20120227

बिगतमा माओवादीको बम बिस्फोटनको सिको गर्दै अपराधीहरुद्वारा काठमाडौंमा बम बिस्फोट, तीन जना मारिए, कैयौं घाइते !

‘संयुक्त जातीय मुक्ति मोर्चा’ नामक समूहले आयल निगम गेट अगाडी बम बिष्फोट गराएको दावी, "हामीले मात्रै होइन, प्रचण्डले पनि मान्छे मारेका छन् । त्यसको पनि हिसाबकिताब हुन पर्यो । सरकारले उनीहरुसित चाहिं वार्ता गर्ने, हामीसित चाहिं नगर्ने ? हामी सौताको छोरा हो ?" : प्रवक्ता बताउने बिश्व क्रान्ति


आज बम पड्काउने अनि हाम्ले पड्काएको भन्दै जिम्मेवारी लिँदै हिँड्ने अपराधीहरु माथिको फोटोमा हेर्नुस् !

नेपाल आयल निगमको कार्यालय बबरमहलस्थित मुख्य कार्यालयको मूलढोका नजिक बम विस्फोट हुँदा तीन जनाको मृत्य भएको छ । दुई जनाको घट्नास्थलमै र १ जनाको वीर अस्पतालमा मृत्यु भएको हो । थप सात घाइते छन् । मृतकमध्ये एक जना धादिङका कृष्णबहादुर तामाङको मात्र सनाखत हुन सकेको छ । घाइते हुनेमा वाशु श्रेष्ठ (ठेगाना खुलेको छैन) आयल निगमका कर्मचारी विष्णुप्रसाद तुलाधर, भक्तपुरका रघुनाथ
खड्का, बारका सोम तामाङ, धादिङका लालबहादुर तामाङ, अछामका मानबहादुर कुँवर र भीमबाहदुर कुँवर रहेका छन् । सोमबाहदुर तामाङको अवस्था गम्भीर रहेको छ । दिउँसो तीन बजेपछिमात्र घटनास्थलबाट शव उठाइएको छ । बम विस्फोटन भएको स्थान मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहरदरबार करिब तीन सय मिटरको दूरीमा रहेको छ । जिल्ला अदालतसँगै जोडिएको हरदम सुरक्षाकर्मीले पहरा दिने स्थानमा उक्त विस्फोट भएको हो । यसैबीच गृहमन्त्री विजयकुमार गच्छदारले घटनास्थलको निरीक्षण गरेका छन् । सरकारले दुई दिनअघि मात्र पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको थियो । विस्फोटन हुने बेलामा संसदको सार्वजनिक लेखा समितिमा समेत पेट्रोलियम पदार्थको मूल्यवृद्धिबारे छलफल भइरहेको थियो । घटनास्थलमा सुरक्षाकर्मीको बाक्लो उपस्थित भइसकेको छ । नेपाली सेना, सशस्त्र प्रहरी तथा नेपाल प्रहरीले घटनास्थललाई घेराउ गरेको छ । घटनास्थलको ३० मिटर वरपर सुरक्षाकर्मीले सिल गरेका छन् ।
बम विस्फोट रिमोटबाट गराइएको हुनसक्ने उच्च प्रहरी अधिकारीले बताएका छन्। गृह मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा महानगरीय प्रहरी आयुक्तको कार्यालयका प्रमुख कुबेर रानाले भने, 'पेट्रोल बम नभई विस्फोटक पदार्थ राखेर पड्काइएको हो, रिमोट पनि हुनसक्छ।'  घाइते हुनेहरुमा बाराका ३५ वर्षीय सोमबहादुर तामाङ, भक्तपुर ताथली-४ घरभई रेडियो नेपालमा कार्यरत ४५ वर्षीय रघुनाथ खड्का, धादिङका ६२ वर्षीय लालबहादुर तामाङ, ललितपुर लभूका २० वर्षीय वासु श्रेष्ठ, अछाम जिल्ला माष्टमाण्डौका ४० वर्षीय मानबहादुर कुँवर र सोही स्थानका २१ वर्षीय भीमबहादुर कुँवर छन्। 
घाइते भएका सम्बन्धमा गृहमन्त्रालयले उपलब्ध गराइएका नामावलीका अतिरिक्त धनगढीका विष्णुप्रसाद पुलाराको समेत वीर अस्पतालमा उपचार भइरहेको जनसेवा प्रहरीले जनाएको छ। उनी निगमकै कर्मचारी भएको बुझिइएको छ। 
विस्फोटको छानबिन गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका प्रमुख उपेन्द्रकान्त अर्यालको संयोजकत्वमा अनुसन्धान टोली गठन भएको छ। टोलीमा महानगरीय अपराध महाशाखाका प्रमुख देवेन्द्र सुवेदी, आयुक्त कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक केदारमान सिंह भण्डारी र अपराध अनुसन्धान शाखाका प्रहरी उपरीक्षक सुबोध घिमिरे सदस्य छन्। 
झलनाथ खनालको पालामा सरकारसित वार्तामा वसिसकेको ‘संयुक्त जातीय मुक्ति मोर्चा’ नामक समूहले आयल निगम गेट अगाडी बम बिष्फोट गराएको दावी गरेको छ । त्यसका प्रवक्ता बताउने बिश्व क्रान्तिले बिभिन्न संचारमाध्यममा टेलिफोन गरि आफुले बम पड्काएको दावी मात्र गरेनन, लामै अन्र्तवार्ता दिनसमेत भ्याए ।

सगरमाथा टेलिभिजनमा लाइभ अन्र्तवार्ता दिएका उनले आगामी दिनमा अझ भयंकर बिष्फोट हुनसक्ने बताए । आयल निगमभित्रै पड्काउन प्रयास गरेको भएपनि त्यो सफल नभएको बताउने उनले ठूल्ठूला राजनीतिक गफ दिन पनि भ्याए ।

उनको भनाईको सम्पादित अंश-

जनतालाई महंगीको भार बोकाउने र अभाव गराउने सरकारलाई चेतावनी दिनको लागि हो । सरकारसितको वार्ता भंग गर्दै हामी जनयुद्धमा जान लागेको संकेत पनि हो । हामीले होइन, सरकारले हिंसा चाहेको छ । हामीले मात्रै होइन, प्रचण्डले पनि मान्छे मारेका छन् । त्यसको पनि हिसाबकिताब हुन पर्यो । सरकारले उनीहरुसित चाहिं वार्ता गर्ने, हामीसित चाहिं नगर्ने ? हामी सौताको छोरा हो ? सरकारले हामीलाई बाध्यता बनाएको हो ।

यो सरकार भनेको सुतेको सरकार हो, कहाँ छ सरकार हामीलाई थाहा छैन । अरु ठाउँमा पनि पड्कन सक्छ, अझै शक्तिशाली हुन सक्छ त्यो । हामी सर्वसाधारणलाई अपील गर्न चाहन्छौं, एकदमै भ्रष्टाचारी र राष्ट्रघाती काम हुने अखडामा नबस्नोस् । पेट्रोल पम्प, नेटवर्क व्यवसायको कार्यालयको अगाडि, दिनदहाडै कालोबजारी र ठगी गर्ने कार्यालय वरिपरी नबसिदिनोस् । ठीक ठाउँमा पर्यो भने २० देखि ५० जनासम्म मानवीय क्षती हुन सक्छ ।

आज त हामीले सानो प्रकृतिको मात्रै राखेका हौं । भित्रै पड्काउन खोजेका हौं । एक हप्तादेखि नियमित रुपमा भित्रबाहिर गर्दा पनि खोजेको ठाउँमा राख्न सकिएन । त्यसैले बाहिर राखेका हौं । भित्रै राखेको भए धेरै क्षति हुन्थ्यो । नेपालमा भ्रष्टाचार सबैभन्दा बढी हुने नगरपालिका, गाविस, कर, काठ तस्करी हुने ठाउँ, आयल निगम, मिस कलको पनि पैसा लिने एनसेलको टावर लगायत भोलि अख्तियारमा पनि पड्कन सक्छ । किनभने अख्तियारले पनि बिशुद्ध छानविन गर्नुपर्यो ।

को हुन् पड्काउने ?

बबरमहल बिष्फोटको जिम्मेवारी लिने संयुक्त जातीय मुक्ति मोर्चासित सरकारले गएको साउन २६ मा वार्ता गरेको थियो । ऊबेला झलनाथ खनाल नेतृत्व सरकारले बार्ता गरेको यो समूहसित अहिलेको सरकारले पनि वार्ताको तयारी गर्दैथियो । सरकारसित अनौपचारिक छलफलको क्रममा रहेको मोर्चा गएको मंसिर २४ मा विभाजन भयो ।

पहिले मुक्तिदान भन्ने मोर्चाको महासचिव थिए र मोर्चा महासचिव प्रणालीमा चलेको थियो । तर अनन्त क्रान्ति भन्नेहरुको समूहले मोर्चालाई अध्यक्षतात्मक प्रणालीमा लैजाने भन्दै महासचिव मुक्तिदानलाई हटाएको घोषणा गरे ।

अनन्त क्रान्ति अध्यक्ष रहेको मोर्चामा विश्व क्रान्ति सञ्चार विभाग प्रमुख छन् । उनको खास नाम देवराज लामा हो । बबरमहल बिष्फोटपछि उनले नै सञ्चारमाध्यममा फोन गरेर जिम्मेवारी लिइसकेका छन् ।

यसैबीच मोर्चाका महासचिव मुक्ति दाताले विज्ञप्ती जारी विस्फोटमा मोर्चाको कुनै संलग्नता नभएको दावी गरेका छन् । मोर्चालाई बदनाम गराउने उदेश्यले ब्रम्हावादीहरु लागेको विज्ञप्तीमा उल्लेख छ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक