(संसारका १७५ देशमा पढिने, फोहोरी राजनीति
र छाडापनबाट
पुरै अलग, संसारभर छरिएर रहेका नेपालीहरुको साझा, स्वतन्त्र, अनलाइन पत्रिका www.NepalMother.com, एउटा क्लिकमा सबैथोक)

20101116

Exclusive !  Exclusive ! Exclusive ! 
भारत, पूर्वराजा ज्ञानेन्द्र, दलहरू र माओवादी : के हामी अर्को सहमतिको संघारमा त छैनौं ?
- कुमार रेग्मी
पृथ्वीनारायण शाह र बीपी कोइरालालाई जति पढ्यो, आजको समग्र नेतृत्वलाई हेर्दा र सुन्दा दया र टिठ लागेर आउँछ । पूर्वाग्रह, ईष्र्या, घृणा र बदलाको भावनाबाट ग्रस्त भएको राजनीतिक नेतृत्वले मुलुकलाई गन्तव्यमा पुर्‍याएको वा देश र समाजको भलो गरेको एउटा उदाहरण संसारमा छैन भने नेपाल त्यसको अपवाद बन्न सक्दैन । हिजो राजाको पालामा दलहरूको विरुद्धमा त्यही गर्ने असफल प्रयास भयो भने आज माओवादी र दलहरूले त्यसैलाई निरन्तरता दिइरहेका छन् । कतिसम्म भने आफंले उन्मूलन गरिसकेको राजसंस्थाबाट अझै सबभन्दा बढी खतरा छ भनी आफ्नो अक्षमता र अकर्मण्यता प्रदर्शनको पनि निरन्तरता.....
छ । सार्वजनिक शिक्षा, प्रजातन्त्र वा मानवअधिकार भन्नेजस्ता विषयको नामसम्म नसुनिएको झन्डै तीन शताब्दी अघिको नेपालको क्षेत्रीय र जातीय अखण्डताको संरक्षणका उपायबारे पृथ्वीनारायण शाहको दिव्योपदेशमा उल्लेख गरेका सूत्रहरूलाई पढ्दा आज पनि जुनसुकै नेपालीले गर्व गर्न सक्छ । अनि लाग्छ, राजनीति गर्नेमा मुखमा होइन, दिलमा राष्ट्रको माया चाहिन्छ र मात्र राष्ट्रप्रेमले भरिएका कालजयी विचार र कर्महरू निस्किन्छन् । उनको सन्तानको एउटा राजाले २४० वर्षपछि गल्ती गर्‍यो भन्दै त्यो पृथ्वीनारायण शाहको मूर्ति फुटाउनेदेखि उनको जन्मदिन मनाउन छाड्ने निर्णयको औचित्य पुष्टि हुन सक्दैन ।

राष्ट्रको माया भनेको त्यो देशको जनता, माटो, इतिहास, जीवनशैली, धर्म, संस्कृति, भाषा सबैप्रतिको सामूहिक मायासँगै त्यसको संरक्षण र सम्बर्द्धनप्रतिको निःस्वार्थ समर्पण हो । विश्वविजयी शक्ति अंग्रेज र त्यसभन्दा पहिले भारतीय महाद्विपमा राज गरेको मुस्लिम साम्राज्यले नेपाल नचाहेर होइन, पृथ्वीनारायण शाहको गोर्खाली फौजसँग नसकेर नेपालको स्वतन्त्र अस्तित्व बाँचेको हो भन्ने कटुसत्यको उच्च सम्मान गर्न नसक्नेले नेपाली हुनपाएको वा भएकोमा गर्व गर्न सक्दैन ।

पृथ्वीनारायण शाहको समय त धेरै पर भयो, आजभन्दा जम्मा ३० वर्ष अघिसम्म हाम्राबीच रहेका बीपी कोइरालाले नेपालको राष्ट्रियता, प्रजातन्त्रबारे पटक-पटक बोलेका कटुसत्य वचन हाम्रालागि दुश्मनका कटुवचनसरह अस्पृश्य भएको बेला नेपाली निरीह र दयनीय नभएर अरू के होलान् ? गणेशराज शर्माबाट सम्पादित बीपीका चार चर्चित पुस्तकबाहेक तीभन्दा पहिल्यै साझा प्रकाशनले ०५१ सालमा छापेको भारतीय पत्रकार भोला चटर्जीको नेपालीमा अनुवादित 'बीपी कोइराला एक क्रान्तिकारी व्यक्तित्व' नामक बीपीले बोलेको र सम्पादन हेरेका पुस्तक पढ्ने जोकोहीले राष्ट्रप्रति अविचलित प्रेम भएको नेताले कसरी सबै दुःख, वेदना, अपमान र पीडालाई पिएर राष्ट्र बचाउने एक-एक तन्तुको संरक्षणमा आफूलाई समर्पण गर्छ भन्ने स्पष्ट हुन्छ । देश चलाउने नेता हुन्छु भन्नेसँग कति गहिरो चिन्तन, मनन र विश्लेषण चाहिन्छ भन्ने त्यहाँ देखिन्छ ।

विगतको अनुभवको इमानदार विश्लेषणसँगै आफ्नो समयमा र भविष्यमा यो राष्ट्रमाथि उठ्नसक्ने गम्भीर खतराहरूको सूक्ष्म मूल्यांकन गरी नेपालको राष्ट्रियता र प्रजातन्त्रको स्थापना र विकासबारे बीपीले त्यो बखतमा भनेका एक-एक शब्द आज भविष्यवाणी भएका छन् । आज मुलुकमाथि भएको नाङ्गो वैदेशिक हस्तक्षेप र त्यसलाई स्वयम् नेपालीले तयार पारिदिएको स्थानबारे बीपीले त्यसैबखत आशंका गरी बारम्बार खबरदारी गर्नुभएको देखिन्छ । हिंसाको राजनीति हुँदै जातीय विभाजनको विष रोप्ने दुष्प्रयासको सम्भावनाबारे त्यसैबखत सजग भई उहाँले त्यसविरुद्ध प्रहार गर्नुभएको छ ।

तर दुर्भाग्य, बीपीलाई पढ्ने र त्यसबाट मुलुकका समस्याबाट त्राण पाउने सूत्र निकाल्ने इमानदार प्रयास गर्ने साहससमेत आजको नेतृत्वमा छैन । अरूको त कुरै छाडौं, बीपीले नेपाल र नेपालीको भविष्यका लागि यो मार्ग उत्तम हो भन्नुभएको थियो भन्ने हिम्मत आजको कांग्रेसका तीन तहसम्मका नेतृत्वसँग छैन । उनीहरू गलत सूचना, ईष्र्या र बदलाको भावनाबाट ग्रस्त छन् । नेताले मुलुकको हितलाई अगाडि राखेर आफू
अगाडिका र भविष्यमा आउने समस्याको पूर्वानुमान गरी त्यसको चिरफार गरी देशलाई आसन्न संकटबाट बचाउनुपर्छ । दुर्भाग्य, आज त्यसो हुनु त परै जाओस्, समस्याहरूको इमानदारीपूर्वक पहिचान गर्ने प्रयाससमेत भएको पाइन्न ।

आजको नेपालको सामाजिक सद्भाव र राष्ट्रिय एकता र अखण्डतालाई अक्षुण्ण राख्दै शान्तिपूर्ण प्रजातान्त्रिक शासनव्यवस्था अन्तर्गत देशको चौतर्फी आर्थिक विकासलाई अघि बढाउन जिब्रो नचपाई तीन प्रश्न वा समस्याहरूको दीर्घकालीन हल खोजिनुपर्छ । ती हुन् ः भारत, पूर्वराजसंस्था र माओवादी । नेपालका आजका सबै विवाद र समस्याको जरामा गाडिएका मूल प्रश्न यिनै हुन् । हाम्रा पुर्खाले दिएको सग्लो नेपाल हामीले हाम्रा सन्ततिलाई सुम्पने हो भने यी प्रश्नको अन्तर्वस्तुमा  प्रवेश गर्नैपर्छ । तर सतही राजनीतिक जोड-घटाउबाट सत्ताको मात्र खेल खेल्नेले यी प्रश्नलाई कार्पेटमुनि राखिरहन चाहन्छन् । यस्तो सुतुरमुर्गी हिसाबले हामी सग्लो रहन सक्दैनौं ।

भारतसँग हाम्रो शताब्दीऔं पुरानो धार्मिक र सांस्कृतिक सम्बन्ध छ । खुल्ला सिमानाका कारण अन्य देशसँगको भन्दा बढी नै नजिकको सम्बन्ध र निर्भरता हुनु स्वाभाविक छ । यो हाम्रो यथार्थ हो र यस्तो हुनु हाम्रो समस्या होइन । समस्या राजनीतिक नेतृत्वको चरित्र, सोचाइ र गराइमा छ । कतिपय नेताहरूले नेपालको राष्ट्रिय स्वार्थलाई सर्वोपरी राखेर भारतीय नेतृत्वसँग छलफल नगरी व्यक्तिगत सम्बन्धलाई प्रगाढ बनाउनाले समस्या बल्भिmरहेको छ । यसैकारण आजसम्म कुनै पनि नेपाली नेतृत्वले नेपालको भारतसँगको सम्बन्धबारे सर्वस्वीकार्य नीति तय गरेकै छैन । हामीकहाँ पार्टी र पार्टीभित्रका व्यक्तिहरूका अलग्गै भारतीय र चिनियाँ नीतिहरू छन्, जसका कारण पटक-पटक राष्ट्रिय स्वार्थलाई कुल्चिएका उदाहरण हाम्रा अगाडि छन् । जुन दिनसम्म नेपालका घरेलु विषयमा नेतृत्वबीच जतिसुकै विवाद रहे पनि विदेश नीति र मूलतः भारतसँगको सम्बन्धको बारेमा कोठाभित्र र बाहिर एउटै भाषा र अडान बन्दैन, नेपालको आन्तरिक मामिलामा स्वतन्त्र निर्णय गर्ने क्षमता स्थापित हुन सक्दैन । इतिहासले बारम्बार यो पुष्टि गरेको छ ।

भारतको नेपालसँग के चिन्ता र चाहना छन्, हाम्रो राष्ट्रिय स्वार्थ र हितलाई असर नपारी हामीले सम्बोधन गर्नुपर्छ । यसो गरिनु हाम्रो राष्ट्रिय स्वार्थ अनुकूल हुन्छ, किनभने ऊ हाम्रो निकट छिमेकी हो र नेपालमा राजनीतिक स्थिरता र यसको आर्थिक विकासका लागि यो अपरिहार्य छ । त्यसैले नेपालका जिम्मेवार नेताहरूले शान्ति प्रक्रिया र संविधान लेखनका प्रश्नभन्दा पहिले भारतसँगको सम्बन्धलाई चिरकालसम्म स्थिरता दिन बुँदागत रूपमा सार्वभौम नेपालले गर्नुपर्ने काम र नेपालले नछाड्ने अडानबारे एकमत कायम गर्नुपर्छ । त्यसमा कहिल्यै विचलित नहुने प्रतिबद्धता व्यक्त गर्नसकेमा शान्ति प्रक्रिया टुङ्गो लगाउने र नयाँ संविधानका विवादित विषयमा सहमति जनाउनेले भन्दा यो विषयले नेपाल र नेपालीको दीर्घकालीन हित गर्नेछ ।

अन्यथा ३० वर्ष राजाको दौराको फेरो समातेर उनको नेतृत्वलाई सूर्य-चन्द्र रहेसम्म निर्विकल्प भनी चिच्याउँदै राजाको दयामा प्रधानमन्त्री, मन्त्री, माननीय र ठूला प्रशासक बनेका पूर्वपञ्चहरू एकैरातमा गणतन्त्रवादी बनेका र राजाले सक्रिय राजनीति गर्नहुन्न जनताको शासन गर्ने अधिकार जनतालाई दिनुपर्छ भन्दा राजाकै जेलमा १४ वर्ष बिताएका कांग्रेसका संस्थापक नेता एवं पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराई संवैधानिक राजतन्त्रवादी रहिरहँदा तिनै पञ्चभन्दा कम क्रान्तिकारी वा राजावादी भएको आरोप खेप्नुपर्ने इतिहासको पुनरावृत्ति नेपालमा भइरहनेछ ।

दोस्रो र तेस्रो प्रश्न वा समस्या हाम्रा घरभित्रका हुन् । सम्पूर्ण नेपालीको एकताभित्र यी सबैसँग शान्तिपूर्ण राजनीति गर्ने दलहरूको एकता जोडिएको छ । कसैप्रति पनि निषेधको राजनीतिको अस्त्र नफाली, सबैलाई कुनै न कुनै भूमिकामा राखी, मुलुकलाई पूर्ण प्रजातान्त्रिक बाटोबाट अगाडि नलगी नेपालले दीर्घकालीन राजनीतिक निकास पाउने देखिन्न । माओवादीका बारेमा धेरै लेखिएको छ । माओवादीले हतियार र हिंसाको राजनीति नछाड्ने हो भने ऊ त समाप्त हुन्छ नै, नेपाल बर्बादीको दिशातर्फ अघि बढ्नेछ । 'नेपाल' साप्ताहिकको २८ कात्तिकको अंकमा सुधीन्द्र शर्माको 'धर्म, राष्ट्रपति र राजा' शीर्षकको अत्यन्तै महत्त्वपूर्ण लेखले यो दिशामा राम्रा सुझावहरू अघि सारेका छन् र देशको समस्या साँचो अर्थमा समाधान भएको हेर्न चाहनेले यस्ता विचार अझ बढी बाहिर ल्याउन जरुरी छ ।

हिजो राजा सत्तामा हुँदा माओवादी र दलहरूसँग वार्तासमेत नगर्ने अडानका कारण विदेशीले उनीहरूसँग वार्ता गरी राजसंस्थाको उन्मूलनको बाटो खोलेको भर्खरको तीतो सत्यलाई दल र माओवादीले पनि बिर्सनहुन्न । सुनिएको छ, पूर्वराजा ज्ञानेन्द्र तीन साताका लागि सोमबार भारत गएका छन् । घर भित्रकाले वास्ता नगरेपछि सामान्य जोकोही विदेशीसँग पनि नजिक हुन बाध्य हुन्छ । हिजो दल-माओवादीले त्यसै गरेर १२ बुँदे सहमति जन्माएका हुन् । के हामी अर्को सहमतिको संघारमा त छैनौं ? यो गम्भीर प्रश्नप्रति सबै सजग हुन जरुरी छ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक