20121230

३६ दिनसम्म सहमति जुटाउन असफल भएका दलहरुले फेरी दुई चरणमा समय थप्न आग्रह गरे, सातौँ पटक म्याद थप, लोकतन्त्रकै चरम उपहास !

राष्ट्रपति डा. रामबरण यादवले सहमतीय सरकार गठनका लागि सातौँ पटक म्याद थप्नु भएको छ । राष्ट्रपति यादवले छैटौं पटक दिएको समयमा पनि दलहरु सहमतीय सरकार गठन गर्न असफल भएपछि राष्ट्रपतिले पुस २० गतेसम्म सहमति जुटाउन समयसीमा दिनुभएको हो । राष्ट्रपति यादव गत पुष ९ गते ६ दिनको समय थपेर भारत भ्रमण जानुभएको थियो । तर यस अवधिमा दलहरु एक पटक पनि संयुक्त छलफलमा पनि जुटेनन् । दलहरुले भने सहमतिको सरकार गठनका लागि दुई चरणमा समय थप्न आग्रह गरेका थिए । ३६ दिनसम्म
सहमति जुटाउन असफल भएका दलहरुले फेरी दुई चरणमा समय थप्न आग्रह गरेका हुन् ।

राष्ट्रपति कार्यालयको विज्ञप्तीः

सम्माननीय राष्ट्रपति डा. रामवरण यादवले नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३८ को उपधारा (१) बमोजिम राजनैतिक सहमतिका आधारमा प्रधानमन्त्रीको चयन र निजको अध्यक्षतामा मन्त्रिपरिषद् गठनका लागि उपयुक्त प्रस्ताव सिफारिस गर्न राजनैतिक दलहरुलाई संवत् २०६९ साल मंसिर ८ गते शुक्रबारका दिन आह्वान गर्नु भएकोमा राजनैतिक दलहरुको माग बमोजिम सम्माननीय राष्ट्रपतिबाट संवत् २०६९ साल पौष १४ गते शनिबारका दिनसम्म समय थप भएकोमा राजनैतिक सहमति कायम गरी प्रधानमन्त्रीको चयन र मन्त्रिपरिषद्को गठन गर्नका लागि राजनैतिक दलहरुले सहमतिको लागि थप भएको समयलाई निरन्तरता दिंदै फेरि पनि थप समय माग गरेको हुँदा माग बमोजिम संवत् २०६९ साल पौष २० गते शुक्रबारका दिन सम्म राजनैतिक सहमति कायम गरी प्रधानमन्त्रीको चयन र मन्त्रिपरिषद् गठन गर्नका लागि समय थप गर्नु भएकोले यो विज्ञप्ति प्रकाशन गरिएको छ ।
नेपाली काँग्रेसका महामन्त्री प्रकाशमान सिंहले सत्ता गठबन्धन बैशाखमा चुनाव नगराउने षडयन्त्रमा लागेको आरोप लगाउनु भएको छ ।
महामन्त्री सिंहले एकीकृत नेकपा माओवादी विभिन्न बहानावाजी बनाएर चुनाव नगराई सत्ता कव्जा गर्ने रणनीतिमा लागेको आरोप लगाउनुभयो ।
राष्ट्रिय मेलमिलापको नीति र त्यसको सान्दर्भिकता सम्वन्धमा नेपाल तरुण दल काठमाडौंले गरेको विचार गोष्ठीमा उहाँले आन्दोलन गर्न तरुण दललाई निर्देशन दिनुभयो ।

महामन्त्री सिंहले समस्याको समाधान चुनाव मात्रै भएकाले बैशाखमा चुनाव गराउन दवाव दिनुपर्ने बताउनुभयो ।
नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले एकिकृत नेकपा माओवादी र प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराइले नचाहेसम्म मुलुकले निकास पाउन नसक्ने बताउनुभएको छ ।  
नेपालगन्जमा पत्रकारसंग उपाध्यक्ष गौतमले मुलुकले निकास पाउने नपाउने भन्ने माओवादीमा निर्भर रहेको बताउनुभयो ।
विगतमा सहमतिय सरकार गठनका लागि राष्ट्रपतिले आव्हान गरेपछि रोकिएको सडक आन्दोलन छिट्टै सुरु हुने उपाध्यक्ष गौतमको भनाई छ ।
यस्तै एमालेका अर्का उपाध्यक्ष बिद्या भण्डारीले राष्ट्रिय एकताका लागि दलहरुबीच एकता आवश्यक रहेको बताउनुभएको छ । नेकपा एमाले सुनसरी क्षेत्र नम्बर ६ को अधिबेसन उृद्घाटन गर्दै भण्डारीले अहिले राष्ट्रिय एकता कमजोर भएकोले दलहरुबीच एकता आवश्यक रहेको बताउनुभयो ।
नेकपा–माओवादीका अध्यक्ष मोहन बैद्यले नयाँ दिल्लीमा भएको १२ बुँदे सहमतिको औचित्य समाप्त भएको बताएका छन् ।
राजधानीमा आज आयोजित कार्यक्रममा उनले दलहरुका बीच नयाँ सहमति आवश्यक रहेको बताए । पटक–पटक समय थप्दा पनि ठूला दलहरुले सहमति गर्न नसक्नु लाजमर्दो विषय रहेको उनको भनाई थियो ।
उनले नेपालका अधिकांश सञ्चार माध्यमहरु उद्योगको रुपमा रहेको बताए । उद्योग सरह रहेका कारण सञ्चारमाध्यमले स्वतन्त्र रुपमा काम गर्न नसकेको उनको भर्नाइ छ । अध्यक्ष बैद्यले च्याउ झै उम्रिएका एनजीओ र आइएनजीओले वर्गीयतालाई निषेध गरेको बताए ।
राष्ट्रपति डा.रामवरण यादव र प्रमुख चार दलका शीर्ष नेताहरु बीच आज भएको भेटबार्ता औपचरीकतामै सीमित भएको छ ।
राष्ट्रपति कार्यालय शीतल निवासमा आज भएको भेटमा मुलुकको पछिल्लो राजनीतिक अवस्थाका साथै सहमतीय सरकार र प्रधानमन्त्री उम्मेदवारका बारेमा कुराकानी भएको एमाले अध्यक्ष झलनाथ खनालले जानकारी दिए ।
भेट पछि सञ्चारकर्मीसँग कुरागर्दै उनले सहमतीय सरकार बनाउँन पुनः पाच दिनको समय उपलब्ध गराउन आग्रह गरिएको बताए । उनले दलहरुका अडानका कारण समस्या आएको भन्दै एमाओवादीलाई निकासका लागि ध्यान दिन सुझाव दिए ।
डा.यादवले उपलब्ध गराएको यस अघिका समयमा दलहरुले सहमति गर्नुको साटो झन् दुरी बढाए पछि तत्काल निकास आउने देखिएको छैन ।
एमाओवादीले यथास्थितिमा प्रधानमन्त्रीले पद नत्याग्ने जनाउँदै आएको छ भने निर्वाचनका लागि कांग्रेसले आफ्नो दाबी प्रस्तुत गरेको छ ।
नेपाली कांग्रेसका प्रवक्ता दिलेन्द्र बडुले कांग्रेसले राष्ट्रपति समक्ष प्रधानमन्त्रीको उमेदवारी दिइसकेको भन्दै अब सभापति सुशील कोइरालालाई प्रधानमन्त्री बनाउन कुनै बाधा नभएको दावी गर्नु भएको छ ।
रिपोर्टर्स क्लब नेपालले आइतबार आयोजना गरेको साक्षात्कारमा बडूले भन्नुभयो-’उनले राष्ट्रपतिले सहमतिको लागि चालेको कदमले निकास ननिस्कने स्पष्ट भईसकेकोले अब दोस्रो प्रक्रियामा जानुपर्छ । राष्ट्रपतिले संविधानको रक्षा गर्नु पर्छ ।’ सत्ता नछाडने नियतले सत्ता पक्षहरुले बाबुरामको विकल्प गठबन्धन वा पुनःस्थापना ल्याएको दावी गर्दै उहाँले राष्ट्रपति अब संविधानको रक्षा र लोकतन्त्रको सुनिश्चितताको लागि अघि बढ्नु पर्ने बताउनु भयो ।
पुनःस्थापनाको कुरालाई आउड डेटेड भन्दै बडुले कांग्रेस कुनै पनि हालतमा त्यसमा नजाने स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो-’हामीले जेठ १४ गते नै सहमति भएका विषयलाई समेटेर संविधान जारी गरौ भनेकै हौं । पछि पनि छलफल गरेकै हो तर उनीहरुले मानेनन । अब छलफल हुन सक्दैन ।’
एमाले सचिव शंकर पोख्रेलले अब राष्ट्रपतिले विघठित संविधानसभामा प्रतिनिधित्व गर्ने दलहरुको बहुमतको आधारमा प्रधानमन्त्री नियूक्त गर्नु पर्ने धारणा राख्नुभयो । संविधानको धारा ३८ को दुई बमोजिम बहुमतको आधारमा प्रधानमन्त्री बनाउनु पर्ने भन्दै उहाँले भन्नुभयो-’अब राष्ट्रपति यो विकल्पमा जानै पर्छ । अर्को विकल्प छैन ।’
कार्यक्रममा सदभावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले राष्ट्रपतिले संविधानको धारा ३८ को दुई प्रयोग गर्नै नसक्ने दावी गर्दै त्यस्तो गरे आफूहरु राष्ट्रपतिलाई हटाउने चेतावनी दिनुभयो । उहाँले भन्नुभयो-’यो असम्बैधानिक चर्चा हो । राष्ट्रपतिले यस्तो गर्नै सक्दैनन । गरे राष्ट्रपति हटाउने अभियान चलाउँछौ ।’ पुस २५ गतेसम्म सहमति हुन नसके संविधानसभाको पुनःस्थापनामा जानु पर्ने भन्दै उहाँले सहमति भएका विषयलाई समेटेर संविधान जारी गर्नु पर्ने बताउनु भयो ।


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक