(संसारका १७५ देशमा पढिने, फोहोरी राजनीतिबाट पुरै अलग, संसारभर छरिएर रहेका नेपालीहरुको साझा, स्वतन्त्र, अनलाइन पत्रिका www.NepalMother.com, एउटा क्लिकमा सबैथोक)

20121215

‘प्रचण्डकला’ देखाउने सिलसिलामा यसका सीमा र हद नाघ्ने कामचाहिँ कहिल्यै नहोस् अन्यथा दाहालको यात्रा बडेमानको ढुंगामा ठेस लागेर नपल्टेला र दुर्घटनाग्रस्त नहोला भन्न सकिन्न !
























प्रस्तुत कार्टुन फेसबुकबाट साभार गरिएको हो ।
-रामजी बलामी
एमाओवादीका अध्यक्ष प्रचण्डले हालै एक कार्यक्रममा नेपालका सवै नेताहरू असक्षम भएको टिप्पणी गरे । उनको यो भनाइलाई वास्तविकतासँग दाँजेर हेर्दा वर्तमान राजनीतिक घटनाक्रममा उनको भूमिका र अन्य दलहरूले उनीबाट आस गरेका सहमतिको मार्गचित्रबाट नेपाली राजनीतिक यात्रामा तानतुन राजनीतिका
माहिर खेलाडी बन्न खोजेको आभाष हुन्छ । विगतमा गिरिजाप्रसाद कोइरालालाई नेपाली राजनीतिको ‘मोडेल’ भनेर प्रस्तुत गरिन्थ्यो । अचेल उनिपछिको दोस्रो मोडेल अर्थात वर्तमान मोडेल बन्न अभ्यासरत दाहालले आफ्नो छुट्टै बाटो निर्माण गर्ने रणनीतिक चाल बुनिरहेका छन् । अन्य दलहरूले पनि उनको मार्गमा लम्पट बन्न कुनै कसर बाँकी राखेका छैनन् । यसले प्रचण्डलाई मोडेल बन्ने भूत मात्रै चढेको छैन आधारशीलासमेत निर्माण गरिरहेको छ । त्यसो त राजनीतिक संक्रमणसँगै सहमतिको लगन जुराउने जिम्मा उनैलाई सुम्पिन अन्य दलहरू तयार हुन्छन् । नेपालमा राजनीतिक जटिलता उत्पन्न हुनासाथ अन्य दलहरू १० रेक्टर स्केलको भुइँचालो सम्झेर प्रत्यारोपको राजनीतिमा होमिने गर्छन । तर, दाहालले यसलाई आफ्नो सामथ्र्य प्रस्तुत गर्ने अवसरको रूपमा प्रयोग गर्छन र त उनको राजनीति ‘प्रचण्ड’ सावित बन्न पुगेको छ । यो उनको लागि चुनौती नभइ अवसर हुने गरेको पाइन्छ ।
युद्धताका पनि उनको नाम सुन्ने बित्तिकै थर्किने जमात कम थिएन । गाउँघर मात्रै होइन सहरी समाजसमेत प्रचण्ड भनेपछि कुनै एउटा उदण्डताको प्रतिमूर्ति भनेर तर्सिने अवस्था थियो । अचेल उनको जुँगाको मात्रै होइन कपालको कमालसमेत राजनीतिक गफको पात्र बन्न थालेको छ । फुकाउ र समाधान भन्दा बाधा–अड्काउ राजनीतिमा प्रखर दाहालको चलखेलले नेपाली राजनीतिक घटनाक्रम चलिरहेको छ । कहिले ओरोलो त कहिले उकालो यात्रामा लाग्नुमा उनको भूमिका महत्त्वपूर्ण हुने गरेको छ । बाधा अड्काउ मात्रै होइन अल्झाउ र बखेडाको राजनीतिका मोडेलसमेत बन्ने तरखरमा छन् दाहाल । सर्तमाथि सर्त तेर्साउन र बन्नै लागेको सहमतिलाई विमुखतिर धेकेलिदिने क्षमता उनमा प्रबल देखिन्छ । त्यसो त हरेक पटकको सहमति भंग गर्ने पात्र बन्न पुग्छन प्रचण्ड । यो कुराको पुष्टि गर्ने हो भने माओवादी शान्तिप्रक्रियामा आएदेखि अहिलेसम्मको घटनाक्रम नियाल्दा यस्ता करिब तीन दर्जन चालबाजी उनले गरेका छन् ।
राष्ट्रपतिले सहमतिको लगन जुराउन भन्दै दलहरूलाई पटक–पटक मौखिक आह्वान मात्रै गरेनन् एकपटक लिखित आह्वानसमेत गरे । मौखिक आह्वानलाई अटेर गर्दै पासो भिराउने दलहरूले लिखित आह्वानसँगै राष्ट्रपतिलाई फसाउने प्रपञ्च समेत बनाए । त्यसपछि केही चलमलाएको शीतलनिवास दलहरूको निगरानीमा म्याद थप्दै खिर पकाउन बाध्य भइरहेको छ । शीतलनिवास र सिंहदरवारबीचको विवादले जनतामा भ्रम सिर्जना गरेको छ । उनीहरूबीच वास्तवमा के भइरहेको छ कसैलाई थाहा छैन । यो कुरा उनीहरूले जनतालाई छारो हालेको भनेर बुझिरहे पनि जनता भने भ्रमबाट अनविज्ञ पक्कै छैनन् । सुरुमा नेपाली कांग्रेसलाई उम्मेदवारसम्म पनि दिन नसक्नेहरू भनेर पुष्पकमल दाहालले ‘प्रचण्ड’ स्वर घन्काए । उनको भाषणबाट कार्यकर्ताको अगाडि शिर झुकाउन बाध्य भएर कांग्रेसले जसोतसो सभापति सुशील कोइरालालाई उम्मेदवारको ट्याग भिराएका मात्रै के थिए माओवादीमा नब्बे सालको भूकम्प गयो । अनि, फेरि प्रचण्डको कोटबाट फुत्त प्याकेज नामक फट्यांग्रो निस्कियो । ती परजिवी फट्यांग्राको संक्रमणले यतिखेर पुन: राजनीतिमा स्थिर रोगको संक्रमण देखिन थालेका छन् ।
दलहरूबीच नजिकिइसकेको दुरीलाई लम्ब्याउन बीचमा भ्वाङ पारिदिए प्रचण्डले । यहीकारण यतिखेर पुन: सहमतिको नाममा विमति र प्रत्यारोपको राजनीतिमा दलका नेताहरू होमिएका छन् । प्याकेज माओवादीको प्रिय वस्तु हो । हरेक पटक च्याँखे थाप्दा उसले प्याकेज नामाकरण गर्छ । अन्य दलहरूको लचिलोपनको फाइदा लुट्दै उसले प्याकेजलाई आफ्नो सत्ताको आयु लम्ब्याउने अचुक अस्त्र बनाइरहेको छ । एवंरितले नेपाली राजनीतिमा उसले प्याकेज जन्तुको प्रवेश गराइ रहन्छ र सत्ताको आयु लम्ब्याइ रहन्छ । अहिलेकोसम्मको अध्ययनले यही पुष्टि हँुदै आएको छ । डा. बाबुराम भट्टराईलाई सत्तामा बस्न मन नलागेको कुरा केही हदसम्म सही मान्न सकिन्छ तर उनी सत्तामा बस्न बाध्य हुनु पछाडिको कुरा हेर्दा प्रचण्ड राजनीति यसमा पनि लागू भएको देखिन्छ । किनकि, अध्यक्ष प्रचण्डले सकेसम्म भट्टराईकै नेतृत्वमा सहमति जुराउने र नभए उनकै रोजीरोटीमा सहमति गर्ने उद्घोष गरिरहेका छन् । प्याकेज सहमतिलाई बखेडाको रूपमा वर्णन गरिए पनि केही सर्त भने जायज नभएका होइनन् । किनकि, विगतमा माधव नेपालको राजीनामाका लागि रिङरोडसम्म नाकाबन्दी गर्न पुगेका माओवादीले करिब ९ महिनासम्म सरकार दिन सकेन । सायद, यतिखेर विगतको भूलबाट पाठ सिकेका हुन कि माओवादीले वा सत्ता लम्पट बन्ने चाहना हो बुझ्न कठिन छ ।
सहमति र राजीनामाबीच चल्ला र अन्डाको जुहारी चलिरहेको छ । यो जुहारी पहिले पनि चलेको थियो पछि पनि चल्नेवाला छ । विवादकै लागि विवाद र जुहारीकै लागि जुहारी खेल्ने नेताहरू स्वार्थी राजनीतिबाट कोही पनि एक कदम पछि हट्न चाहिरहेका छैनन् । यसकारण पनि उनीहरूबाट सहमति बिस्तारै उछिटिएर भागिरहेको छ निरन्तर । अब कुरा गरौँ, पुष्पकमल दाहालले खाएको चड्कन च्युराको । माओवादीको गुणगान गाएर युद्धमा होमिदा आर्थिक, भौतिक र शारीरिक क्षति झेलेका पदम कँुवरले होस गुमाएर प्रचण्डको गालामा मीठो च्युरा चखाउन पुगे । लगतै प्रहरीकैसामु रगतपिच्छे हुनेगरी उनलाई माओवादीकै कार्यकर्ताहरूले कुटे । अहिलेका फोकट अर्थात् जिब्रे कार्यकर्ता भन्दा कुँवर कैयौँ गुणा सक्कली कार्यकर्ता थिए तर विडम्बना प्रचण्डले यो कुरा पान चपाए झैँ बुझ पचाए । र त, उनले यत्रो दिन प्रहरी हिरासतमा बिताउन पर्‍यो ।
अदालतले मागेको २८ हजार रुपियाँ तिर्न नसकेर कुँवर जेल चलान भए । यता सामाजिक सञ्जाल फेसबुुकमा उनलाई छुटाउन रकम संकलन अभियानको लर्काे भयो । तर, उनलाई रकमको खाँचो परेन । प्रचण्ड आपैँmले पाप पखाल्नै भए पनि २८ हजार तिरेर उनलाई छुटाए । यसमा जसरी प्रचण्डले खेले संकटपूर्ण राजनीतिमा पनि प्रचण्ड त्यसैगरी खेल्दै छन् । तर, सधैँ जनताको आँखामा छारो हाल्ने र झुट बोल्नेहरूको पिठो बिक्छ भन्न सकिँदैन ।
स्मरण रहोस् दाहालले करिब दुई दर्जन कार्यक्रममा कुँवरलाई माफी दिइसकेको बताउँदै आएका थिए । सम्बन्धित व्यक्तिले माफी दिएपछि कारबाही नहुने नियम कँुवरलाई लागू भएन वा प्रचण्डले जनतामा भ्रम छरे आपैँm जानुन वा पशुपतिनाथ जानुन । अरूलाई उल्टाउन, पल्टाउन, लछार्न, पछार्न र उछिट्याउन माहिर दाहालको ‘प्रचण्ड’ राजनीतिले यतिखेर नेपाली राजनीतिलाई प्रभाव त पारेको छ नै यसको साथै उनकै दललाई पनि दलदलमा फसाएको छ । ‘प्रचण्डकला’ देखाउने सिलसिलामा यसका सीमा र हद नाघ्ने कामचाहिँ कहिल्यै नहोस् अन्यथा दाहालको यात्रा बडेमानको ढुंगामा ठेस लागेर नपल्टेला र दुर्घटनाग्रस्त नहोला भन्न सकिन्न । - Sourya

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक