20101201

लोकतन्त्र पक्षधर र अधिनायकवादका हिमायतीहरूलाई बराबरीमा देख्ने, लेख्ने र स्थान दिने काम हाम्रो पत्रकारिताले गर्यो - देवप्रकाश त्रिपाठी

लोकतन्त्र पक्षधर र अधिनायकवादका हिमायतीहरूलाई बराबरीमा देख्ने, लेख्ने र स्थान दिने काम हाम्रो पत्रकारिताले गर्यो , फलस्वरूप जनसमूहको दृष्टिमा काट्ने र काटिने, कुट्ने र कुटिने, मर्ने र मारिने बराबरी ठहरिन पुगे, हामी कस्तो पत्रकारिता गर्दैछौँ ? ―देवप्रकाश त्रिपाठी
'आज राजधानीमा आयोजित एक समारोहमा रामप्रसादले कालो बिरालो कहिल्यै पाल्न नहुने विचार व्यक्त गर्नुभएको छ। सोही समारोहलाई सम्बोधन गर्दै श्यामप्रसादले सेतो बिरालो कदापि पाल्नुहुँदैन भन्नुभयो। कार्यक्रमका अर्का वक्ता कृष्णप्रसादले कालो र सेतो दुवै बिरालो पाल्न नहुने ....
बताउनुभयो। वक्ता हरिप्रसादले भने कालो र सेतो दुवै बिरालो एकसाथ पाल्नु हरेक दृष्टिले उपयुक्त हुने दाबी गर्नुभयो। समारोहमा चतुरप्रसादले बिरालाका कुरा गर्नेहरू नालायक भएको बताउँदै खरायो पाल्न सुझाउनुभयो। तर, अमनप्रसादले भने सामर्थ्य र इच्छा हुनेले जनावर होइन दुःखी–गरिबका छोराछोरीको पालनपोषण गर्नु उपयुक्त र उचित हुने धारणा प्रस्तुत गर्नुभयो। समाचार यहीँ सकिन्छ, हामीलाई हेर्न, सुन्न नभुल्नुहोला, अर्को घन्टा हामी फेरि रोचक (?) समाचारहरू लिएर उपस्थित हुनेछौँ, नमस्कार।' केही वर्षयता नेपाली पत्रकारिताले 'विकास' गर्दै जाँदा हामीले समाचारका रूपमा सुन्ने/हेर्ने/पढ्ने गरेका व्यहोराको प्रतीकात्मक अंश हो यो। कुनै पात्रले कुनै कार्यक्रम या सन्दर्भमा प्रकट गरेका अभिव्यक्तिलाई सम्पादनसहित प्रस्तुत गर्नुलाई हामीले समाचार ठान्ने गरेका छौैँ, समाचारका रूपमा प्रस्तुत मान्छेपिच्छेका नौरङ्गी अभिव्यक्तिलाई जनताले पनि समाचार भनेकै यही होला भनेर सुन्दै/हेर्दै/पढ्दै आएका छन्। वास्तवमा कसैको अभिव्यक्ति कुनै खास अवस्थामा मात्र समाचार हुनसक्छ, तर नेपाली पत्रकारितामा विचार र अभिव्यक्तिलाई नै समाचारका रूपमा प्रस्तुत गर्ने प्रवृत्ति हैजासरह फैलिएको छ। कुनै व्यक्ति जसको अभिव्यक्तिले निर्णायक एवम् परिणाममुखी प्रभाव पार्नसक्छ भने त्यस्तो अवस्थामा अभिव्यक्ति नै समाचार बन्नसक्छ, जस्तै माओवादी अध्यक्ष प्रचण्डले सात दिनभित्र आफ्नो पार्टीको लडाकु टोली भङ्ग गरी उनीहरूलाई रचनात्मक कामका लागि गाउँ–गाउँमा पठाउनेछु या सम्पूर्ण हतियार राज्यलाई बुझाउनेछु भनी घोषणा गर्नुभयो भने त्यसलाई समाचार बनाउन सकिन्छ। किनभने यस्तो अभिव्यक्तिलाई परिणाममुखी मान्न सकिन्छ। तर, तिनै प्रचण्डले 'हामी शान्ति र संविधानलाई केन्द्रबिन्दुमा राखेर सहमतिका लागि पहल गर्नेछौँ' भन्नुभयो या सुशील कोइरालाले नेपालको प्रजातान्त्रिक आन्दोलनमा नेपाली काङ्गे्रसले ठूलो योगदान पुर्या्एको धारणा प्रकट गर्नुभयो भने त्यस्ता सामान्य अभिव्यक्तिलाई मूल या सहायक समाचारका रूपमा प्रस्तुत गर्नुको के अर्थ हुन्छ? अर्थात् विजयकुमार गच्छेदारले माओवादी नसुधि्रएसम्म मुलुकले निकास पाउँदैन भनी दिनुभएको अभिव्यक्तिको समाचारीय मूल्य के हुन्छ? समाचार भनेको सामान्यतया घटना हो, तर लञ्जुपञ्जु जसले दिएको अभिव्यक्ति पनि 'घटना' हुन सक्दैन। डा. रामवरण यादवले राष्ट्रपतिको कार्यकाल सकिनेबित्तिकै आफू सन्न्यासी बन्ने या गाई–बाख्रापालन व्यवसायमा लाग्ने घोषणा गर्नुभयो भने त्यसलाई विशेष मान्छेको विशेष घोषणा भएको हुँदा घटना मान्न सकिन्छ र घटना भएकै कारण त्यो समाचार हुनसक्छ। तर, पर्यटनमन्त्रीले नेपाल पर्यटकीय दृष्टिले अत्यन्त महत्त्वपूर्ण देश हो भन्नु त कुनै घटना नभई सामान्य कुरा हो नि! तैपनि यहाँ मन्त्री, प्रधानमन्त्री या कुनै नेताले बोलेका कुरा भनेपछि अधिकांश सञ्चारमाध्यमले समाचारको दर्जा दिएर सम्प्रेषण गर्ने गर्छन्। खासगरी विद्युतीय सञ्चारमाध्यमहरू त फलानाले यसो भन्नुभयो र चिलानाले उसो भन्नुभयो भन्दाभन्दै समाचारका लागि निर्धारित समय कटाउँछन् र अर्को पटक 'रोचक' सामग्रीसहित उपस्थित हुने घोषणा गर्दछन्– मानौँ समाचार कुनै मनोरञ्जनको साधन हो, जुन सिनेमाको स्त्रि्कप्ट लेखेझैं तयार गरिन्छ। यदि कसैले कुनै स्थान या सन्दर्भविशेषमा कुनै रोचक अभिव्यक्ति दिएका छन् भने त्यसलाई समाचारभित्रको विचार–सेसनका रूपमा अलग्गै प्रस्तुत गर्नु उपयुक्त हुनेतर्फ सञ्चारमाध्यमहरूको ध्यान पुगेको छैन। त्यसैले आलु विकास कार्यक्रमअन्तर्गत आयोजित कार्यक्रममा पुगेका मन्त्री आलुको विकासबारे बोल्दैनन्, 'आफ्नोबाहेक सबै दलहरू नालायक हुन्' भन्छन्, सञ्चारमाध्यमहरू पनि कसको के कार्यक्रम भन्ने मुख्य अंशलाई पूरै छुटाएर या आंशिक रूपमा जोडेर कथित समाचार बनाउँछन्। पछिल्ला वर्षहरूमा यो देशले कुराको खेतीमा अद्वितीय विकास गरेको छ। रासायनिक मल र विषादीको प्रयोगबिना नै भइरहेको यो खेती सामान्यतया 'अर्गानिक क्वालिटी'को हुनुपर्ने हो, तर यो यति दूषित र प्रदूषित छ कि यो खेतीले 'अर्गानिक'को हैसियत पनि राख्दैन। प्राकृतिक रूपले शान्त र सुन्दर नेपालको वातावरणलाई अशान्त र कुरूप तुल्याउन यस्तो खेतीले मुख्य भूमिका निर्वाह गरेको छ। घटना या मुख्य विषयलाई लुकाउने, ढाकछोप गर्ने या आंशिक रूपमा प्रस्तुत गर्नाले समाचारहरू समाचारजस्ता नभएका मात्र होइनन् व्यर्थमा राष्ट्रको समय बर्बाद हुने स्थिति पनि बन्दै छ। जनताको ध्यान सकारात्मक र रचनात्मक दिशातर्फ मोड्न सञ्चारमाध्यमहरूको योगदान हुनुपर्नेमा 'यसो भन्नुभयो र उसो भन्नुभयो' भन्ने कुरैमा मानिसलाई अल्झाइराख्ने काम नेपाली सञ्चारमाध्यमहरूले गरिरहेका छन् भन्न अब हिचकिचाइरहनु पर्दैन। विकास, अर्थतन्त्र र समाजसेवाका कामलाई भन्दा नेताहरूको व्यर्थ बकबकलाई महत्त्व दिने गरेकै कारण नेपाली समाजमा विकृतिपूर्ण ढङ्गले कुराको खेती बढाइरहेको निष्कर्ष निकाल्न सकिन्छ। नेपाली पत्रकारिताका सकारात्मक पाटा धेरै छन्, जसको चर्चा यहाँ गरिरहन उचित र आवश्यक ठानिएको छैन। तर, पछिल्लो कालखण्डमा व्याप्त हुँदै गरेको विकृतिप्रति अब पनि सचेत नहुने हो भने पत्रकारिताको उपादेयता र उपयोगिता ह्रास हुने मात्र नभई देशको समग्र विकासम समेत अड्चन पैदा हुनसक्छ भन्नेतर्फ हामी सबैको ध्यान केन्द्रित हुन ढिला भइसकेको छ। पञ्चायतकालमा नेपाली पत्रकारिताको भौतिक अवस्था कमजोर भए पनि भूमिका सशक्त रहेको यथार्थ स्मरणीय छ। त्यस कालखण्डमा साप्ताहिक पत्रपत्रिकाले प्रजातन्त्र स्थापनालाई मुख्य गन्तव्य बनाएर आफ्नो भूमिका निर्वाह गरेका थिए। ०४६ को परिवर्तनपश्चात् नेपाली पत्रकारिताले अकल्पनीय छलाङ मार्यो । दैनिक पत्रिकाहरूको प्रकाशन, एफएम रेडियो र टेलिभिजनहरूको विस्तार तथा विकासले पत्रकारिताको प्रभावकारितामा उल्लेखनीय प्रगति हासिल गर्यो । तर, सञ्चारमाध्यमहरूले प्रभावकारिता स्थापित गरे पनि गुणस्तरीय सामग्री सम्पे्रषण र जिम्मेवारीबोधमा कमजोरी देखाएका छन्। २०६३ को राजनीतिक परिवर्तनपश्चात् नेपाली पत्रकारितामा अत्यासलाग्दो किसिमले कमजोरीहरू प्रस्फुटित भए। देशलाई दूरगामी असर पार्ने कैयन मुद्दाहरूमा पत्रकारिता गम्भीर हुन नसकेको र जे प्राप्त हुन्छ त्यसैलाई बिनासोचविचार सम्पे्रषण गर्ने गरेको महसुस चेतनशील नागरिक समुदायले गरेको छ। सङ्क्रमणकालीन अवस्थामा राज्य कमजोर हुन्छ र देशमा अराजकता व्याप्त रहन्छ भन्ने कुराको दृष्टान्त नेपालमा पनि देखिँदै छ। यस्तो स्थितिमा सञ्चारमाध्यमहरू जिम्मेवार नभइदिँदा समस्या समाधान हुनुभन्दा परिस्थितिलाई थप उल्झनपूर्ण बनाउन योगदान पुग्दोरहेछ भन्ने पनि नेपाली सन्दर्भमा प्रमाणित भएको छ। यस अवधिमा लोकतन्त्र, स्थिरता, राष्ट्रिय एकता र सार्वभौमिक सुदृढीकरणका पक्षमा पत्रकारिताको भूमिका अत्यन्त दुर्बल रहेको महसुस गरिएको छ। लोकतन्त्र पक्षधर र सर्वहारा अधिनायकवादका हिमायतीहरूलाई बराबरीमा देख्ने, लेख्ने र स्थान दिने काम हाम्रो पत्रकारिताले गर्यो , फलस्वरूप जनसमूहको दृष्टिमा काट्ने र काटिने, कुट्ने र कुटिने, मर्ने र मारिने बराबरी ठहरिन पुगेका छन्। लोकतन्त्र विस्थापित हुँदा देश र आफ्नै भविष्य कसरी सङ्कटमा पर्नसक्छ भन्ने कुराको हेक्कासमेत पत्रकारिता क्षेत्रले राखेको देखिएन। एकात्मक राज्य प्रणालीका कारण सुदृढ रहेको राष्ट्रिय एकता जगैदेखि खलबलिने गरी जातीय र सङ्घीय राज्यको अवधारणा अघि सार्दा पनि नेपाली सञ्चारमाध्यमले त्यसमा बहस चलाएर देशको पक्षमा जनमत सिर्जना गर्न खोजेन, निष्पृह रह्यो। राष्ट्रिय सुरक्षाका कैयन संवेदनशील विषयहरूमा बेग्लै नियतले क्रियाशील राजनीतिकर्मीहरूजस्तै पत्रकारिता पनि निर्मम र असंवेदनशील ढङ्गले प्रस्तुत भयो। समाचार प्रस्तुतिमा भइरहेको प्रतिस्पर्धा अस्वस्थ हुँदै जाँदा अपुष्ट र अप्रमाणित विषयहरूसमेत सम्पे्रषण हुने क्रममा तीव्रता आयो, जुन अद्यापि जारी छ। पत्रकारको जानकारीमा आएका हरेक कुराहरू समाचार हुन सक्दैनन् भन्ने तथ्यप्रति पनि पत्रकारिता उदासीन रहेको महसुस भइरहेको छ। कुनै सैन्य ब्यारेकभित्र तीनवटा मात्र बन्दुक रहेको तथ्यबारे पत्रकारलाई जानकारी हुनु स्वाभाविक हुन्छ, तर त्यस्तो जानकारीलाई समाचारका रूपमा सम्पे्रषण गर्नुचाहिँ जिम्मेवार पत्रकारिताको दायराभित्र पर्दैन। राष्ट्रिय सुरक्षासँग सम्बन्धित विषयहरूमा पत्रकारहरू आफैं संवेदनशील र जिम्मेवार हुन आवश्यक हुन्छ। नेपाली सेनाको सङ्ख्या कति हुनुपर्छ भन्ने विषय राष्ट्रिय सुरक्षासँग त सम्बन्धित हुँदै हो, यस सम्बन्धमा राष्ट्रिय बहस हुनुपर्छ भन्नसम्म सकिएला, तर सेनाको सङ्ख्या घटाइनुपर्छ भनी हचुवाको भरमा सामग्री सम्पे्रषण गरिनुलाई जिम्मेवार पत्रकारिताका रूपमा स्वीकार गर्न सकिन्न। नेपाली पत्रकारिताले विगतमा यस्तो विषयलाई समेत सतही ढङ्गले उछालेको महसुस जनस्तरले गरेको छ। प्रस्तुतिमा भाषा र अर्थको ख्याल राख्न पनि पत्रकारिताले खोजेको देखिँदैन। कुनै विदेशी पाहुना नेपालको भ्रमणमा आउँदा 'तीनदिने नेपाल भ्रमणमा आउनु भएका फलना' भन्ने व्यहोराको समाचार प्रस्तुत गरिन्छ, भ्रमण तीन दिनको हुनुपर्नेमा नेपाल नै तीनदिने भन्ने अर्थ लाग्ने प्रकारका कुरामा पनि हेक्का राखेको पाइन्न। मसिना कुराहरूलाई ठूलो र विकराल बनाएर प्रस्तुत गर्ने रोग नेपाली पत्रकारितामा समेत व्यापक मात्रामा देखिन्छ। यस प्रकारका कमजोरीहरूलाई सच्याउन सकेमा नेपाली पत्रकारिता गुणस्तरयुक्त, जिम्मेवार र रचनात्मक हुने विश्वास गर्न सकिन्छ। 'भन्नुभयो र बताउनुभयो' वाला परम्पराबाट पत्रकारितालाई मुक्त गर्न सकियो भने नेपाली पत्रकारिताले गुणात्मक फड्को मार्ने निश्चित छ। मानिसहरू यथार्थ बुझ्न चाहन्छन्, सत्य जान्ने इच्छा राख्छन्, सही दिशाबोध गर्न इच्छुक हुन्छन्, आफैं भ्रमित र रुग्ण क्षेत्रले मानिसप्रति दायित्व निर्वाह गर्ने आशा गर्न सकिँदैन। हामी सुध्रौँ, सुधारको दिशामा ठूलो योगदान पुर्या उन सकिन्छ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक