20130116

नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले जनताका हकअधिकारलाई सुनिश्चित नगरे फेरि हतियार उठ्ने चेतावनी

फेरी पनि हत्या हिँसा मै फर्किन आत्तुर छ माओवादी बैद्य समुह ! अधिकांश टोली संयोजकहरूले पार्टी जनयुद्धमा जानुपर्ने, जनमुक्ति सेनाको गठन गर्नुपर्ने, जनसत्ता र जनअदालत ब्युँताउनुपर्ने बताए !

नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले जनताका हकअधिकारलाई सुनिश्चित नगरे फेरि हतियार उठ्ने चेतावनी दिनुभएको छ ।     पार्टीको सातौं महाधिवेशनबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “जनताको समस्या समाधान हुन्छ कि हुँदैन मुख्य प्रश्न त्यो हो, समस्या समाधान नभए हतियार उठ्नसक्छ ।”   अध्यक्ष वैद्यले जनयुद्ध कालका अनुभवको आधारमा आन्दोलनलाई अघि बढाउने कार्यदिशा पार्टीको महाधिवेशनले पारित गरेको उल्लेख गर्दै राष्ट्रियता र जनजीविकाका सवाललाई लिएर आन्दोलन चर्काउने निर्णय गरिएको जानकारी दिनुभयो ।  पछिल्ला समयमा राज्य पक्षबाट दैलेखका आफ्ना कार्यकर्ता पक्राउ पर्नु शान्ति सम्झौताको उल्लङ्घन भएको र त्यस्ता घटनालाई सत्य निरुपण तथा मेलमिलाप आयोग गठन गरी टुङ्गो लगाउनुपर्ने उहाँले बताउनुभयो ।   अध्यक्ष वैद्यले भन्नुभयो, “शान्ति
सम्झौताविपरीत जनयुद्धका मुद्दा ब्युँताउने हो भने हजारौं मुद्दाहरू ब्युँतिन्छन्, नेपाली काँग्रेस र नेकपा एमालेसँग सम्बन्धित मुद्दाहरू पनि ब्युँतिन्छन् । यही तरिकाले निहुँ खोज्ने हो भने कोही बच्दैनन् ।”   उहाँले पत्रकार डेकेन्द्रराज थापाको जस्तै द्वन्द्वकालमा राज्यपक्षबाट हत्या गरिएका पत्रकार कृष्णसेन ‘इच्छुक’को कुरा पनि उठाउन पत्रकारहरूलाई आग्रह गर्नुभयो ।    अध्यक्ष वैद्यले संविधानसभाको विघटनसँगै १२ बुँदे सम्झौताको औचित्य समाप्त भएकाले नयाँ परिस्थितिमा नयाँ सम्झौताको आवश्यकता परेका उल्लेख गर्नुभयो ।    उहाँले अब संविधानसभाको चुनाव वा पुनःस्थापनाबाट सङ्कटको समाधान नहुने भएकाले गोलमेच सभाबाट निकास निकाल्नुपर्छ भन्नुभयो ।    वर्तमान सरकारलाई कठपुतलीको संज्ञा दिँदै उहाँले अहिलेसम्मका सबै सरकारलाई माथ गर्ने गरी अहिलेको सरकारले विस्तारवादीको पक्षपोषण गरेको आरोप लागाउनुभयो ।    पत्रकार सम्मेलनमा महासचिव रामबहादुर थापाले पार्टीले महाधिवेशनमा पारित गरेका निर्णयहरूबारे संक्षिप्त जानकारी दिँदै देशमा क्रान्तिका लागि वस्तुगत परिस्थिति परिपक्व बन्दै गएपनि आत्मगत परिस्थिति अझै कमजोर रहेका बताउनुभयो । नयाँ जनवादी क्रान्तिको आत्मगत तयारीका कामहरूलाई अत्यन्तै सचेत र योजनावद्ध रुपमा अघि बढाउनुपर्ने उहाँले उल्लेख गर्नुभयो ।
  वर्तमान सङ्क्रमणकालीन स्थितिमाथि ध्यान दिँदै जनताको सङ्घीय गणतन्त्र, राष्ट्रिय स्वाधीनता, जनताको संविधान र राष्ट्रिय संयुक्त सरकारका लागि सशक्त जनप्रतिरोध सङ्घर्षको कार्यनीति महाधिवेशनले पारित गरेको उहाँले जानकारी दिनुभयो ।
  कार्यनीति कार्यान्वयन गर्न वामपन्थी, देशभक्त, गणतन्त्रवादी र सङ्घीयता पक्षधर शक्तिहरूको नयाँ संयुक्त मोर्चा निर्माणमा जोड दिने महाधिवेशनले निर्णय गरेको महासचिव थापाले उल्लेख गर्नुभयो ।
  जनयुद्धकालीन मुद्दा खारेज गर्नुपर्ने, वर्तमान सरकारले राजीनामा दिनुपर्ने, बेलायतमा पक्राउ परेका नेपाली सेनाका अधिकृत कुमार लामाको रिहाइ गरी सो सम्बन्धी मुद्दाको छानबिन नेपालमै गर्नुपर्ने, भारतसँग गरिएको विप्पा सम्झौता खारेज गर्नुपर्ने, भारत र फिलिपिन्सलगायतका देशमा क्रान्तिकारीमाथिको दमन बन्द गर्नुपर्ने र स्वतन्त्र तिब्बतका नाममा नेपाली भूमिबाट भएको गतिविधि बन्द गर्नुपर्ने लगायतका २६ बुँद समसामयिक प्रस्ताव महाधिवेशनले पारित गरेको छ ।  
पारित प्रस्तावहरु :
१. राज्यद्वारा हालै दैलेखमा जनयुद्धकालीन मुद्दालाई ब्युताएर दमन-धरपकड गरी थुप्रै कमरेडहरुलाई गिरफ्तार गरिएको छ। उक्त घटना शान्ति प्रकृया र बृहद् शान्ति सम्झौताको खुलेआम उल्लङ्घनको घोषणा हो। तसर्थ, उक्त युद्धकालीन मुद्दा खारेज गरी गिरफ्तार गरिएका कमरेडहरुलाई अविलम्ब रिहाई गर ∕ यसका साथै कञ्चनपुर र सिरहा लगायतका ठाउँहरुमा पनि जनयुद्धकालीन मुद्दाहरुलाई ब्युँत्याइरहेको छ। अतः त्यसरी मुद्दा ब्युँत्याउने कार्यहरु अबिलम्व बन्द गर ∕
२. ऐतिहासिक सातौं राष्ट्रिय महाधिवेशनको तयारीका सन्दर्भमा रुपन्देहीमा प्रहरी हिरासतमा हत्या गरिएका क.शैलेन्द्र तिवारीलाई सहिद घोषणा गर र उचित सम्मान र क्षतिपूर्ति दे ∕
३. नेपाली सेनाका अधिकृत कुमार लामालाई लण्डनमा गरिएको गिरफ्तारी नेपालको आन्तरिक मामिलामा हस्तक्षेप हो। उनलाई तुरुन्त रिहाई गराउने व्यवस्था गर ∕ कुमार लामालाई नेपालमा नै छानबिन गरी कारवाही गर ∕
४. म्ाहिलाहरुम्ााथि भइरहेको उत्पीडन, अत्याचार र सबै प्रकारका हिंसाको अन्त्य गर र दोषीहरु म्ााथि कडा कारवाही गर ∕
५. राजधानी लगायतका देशका विभिन्न भागमा सुकुम्बासीलाई हटाउने काम बन्द गर र उनीहरुको अविलम्ब बसोबासको व्यवस्था गर।
६. विद्यमान राजनीतिक गतिरोधको निकास र जनसंविधान निर्माणका लागि ...गोलमेच सभ्ाा...को आयोजना गर ∕
७. कठपुतली बाबुराम भटराई सरकार राजीनामा दे ∕ वामपन्थी, देशभक्त, संघीयता पक्षधर र गणतन्त्रवादी शक्तीहरुको सरकार गठन गर ∕
८. भ्रष्टाचार, कमिशनतन्त्र र कालो बजारी अविलम्व बन्द गर ∕ दोषीउपर छानबिन गरी कारवाही गर ∕
९. युद्धकालमा वेपत्ता पारिएका नागरिकलार्ई सार्वजनिक गर र बेपत्ता पार्ने कार्यमा संलग्न दोषीहरुम्ााथि कारवाही गर ∕ महान् सहिदलाई सहिद घोषणा गर ∕ शहीद परिवार, वेपत्ता योद्धा परिवार तथा घाइतेहरुलाई तुरुन्त सम्मान र राहतको व्यवस्था गर ∕
१०. राजनीतिक आस्थाका कारण निष्काषित कर्मचारी र शिक्षकहरुका साथै महान् जनयुद्धमा पार्टीको आह्वानमा जागिर छोडेका सेना प्रहरीलाई हालसम्मको तलब भत्ता सहित पुनर्बहाली गर ∕
११. घाइते-अपाङ्गहरुलाई उचित राहत, उपचार र रेखदेखको व्यवस्था गर ∕
१२. जनयुद्धका बेला किसानलाई वितरण गरिएको जमिन फिर्ता खारेज गरी जमिनमाथि किसानको स्वामित्व कायम गर ∕
१३. कथित अयोग्य र वहिर्गमनमा पारिएका जनमुक्ति सेनाका मागहरु अविलम्व पुरा गर ∕
१४. सम्पूर्ण जनयुद्धकालीन मुद्दा खारेज गर ∕
१५. चरम महंगी अविलम्ब नियन्त्रण गर र सुपथ मुल्यमा उपभोग्य वस्तु उपलव्ध गराउने व्यवस्था गर ∕
१६. ल्ोाडसेडिङ् हटाउनका लागि तुरुन्त वैकल्पिक व्यवस्था गर ∕
१७. नेपाली युवाहरुका लागि रोजगारीको अविलम्व व्यवस्था गरी युवाहरुको विदेश पलायनको स्थितिको अन्त्य गर ∕
१८. कठपुतली बाबुराम भट्टराई सरकारले भारत संग गरेको ...बिप्पा' लगायतका राष्ट्रघाती सम्झौता खारेज गर ∕
१९. अन्तराष्ट्रिय विमानस्थलको सुरक्षा र अध्यागमन लगायत १५ वटा विमानस्थलको व्यवस्थापन गर्न भनी भ्ाारतीय कम्पनीलाई दिन गरिएका सहमति र सम्झौंताहरु ख्ाारेज गर ∕
२०. राष्ट्रिय हीत विपरीत गरिएका अपर कर्णाली, अरुण तेस्रो, कोसी उच्च बांध सम्वन्धी सम्पूर्ण सहमति र सम्झौताहरु खारेज गर ∕ नेपालको संविधान छलेर कम्पनी कानूनको दुरुपयोग गरी माथिल्लो मर्स्याङ्ग्दी लगायतका जलश्रोत परियोजनाहरु भारतीय कम्पनीहरुलाई दिइएको अनुमति पत्र खारेज गर ∕
२१. भ्ाारतीय विस्तारवादद्वारा भइरहेको सीमा अतिक्रमण बन्द गर ∕ भ्ाारतको सीमा क्षेत्रमा भारतीय सुरक्षाकर्मीहरुद्वारा भइरहेका तमाम प्रकारका हस्तक्षेप, ज्यादती र उत्पीडन बन्द गर ∕ नेपाल भारतबीचको खुला सिमा नियन्त्रण गर ∕
२२. सन् १९५० को असमान सन्धी लगायतका सम्पूर्ण असमान सन्धी सम्झौताहरु खारेज गर ∕
२३. अमेरिकी साम्राज्यवादद्वारा सिरियाको सार्वभौमिकता माथि गरिएको हस्तक्षेपकारी गतिविधि बन्द गर र सिरियामा शान्ति कायम गर।
२४. संसारका विभिन्न भागमा चलेका जनवादी, राष्ट्रिय मुक्ति आन्दोलनको यो महाधिवेशन समर्थन गर्दछ।
२५. भारत, फिलिपिन्स लगायतका क्रान्तिकारीहरु र जनतामाथि भएको दमन बन्द गर ∕
२६. छिमेकी मित्रराष्ट्र चीनको एक चीन नीतिको आन्तरिक मामिलामा प्रतिकूल असर पर्ने गरी कथित ...फ्रि तिब्बत' का नाममा नेपाली भूमिको दुरुपयोग गरी गरिने गतिविधिलाई बन्द गर।
नेकपा–माओवादीको जारी महाधिवेशनको बन्दसत्रमा आफ्नो मत राख्दै अधिकांश समूहका संयोजकहरूले पार्टी जनयुद्धमा जानुपर्ने धारणा राखेका छन् ।
  अध्यक्ष मोहन वैद्यले प्रस्तुत गर्नुभएको राजनीतिक प्रस्तावमाथि २१ वटा समूह बनाई छलफल भएकामा आ–आफ्नो समूहको धारणा राख्ने क्रममा बन्दसत्रमा अधिकांश समूहका संयोजकहरूले पार्टी जनयुद्धको तयारीमा लाग्नुपर्ने बताएका थिए ।
  नेवाः राज्य समितिबाट एकराज भण्डारी, सेती महाकाली राज्य समितिबाट शरत्सिंह भण्डारी, मगरातबाट सीता विक, मिथिलाबाट रोशन जनकपुरी, कोचिला राज्यबाट किरण राईलगायतले आफ्नो समूहको धारणा राखेका थिए ।
  अधिकांश टोली संयोजकहरूले पार्टी जनयुद्धमा जानुपर्ने, जनमुक्ति सेनाको गठन गर्नुपर्ने, जनसत्ता र जनअदालत ब्युँताउनुपर्ने बताएका थिए । उनीहरूले पार्टी अध्यक्ष वैद्यले प्रस्तुत गर्नुभएको जनयुद्धको जगमा जनविद्रोहको प्रतिवेदनको भाव ठीक भएपनि त्यो अस्पष्ट भएकोले त्यसलाई स्पष्ट पार्नुपर्ने बताएका थिए ।
  त्यस्तै, प्रतिवेदनमा एमाओवादीका मुख्य नेताहरूलार्ई नवसंशोधनवादी मात्रै भनेर नपुग्ने भएकाले उनीहरूलाई दलाल  भन्नुपर्ने माग सबै टोलीका संयोजकहरूले राखेका थिए ।
  पार्टीका केन्द्रीय सदस्य तहसम्मका नेताहरूको सम्पत्ति पार्टीकरण गरिनुपर्ने, सरकारमा कुनै हालतमा सहभागी हुन नहुने, पार्टीको दोस्रो राष्ट्रिय सम्मेलनले पारित गरेको प्रचण्डपथ, संविधानसभाको चुनावलगायतका नीति असफल भएकाले दोस्रो राष्ट्रिय सम्मेलनदेखि चुनवाङ बैठकसम्म आइपुग्दाका पार्टी निर्णयहरू गलत भएको, धोवीघाट गठबन्धन बनाउन संलग्नहरूले आत्मालोचना गर्नुपर्नेलगायतका धारणा टोली संयोजकहरूले राखेका थिए ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक