20120522

१२ घन्टापछि बिनासहमति एकअर्कालाई आरोप लगाउँदै राति नेताहरू बाहिर निस्के, बैठक केवल 'जनतालाई देखाउने नाटक'

"माओवादीले सरकारमा बस्ने र आन्दोलन पनि जारी राख्ने, मधेसी-जनजातिलाई आन्दोलन गर्न उचाल्ने र सडकबाट दबाब दिने, सहमति जुटाएर संविधान निर्माणको प्रयास गरेजस्तो देखाए पनि अरू दलभित्र विभाजन ल्याएर दुईतिहाइ बहुमतका आधारमा आफूले चाहेजस्तो संविधान जारी गर्न  रणनीति अपनाएको छ।"

संविधानका विवादित विषयमा सहमति जुटाउन सोमबार दिनभर बसेको तीन दल र मधेसी मोर्चाको बैठक केवल 'जनतालाई देखाउने नाटक' मा मात्र सीमित भएको छ। सोमबार बिहान साढे ८ बजेदेखि दिनभरि वार्ता भएजस्तो देखिए पनि चार दलबीचको बैठक आधा घन्टा मात्र भएको छ। करिब १२ घन्टापछि बिनासहमति एकअर्कालाई आरोप लगाउँदै राति पौने नौ बजे नेताहरू बाहिर निस्केका छन्। एमाले उपाध्यक्ष वामदेव गौतमले साँझ साढे ८ बजे नयाँ बानेश्वरस्थित विशेष समिति सचिवालयबाट बाहिर निस्केर सञ्चारकर्मीलाई जानकारी दिए, 'बिहान ८ बजेदेखि निरन्तर छलफलमा बसेका छौं तर वार्ता २५ मिनेट मात्र भयो।' उक्त बैठकमा पनि नेताहरूले आफ्ना पुराना कुरा मात्र दोहोर्‍याएको उनले जानकारी दिए। बैठकमा कांग्रेस-एमालेले प्रदेशको नाम नराखी ११ प्रदेश राखेर जान प्रस्ताव गरेका थिए। कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले संख्या नतोकी ६ देखि १४ प्रदेशबीचको सहमति बनाएर संघीयताको आधारमात्र उल्लेख गरी संविधान जारी गर्न प्रस्ताव गरेका थिए। 'प्रदेशको संख्या, सीमा र नाम पछि टुंगो लगाउने गरी संसद बचाएर जाऊँ भन्दा पनि उहाँहरू मान्नुभएन,' पौडेलले भने।  माओवादी र मधेसीले कांग्रेस-एमाले संघीयताबिना संविधान जारी गर्ने षड्यन्त्रमा लागेको आशंका गरेका छन्। उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भने, 'संघीयताबिना संविधान जारी गरौं भन्ने प्रस्ताव उहाँहरूबाट आयो, राज्य पुनर्संरचनाबारे ठोस खाका नदिई संविधान जारी गर्नु धोखा हुन्छ, त्यसमा हामी सहमत हुन सकेनौं।'
बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहालले जेठ २ गते आफूले ११ प्रदेश बनाउन सहमति जनाए पनि मान्य नभएकाले विकल्प खोज्न प्रस्ताव गरेका थिए। '६ देखि १४ बीच हुने गरी केन्द्रीय संघीय आयोग बनाएर जान मैले त सहमति जनाएकै हो,' बैठकमा दाहालको प्रस्ताव उद्धृत गर्दै एमाले उपाध्यक्ष गौतमले भने, 'त्यसैले १० प्रदेशमा जातीय नाम मिलाएर नगए संविधान सम्भव भएन।'
बैठकमा कांग्रेस-एमालेका नेताहरूले माओवादीले नै जनजाति-मधेसीको आन्दोलन भड्काएको र आफ्नो दलका सभासद फुटाएर बहुमतका आधारमा संविधान पारित गर्न खोजेको आरोप पनि लगाए। 'आशंका के छ भने अरू दलका सभासद चोरेर कसै गरी दुईतिहाइ बहुमत बनाउन सकिन्छ कि भनेर त काम भैरहेको छैन भन्ने गम्भीर आशंका छ,' एमाले वरिष्ठ नेता माधवकुमार नेपालले भने।  माओवादीका श्रेष्ठले भने सभासदलाई अपमानित नगर्न चेतावनी दिए। 'षड्यन्त्र गरेर बहुमत पुर्‍याउने भन्नु सभासदको अपमान हो, अपमानित नगरियोस्,' उनले भने। बैठकमा माओवादी अध्यक्ष दाहालले जातीय पहिचानका आधारमा संघीयतामा नगए संविधान जारी गर्न नसकिने परिस्थिति बुझ्न आग्रह गरे। 'हामी जातीय पहिचानका आधारमा एकल जातीय नामाकरण गर्ने पक्षमा छैनौं,' एमालेका गौतमले भने।
माओवादी र मधेसीले एकैसाथ तीनवटा विकल्पमा खेल खेलिरहेको गौतमले विश्लेषण सुनाए। उनका अनुसार माओवादीले सरकारमा बस्ने र आन्दोलन पनि जारी राख्ने रणनीति अपनाएको छ। मधेसी-जनजातिलाई आन्दोलन गर्न उचाल्ने र सडकबाट दबाब दिने काम पनि गरिरहेको छ। सहमति जुटाएर संविधान निर्माणको प्रयास गरेजस्तो देखाए पनि अरू दलभित्र विभाजन ल्याएर दुईतिहाइ बहुमतका आधारमा आफूले चाहेजस्तो संविधान जारी गर्न प्रयत्न गरिरहेको उनको आरोप छ।
जेठ १४ भित्र संविधान जारी गर्न नदिई एमाले-कांग्रेसभित्र अनेकौं क्रियाकलाप गरी उथलपुथल ल्याउने प्रयासमा लागेको आरोप लगाउँदै गौतमले भने, 'जनजाति संगठनलाई उचालेर आन्दोलन गराउने र दबाबमा पारेर आफ्नो किसिमले निर्णय गरी संविधान जारी गराउने तयारीमा छ।' पार्टी र जनता फुटाएर जनचाहनाविपरीत जातीय राज्य बनाउन खोजेको गम्भीर आशंका पैदा गरेको उनले बताए।
कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले माओवादीले राज्य पुनर्संरचनाबारे पटकपटक धारणा फेरेको आरोप लगाए। हात्तीवन बैठकमा बहुपहिचान सहितका आठ प्रदेशमा जान सहमति जनाएको, जेठ २ गतेको सहमतिमा ११ प्रदेशमा जान सहमत भएको, ६ देखि १४ प्रदेशबीच जान सकिने बताए पनि अहिले पुरानै एकल जातीय पहिचानका १० प्रदेशमै फर्केको उनको आरोप छ।
जेठ १४ भित्र संविधान जारी गर्न सकिनेमा आस मारेका कांग्रेस संसदीय दलका नेता पौडेलले स्थिति जटिल बन्दै गएको स्वीकारे। 'अब स्थिति जटिल भएको छ, संविधानसभा कसरी बचाउने सोच्नुपर्‍यो', उनले भने।
माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले अब संविधानसभाको बहुमतका आधारमा प्रक्रिया अघि बढाउनुको विकल्प नरहेकाले मंगलबारदेखि नै काम थालिने बताए। बाँकी छ दिनमा संविधान जारी गर्नसकिनेमा भने प्रश्न खडा भएको उनले बताए, 'सहमति भए पनि प्रक्रियामा गए पनि जेठ १४ मा हुन्छ त भन्ने प्रश्न खडा भएको छ।'
एमाले नेता माधवकुमार नेपालले माओवादीले एकल जातीय पहिचानका आधारमा १० प्रदेश नस्वीकारे बहुमतीय प्रक्रियाबाट जान प्रस्ताव गरेकाले चिन्ता बढेको उनले बताए। 'आजसम्म सहमति भएको छैन, प्रक्रिया कसरी बढाउने भन्नेमा बहुत चिन्तित छौं,' उनले भने।
जेठ १४ भित्र संविधान जारी नभए संघीयता, गणतन्त्र केही पनि संस्थागत नहुने उल्लेख गर्दै कांग्रेसका पौडेलले भने, 'संविधान बनेन र संविधानसभा गयो भने ठूलो समस्या आउनेछ, संघीयता गणतन्त्र केही हुन्न, सम्पूर्ण रूपमा संकटमा पर्छौं। नेताहरूले रातभरि सोचेर भोलि बस्छौं भन्नुभएको छ।'
मधेसी मोर्चाका राजकिशोर यादवले पनि कांग्रेस-एमालेले संघीयताबिनाको संविधान जारी गर्न चाहेको आरोप लगाउँदै भने, 'भोलिदेखि विधिप्रक्रिया अनुसार अघि बढ्छ, संविधानसभाको म्याद थप्ने कुरा भएको छैन, पार्टीको ह्वीप तोडेर संविधान बन्छ।' -माधव ढुङ्गेल

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक