20121125

माओवादी अध्यक्ष पुष्पकमल दाहालको भित्री मनासयचाँहि आफैं प्रधानमन्त्री हुने रहेको छ

 राष्ट्रपतिले दलहरुलाई प्रधानमन्त्रीको उम्मेदवार ल्याउन आव्हान गरेको दुई दिन बितेको छ । तर, दलहरुवीच अहिलेसम्म कुनै गहृकार्य भएको पाइँदैन । विघटित संविधानसभामा सवैभन्दा ठूलो दल एकीकृत माओवादीमा राष्ट्रपतिको कदमलाई कसरी लिने भन्ने विवाद यथावत छ । यद्यपि सहमतिको सरकार निर्माणका लागि एकीकृत नेकपा माओवादीले औपचारिक तथा अनौपचारिक माध्यममार्फत विभिन्न विकल्प ल्याएको नेताहरु बताउँछन् । समाचार स्रोतका अनुसार माओवादी अध्यक्ष पुष्पकमल दाहालको भित्री मनासयचाँहि आफैं प्रधानमन्त्री हुने रहेको छ । तर, त्यो उनी आफैं सार्वजनिक गर्ने पक्षमा छैनन् । विपक्षी दल, राष्ट्रपति, तथा बाबुराम भट्टराईले नै अहिलेको परिस्थिति सम्हाल्न तपाई नै अघि सर्नुस् भनुन् भन्ने चाहना उनको छ । केही दिन अगाडि एउटा टेलिभिजन कार्यक्रममा प्रचण्डले भने- म बाबुरामलाई हटाएर प्रधानमन्त्री हुने पक्षमा छैन, तर सबैले तपाई नै हुनुपर्छ भनेमा मैले त्यसलाई पनि खुला राखेको छु ।’यदि त्यो प्रयास सफल नभएमा वर्तमान सरकारलाई नै
राष्ट्रिय सहमतिको स्वरुप दिने प्रचण्डको योजना छ । उनले यो प्रस्ताव नेपाली काँग्रेस र एमालेका नेताहरुलाई राखिसकेका छन् । यस विकल्पअन्तर्गत नै नेपाली काँग्रेसका सभापति सुशील कोइरालाको नेतृत्वमा राजनीतिक संयन्त्र बनाउने र त्यसैको निर्देशनका आधारमा सरकार चलाउने विकल्पसमेत प्रचण्डले राखेको समाचार स्रातेको दावी छ । प्रचण्डले वाबुराम भट्टराई नेतृत्वको सरकारमा नै महत्वपूर्ण मन्त्रालय जस्तो गृह, अर्थ, स्थानीय विकासलगायतका मन्त्रालय छानी छानी लिन काँग्रेस र एमालेलाई आग्रह गरिरहेका छन् ।यस विकल्पमा सहमति नभएमा प्रचण्डले वर्तमान गठवन्धनकै तर्फबाट अर्को उम्मेदारको प्रस्ताव राखेका छन् । जसमा मधेशी नेतादेखि आफ्नै पार्टीका नेताहरुको नामसमेत अगाडि सारिएको छ । यसमा मधेशी नेता महन्थ ठाकुरको नाम बढी चर्चामा रहेको छ । मधेश र नेपाली काँग्रेसको एउटा ठूलो समूहको समर्थन महन्थलाई हुने कुरामा प्रचण्ड विश्वस्त रहेको एक माओवादी नेताले बताए । तर, महन्थको नाममा एमालेको धारणा के रहन्छ भन्ने भन्ने विषय भने स्पष्ट भइसकेको छैन । तर, यो प्रस्तावमा प्रधानमन्त्री बाबुराम भट्टराईको समर्थन रहेको छैन । गठवन्धनभित्रबाटै सरकार निर्माण हुँदा आफ्नै नेतृत्व हुनुपर्ने अडान राख्न भट्टराईले दाहाललाई दबाव दिइरहेका छन् । यदि दलहरुवीच कुनै पनि हालतमा सहमति हुन सकेन भने माओवादी अध्यक्ष पुष्पकमल दाहालले स्वतन्त्र व्यक्तिको नेतृत्वका सरकार वनाएर निर्वाचनमा जाने विकल्प समेत दलहरुका अगाडि सारेका छन । तर, दाहालको यो प्रस्तावमा प्रधानमन्त्री बाबुराम भट्टराई र काँग्रेस तथा एमाले समेत सहमत छैनन् । स्वतन्त्र व्यक्तिको नेतृत्वमा सरकार निर्माण गर्दा दलहरुको प्रतिष्ठामा गम्भीर आघात पुग्ने काँग्रेस र एमालेका नेताहरुको भनाइ छ । त्यसैगरी संविधान सभाको निर्वाचन हुने पक्का भएमा विपक्षी पार्टीको उम्मेदवार मान्नसमेत दाहाल तयार भएको स्रोतको दावी छ । भावी सरकार निर्माण गर्दा काँग्रेस र एमालेलाई मात्र होइन, प्रधानमन्त्री बाबुराम भट्टराईलाई मनाउने कार्य पनि दाहालका लागि त्यति सजिलो छैन । किनकि दाहालले राष्ट्रिय राजनीतिमा भट्टराईलाई ‘माइनस’ गर्नका लागि अनेक खेलहरु खेलिरहेको भट्टराईनिकटका नेताहरुको भनाइ रहेको छ ।अहिले पनि राष्ट्रपतिको कदमलाई समर्थन गरेर दाहालले भट्टराईलाई अपमानपूर्वक ढंगले हटाउन खोजेको आशंका उब्जिएको एक नेताले बताउँछन् । यही आशंका र अविश्वासका कारण राष्ट्रिय सहमतिको सरकार निर्माण अत्यन्तै जटिल बन्न पुगेको छ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक