20101215

अर्को एउटा नौटँकी, सुन्दा र देख्दा नेपालीलाई लाज !

हवाई फायर गरेको छैनः पारस, पारससित हतियार देखिनँ: रुबेल
उसो भए के पारश र रुबेला टाइगर टप्समा मित लगाएका रहेछन, दुनियाँलाई मुर्ख बनाउने नाटक  !!!
घटनाको चार दिनपछि पारस र रूबेल दुबैले क्रमशः चितवन र काठमाडौंमा प्रहरीलाई दिएका बयानमा हतियारको प्रसङ्ग लुकाएर मुद्दालाई कमजोर बनाएका छन्। परिणामस्वरूप प्रहरी हिरासबाट पारस छिट्टै छुट्नेछन् भने रूबेलले पनि दुश्मनी मोल्नुपर्ने छैन। पूर्व युवराज पारस शाहले चितवन राष्ट्रिय निकुञ्जभित्र टाइगर टप्स रिसोर्टमा आफूसँग 'हतियार नभएकाले हवाई फायर गरेको भन्ने असत्य भएको' वयान दिएका छन्। त्यसैगरी पीडित भनिएका रूबेल चौधरीले आफूले पारससँग हतियार नदेखेको प्रहरीलाई बताएका छन्।  पारसले बुधबार सरकारी वकिल र छानवीन समितिलाई...
दिएको वयानमा रूबेलसँग भनाभनमात्र भएको तर आफूले कुनै हतियार प्रयोग नगरेको र कुनै पनि हतियार आफूसँग नभएको दाबी गरेको स्रोतहरूले नागरिकलाई जानकारी दिएका छन्। डिआइजी गंगा पाण्डे नेतृत्वको छानवीन समितिले बुधबार घटनास्थल पुगी अध्ययन गर्दा गोलीको खोका भेट्न नसकेको स्रोतले जनाएको छ। पीडित चौधरीका तर्फबाट उजुरी नपरेको र हतियार प्रयोग गरेको भन्ने प्रमाण नजुटिसकेको अवस्था भन्दै पारसविरूद्व सबभन्दा कमजोर सार्वजनिक अपराधको मुद्धामात्र प्रहरीले बढाएको छ।
यसबाट अवैध हतियार प्रयोग र निकुञ्जभित्र हतियार प्रवेशका विषयतर्फ सरकारी छानवीन नजाने देखिएको छ। रूबेलले राजधानीमा प्रहरीलाई दिएको वयानमा आफूले पारसको हतियार नदेखेको जिकीर गरे। जबकि उनले दुई दिनअघि पत्रकारहरूलाई बताउँदा पारसले आफ्नो निधारमा पेस्तोल ताकेको मात्र बताएका थिएनन्, ज्याकेटका दुबै खल्तीभित्र पेस्तोल राखेर टेबुलमा बजारेको र पछि हवाई फायर गरेको उल्लेख गरेका थिए।
साथै रूबेलले रेष्टुरेन्टको टेबुलमुनि क्लिकक्लिक गर्दै पारसले पेस्तोलमा गोली भरेको देखेको समेत बताएका थिए। 'म गोली नभएको बन्दुकको आबाज चिन्छु,' उनले नागरिकसँग अन्तर्वार्तामा भनेका थिए, 'उहासँग बन्दुक छ भन्ने मलाई थाहा थियो।'
उता पारसले घटनाको दोस्रो राति सवा एक बजे जारी गरेको विज्ञप्तिमा आफूले 'हवाई फायर गरेको तर त्यो कुनै पनि व्यक्ति र टाइगर टप्सको भौतिक संरचनातर्फ लक्षित नभएको' किटान गरेका थिए। पारसले उक्त वक्तव्य आफ्नो नभएको जिकीर गरेका छन्।
पारसको हस्ताक्षर नभए पनि उनको नाममा 'एडिसी निर्मल निवास' अंकित फ्याक्स नम्बरबाट आएको विज्ञप्ति नागरिकले प्रकाशित गरेको थियो। उक्त फ्याक्स नम्बरबारे नेपाल टेलिकमसँग बुझ्दा 'राजदरवार सचिवालय, महाराजगञ्ज'को नाममा रहेको समेत पूष्टि भएको थियो।
मुद्दा अघि नबढाउने आशयसाथ रूबेलले चितवन प्रहरीकहाँ पुगेर वयान दिन अस्विकारमात्र गरेनन्, काठमाडौंका कुनै पनि निकायमा जान पनि हिच्किचाए। प्रहरीले उनी बस्ने उपप्रधानमन्त्री सुजाता कोइरालाको निवासमा गएर सोधपुछ गर्नुपरेको थियो जसलाई पछि उनले नजीकको प्रहरी कार्यालय गएर हस्ताक्षरमात्र गरे। मुद्दालाई बलियो बनाउन उनले प्रहरीलाई पीडित पक्षका रूपमा उजुरीसमेत दिएका छैनन्।

टाइगर टप्स फायरिङ प्रकरणमा पूर्वयुवराज पारस शाहविरुद्ध जाहेरी दिन र घटनास्थलमै बयान दिन इन्कार गरेर बंगलादेशी नागरिक रुवेल चौधरीले प्रहरी अनुसन्धानमा असहयोग गरेका छन्। पारसले शनिबार राति चितवनस्थित राष्ट्रिय निकुञ्जभित्र टाइगर टप्स होटलमा गोली प्रहार गरेर आफ्नो ज्यान लिने प्रयास गरेको दाबी गरेका चौधरीले बुधबार काठमाडौं मन्डिखाटारस्थित ससुरालीघरमै प्रहरीलाई बयान दिएका छन्।
बयान लिन उनी रहेको मन्डिखाटारस्थित उपप्रधान तथा परराष्ट्रमन्त्री सुजाता कोइराला निवास पुगेको प्रहरी वृत्त महाराजगन्जको टोलीले चौधरीलाई जाहेरीका लागि आग्रह गरेको थियो। पारसमाथि प्रहरीको प्रारम्भिक प्रतिवेदनका आधारमा अनुसन्धान भइरहेको र पीडितको जाहेरी भए अनुसन्धान बलियो हुने भन्दै टोलीले उनलाई सम्झाएको थियो। तर चौधरीले कानुनी परामर्शपछि मात्र यसबारे निर्णय लिने अडान लिए। 'अहिले जाहेरी दिने सोच छैन, कानुनी सल्लाहपछि निर्णय गरौंला,' चौधरीको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख रमेश खरेलले अनुसन्धानमा पीडितको जाहेरी महŒवपूर्ण हुने जनाउँदै भने, 'जाहेरी नदिनु अनुसन्धानमा असहयोग गर्नु हो।'
जिल्ला प्रहरी कार्यालय चितवनमा प्रहरीकै उजुरीका आधारमा चितवन प्रहरीले पारसलाई पोखराको फूलबारी होटलबाट मंगलबार नियन्त्रणमा लिई भरतपुरस्थित तालिमकेन्द्र ल्याएको थियो।
घटनाबारे अनुसन्धानका लागि गृहमन्त्रालयद्वारा गठित डिआइजी गंगा पाण्डे संयोजक रहेको छानबिन समितिले चौधरीलाई बयानका लागि चितवन पठाउन प्रहरी प्रधान कार्यालयलाई आग्रह गरेको थियो। समितिका तीनैजना सदस्य चितवनमा रहेको र घटनास्थलमै बयान लिन सहज हुने भन्दै समितिले चौधरीलाई चितवन बोलाए पनि उनी जान मानेनन्।
स्रोतका अनुसार प्रहरीप्रधान कार्यालयले चौधरीलाई चितवन लैजानेबारे गृहमन्त्रालयलाई जानकारी गराएको थियो। गृहबाट 'माथिको आदेश' भन्दै उनलाई काठमाडौंमै बयान लिन प्रहरी मुख्यालयलाई निर्देशन गरिएको थियो।
प्रहरी प्रधान कार्यालयले चौधरीलाई नजिकैको प्रहरी कार्यालयमा बोलाएर बयान लिने प्रयास विफल भएपछि प्रहरीटोली उनी बसिरहेको मन्डिखाटारस्थित सासू उपप्रधानमन्त्री एवं सुजाता कोइराला निवास जान बाध्य भएको थियो। त्यहीँ बयान लिएर प्रहरीले त्यसलाई वैधता दिन नजिकैको प्रभागमा चौधरीलाई बोलाएर हस्ताक्षर गराएको थियो।
सामान्यतया पीडितलाई प्रहरी कार्यालयमै बोलाएर जानकारी लिने प्रचलन छ। महिला, बालबालिका, शारीरिक रूपमा अस्वस्थ र सुरक्षा खतरा रहेका व्यक्तिको हकमा मात्र निवासमै बयान लिन सकिने एक प्रहरी अधिकृतले जनाए।
प्रहरीस्रोतका अनुसार शाहसँगको बयानबाट घटनाबारे चौधरीसँग समेत जानकारी लिनुपर्ने देखिएकाले छानबिन समितिले चौधरीलाई चितवन बोलाएको थियो। समितिको आग्रहविपरीत चौधरीको बयान काठमाडौंमै लिइएकोमा समितिका अधिकारीले असन्तुष्टि जनाएका छन्। एक सदस्यले नाम उल्लेख नगर्न आग्रह गर्दै भने, 'उनी चितवनमा आएको भए अनुसन्धानमा धेरै सहयोग पुग्थ्यो, तर, हामीले भनेरमात्र नहुने रहेछ।'
जिल्ला प्रहरी कार्यालय, चितवनले बुधबार काठमाडौं परिसरलाई 'घटनाबारे बु‰नुपर्ने भएकाले चौधरीलाई चितवन प्रहरी कार्यालयमा उपस्थित गराउन, वा त्यहीँको प्रहरी कार्यालयमा उपस्थित गराएर बयान लिन वा नभेटिए नभेटिएको जानकारी दिन' आग्रह गर्दै पत्र पठाएको थियो।
काठमाडौं परिसरले चितवन प्रहरीको पत्रअनुसार बयान लिन महाराजगन्ज वृत्तलाई निर्देशन दिएपछि वृत्तप्रमुख दीपक थापाले उनको बयानको जिम्मा लिएका थिए।
प्रहरीले बयानका लागी प्रहरी कार्यालयमा आउन आग्रह गरेपछि चौधरी बस्दै आएको उपप्रधानमन्त्री सुजाता कोइरालाको मन्डिखाटारस्थित निवासमा बिहानैदेखि कांग्रेस नेताको आवतजावत बाक्लिएको थियो।
सबैभन्दा पहिले पूर्वगृहमन्त्री कृष्णप्रसाद सिटौला कोइराला निवास पुगेका थिए। स्रोतका अनुसार सिटौलाले चौधरी बयान दिन चितवन नजाने भन्दै घरमै प्रहरी पठाइदिन प्रहरी प्रधान कार्यालयलाई आग्रह गरेका थिए। पूर्वगृहमन्त्रीको आग्रहपछि प्रहरी मुख्यालयले चौधरीलाई घरमै बयान दिने सुविधा दिएको थियो।
सिटौलाले कस्तो बयान दिने भनेर चौधरीलाई आधा घन्टा 'ब्रिफिङ' गरेका थिए।
करिब साढे १० बजे चौधरीका वकिलद्वय मदन रेग्मी र राजेश्वर अधिकारी कोइराला निवास पुगेका थिए। त्यसको आधा घन्टापछि डिएसपी थापा बयान लिन पुगेका थिए।
त्यसलगत्तै वकिल, पूर्वगृहमन्त्री सिटौलासँगै बसेर चौधरीले प्रहरीलाई बयान दिएका थिए। कोइरालाकी सहयोगी सिर्जना अधिकारीले चौधरी र प्रहरीबीच दोभाषेको काम गरेकी थिइन्।
स्रोतका अनुसार रुवेलले बयानमा पारसले आफूलाई दुर्व्यवहार गर्दै आफू, श्रीमती र र छोरालाई मारिदिन्छु भनेको बयान दिएका छन्। हतियार देखाएर तर्साएका हुन्? भन्ने प्रहरीको प्रश्नमा उनले, 'आफूले बन्दुक नदेखेको' बयान दिएका छन्।
पारसले हवाइफायर गरेको बयान उनले दिए। चौधरीको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, 'उनले मलाई गाली गर्दै मारिदिन्छु भने, मलाई डर लाग्यो, तेरो श्रीमती र छोरालाई पनि लाइनमा राखेर मारिदिन्छु भन्दै उग्र भएपछि मलाई होटलका कर्मचारी र पारसकै सुरक्षाकर्मीले जोगाएर कोठातिर लगे। त्यसपछि बन्दुक पड्केको आवाज सुनेको हुँ।'
दिउँसो ३ बजे बयान लिइसकेर प्रहरी टोली हिँडेपछिमात्र सिटौला मन्डिखाटारबाट बाहिरिएका थिए। स्रोतका अनुसार बयानलाई प्रहरी कार्यालयमा नेपालीकागजमा उतारेर साँझ पाँच बजे मन्डिखाटार प्रभागमा बोलाएर चौधरीको हस्ताक्षर लिइएको थियो।
स्रोतका अनुसार प्रहरीले निवासमा लिएको बयानलाई प्रहरी कार्यालयमा नेपालीकागजमा उतारेपछि बेलुका पाँच बजे मण्डीखाटार प्रभागमा बोलाएर प्रहरीले चौधरीलाई बयान कागजमा हस्ताक्षर गराएर चितवन पठाएको थियो।

गृहमन्त्रालयद्वारा गठित पारस गोलिकान्डसम्बन्धी अनुसन्धान समितिले घटनास्थल टाइगरटप्स रिसोर्ट पुगेर अनुसन्धान गरेको छ। बुधबार बिहान डिआइजी गंगा पाण्डे, एसएसपी रणबहादुर चन्द र सहनिर्देशक अर्जुन केसी घटनास्थलमै पुगेर होटलका कर्मचारीसँग जानकारी लिएका थिए।
समितिले प्रारम्भमा हवाइफायर भएको स्थानको क्षतिको विवरण संकलन गरेको थियो। स्रोतका अनुसार गोली प्रहारबाट कुनै क्षति भएको नदेखिएपछि प्रहरी अधिकारीले गोलीको खोका खोजी गरे पनि फेला परेन।
रुवेल चौधरीको दाबीअनुसार प्रहरीले प्रश्नावली तयार गरी रिसोर्ट सञ्चालक र कर्मचारीसँग बयान लिएका थिए। स्रोतका अनुसार प्रत्यक्षदर्शीले केही पड्केको आवाज सुने पनि केको आवाज भन्ने छुट्ट्याउन नसकेको बयान दिएका छन्।
प्रहरीले बन्दुक पड्केको हो कि होइन? पारस शाहको साथमा बन्दुक थियो कि थिएन भन्ने प्रश्न सोध्दा उनीहरूले बन्दुक पड्कँदा कस्तो आवाज आउँछ भन्ने आफूहरूलाई थाहा नभएको बताएका थिए। पारसको साथमा बन्दुक नदेखेको उनीहरूले बयान दिएका थिए।
स्रोतका अनुसार समितिको अनुसन्धानका क्रममा पारसले बन्दुक पड्काएको र चौधरीलाई मार्ने धम्की दिएको बारे कुनै प्रमाण फेला परेको छैन। अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले खोका फेला नपर्नु र प्रत्यक्षदर्शीले समेत बन्दुक पड्केको हो या हैन यकिन नबताएकाले रिसोर्टमा बन्दुक पड्केको पुष्टि गर्न प्रमाण अपुग भएको दाबी गरे। बुधबार मध्याह्नसम्म रिसोर्टमै रहेका समितिका अधिकारी बेलुका पुनः प्रहरी तालिमकेन्द्र भरतपुर फर्किएर पारससँग बयान लिएका थिए।- नागरिक
राप्रपा नेपालले पूर्वयुवराज पारसलाई प्रहरीले नियन्त्रणमा लिएको घटना प्रतिशोधपूर्ण एवम् कानुनी राज्यको विपरीत भएको भन्दै निन्दा गरेको छ।

राप्रपा नेपालले मंगलबार वक्तव्यमार्फत चितवनमा भएको घटनाको कुनै छानबिन नै नगरी राजनीतिक प्रतिशोधको आधारमा कारबाही गरेको भन्दै उक्त घटनाको निन्दा गरेको छ। वक्तव्यमा उक्त घटनामा सामेल दुवै पक्षका सम्बन्धमा सत्य तथ्थ छानबिन गरी कानुनी प्रक्रियालाई स्वभाविक रुपमा अगाडि बढाउन माग गरिएको छ। त्यसै गरी स्वतन्त्र नागरिक समाजले मंगलबार बेलुकी पारस पक्राउको विरोधमा जुलुस प्रर्दशन गरेको छ।

वसन्तपुरबाट शुरु भएको जुलुसले नगरका विभिन्न भागको परिक्रमा गरेको थियो। बंगलादेशी नागरिक रुवेल चौधरीलाई ततकाल देश निकाला गर्न सो अवसरमा समेत माग गरिएको थियो। स्वतन्त्र नागरिक समाजले भिषाको म्याद सकिएको बंगलादेसी नागरिक चौधरी कसरी नेपालमा बसी रहेका छन् र उनले कुन आधारमा रातो पासपोट प्रयोग गरेका हुन् त्यसको छानबिन गर्न सरकारसँग माग गरेको छ। प्रतिसोधपूर्ण तरिकाले पक्राउ गरिएका पारसलाई नछाडे आजदेखि कडा संघर्षका कार्यक्रम सार्वजनिक गर्ने स्वतन्त्र नागरिक समाजले जानकारी दिएको छ।

त्यसै गरी पारस पक्राउको विरुद्ध दरबारमार्गामा जुलुस निकाल्ने सभासद् खोभारी रायलाई प्रहरीले पक्राउ गरी केही घण्टा नियन्त्रणमा लिएर छाडिदिएको छ। यसैबीच नेकपा एमालेको केन्द्रीय कमिटीको बैठकले बंगलादेशी नागरिक रुबेल चौधरी र उनका परिवारमाथि पारस शाहले गरेका हिंसात्मक क्रियाकलापको निन्दा गरेको छ। बैठकले पारसलाई पक्राउ गर्न सरकारले देखाएको तत्परतालाई धन्यवाद ज्ञापन गर्दै पारसलाई कडा कारबाही गर्न माग गरेको छ।

राजमार्ग बन्द
मकवानपुर, (नेस), पूर्वयुवराज पारस शाहलाई प्रहरीले पक्राउ गरेको विरोधमा राजावादी दल राप्रपा नेपाल निकटका युवाहरुले मकवानपुरको मनहरीमा राजमार्ग बन्द गरेका छन्।

उपप्रधान तथा परराष्ट्रमन्त्री सुजाता कोइरालाको ज्वाइँ रुबेल चौधरीलाई गोली प्रहार गरेको आरोपमा पूर्वयुवराज शाहलाई प्रहरीले पक्राउ गरेपछि राजमार्गमा सवारी तेस्र्याएर १ घण्टा अवरोध गरिएको हो। शाहलाई छाड्नका लागि आग्रह गर्दै महेन्द्र राजमार्गअन्तर्गत नारायणगढ हेटौंडा सडकखण्डअन्तर्गत मकवानपुरको मनहरीमा राजमार्ग बन्द गराइएको हो।

पारसको अभिव्यक्ति सही भएकाले समर्थनमा एक घण्टा बन्द गरिएको स्थानीय युवा तुल्सीराम राउतले जानकारी दिनुभयो। प्रशासनको आ³वानमा बन्द राजमार्ग सुचारु गरिएको र बुधबार पुनः बन्द गर्ने उहाँले बताउनभयो। कुनै दलविशेष नभई सबै दलनिकट युवाहरुको समार्थनमा राजमार्ग बन्द गराएको राउतले बताउनुभयो।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक