20110629

"हिजो निर्दोस मानिस मार्ने, मार्न आदेश दिने नाइके, आज पनि हत्यारा र गुण्डाका नाइके महरा गृहमन्त्री भएको देशमा !"

एकीकृत नेकपा माओवादीका तर्फबाट गृहमन्त्री बनेका कृष्णबहादुर महरा आफ्नो पार्टीभित्रका अपराधीहरूलाई जसरी हुन्छ बचाउने षड्यन्त्रमा लागेको पर्दाफास भएको छ। दुई वर्ष अघि सर्वस्वसहित जन्मकैद फैसला सुनाइएका सभासद बालकृष्ण ढुङ्गेललाई पक्राउ गर्न अहिलेसम्म प्रहरी प्रशासनलाई आदेश नदिनुले उक्त रहस्य पुष्टि भएको हो। सर्वोच्चको फैसला कार्यान्वयन नभएको भन्दै पीडित मृतककी दिदी सावित्री श्रेष्ठले जेठ ३१ गते सर्वोच्चमा रिट दायर गरेकी थिईन्। उक्त रिट उपर प्रष्ट रुपमा सर्वोच्चले उक्त फैसला कार्यान्वयन गर्न केही पनि बाधा व्यवधान नभएको र फेरी फैसला गरी रहन नपर्ने निर्णय आइतबार सुनाएको छ। उक्त फैसलाको आशय घुमाउरो रुपमा फैसला कार्यान्वयन गराउने कार्य गृहप्रशासनको भएको उल्लेख छ। तर पनि सभासद् ढुङ्गेल खुलेआम हिडडुल गरिरहेका छन्। ढुङ्गेलमाथि
२०५५ साल आषाढ १० गते ओखलढुंगाको टारकेराबारी गाविस ६ स्थित खहरे दोभानमा स्थानिय
उज्जनकुमार श्रेष्ठलाई गोली हानी हत्या गरेको अभियोग थियो। सोही हत्या सम्बन्धी मुद्दामा जिल्ला अदालत ओखलढुंगाले गरेको सर्वस्वसहित जन्मकैदको फैसलालाई सर्वोच्चले सदर गरेको थियो। अदालतको फैसलापछि पनि सभासद ढुंगेल जेल चलान भएका छैनन्। उनी ओखलढुंगा क्षेत्र नं २ का माओवादी सभासद हुन्। त्यसैगरी रामहरी श्रेष्ठ हत्या काण्डका प्रमुख नाईके कालीबहादुर खाम 'विविध' लाई माओवादी नेतृत्व स्वयम्ले बचाउँदै आएको छ। व्यापारी श्रेष्ठलाई उनकै निवास कोटेश्वरबाट २०६५ साल बैशाख १५ गते पेस्तोल र नगद १७ लाख चोरीको अभियोग लगाएर विविधको निर्देशनमा माओवादीका गोविन्द वटाला, केशव अधिकारी र अर्जुन कार्कीले अपहरण गरेका थिए। अपहरण पछि चितवन शक्तिखोरस्थित माओवादी तेश्रो डिभिजन पुर्‍याई अध्याधिक कुटपिट पछि उनको मृत्यु भएको थियो। हत्या गरेर विविधको निर्देशनमा नारायणगढ मुग्लिन सडक खण्डको भालुढुङगामा फालिएको लास २०६५ बैशाख २७ गते फेला परेको थियो। आरोपितमध्ये गोविन्द बटाला पक्राउ परे पनि हत्यारा विधिध सहित अन्य सबै फरार रहेका छन्। रामहरी हत्यामा बटालाको मुख्य भूमिका नदेखिएको भन्दै उनलाई ३ वर्ष कैद सजाय चितवन जिल्ला लदालतले फैसला सुनाएको थियो। प्रहरीले उक्त हत्या काण्डमा घटनाका मुख्य अभियुक्त खाम भएको ठहर गर्दै सर्वस्वसहित जन्मकैदको सजाय माग गरेको छ। तीनै अपराधीलाई गृहमन्त्री महराले यतिखेर संरक्षण दिइरहेका छन् भने बटलालाई छुटाउन नाटकीय भूमिका पनि केही हप्ता पहिले महराले निभाए। महराको ठाडो आदेशमा ३ वर्ष जेल सजाय भुक्तान गरी बाहिर आएका बटलालाई प्रहरीले अपहरण मुद्दामा पुनः पक्राउ गर्दा मुटुको रोगी भन्दै वीर अस्पतालमा उनकै निर्देशनमा भर्ना गरियो। २०६८ बैशाख ७ गने जेलमुक्त भएका बटलालाई पछि सर्वोच्चले छाडिदिएको थियो। उता खाममाथि चाइनिजलाई लुटेको मुद्दा पनि प्रहरीमा छ। उनको कोठामा छापा मार्दा प्रहरीले हतियार, चोरीको गाडी, लागूऔषध, यार्सागुम्बा र चाइनीजलाई लुटेको रकम समेत वरामद गरेको थियो। यतिखेर माओवादी गृहप्रशासन आफ्नो हातमा लिएर तीनै अपराधीलाई संरक्षण दिइरहेको छ। विविधलाई यसभन्दा अघि बौद्ध बृत्तले पक्राउ गरे पनि पार्टीका केन्द्रीय स्तरका नेताहरू पुगि तत्काल छुटाएका थिए। यसबेला बौद्ध बृत्तमा डिएसपी ओमबहादुर राना कार्यरत थिए। काभ्रेका अर्जुन लामा हत्या काण्डका मुख्य आरोपित मन्त्री अग्नी सापकोटा विरुद्धको मुद्दामा सर्वोच्च अदालतले अपराधका घटनामा अनुसन्धान गर्न सहयोग गर्नुपर्ने निर्णय सनाएपनि मन्त्रीले कुनै सहयोग गरेका छैनन्। अपराधजन्य घटनामा मुख्य आरोपित भन्दै प्रचारमा आएका अग्नी सापकोटाको प्रत्यक्ष्ँ निर्देशनमा काभ्रेका अर्जुन लामाको हत्या गरेको किटानी जाहेरी सर्वोच्चमा परेको थियो। न सापकोटाले अजुसन्धानमा सहयोगि भूमिका निभाएका छन् या नैतिकताका हिसावले राजीनामा नै दिएका छन्। तीनै हत्या आरोपी मन्त्रीलाई समेत गृहमन्त्री महराको सरकारले वचाउ गर्दै आएको छ। सर्वोच्चको आदेशपछि मन्त्री सापकोटा काभ्रे प्रहरीमा वयान दिन जानुपर्ने नैतिक कानुनी चुनौति खडा भएपनि उनी उपस्थित भएका छैनन्। अर्जुन लामा हत्या प्रकरणमा उनकी पत्नी पूर्णिमाया लामाले घटनामा सापकोटाको संलग्नता भएको भन्दै काभ्रे जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएकी थिईन भने पीडित परिवारले अझै न्याय पाउन सकेको छैन। यसैगरी लमजुङका शिक्षक मुक्तिनाथ अधिकारीको हत्या काण्डमा माओवादी जिल्ला इन्चार्ज देवेन्द्र पौडेल संलग्न रहेको भन्दै किटानी जाहेरी परेपनि उनी खुलेआम हिंडिरहेका छन्। उनीमाथि प्रहरीले कुनै छानविन र कारबाही गर्न सकेको छैन।

ओखलढुंगाबाट माओवादी सभासद भएका केशव राई विरुद्ध पनि हत्या अभियोग छ। उनका विरुद्धमा पनि ओखलढुंगा अदालतमा कर्तव्य ज्यान मुद्दा दर्ता भएको छ। उक्त घटनमा हत्या आरोपित सभासद यतिखेर नेपालको संविधान रक्षक छन्। तीनै हत्या आरोपित अपराधीलाई पनि गृहप्रशासनले बचाउँदै आएको छ। द्धन्द्ध कालमा सिन्धुपाल्चोकस्थित राससमा कार्यरत पत्रकार ज्ञानेन्द्र खड्का हत्याकाण्डमा समेत अग्नी सापकोटाको नाम जोडिएको छ। उक्त हत्या काण्ड सापकोटाको निर्देशनमा भएको स्रोत बताउँछ। बोका खसी काटे झै परिवाकै सामु उनको हात रुखमा बाँधेर पानीले पर्सेर टाउको अचानोमा राखी हत्या गरिएको थियो। यतिठूला जघन्य हत्याकाण्डमा मारिएका पत्रकार खड्काका हत्यारालाई कुनै कारबाही गरिएको छैन। पत्रकार खड्का कुनै दल विशेष थिएनन्। त्यसैले उनको मुद्दालाई सञ्चारमाध्यमहरूले अझै छायाँमा पारेका छन्। तर तीनै हत्यारा कार्यकर्ताहरूका नेताबाट गृहमन्त्री बनेका महराले विराटनगरका पत्रकार खिलानाथ ढकालमाथि आक्रमणको योजना बनाउने भनेर आरोप लागेका पर्शुराम बस्नेतलाई पुरै गृह प्रशासन लगाएर पनि सफलता हासिल गर्न सकेका छैनन्। पत्रकारलाई धम्की र पिटाई खाँदा तुरुन्त कारबाही प्रक्रिया अगाडि बढाउने शाहस राख्ने गृहमन्त्री महराले पत्रकार खड्काको हत्यारालाई के यतिवेला कानुनी कठघरामा उभ्याउन सक्लान? कानुनी राज्य र ऐन नियमको पालना गराउन महराले आफ्नै पार्टी भित्रबाट सुद्दीकरण नगरे उनी आफ्नै पार्टीका हत्यारा र गुण्डालाई जोगाउन गृहमन्त्री भएका रहेछन् भन्दा फरक नपर्ला ।"हिजो निर्दोस मानिस मार्ने, मार्न आदेश दिने नाइके आज पनि हत्यारा र गुण्डाका नाइके गृहमन्त्री भएको देशमा के आशा गर्नु सबै यसै भन्दै छन !"    

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक