20121217

सहमति झन्-झन् टाढा : प्रचण्ड बाबुरामलाई तेर्स्याएर झन बखेडा झिक्दै

सुशील कोइरालालाई प्रधानमन्त्री बनाउन माओवादीले अघि सारेका पूर्व सर्तमा कांग्रेस र एमाओवादीवीच सहमति जुट्न नसक्दा निकै नजिक आइपुगेको भनिएको ‘सहमति’ झन्-झन् टाढा पुगेको छ । माओवादीले बाबुराम भट्टराईको सरकारले नै चुनावको मिति घोषणा गर्ने र त्यसका लागि कानुनी बन्देज फुकुवा गर्ने र संबैधानिक निकायमा नियुक्ति गर्न पाउनुपर्ने सर्त राखेको थियो । साथै उसले बाबुराम भट्टराई नेतृत्वको सरकारमा केही दिनका लागि मात्रै भएपनि कांग्रेस-एमाले आउनुपर्ने सर्त राखेको थियो । वैठकमा सहभागी नेताहरुका अनुसार माओवादीका अधिकांश सर्तमा कांग्रेस र खासगरि सभापति सुशील कोइरालाले असहमति जनाउनु भएको छ । प्रचण्ड, माधव नेपाल र कृष्ण सिटौलावीच भएका सहमतिका बुँदामा समेत सुशीलले असहमति जनाएको सूत्रहरुको दावी छ । ‘यो सरकारले घोषणा गरेको निर्वाचन पनि मान्दिन, कानुन मिलाउने र मिति घोषणा गर्ने मै प्रधानमन्त्री भएपछि गर्छु भन्ने जिकिर सुशीलमा देखियो’- एक माओवादी नेताले  भने-ती बिषयमा सहमति नभई प्रधानमन्त्रीले राजीनामा नदिने अडान लिनुभयो ।’ आइतबार माओवादी अध्यक्ष प्रचण्डले राष्ट्रपति डा. रामवरण यादवलाई भेटेपछि देश सहमतितर्फ गएको बताउनुभएको थियो । सोमबार विहान प्रचण्डनिवासमा एमाले नेता माधव नेपाल, कांग्रेस नेता कृष्णप्रसाद सिटौला र प्रचण्डवीच भएको त्रिपक्षीय छलफलपछि बेलुका दलहरुको संयुक्त बैठक बस्ने बताइएको थियो । तर, साँझसम्म संयुक्त
बैठक बस्न नसकी वीचैमा भाँडिएको छ । प्रधानमन्त्रीले सहमति तोडेको आरोप कांग्रेस नेताहरुले लगाए पनि माधव नेपाल, कृष्ण सिटौला र प्रचण्डवीच के सहमति भएको थियो भन्ने अहिलेसम्म खुलेको छैन । प्रचण्ड कांग्रेस सभापतिको नेतृत्वमा सरकार गठन गर्न सहमत भएको कांगस्रेको दाबी रहे पनि प्रचण्ड र प्रधानमन्त्रीनिकटस्थ स्रोत भने यस्तो कुनै सहमति नभएको बताउँछ । बालुवाटार स्रोत भन्छ-’कांग्रेसले यही सरकारमार्फत् बाधा अड्काऊ फुकाउन मानेपछि मात्रै प्रधानमन्त्रीले राजीनामा दिने भनिएको हो, तर, कांग्रेसले यो सरकारमार्फत बाधा अडाउ फुकाउन र चुनावको मिति घोषणा गर्न मानेन ।’
कोइराला निवासमा सोमबार भएको आन्तरिक बैठकपछि कांग्रेस नेताहरुले सहमतीय सरकार निर्माणका लागि प्रधानमन्त्री बाधक बनेको आरोप लगाएका छन् । प्रचण्ड कांग्रेस सभापतिको नेतृत्वमा सरकार गठन गर्न सहमत भएपनि प्रधानमन्त्रीले राजीनामा दिन अस्विकार गरेकाले सहमतिको वातावरण फेरि बिगि्रएको उनीहृरुको आरोप छ । बैठकपछि काँग्रेस नेता डा रामशरण महतले भन्नुभयो-’प्रचण्डजी सुशील कोइरालाको नेतृत्वमा सरकार गठन गर्न सहमत भएपनि प्रधानमन्त्रीले नमानेपछि सहमति हुन सकेन ।’ माओवादी र मधेसी मोर्चाले बैशाखमा निर्वाचन गर्न नचाहेकाले विभिन्न वहाना बनाएर सहमति भाड्न खोजेको कांग्रेस नेताहरुको आरोप छ । कांग्रेसले सहमतिको प्रयास जारी राख्ने भन्दै केही दिन समय दिन राष्ट्रपतिलाई आग्रह गर्ने निर्णय गरेको छ ।
कांग्रेसका नेताहरुले सहमति नहुनमा प्रधानमन्त्रीलाई दोष लगाए पनि प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार देवेन्द्र पौडेलले भने कांग्रेसकै कारण सहमति हुन नसकेको बताउनुभएको छ । पौडेलले अनलाइनखबरसँग भन्नुभयो- ‘प्रधानमन्त्रीले राजीनामा दिन नमानेको भन्ने कांग्रेसको एकतर्फी कुरा हो, हामीले यत्तिकै राजीनामा दिने भनेकै थिएनौं, त्यसका लागि शर्त थियो-चुनाव सुनिश्चित हुनुपर्छ, चुनावको मिति घोषणा गर्नुपर्छ, त्यसका लागि कानुनी अड्चन यही सरकारले हटाउनुपर्छ, संबैधानिक निकायमा नियुक्ति गर्नुपर्छ र यही सरकारलाई केही दिनका लागि भएपनि राष्ट्रिय स्वरुप दिनुपर्छ । त्यसपछि मात्रै कांग्रेसलाई नेतृत्व दिने भनिएको हो । यी सवै कुरा नभई प्रधानमन्त्री मात्रै फेर्दा कसरी समस्या समाधान हुन्छ ?
‘चुनाव सुनिश्चित गर्ने बिषयमा कुरै नगर्ने अनि राजीनामा मात्र कुरा गर्दा प्रधानमन्त्रीले राजीनामा दिन्न भन्नुभएको हो ।’- पौडेलले भन्नुभयो-’चुनाव सुनिश्चित हुने अवस्थामा राजीनामा नदिने भन्ने कुरै छैन, उहाँले राजीनामा दिनुहुन्छ । बैशाखमा संविधानसभाको चुनाव हुने सुनिश्चित भए प्रधानमन्त्री पद त्याग्न तयार हुनुहुन्छ, एक मिनेट पनि बस्नुहुन्न ।’ ‘तर, हामी गरिहाल्छौं नि भन्ने हिसाबले उधारो सहमतिका आधारमा प्रधानमन्त्रीले राजीनामा गर्नुहुन्न ।’- पौडेलले भन्नुभयो ।
राष्ट्रपतिद्वारा नयाँ सरकार गठनका लागि चौथोपटक दिइएको समयसीमा सोमबार साँझ सकिएपछि अब फेरि दलहरुले पाँचौपटक पनि म्याद थपका लागि आग्रह गर्ने भएका छन् । मंसिर पहिलो सातादेखि नयाँ प्रधानमन्त्री चयनका लागि राष्ट्रपतिले गरेको पटक-पटकको आग्रह दहरुवीच सहमति नहुँदा खेर गइरहेको छ ।

एकीकृत नेकपा माओवादी पोलिट्व्युरो सदस्य तथा कोचिला राज्य समिति इन्चार्ज गोपाल किरातीले डा. बाबुराम भट्टराई नेतृत्वको सरकार ढले त्यसको भोलिपल्टदेखि नै प्रतिक्रान्ति सुरु गर्ने चेतावनी दिएका छन् । गाईघाटमा आजदेखि सुरु पार्टीनिकट जातीय मोर्चाहरुको संयुक्त जिल्ला सम्मेलनको उद्घाटन गर्दै किरातीले बाबुराम भट्टराई क्रान्तिकारी सरकारको नेतृत्व गरिरहेकाले यो सरकार ढल्नै नहुने विचार राखे। वर्तमान सरकार ढले भयानक प्रतिक्रान्तिको खतरा रहेको पनि किरातीले औंल्याए। 'भट्टराई नेतृत्वको सरकार क्रान्तिकारी र परिवर्तनकामी शक्तिहरुको मिलेमतोमा बनेको सारकार हो,' उनले भने, 'यो सरकार ढल्नुहुन्न, ढल्यो भने ढलेको भोलिपल्टदेखि भयानक प्रतिक्रान्ति सुरु हुने खतरा छ, त्यसको परिणाम गम्भिर हुनसक्छ।' संविधानको अन्तरवस्तु सम्बोधन नभएसम्म वर्तमान सरकारको आवश्यक्ता कायमै रहने बताउँदै उनले आदिवासी जनजाति, मधेसी, दलित र महिला तथा उत्पीडित वर्गको माग सम्बोधन नभएसम्म भट्टराई नेतृत्वको सरकार हट्टै नहुनेमा जोड दिए। उनले भने, 'अहिलेसम्मका सरकारमध्ये भट्टराई नेतृत्वको सरकार सबैभन्दा लोकतान्त्रिक, समावेशी र संघीय गणतन्त्रप्रति प्रतिवद्ध सरकार हो। त्यसैले यसको विकल्प सोंच्नुअघि यो भन्दा बढी क्रान्तिकारी र परिवर्तनमुखी नेतृत्वबारे विचार पुर्या उनुपर्छ।' गणतन्त्र र संघीयतालाई संस्थागत हुन नदिन सबभन्दा बढी एमाले अध्यक्ष झलनाथ खनाल र कांग्रेस सभापति सुशिल कोइराला लागि परेको आरोप लगाउँदै उनले उनीहरु इतिहासमा नेपाली जनताको नजरमा कलंकित भएर रहने बताए। तर, संघीयता र लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न नेपाली जनता कुनै हालतमा पछि नपर्ने पनि उनले बताए। किरातीले एमाओवादी अध्यक्ष प्रचण्डलाई गणतन्त्र र संघीयताप्रति प्रतिवद्ध नेताको रुपमा चित्रण गर्दै भने 'एमाले र कांग्रेसले जतिसुकै नचाहे पनि प्रचण्ड र एमाओवादीले गणतन्त्र र संघीयतालाई संस्थागत गरेरै छाड्छ।' भर्खरै गठित संघीय समाजवादी पार्टी अध्यक्ष अशोक राईलाई लक्षित गर्दै उनले संघीयताविरोधी पार्टी एमाले फुटाएर अर्को शक्ति बनाउनु सकारात्मक भएको बताए। उनले तर, क्रान्तिकारी साम्यबादलाई त्गाग्दै कांग्रेसको नारा लिएर समाजवादतर्फ धकेलिनु भनेको परिवर्तनशील क्रान्तिलाई धोका दिनु भएको बताए। उनले अशोक राई र पार्टी विभाजन गरेर जाने मोहन वैद्यलाई एकीकृत माओवादीको क्रान्तिकारी धारमा चाँडै समाहित हुन आग्रह गरे । 'त्यसो भए मात्र सबै क्रान्तिकारी एक भएर गणतन्त्र र संघीयता समयमै संस्थागत हुने तथा शान्ति प्रक्रियाले निचोडमा पुग्छ,' किरातीले भने । कार्यक्रममा नेवा मुक्ति मोर्चाका अध्यक्ष दिलिप प्रजापति, पार्टी जिल्ला इन्चार्ज मोहन खत्री (दीपक), किरामो केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष बासु किरातीलगायतले पनि बोलेका थिए। गाईघाटस्थित लोकतान्त्रिक चोकमा सुरु पार्टीनिकट सातवटा जातीय मोर्चाहरु किरात राष्ट्रिय मुक्ति मोर्चा, मगर, शेर्पा, तामाङ, नेवार, दनुवार, मधेसी मोर्चाको संयुक्त सम्मेलनले मंगलबारसम्म नयाँ नेतृत्व चयन गर्ने बताइएको छ।
मोहन वैद्य नेतृत्वको नेकपा-माओवादीले कांग्रेस सभापति सुशील कोइरालाको नेतृत्वमा सहमतीय सरकार गठन गर्न अस्वीकार गरेको छ ।
एमाले अध्यक्ष झलनाथ खनालसहितका शीर्ष नेतासँग सोमबार भएको छलफलमा माओवादी नेताहरुले कोइरालाको नेतृत्वमा सरकार गठन गर्ने प्रस्ताव अस्वीकार गरेका हुन् । माओवादी नेताहरुले आफ्नो पार्टीले महासचिव रामबहादुर थापा बादललाई प्रधानमन्त्रीको उम्मेदवार बनाएको भन्दै अन्य दलको नेतृत्व स्वीकार्य नहुने बताएका छन् । ‘झलनाथजीहरुले बाबुरामलाई विस्थापित गरेर सुशीललाई स्थापित गरौं भन्ने प्रस्ताव राख्नुभयो’ सचिव नेत्रविक्रम चन्द विप्लवले भन्नुभयो-’हामीले बादल जी प्रचारका लागि हैन, सरकार बनाउनै अघि सारेका हौं, हाम्रै नेतृत्वमा सरकार बनाऔं भनेका छौं ।’ यद्यपि बाबुराम भट्टराई नेतृत्वको सरकारको विकल्प खोज्न भने दुबै दल सहमत भएका छन् । छलफलमा नेकपा-माओवादीका नेताहरुले चार दलबीच मात्रै हुने सहमति आफूहरुलाई मान्य नहुने समेत प्रष्ट पारेका छन् ।

1 comment:

  1. हा हा हा अब नेपालि कांग्रेस वा एमाले ले मकै का ढोड पनि पाउदैनन ! माओबादी ले यसरि नै खेलाई खेलाई जोकर बनाउने हुन् ! माओबादी का सबै शर्त माने भने माओबादीहरुले कांग्रेस र एमाले लाइ यसो भन्ने छन् "तिमीहरु ले सबै शर्त मानि हाल्यौ, यसैका लागि प्रलोभन देखाएको हो, अब चै तिमीहरु हाम्लाई चाहिदैन, हाम्रो पार्टिमा आउछौ भने साधारण सदस्यता सम्म मिलाइदिन सक्छौ, अब किच किच गर्न न आउनु, लौ अहिले लाइ यत्ति नै भो!"

    ReplyDelete

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक