20120814

पूर्व मन्त्री खुमबहादुर खड्कालाई डेढ बर्ष कैद, ९४ लाख ७४ हजार एक सय १२ रुपियाँ जरिवाना र विगो भराउने निर्णय

भ्रष्टाचार गरेको अभियोगमा सर्वोच्च अदालतले पूर्व मन्त्री खुमबहादुर खड्कालाई डेढ बर्ष कैद सजाय सुनाएको छ । सर्वोच्चका न्यायाधीशद्वय कल्याणप्रसाद श्रेष्ठ र वैधनाथ उपाध्यायको संयुक्त इजलासल खड्कालाई पदीय आचारण विपरित भ्रष्टाचार गरेरको अभियोगमा सो सजाय सुनाएको हो । उनलाई ९४ लाख ७४ हजार एक सय १२ रुपियाँ जरिवाना र विगो भराउने निर्णय गरेको सर्वोच्चले जनाएको छ । २०४८ सालदेखि पटक–पटक मन्त्री बनेका खड्काले गैरकानूनी रूपमा अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा उनीविरुद्ध सर्वोच्चमा भ्रष्टाचारको मुद्दा चलिरहेको थियो । २०४७ सालपछि पटक/पटक मन्त्री बनेका खड्काले सार्वजनिक पदको दुरुपयोग गरी २ करोड ३६ लाख ८७ हजार बराबरको गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोग अख्तियारले
लगाएको थियो ।
अख्तियारले ४ कात्तिक २०५९ मा विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको थियो । विशेष अदालतका तत्कालीन अध्यक्ष न्यायाधीश भूपध्वज अधिकारी र सदस्य न्यायाधीश कोमलनाथ शर्मा तथा चोलेन्द्रशमशेर जवराले २९ कात्तिक २०६३ मा खड्कालाई सफाइ दिएका थिए । अख्तियारले दुई करोड ३६ लाखभन्दा बढी सम्पत्तिको स्रोत नखुलेको दाबी गरे पनि विशेष अदालतले १२ लाख बराबरको सम्पत्तिको मात्र स्रोत नखुलेको फैसला सुनाएको थियो । खड्काले १२ लाख मात्र अनियमितता गरेको ठहर भए पनि उनलाई सफाइ दिइएको थियो । विशेष अदालतले खड्कालाई सफाइ दिने फैसला सुनाएपछि अख्तियार पुनरावेदनका लागि सर्वोच्च पुगेको हो । खड्काको पक्षबाट वरिष्ठ अधिवक्ता शम्भु थापा, सुशील पन्त, बद्रीबहादुर कार्की, बार अध्यक्ष प्रेमबहादुर खड्का, शेरबहादुर केसी र भीमार्जुन आचार्यले बहस गरेका हुन् । अख्तियारले स्रोत नखुलेको दुई करोड ३६ लाख रुपियाँ बराबर सम्पत्ति देखाएपछि त्यसको बचाउ गर्न खड्काले कृषि आम्दानी, मन्त्री हुँदा विदेश भ्रमणबाट बचेको रकम र श्रीमतीको माइतीतर्फबाट आएको दाइजोलाई मुख्य आयस्रोतका रूपमा दाबी गरेका थिए । भ्रष्टाचार निवारण ऐनअनुसार मुद्दा परेको ९० दिनभित्र फैसला हुनुपर्ने हो तर सर्वोच्चको बेवास्ताका कारण खड्काको मुद्दा पाँच वर्षपछि छिनोफानो भएको छ । लामो समय पछि अदालतमा विचाराधीन खड्काको भ्रष्टाचार मुद्दामाथि आज अन्तिम फैसला भएको हो । यसैबीच, मुद्दा फैसलालाई प्रभावित पार्न दाङ, रौतहट र नवलपरासीबाट उनका दुई सयभन्दा बढी समर्थक राजधानी भित्रिएका थिए । कांग्रेस दाङ जिल्ला सभापतिसहित डेढ सय नेता–कार्यकर्ता तीनवटा बस रिजर्भ गरेर ‘फैसला सुन्न’ राजधानी आएका हुन् । नवलपरासी र अन्य मध्यपश्चिमका जिल्लाबाट पनि दर्जनौंको संख्यामा आएको स्रोतले बतायो । कुनै जिल्लाबाट बस नै रिजर्भ गरेर त कतैबाट समूह–समूह भएर नेता–कार्यकर्ता राजधानी आएको कांग्रेसका एक केन्द्रीय सदस्यले बताए । सर्वाेच्च अदालतका न्यायाधीशद्वय कल्याण श्रेष्ठ र वैधनाथ उपाध्यायको संयुक्त इजलासले वर्षौं लामो बहसपछि उनको मुद्दाको अन्तिम किनारा लगाउने मिति तय गरेका थिए । यस अघि, भ्रष्टाचारको अभियोगमा पूर्व मन्त्री चिरञ्जीवी वाग्लेले सजाय काटिसकेका छन् भने पूर्व मन्त्री जयप्रकाश प्रसाद गुप्ताले सजाय भोगी रहेका छन् । पूर्व मन्त्री पनि भष्टाचारको अभियोगमा सजाय पाईसकेका छन् ।
पूर्व मन्त्री खुमबहादुर खड्कालाई सर्वोच्च अदालते भ्रष्टाचारी ठहर गर्दै कैद र दण्ड जरीवाना सुनाएपछि आक्रोशित समर्थकले प्रदर्शन सहित तोडफोड र नारावाजी गरेका छन् । सर्वोच्च अदालत परिसरमा बाहिर रहेका समर्थक र कांग्रेस कार्यकर्ताले खड्काको पक्षमा नारावाजी समेत गरेका थिए । उनीहरुले केही सवारी साधनमा तोडफोड गरेका छन् । समर्थकको नारावाजी र प्रदर्शनका कारण रामशाह पथको यातायात समेत प्रभावित भएको छ । प्रदर्शन र तोडफोडमा संलग्न केही लाई प्रहरीले पक्राउ समेत गरेको छ । ठूलो मात्रामा रहेका सुरक्षाकर्मीले स्थितिलाई सामान्य बनाउन प्रयास गरेको छ । 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक