20120810

पुष्पकमल दाहाल विश्वासपात्र व्यापारी अजय सुमार्गीसित दामनमा तीन दिन रमझम गरेर बिहीबार काठमाडौं फर्के

- खगेन्द्र पन्त

एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल विश्वासपात्र  व्यापारी अजय सुमार्गीसित दामनमा तीन दिन रमझम गरेर बिहीबार काठमाडौं फर्केका छन् । मंगलबार दिउँसो ललितपुरमा भएको अन्तरपार्टी महिला सन्जालको कार्यक्रममा सहभागी भएका दाहाल साँझ सुटुक्क दामन हानिएका थिए । ‘काठमाडौंमा धपेडीले सुत्नै नपाएकाले राम्ररी सुत्न’ भन्दै दामन पुगेका अध्यक्ष दाहालले श्रीमती सीतालाई पनि सँगै लगेका थिए । स्वकीय सचिवसमेत रहेका भतिजा समीर दाहाल र २/३ जना सहयोगी पनि उनको साथमा थिए । व्यापारी सुमार्गीकी पत्नी अस्मिता पनि थिइन् । उनीहरूले तीन दिन र दुई रात रमाइलो गर्दै पानोरोमा रिसोर्टमा बिताए । राष्ट्रपति डा.रामवरण यादवसमक्ष मुलुकलाई निकास दिन चाँडै सहमतिको पहल गर्ने प्रतिबद्धता गरेर फर्केका अध्यक्ष दाहाल त्यसको तेस्रो दिन ‘राम्ररी सुत्न’ उपत्यकाबाहिर गएका हुन् । गत आइतबार राष्ट्रपति यादवले विघटित संविधानसभामा प्रतिनिधित्व गरेका दलका नेताहरूलाई आºनै निवासमा बोलाएर यथाशीघ्र सहमति गरेर मुलुकलाई दिन आग्रह गरेका थिए । सहमतिका लागि प्रमुख
दलहरूबीच त्यसपछि औपचारिक छलफल नै भएको छैन ।
पानोरोमा रिसोर्ट स्रोतका अनुसार दाहाल त्यहाँ पुग्नुअघि नै दुईवटा ‘लग्जेरियस’ सहित पाँचवटा कोठा बुक गरिएका थिए । लग्जेरियस कोठामा दाहाल र सुमार्गी दम्पती बसेका थिए । एउटामा समीर र बाँकी दुई कोठामा सहयोगीहरूलाई बस्ने व्यवस्था गरिएको थियो । अध्यक्ष दाहालले बुधबार रिसोर्टमै भेटेका मकवानपुरका केही जिल्ला नेतासित ‘काठमाडौंमा धपेडीले सुत्नै नपाएकाले २/३ दिन राम्ररी सुत्न’ दामन आएको बताएका थिए ।
अध्यक्ष दाहाल आºनो टालीसहित जिपमा दामन पुगेका थिए । उनलाई प्रहरीको गाडीले स्कर्टिङ गर्दै रिसोर्टमा पुर्‍याएको थियो । स्रोतका अनुसार दाहालको टोली पुगेपछि सुमार्गी दम्पती हेलिकोप्टर चढेर काठमाडौंबाट दामन पुगेको थियो । उनलाई दाहालले फोन गरेर बोलाएको स्रोतको दाबी छ ।
दामन बसाइको दोस्रो दिन बुधबार दाहालले पूर्वसभासद्द्वय प्रह्लाद लामिछाने र प्रेमबहादुर पुलामीलाई रिसोर्टमै भेटेका छन् । उनीहरूसँगै पूर्वजनमुक्ति सेनाका केही लडाकु पनि थिए । व्यापारी सुमार्गीसित आराम गर्न रिसोर्टमा आएको भन्दै उनीहरूले अध्यक्ष दाहालसित आपत्ति जनाएका थिए । ‘तपार्इं आराम नै गर्न आएको भए, एक्लै आउँदा राम्रो हुन्थ्यो, सुमार्गीसित आएको ठीक भएन । बाहिर सन्देश राम्रो जाँदैन,’ स्रोतका अनुसार पूर्वलडाकुहरूले अध्यक्ष दाहालसित भनेका थिए ।
जवाफमा अध्यक्ष दाहालले सुमार्गीलाई सँगै ल्याउने आºनो उद्देश्य नहुँदा नहुँदै पनि संयोग त्यस्तै परेको सुनाएका थिए । आफू दामन आइपुगेपछि सुमार्गीले फोन गर्दा ‘यतै आउनुस् न त’ मात्रै भनेको उनले कार्यकर्तालाई बताए । ‘म यता आएको उनले(सुमार्गी)ले थाहा पाएछन् र फोन गरे । अनि, आउनुस् न त भनेको हो,’ स्रोतका अनुसार दाहालले भने ।
सुमार्गी आºनो र पार्टीको सहयोगी तथा शुभचिन्तक भएकाले उनीसितको उठबसलाई अन्यथा नलिन पनि दाहालले आग्रह गरेको स्रोतले जनाएको छ । ‘उनी(सुमार्गी) पार्टीको, मेरो शुभचिन्तक र सहयोगी मान्छे हुन्, मिडियामा आएजस्तो उनीसित मेरो अरू केही छैन, यसलाई अन्यथा लिनुहुन्न,’ स्रोतका अनुसार दाहालले भनेका थिए ।
स्रोतका अनुसार महाधिवेशन आयोजक समितिमा मकवानपुर नै घर भएका व्यक्तिहरू कोही नपरेको भन्दै गुनासो गर्न एक साताअघि पूर्वसभासद्द्वय लामिछाने र पुलामीले अध्यक्ष दाहालसित समय मागेका थिए । ‘काठमाडौं आउनुस् न त छलफल गरौँ’ भनेर दाहालको जवाफ पाएपछि लामिछाने र पुलामीसहित केही अगुवा कार्यकर्ता मंगलबार काठमाडौं आएका थिए ।
उनीहरूलाई छलफल गर्न काठमाडौं बोलाएका अध्यक्ष दाहाल भने सुटुक्क दामन लागेका थिए । पछि फोनमा कुरा हुँदा उनीहरूले अध्यक्ष त आराम गर्न दामन गएको थाहा पाए । दाहालले उनीहरूलाई दामन नै बोलाए । ‘म त यता दामन पो आएँ त, आउनुस् यतै कुरा गरौँला,’ स्रोतका अनुसार दाहालले उनीहरूलाई फोनमा भनेका थिए । त्यसपछि उनीहरू दामन पुगेका थिए । उनीहरूसितको छलफलमा दाहाल एक्लै उपस्थित भएका थिए ।
लामिछाने र पुलामीसितको छलफलमा पनि अध्यक्ष दाहालले ‘राम्ररी सुत्न’ मात्रै दामन आएको बताएका थिए । ‘काठमाडौंमा सुत्नै नपाएर आएको हुँ,’ दाहालको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो । पूर्वसभासद् पुलामीले अध्यक्ष दाहालसित पार्टीकै विषयमा छलफल भएको बताए । ‘हामीले उहाँ (दाहाल)सहितका नेतालाई काठमाडौंमै भेट्न खोजेका हौँ, व्यस्तताका कारण सम्भव भएन । यतै भेटेर कुराकानी भयो,’ पुलामीले सौर्यसँग भने ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक