20121219

‘मैले झलनाथ खनालजीलाई प्रधानमन्त्री बनाउँदा सहयोग गरे, अब मलाई पनि तपाईहरुले सहयोग गर्नुपर्छ ।’ : एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल

एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले कांग्रेस नेतृत्वमा सहमतीय सरकार बने सर्वदलीय संयन्त्रको संयोजक आफू बन्नु पर्ने प्रस्ताव अघि सारेका छन् । एमालेसँग आज काठमाडौंमा भएको गोप्य बार्ताका क्रममा अध्यक्ष दाहालले सरकार सञ्चालन सम्बन्धी सर्वदलीय संयन्त्रको माग गरेका हुन् । संयोजक दिन एमालेले दाहाललाई हरियो झण्डा समेत देखाई दिएको छ । उच्च स्रोतका अनुसार अध्यक्ष दाहालले कांग्रेस सभापति सुशील कोइरालालाई प्रधानमन्त्री बनाउँ नसकिए आफ्नै नेतृत्वमा सरकार बनाउन पनि प्रस्ताव गरेका छन् । यद्यपि सो विषयमा एमालेले सकारात्मक जवाफ दिएको छैन । ‘मैले झलनाथ खनालजीलाई प्रधानमन्त्री बनाउँदा सहयोग गरे,’ दाहालको अभिव्यक्ति उदृत गर्दै स्रोतले भन्यो, ‘अब मलाई पनि तपाईहरुले सहयोग गर्नुपर्छ ।’ एमालेसँगको बार्तामा अध्यक्ष दाहालले प्रधानमन्त्री बाबराम भट्टराईले आफूलाई असहयोग गरेको गुनासो समेत गरे । ‘बाबुराम भट्टराईजीले मैले भनेकै मान्नु हुँन्न,’ दाहाललाई उदृत गर्दै स्रोतले भन्यो, ‘मैले उहाँलाई पद छाड्नुस पार्टीको निर्णय छ, सहमतीय सरकार बनाउँ भनेको छु ।’ गोप्य बार्तामा एमाओवादी
अध्यक्ष दाहाल, एमाले अध्यक्ष झलनाथ खनाल र वरिष्ठ नेता माधवकुमार नेपालको सहभागिता रहेको थियो । प्रधानमन्त्री समेत रहेका एमाओवादीका उपाध्यक्ष बाबुराम भट्टराई पार्टीको पदाधिकारी बैठकमा अनुपस्थित भएका छन् । अध्यक्ष पुष्पकमल दाहालको निवास लाजिम्पाटमा आज बसेको एमाओवादीका पदाधिकारी र प्रभावशाली नेताहरुको बैठकमा उपाध्यक्ष भट्टराई अनुपस्थित भएको स्रोतले जनाएको छ । बैठकमा भट्टराई निकट पदाधिकारी पनि अनुपस्थित रहेको बुझिएको छ । कांग्रेस नेतृत्वमा सहमतीय सरकार बनाउने भन्ने अध्यक्ष दाहालको सक्रियताप्रति असन्तुष्ट भट्टराईले तत्काल यथास्थितिमा पद त्याग नगर्ने जनाउँदै आएका छन् । यसैबीच, एमाओवादीले पार्टीले गरेका निर्णय प्रधानमन्त्री बाबुराम भट्टराइले मान्नुपर्ने निर्णय गरेको छ । ‘सहमतीय सरकार गठनमा हदैसम्म लचिलो हुने निर्णय गरेका छौं,’ एक पदाधिकारीले भने, ‘पार्टीका निर्णयमा प्रधानमन्त्री भट्टराई बाधक बन्नु हुँदैन ।’ एमालेले प्रधानमन्त्री बाबुराम भट्टराईको बहिर्गमन अनिर्वाय रहेको भन्दै सहमतीय सरकार बनाउनु पर्ने निर्णय गरेको छ । पार्टी मुख्यालय बल्खुमा आज बसेको स्थायी समिति बैठकले भट्टराई सरकारको बहिर्गमन पछि कांग्रेस नेतृत्वमा सहमतीय सरकार बनाउनु पर्ने निर्णय गरेको सचिव युवराज ज्ञवालीले जानकारी दिए । ‘प्रधानमन्त्री बाबुराम भट्टराईको बहिर्गमन अनिर्वाय छ,’ ज्ञवालीले भने, ‘उनको वहिर्गामन नहुँदा सम्म कांग्रेस नेतृत्वमा सरकार बन्न सक्दैन ।’राष्ट्रपतिले पाँचौ पटक दिएको बाँकी ३ दिन भित्र मुलुकलाई राजनीतिक निकास दिनुपर्ने जनाएको एमालेले सो अवधी भरि वार्ता र सम्वादलाई निरन्तरता दिनुपर्ने जनाएको छ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक