुन्छ । शुत्रमार्फत मानव तस्करहरु समक्ष पुगेपछि सुरु हुन्छ, पैसाको मोलतोल ।

एकजनालाई अमेरिका छिराउनका लागि लाग्ने रेट हो , बीस लाख । तर मोलतोलपछि केही रकम कम पनि हुन सक्छ । मोलतोल गर्न सक्नेहरुका लागि त १०/१२ लाखमै पनि छिनोफानो हुने गरेको श्रोतको दावी छ । श्रोत भन्छ – “गत वर्ष सम्म ९ लाखमा समेत अमेरिका छिराउने दलालहरु भेटिन्थे तर अहिले भने १८ लाख घटी कसैले पनि पठाउदैन ।”

पैसाको छिनोफानो काठमाडौंमा हुन्छ । पचास प्रतिशत रकम उतिबेलै खनखनी गनेर दिनुपर्छ दलाललाई । बाँकी रकम भने अमेरिकाको टेक्सास आइपुग्दासम्म दिएपनि हुन्छ । दलाललाई रकम बुझाएपछि अमेरिका जानका लागि मिति तय गरिन्छ । एकपटकमा १५/२० जनासम्मलाई पठाइने भएकाले दलाललाई पैसा बुझाएको अबधीबाट अमेरिकातर्फ यात्रा सुरु गर्नका लागि दुइ तीन महिनासमेत लाग्न सक्छ ।

यात्रा सुरु गर्नु अगाडि अमेरिका आउनेका लागि केही अनिवार्य शर्त र नियमहरु राखिएको हुन्छ । खनखनी गनेर पैसा बुझाएपनि बीचबाटोमा पक्राउ परेमा वा पक्राउ पछि नेपाल पठाइएमा पनि दलाललाई बुझाएको रकम फिर्ता नहुने पहिलो शर्त हो । अमेरिका पुग्दासम्म बीचबाटोमा आइपर्ने सबैखाले जोखिमको लागि अमेरिका पठाउनेकाममा सकृय दलालहरु होइन, जाने व्यक्ति आफै उत्तरदायी हुनुपर्ने अर्को शर्त हो । किनभने गैरकानुनी रुपमा अमेरिका छिर्ने क्रममा ज्यानै जानेसम्मको खतरा समेत हुने गरेको छ ।

अमेरिका जाने यात्रामा निस्किसकेपछि मोबाइल, घडी, क्यामेरा वा अन्य कुनै धातुजन्य बस्तु बोक्न प्रतिबन्ध लगाइएको हुन्छ । किनभने जंगलको बाटो हिड्दा हवाइ गस्तीका क्रममा मेटल डिटेक्टर समेत प्रयोग हुनसक्ने भएकाले सुरक्षाका लागि भन्दै यस्तो प्रतिबन्ध लगाइने गरेको श्रोतले जानकारी दिएको छ । नेपालबाट हिडिसकेपछि नेपालमा रहेका आफन्तहरुलाई फोन गर्न समेत प्रतिबन्ध लगाइएको हुन्छ । सुरक्षा निकायले फोन ट्यापीङ गर्न सक्ने भन्दै यस्तो प्रतिबन्ध लगाइएको हो । केही खाद्य पदार्थ र लत्ता कपडाबाहेक अरु कुनै सामान बोक्न नपाइने नियम बनाएका छन्, मानव तस्करहरुले । अर्का तर्फ अमेरिका आउन चाहने व्यक्तिलाई बाटोको बारेमा र सम्पर्क व्यक्तिको बारेमा कतै कही नबोल्न कसम खुवाइएको हुन्छ ।

नेपालबाट अमेरिका आइपुग्दासम्म विभिन्न देश पार गर्दै आउनुपर्ने हुन्छ । ती देशहरुमा मानव तस्करहरुको आफ्नै सम्पर्क व्यक्ति राखिएको हुन्छ र उनीहरुसंग नेपालबाट पठाउने मानव तस्करहरुले नै सम्पर्क गराइदिन्छन् । अमेरिका पठाइने व्यक्तिलाई सुरुमा नेपालका मानवतस्करहरुले भारतको दिल्ली पठाउछन् । दिल्लीबाट दुबई पठाउनका लागि त्यहा” अर्को एजेन्ट स्टान्डबाई राखिएको हुन्छ । दिल्लीबाट दुबईको भिसा पाउन सजिलो हुने भएकाले दलालहरुले दिल्लीको बाटो हुदै पठाउने गरेको श्रोतको भनाई छ । कुनै कुनै दलालहरुले भने सिधै दुबई पठाउने समेत गरेका छन् ।

इक्वेडरमा सम्पर्कका लागि पनि नेपाली दलाल नै राखिएको छ । तर इक्वेडरसम्म पुग्ने बाटो भने फरक फरक हुने गर्छ । कसैलाई दुबई हुदै विभिन्न देशहरु पारगरेर इक्वेडर पठाउने गरिन्छ भने कसैलाई सिंगापुरको बाटो पठाइन्छ । यसरी नेपालबाट इक्वेडरसम्म पठाउदा कम्तीमा तीन महिना देखि एक वर्ष सम्मको अवधि लाग्छ । कुनै कुनै व्यक्ति त इक्वेडरसम्म छिर्नै नपाई दुबई वा सिंगापुरमा नै समातिने गर्छन् । यसरी पक्राउ परेका व्यक्तिलाई सम्बन्धित देशले नेपालमा नै फिर्ता पठाइदिने गरेको छ ।

हवाई यात्रा गर्नु पर्ने भएकाले गैरकानुनी रुपमा इक्वेडर छिर्न सम्भव छैन । त्यसैले जुन देशबाट भिसा पाउन सजिलो हुन्छ, त्यहीं देशबाट एप्लाई गर्ने व्यवस्था नेपाली दलालहरुले नै मिलाएका हुन्छन् । इक्वेडरमा भिसा पाउन सजिलो भएकाले गैरकानुनी रुपमा अमेरिका छिर्नका लागि पहिलो ढोका पनि यहीं नै खुल्ने गरेको छ । इक्वेडरमा तीन महिना सम्मको पर्यटक भिसामा छिराइसकेपछि भने हवाई यात्राको क्रम पनि अन्त्य हुन्छ । त्यसपछि अमेरिका छिर्ने यात्रामा निस्किएको व्यक्तिले पासपोर्ट पनि त्यहीं च्यातेर मिल्काउनुपर्ने हुन्छ । साथमा परिचय खुल्ने कुनै कागजपत्र पनि बोक्न पाईदैन ।

दक्षिण अमेरिकी देश इक्वेडरमा पुगेपछि त्यहा रहेका नेपाली दलालले विदेशी दलालको सहयोगमा दक्षिण अमेरिकाकै अर्को देश कोलम्बीया पुर्‍याउछन् । कोलम्बियाबाट सुरु हुन्छ मध्य अमेरिकी देश तर्फको यात्रा । दलालहरुले कोलम्बियाबाट मध्य अमेरिकाको निकारागुवा, होण्डुरस हुदै ग्वाटेमाला छिराउने गर्छन् । ग्वाटेमालामा पनि नेपाली दलालहरु मार्फत् त्यहाबाट अझ अगाडिको बाटो तय गरिन्छ । ग्वाटेमालाबाट उत्तर अमेरिका तर्फको यात्रा सुरु हुन्छ । त्यहाबाट उत्तर अमेरिकी देश मेक्सिकोमा आइसकेपछि भने पूर्णरुपमा नै विदेशी दलालको जिम्मा लगाइन्छ । त्यसपछि मेक्सिकोबाट जंगलैजंगलको बाटो दलालले अमेरिकाको टेक्सासमा छिराउछ । इक्वेडरबाट टेक्साससम्म आइपुग्दा पनि कम्तीमा तीन महिना देखि एक वर्ष सम्मको अवधी लाग्छ ।

ज्यानै जाने जोखिम

लाखौं खर्च गरेर पनि सुरक्षित तरिकाले अमेरिका छिर्न पाइने कहाँ हो र ? अमेरिका आउने क्रममा बीच बाटोबाटै फर्काइने मात्र होइन, ज्यानै जाने सम्मको खतरा समेत हुने गर्छ । दलाललाई लाखौं रकम बुझाउदा घरखेत त डूब्यो डूब्यो , ज्यानै जाने समेत खतरा हुने भएकाले घरपरिवारको समेत बिचल्ली हुने गरेको छ ।

इक्वेडरबाट मेक्सिकोहुदै अमेरिका छिर्ने क्रममा जंगल, ताल, खोला, समुन्द्र र मरुभूमीसमेत पार गर्नुपर्ने भएकाले भयंकर जोखिमको सामना गर्नुपरेको हो । घनाजंगलमा हवाइ गस्ती छलेर रातको समयमा हिड्नुपर्ने भएकाले कुनै कारणबस जंगलमा कुनै पनि छुटेको खण्डमा त्यो व्यक्ति जंगली जनावरको शिकार हुनुबाहेक अरु कुनै विकल्प छैन । नौ महिना लगाएर इक्वेडरदेखि अमेरिकाको टेक्सास आएका सुजन केसी भन्छन् – ” जंगलमा हराइयो भने फर्केर आउने आशा नगरे हुन्छ । ”

दिनको समयमा जंगलमा छाप्रा बनाएर सुत्ने र रातीको समयमा हिड्नुपर्ने भएकाले रातीमा हिड्दा काडाले कोतर्ने, हिलोमा फस्ने, लडेर शरिरमा चोटपटक लाग्ने जस्ता कुरा सामान्य हुने गरेको उनको अनुभव छ । त्यो बाहेक कैयनदिन भोकभोकै समेत हिड्नुपर्ने हुन्छ । उनी भन्छन् -”चार पाचदिन सम्म भोकभाकै हिड्नुपर्दा घाँस र सिउडीका काडा खाएर समेत भोक मेटाइयो ।”

मेक्सिकोबाट अमेरिका छिर्ने क्रममा जंगल पार गर्दा अमेरिकन सेनाको हवाइ गस्तीले फेला पारेमा गोली हान्ने सम्मको खतरा रहन्छ । त्यतीमात्र नभई समुन्द्रको यात्रा गर्दा डुंगा नै पल्टने र सबैको ज्यान जाने खतरा समेत उत्तिकै हुन्छ । गैरकानुनी रुपमा अमेरिका छिर्ने क्रममा यसरी ज्यान गुमाउनेको बारेमा कसैलाई पनि पत्तो हुदैन । जथाभावी समुन्द्रको बाटो हिड्दा समुन्द्री छालका कारण पटकपटक दुर्घघटना हुने गरेको छ । समुन्द्रको छालले डूंगा दुर्घटना हुँदा निकै मुस्किलले बाचेका सुजन भन्छन् -” समुन्द्रको किनारामा दुर्घघटना भएकाले पानी खाएरै भएपनि बाच्न सफल भइयो । नत्र समुन्द्रको बीचतिर दुर्घघटना भएको भए बाच्ने कुनै सम्भावना थिएन ।”

मेक्सिकोबाट गैरकानुनी अमेरिका आउने क्रममा को कसले कसरी ज्यान गुमाउनु पर्छ भन्ने कुनै ठेगान हुदैन । कतिपयका शव समेत फेला पर्दैन भने शव भेटिएपनि परिचय खुल्ने कुनै कागजपत्र नहुने भएकाले कुन देशको नागरिक हो भन्ने समेत पत्ता लगाउन मुस्किल हुन्छ । समुन्द्र र जंगलमा यसरी मारिएका व्यक्तिको पटकपटक शब भेटिने गरेको छ । दुइ महिना अगाडि त मेक्सिकोको उत्तरी भागमा गैरकानुनी रुपमा अमेरिका छिर्न हिडेका ७२ जनाको शब भेटिएको थियो । ५८ जना पुरुष र १४ जना महिलाहरु रहेकोमा सबैको शव गोली हानिएको अवस्थामा भेटिएको थियो । उनीहरु कुन कुन देशका हुन् भन्ने बारेमा केही खुल्न सकेन ।

यस्तो जोखिपूर्ण अवस्था हुदा हुदै पनि नेपालीहरु मेक्सिकोको बाटो हुदै अमेरिका छिर्ने क्रम निकै बढेको छ । मेक्सिकोको बाटो हुदै अमेरिका छिरेका नेपालीहरुले शरणार्थीका लागि आवेदन दिने क्रम बढेकाले गैरकानुनी रुपमा नेपालीहरु छिर्ने क्रम विगत ५ वर्षको अवधीमा झण्डै दोब्बरको अनुपातमा बढेको कानुन व्यवसायी खगेन्द्र क्षेत्रीको अनुभव छ । उहाँ भन्नुहुन्छ -” मेक्सिकोबाट गैरकानुनी रुपमा छिरेका नेपालीहरुले मेरो ल फर्म मार्फत मात्र हरेक महिना ६ देखि ८ जनाको दरले शरणार्थीका लागि आवेदन दिने गरेका छन् । ”

न्यूयोर्कमा रहेको नेपाली कन्सुलेटको कार्यालय श्रोतका अनुसार पनि गैरकानुनी रुपमा मेक्सिको हुदै अमेरिका छिरेका नेपालीहरु हरेक दिन दुइ जनाको दरले पासपोर्ट बनाउनका लागि पुग्ने गरेका छन् ।

४ जनालाई फिर्ता पठाइदै

१८ देखि २० लाख रुपैया सम्म खर्च गरेर अमेरिका छिरेका चारजना नेपालीहरुलाई अमेरिकी सरकारले स्वदेश पठाउने तयारी गरेको छ । गैरकानुनी रुपमा अमेरिका छिरेका रामबहादुर क्षेत्री , बिष्णु रुपाखेती, सन्तोष थापा र नोर्बु तामाङलाई अमेरिकाको होम ल्याण्ड सेक्युरिटीले पक्राउ गरी नेपाल फिर्ता पठाउने तयारी गरेको हो ।उनीहरुमध्ये एकजना सन् २००१ देखि अमेरिकामा गैरकानुनी रुपमा बसोबास गर्दै आएका थिए भने बाकी तीनजना केही दिन अगाडि अमेरिका छिरेका हुन् ।

नेपालमा दलाललाई १८ देखि २० लाख रुपैया बुझाएर मेक्सिकोको बाटो हुदै गैरकानुनी रुपमा अमेरिका छिरेका उनीहरुलाई अमेरिकी प्रहरीले टेक्सासबाट पक्राउ गरेको थियो । उनीहरुमध्ये अमेरिका आउने क्रममा सिंगापुर पुगेका रुपाखेतीलाई पहिले पनि त्यहींबाटै नेपाल फर्कनु परेको थियो । अहिले पनि इक्वेडरको बाटो हुदै अमेरिका छिरेका उनी तुरुन्तै पक्राउ परेका हुन् । उनले मात्र अमेरिका आउने क्रममा दलाललाई १८ लाख बुझाएका थिए ।

अमेरिकी सरकारकाले उनीहरुलाई फिर्ता पठाउनका लागि वासिंटन डिसीमा रहेको नेपाली दूतावासमा ट्राभल डकुमेन्ट बनाइदिनका लागि पत्राचार गरेको थियो । होम ल्याण्ड सेक्युरिटीको पत्राचारपछि नेपाली दूतावासले चारै जनाको ट्राभल डकुमेन्ट बनाएर दिइसकेको छ । चार जना मध्ये एक जनाको अपरेशन गर्नुपर्ने भएकाले डाक्टर कहाँ जानुपर्ने मेडिकल केश रहेको छ भने एकजनाको बारेमा होमल्याण्ड सेक्युरिटीले दूतावासलाई पूर्ण विवरण समेत उपलब्ध गराएको थिएन । पक्राउ परेका नेपालीहरुलाई अमेरिकी सरकार आफैले नेपाल फर्कने टिकटको शुल्क समेत बेहोरेर स्वदेश फिर्ता पठाउने तयारी गरेको हो ।

नेपाल फर्कने क्रममा भाग्ने सम्भावना समेत हुने भएकाले उनीहरुलाई कडा सुरक्षाकाबीच एयरपोर्ट सम्म पुर्‍याइने भएको छ । एयरपोर्ट सम्म लैजाने काममा अमेरिकी सरकारकै सुरक्षा विभागका कर्मचारी सामेल हुनेछन् । उनीहरुलाई बिमान चढाइसकेपछि मात्र सरकारका कर्मचारी फिर्ता हुनेछन् । उनीहरुलाई कहिले स्वदेश फिर्ता पठाउने भन्नेबारेमा भने अमेरिकी सरकारको होमल्याण्ड सेक्युरिटीले गोप्य राखेको छ ।

गैरकानुनी रुपमा अमेरिका छिरेका नेपालीहरुलाई अमेरिकी सरकारले यस अगाडि पनि पटकपटक पक्राउ गरी नेपाल फिर्ता पठाउने गरेको छ । यि चारजना बाहेक एकवर्षको अवधिमा मात्र अमेरिकी सरकारले ११ जना नेपालीहरुलाई स्वेदश फिर्ता पठाउन नेपाली दूतावाससमक्ष ट्राभल डकुमेन्ट बनाइदिन अनुरोध गरेको थियो । तर उनीहरुलाई फिर्ता पठाइयो वा अहिले पनि जेलमा नै रहेका छन् भन्नेबारे दूतावाससंग पनि स्पष्ट जानकारी छैन ।

“एकवर्षको अवधिमा हामीले गैरकानुनी रुपमा अमेरिका छिरेका ११ जना नेपालीहरुको ट्राभल डकुमेन्ट बनाएर अमेरिकी सरकारलाई दिइसकेका छौं । ” अमेरिकी दूतावासका प्रथम सचिव आनन्दप्रसाद शर्माले जानकारी दिए । यसरी ट्राभल डकुमेन्ट बनाउदा त्यसबापत लाग्ने शुल्क पनि अधिकांश नेपालीका लागि अमेरिकी सरकारले नै नेपाली दूतावासमा बुझाउदै आएको छ । अमेरिकी सरकारले नदिएको खण्डमा भने नेपाली दूतावासले निशुल्क ट्राभल डकुमेन्ट बनाइदिने गरेको छ । नेपाली दूतावासले ट्राभल डकुमेन्टका लागि ८० अमेरिकी डलर शुल्क तोकेको छ ।

सयौं नेपालीहरु गैरकानुनी रुपमा ग्वाटेमाला र इक्वेडरबाट मेक्सिकोको बाटो हुदै अमेरिका छिर्ने भएपनि अहिलेसम्म कतिजना नेपालीहरु यसरी अमेरिका छिरेका छन् भन्ने बारेमा कतै पनि रेकर्ड छैन । यसरी छिर्ने क्रममा कैयन नेपालीहरु टेक्सास लगायतका क्षेत्रबाट अमेरिकी प्रहरीको फन्दामा पर्ने गरेका छन् ।

अमेरिकी जेलमा दर्जनौं नेपाली

गैरकानुनी रुपमा अमेरिका छिर्ने क्रममा पक्राउ परेका थोरै नेपालीहरुलाई मात्र अमेरिकी सरकारले स्वेदश फिर्ता पठाउने गरेको छ । अधिकांश नेपालीहरुले पक्राउ पर्नासाथ वकिल मार्फत् अमेरिकामा शरणार्थीका लागि आवेदन दिने गरेकाले थोरै मात्र नेपालीहरुलाई स्वेदश पठाइएको वासिंटन डिसीमा रहेको नेपाली दूतावासले जानकारी दिएको छ । पक्राउ परेका नेपालीहरु मध्ये अमेरिकामा आफन्त वा नजिकको मान्छे नहुनेहरुले भने शरणार्थीको आवेदन दिनका लागि भेउ नपाउने भएकाले उनीहरुलाई स्वेदश पठाइने गरेको हो ।

शरणार्थी मान्यता पाउनका लागि आवेदन दिइसकेपछि भने अमेरिकी सरकारले उनीहरुलाई नेपाल फिर्ता पठाउन नपाउने कानुनी व्यवस्था रहेको छ । त्यसैले पक्राउ परिसकेपछि शरणार्थीको मान्यताका लागि न्यायालयको शरणमा पुगेका नेपालीहरु भने अमेरिकी जेलमा नै रहेका छन् । न्यायालयबाट शरणार्थीको मान्यता पाएको खण्डमा उनीहरु जेलबाट मुक्त हुने गरेका छन् भने मान्यता नपाएमा उनीहरुलाई पनि अमेरिकी सरकारले नेपाल फिर्ता पठाउने गरेको छ ।

शरणार्थीका लागि आवेदन दिइसकेपछि त्यसको फैसला आउन चार पाचवर्षम्म समेत लाग्ने भएकाले अमेरिकाको जेलमा ठूलो संख्यामा नेपालीहरु रहेको नेपाली दूतावासले जानकारी दिएको छ । तर कति नेपालीहरु जेलमा छन् भन्ने तथ्यांक दूतावाससंग छैन । न्यूयोर्कमा ल फर्म संचालन गरिरहेका कानुन व्यवसायी खगेन्द्र क्षेत्रीको अनुमानमा अमेरिकी जेलमा रहेका नेपालीहरुको संख्या एकसय भन्दा बढी छ । उनी भन्छन् “अहिले मात्र म एक्लैले अमेरिकाको टेक्सास र न्युयोर्क लगायतका जेलमा रहेका ८ जना नेपालीहरुको मुद्दा लडिरहेको छु । नेपालीहरु जेल पर्ने र छुट्ने क्रम चलिरहने भएकाले कुन जेलमा कतिजना छन् भन्न कठिन छ । ”

अमेरिकी जेलमा दर्जनौं नेपालीहरु रहेपनि कुन जेलमा कति नेपालीहरु रहेका छन् र उनीहरु को हुन् भन्ने तथ्यांक अमेरिकी सरकारले नै गोप्य राखेको छ । “पक्राउ परेका नेपालीहरुलाई स्वेदश फिर्ता पठाउनुपर्ने अवस्था आएमा मात्रै अमेरिकी सरकारले दूतावासमा जानकारी पठाउने गरेको छ ।” दूतावासमा प्रथम सचिव आनन्दप्रसाद शर्माले जानकारी दिए ।

गैरकानुनी रुपमा अमेरिका छिर्ने क्रममा पक्राउ परेका नेपालीहरुलाई सम्पर्क गर्नबाट अमेरिकी सरकारले रोक लगाउदै आएको छ । अमेरिकामा रहेको नेपाली दूतावासलाई समेत जेलमा रहेका नेपालीहरुलाई सम्पर्क गर्नबाट रोक लगाइएको दूतावासले जानकारी दिएको छ । तर पक्राउ परेकाहरुले भने नेपाली दूतावासमा सम्पर्क गर्न वा आफ्नो बचाउका लागि शरणार्थीको आवेदनका लागि वकिल मार्फत अदालत जान भने पाउछन् ।

पक्राउ परेका नेपालीहरुले वासिंटन डिसीमा रहेको नेपाली दूतावासमा सम्पर्क गरेको खण्डमा भने उनीहरुलाई नेपाल फिर्ता पठाउनका लागि दूतावासले समेत सहयोग गर्दै आएको छ । गैरकानुनी रुपमा अमेरिका छिर्ने क्रममा पक्राउ परेका नेपालीहरुलाई दूतावासमा सम्पर्क गर्नका लागि अमेरिकी सरकारले सोध्ने गरेपनि पक्राउ परेका अधिकांश नेपालीहरुले दूतावासमा सम्पर्क नै गर्न नचाहने भएकाले उनीहरुमध्ये कतिपयको विवरण अमेरिकी सरकारमार्फत मात्र थाहा पाउने गरेको दूतावासले जानकारी दिएको छ ।

विगतका वर्षहरुको तुलनामा गैरकानुनी रुपमा अमेरिका छिर्ने नेपालीहरु जेल पर्ने क्रम पनि ह्वात्तै बढेको छ । किनभने नेपालीहरु मेक्सिको हुदै गैरकानुनी रुपमा अमेरिका छिर्ने क्रम निकै बढेको छ । पहिले पहिले जेलमा रहेका नेपालीहरुको मुद्दा एकपटकमा चार -पांचवटाको दरले आउने गरेपनि अहिले भने झण्डै दोब्बर अर्थात् आठ-दशवटाको दरले नै आउने गरेको कानुन व्यवसायी खगेन्द्र क्षेत्रीको अनुभव छ । उनी भन्छन् – “गैरकानुनी रुपमा अमेरिका छिर्ने काममा नेपालीहरु अब अरु देशसंग प्रतिस्पर्धा गर्ने भइसकेकाले जेल पर्ने क्रममा पनि त्यही दरमा बढेको हो ।”

यसरी अमेरिका छिरे भक्तपुरका संजिव थापा

म संजिव थापा । म २०४२ साल चैत ९ गते भक्तपुरमा जन्मेको हुँ। मेरो बाल्यकाल भक्तपुरमा नै बित्यो । मैले कक्षा १ देखी एस एल सी सम्म्मको अध्ययन भक्तपुरमा नै गरें । पछि राजधानी काठमाडौको कलेजमा पढ्न थालें ।

उच्च शिक्षा हासिल गर्ने मन हुंदा हुदै पनि आफ्नो इच्छा र कमजोर पारिवारीक अवस्थाका कारण म २०५९ सालमा नेपाली सेनाको जवान पदमा भर्ति भए । तत्कालीन समयमा नेपालमा सरकार र ब्रि्रोही माओवादीबीच चर्को युद्ध थियो । त्यसैले नेपाली सेनाको जागिर चुनौति पूर्ण थियो तर पनि म सबै चुनौतिहरुलाइ सामना गर्दै नेपाली सेनामा जागिर गरिरहेको थिए । तर मेरो नेपाली सेनामा जागिर गरिरहने सपना धेरै दिन पुरा हुन पाएन । घरपरिवारले मलाइ पटक पटक जागिर छोड या हामिलाइ माया मार भनि रुन कराउन थाले । फलत आफ्नो जन्म दिने वुवा आमा र घरपरिवारको माया नै ठुलो ठानेर म घर फर्के ।

सेनाको जागिर छोडिसकेपनि म देश छोड्ने सोचाइमा पुगे । नेपालमा राजनीतिक द्धन्द चर्किरहेकेाले म दलाललाई पैसा बुझाएर गैरकानुनी रुपमा अमेरिका आउने यात्रामा सामेल भएं । सुरुमा मलाइ अमेरीका सम्म पुरयाउने वाचा गरेको दलालले केहि समय भारतको नयाँ दिल्लीमा राख्यो । त्यसपछि मलाइ दलालले नै भारत बाट इक्वेडर ल्यायो । इक्वेडरको जम्मा ३ महिनाको मात्र भिसा थियो । त्यसैले दलालको सहयोगमा मैले भिसा अवधी सकिनु अगाडि नै इक्वेडर छोडे । इक्वेटरबाट पैदल, बस र बिभिन्न माध्यमबाट कोलम्बिया, निगाराकुवा, होन्डुरस, ग्वाटेमाला हुदै मेक्सिको आएं । निकै कठिनायीपूर्ण यात्रामा कैयन दिन भोकै प्यासै हिड्नुपर्‍यो ।

मेक्सिकोबाट पनि उत्तिकै कष्ट सहेर म अमेरिका आए । यसरी मलाई इक्वेडरबाट अमेरिका सम्म आउन झण्डै ९० दिन लाग्यो । यि ९० दिनको समयमा मैले निकै शारिरीक र मानसीक पिडाहरु भोग्नु पर्यो किनकी म नेपाल भन्दा अरु देशमा नगएको हुंदा बिभिन्न देशमा भाषाको समस्या मात्र हैन शारिरीक समस्या समेत भोग्नु पर्‍यो । अन्तत म अमेरीका र मेक्सीकोको सिमाना जोडिएको माथामोलस हुदै टेक्सास आउन सफल भए ।

अमेरिकामा आएपछि मलाइ शुरुमा केहि समय त अब के गर्ने भनेर निकै चिन्ता लाग्यो । मेरो नजिकैको नाता पर्ने एक जना नातेदार अमेरिकामा भएको मलाइ थाहा थियो । त्यसैले मैले नेपालमा परिवारसंग उहाको फोन नम्वर र ठेगाना पत्ता लगाएर फोन गरे मैले एक्कासी अमेरीकामा आएर फोन गर्दा उहा पनि निकै खुशि हुनु भयो र मलाइ आफु भएको ठाउमा बोलाउनुभयो । तर अमेरिका आउदा पनि मैले नेपालमा छंदा सोचे जस्तै सजिलो पाइन । कारण यहा पनि ग्रिनकार्ड पाएका र बैधानिक बसाइमा रहेका नेपालीहरुको जिवन सजिलो रहेछ तर म जस्ता कागजपत्र बिहिन मानिसहरुलाइ भने कठिन रहेछ ।

कोठा पाउने देखी लिएर जागिर गर्दा सम्म हरेक कुरामा कागजपत्र बिहिन भएपछि अप्ठेरो पर्दो रहेछ । त्यसैले म अहिले पनि अमरिकामै रहेर पनि समस्यामा छु । घर परिवारको मायालाई तिलाञ्जलि दिएर अमेरीकामै बस्न चाहदा पनि कागजपत्र बिहिन भएकोले न त परिवार यता बोलाउन सक्ने अवस्था न त म नेपाल जान सक्ने अवस्थामा पिल्सिइरहेकेा छु ।- साभार: विश्व सन्देश पाक्षिक, न्यूयोर्क

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक