20110613

प्रधानमन्त्रीको राजीनामाले मात्र राष्ट्रिय सहमति - बाबुराम भट्टराई

"माओवादीले हतियार नबुझाउने" - माओवादी स्थायी समिति सदस्य वर्षमान पुन
एमाले र माओवादीको सरकार असफल  - कङ्ग्रेस
माओवादीका उपाध्यक्ष डाक्टर बाबुराम भट्टराईले प्रधानमन्त्रीको राजीनामाले मात्र राष्ट्रिय सहमतिको सरकारका लागि मार्ग प्रशस्त गर्ने बताएका छन्। हिजो काठमाडौंमा आयोजित १ कार्यक्रममा उनले ५ बुँदे सहमतिमा राजीनामा दिने भनी प्रधानमन्त्रीले हस्ताक्षर गरिसकेकोले त्यसलाई कार्यान्वयन गर्दै राष्ट्रिय सहमतिको सरकार गठन गरी शान्ति र संविधानको कार्यभार पूरा गर्नुपर्नेमा जोड दिए।  माओवादी स्थायी समिति सदस्य वर्षमान पुनले कांग्रेसले शान्ति र संविधानको माहौललाई बिथोलेको आरोप लगाएका छन् । संविधानसभाको म्याद थपेको तीन महिनासम्म पनि शान्ति प्रक्रिया पूरा नभए आन्दोलनमा जाने कांग्रेस जिल्ला सभापति भेलाको निर्णयले माहौल बिथोलिएको उनको भनाई छ ।'संविधानसभाको म्याद थपेपछि 'पोजेटिभ' माहौल बनेको थियो, उनले सोमबार संसद् भवनमा भने, 'तर कांग्रेसको धम्कीले शान्ति प्रक्रियालाई सहयोग
गरेन, यसले त संविधानको पहिलो मस्यौदालाई पन्छाउन खोजेजस्तो देखियो ।'नेता पुनले सेना समायोजन अघि माओवादीले हतियार नबुझाउने दोहोर्‍याएका छन् । 'माओवादी कांग्रेसले भनेझैं अहिले नै निशस्त्रीकरण हुँदैछ,' उनले भने, 'सेना समायोजन हुँदा सेना, हतियार र लजिस्टिक पनि समायोजन हुन्छ ।' शान्ति प्रक्रिया रफ्तारमा अगाडि बढिरहेकाबेला एक अर्का (विशेषगरी कांग्रेस र माओवादी)ले एक अर्काको संवेदनशीलतालाई बुझ्नुपर्ने उनले बताए । नेता पुनले सुडान घोटालामा राजनीतिक नेतृत्व पनि संलग्न रहेको सर्वत्र आरोप लागिरहेकाबेला प्रहरीलाई मात्रै कारबाही गर्न नहुने बताए ।
कङ्ग्रेसका जिल्ला सभापतिहरुले शान्ति र संविधान निर्माणको सुनिश्चितताका लागि नेपाली कङ्ग्रेसले सरकारको नेतृत्व लिनुपर्ने सुझाव दिएका छन्। उनीहरुले शान्ति र संविधानको अभियान कङ्ग्रेसले सुरु गरेकोले उसकै नेतृत्वमा मात्र त्यो सम्भव हुने दाबी पनि गरे।
रिपोर्टर्स क्लब नेपालले सोमबार आयोजना गरेको साक्षात्कारमा बोल्दै जिल्ला सभापतिहरुले सरकारको नेतृत्व नलिने हो भने शान्ति र संविधानको जिम्मेवारी कुनै पनि हालतमा पूरा हुन नसक्ने ठोकुवा पनि गरे। काठमाडौं कङ्ग्रेसका सभापति भीमसेनदास प्रधानाङ्गले कङ्ग्रेसले सरकारको नेतृत्व गरे निर्धारित समयमै शान्ति प्रक्रिया टुङ्गिएर लोकतान्त्रिक संविधान निर्माण हुने दाबी गरे। उनले भने– कङ्ग्रेसले सरकारको नेतृत्व नपाउने हो भने यो असम्भव छ। पाँच बुँदे सम्झौता कार्यान्वयन नभए नेपाली कङ्ग्रेस आन्दोलनमा जानुको विकल्प नभएको भन्दै त्यसका लागि तयारी गर्नुपर्ने बताए। धादिङका सभापति रामनाथ अधिकारीले पनि कङ्ग्रेसको नेतृत्वविना शान्ति र संविधानको जिम्मेवारी पूरा हुन नसक्ने भन्दै भदौ १४ गतेभित्र पाँच बुँदे सम्झौताको पूर्ण कार्यान्वयन नभए भदौ १५ गते बाट नेपाली कङ्ग्रेस आन्दोलनमा जाने बताए। धनुषाका सभापति रामसरोज यादवले एमाले र माओवादी असफल प्रमाणित भइसकेको अवस्थामा कङ्ग्रेस नेतृत्वको सरकार अपरिहार्य भएको दाबी गर्दै कङ्ग्रेसको नेतृत्वमा मात्र समयमा शान्ति र संविधान पूरा हुन सक्ने ठोकुवा गरे। उनले कम्युनिष्टहरु इमानदार भएर प्रस्तुत हुन नसकेको भन्दै अब कङ्ग्रेसले शान्ति र संविधानका लागि जनआन्दोलनको तयारी गर्नुपर्ने बताए। रामेछापका सभापति रामचन्द्र खड्काले तीन महिनामा शान्ति र संविधानको कार्य पूरा हुन नसक्ने ठोकुवा गर्दै कङ्ग्रेसले आन्दोलनको तयारी थाल्नुपर्ने सुझाव दिए।
सोलुखुम्बू सभापति आङ्गेलु शेर्पाले शान्ति र संविधानको नेतृत्व कङ्ग्रेसले गर्नुपर्ने भन्दै एमाले र माओवादीको सरकार असफल भइसकेको अवस्थामा अब कङ्ग्रेसको विकल्प छैन भने। उनले राजिनामा दिइसकेका प्रधान मन्त्रीले कुर्सीमा टाँसिएर बस्नुको औचित्य नभएको पनि स्पष्ट पारे। बर्दिया सभापति सन्जय गौतमले हतियारको छायाँमा लोकतान्त्रिक संविधान बन्नै नसक्ने ठोकुवा गर्दै यस्तै अवस्था कायम रहे मुलुक दुर्घटनामा फस्ने चेतावनी दिए। डोटी सभापति वीरबहादुर बलायरले कागजमा सहमति गरेरमात्र शान्ति र संविधान सुनिश्चित हुन नसक्ने भन्दै त्यसको विकल्पमा आन्दोलनका लागि कङ्ग्रेस तयार हुनुपर्ने धारणा राखे। खोटाङ सभापति विष्णुकुमार राईले कङ्ग्रेसले सरकारको नेतृत्व लिनु अपरिहार्य भइसकेको भन्दै अन्यथा मुलुकको अवस्था झन खराब र दयनीय हुने दाबी गरे। गुल्मी सभापति चन्द्र केसीले ७, ४६ र ६२–६३ को आन्दोलनको मोर्चा जितेको कङ्ग्रेसले अब शान्ति र संविधानको मोर्चामा पनि डटेर अगाडि बढेर जित्‍नुपर्ने बेला आएको बताए। काभ्रे सभापति शिव हुमागाईंले बाँकी अढाई महिनाको अवधिमा शान्ति प्रक्रिया निष्कर्षमा नपुगे लोकतान्त्रिक संविधान बन्नै नसक्ने भन्दै कङ्ग्रेसले भदौ १४ पछिको अवस्थामा नेतृत्व लिन आन्दोलनसहितको विकल्पको तयारी गर्नुपर्ने बताए। डोल्पा सभापति टङ्कप्रसाद उपाध्ययाले कङ्ग्रेसको नेतृत्वमा सरकार नबनेसम्म शान्ति र संविधानको अभिभारा पूरा हुनै नसक्ने तर्क गरे। पर्साका सभापति सुरेन्द्रप्रसाद चौधरीले  माओवादीबाट विगतमा धोका हुँदै आएकाले उसलाई सहजरुपमा विश्वास नगर्न नेतृत्वसँग आग्रह गर्दै अब कङ्ग्रेसले मुलुकको नेतृत्व लिन तयार हुनुपर्ने बताए।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक