20130121

पुष्पकमल दाहालले आफू प्रधानमन्त्री हुन तयार रहेको बताए

* कांग्रेस सभापति सुशील कोइरालाले आफैं प्रधानमन्त्री हुन एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले षड्यन्त्र गरेको आरोप
* एमाले अध्यक्ष झलनाथ खनालले संविधानसभा विघटन हुनुदेखि लिएर अहिले सहमति हुन नदिनुको मुख्य दोषी एमाओवादी रहेको आरोप
* कांग्रेस नेताहरूले प्रधानमन्त्री बाबुराम भट्टराई जंगबहादुर शैली देखाएर स्वतन्त्र प्रेस र लोकतन्त्र सिध्याउने अभियानमा लागेको आरोप
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले आफू प्रधानमन्त्री हुन तयार रहेको बताएका छन् । त्यसैमा थप्दै प्रधानमन्त्री बाबुराम भट्टराईले पनि दाहाल नै आफ्नो पार्टी पहिलो विकल्प रहेको बताए । एमाओवादी गोरखाको सातौं जिल्ला अधिवशन उद्‍घाटन गर्न यहाँ आएका दाहालले भावी सरकारको नेतृत्व दाबी गरेका हुन् । ‘नयाँ विकल्पका रुपमा म पनि प्रधानमन्त्री हुन तयार छु,’ दाहालले भने, ‘कांग्रेस नेताहरुले समेत गिरिजाप्रसाद कोइरालापछि मुलुकलाई निकास दिने मान्छे प्रचण्ड हो भनेका छन्, बावुरामजीलाई मान्दै नमान्ने हो भने प्रचण्डमा सहमति गरौँ न त भनेर मैले प्रस्ताव गरेका हुँ ।’ प्रधानमन्त्री भट्टराईले पनि राष्ट्रिय सहमति
सरकारमा पहिलो विकल्प अध्यक्ष दाहाल नै हुने बताए । ‘हाम्रो पार्टीमा पहिलो विकल्प अध्यक्ष नै हो,’ उनले भने, ‘दलहरु बिच सहमति कायम गरेर जेठको दोस्रो सातासम्म निर्वाचन गर्नुपर्छ ।’‘नयाँ संविधान सभाको चुनाव गर्न एमाओवादी जुनसुकै लचकता अपनाउन तयार छ,’ प्रधानमन्त्री भट्टराईले भने, ‘विपक्षीहरु निर्वाचन देखि डराएर पहिल्यै सरकार मागिरहेका छन् । मलाई सरकार दे, होइन भने निर्वाचनमा जान्नौं भन्नु, यो कहाँको लोकतन्त्र हो ?'
कांग्रेस सभापति सुशील कोइरालाले आफैं प्रधानमन्त्री हुन एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले षड्यन्त्र गरेको आरोप लगाएका छन् । 'हिजो मात्र मलाई एमाओवादीकोतर्फबाट यस्तै संकेत आएको छ,' प्रेस युनियनले भरतपुर विमानस्थलमा सोमबार दिउँसो गरेको पत्रकार सम्मेलनमा उनले भने, 'राजनीति सहमति एमाआवबादीले किन नचाहेको पुष्टि हुँदैछ ।' उनले एमाआवबादीले चुनाव नचाहेकोले दाहालको षडयन्त्र अहिले बाहिर आएको बताए । उनले दाहालललाई पनि कांग्रेसले समर्थन नगर्ने संकेत गरे । 'फेरि प्रचण्डलाई हामीले समर्थन किन गर्ने ?,' उनले सोधे ।
एमाओवादीको यस्तो रवैयालाई आन्दोलनले परास्त गर्ने कोइरालाको चेतावनी थियो । दाहालले शान्ति सम्झौताका पत्रहरु च्यातेर विद्रोह गर्ने धम्की प्रति कांग्रेस नडराउने उनले उल्लेख गरे । 'यस्तो धम्कीले कांग्रेस लगायत दललाई केही फरक पर्नेवाला छैन,' कोइरालाले भने, '००७ सालदेखि कांग्रेस हरेक तानाशाहसँग लडेको पार्टी हो ।' सर्वसत्ताबाद लाद्न खोज्ने एमाओवादीसँग कांग्रेस पछाडि नहट्ने उनले बताए ।
'लोकतन्त्रका बिषयमा कसैसँग सम्झौता हुँदैन,' सभापति कोइरालाले भने, 'जुनसुकै मुल्य चुकाउन तयार छौं, तर लोकतन्त्र माथि खतरा हुन दिंदैनौं ।' प्रधानमन्त्री बनाउन भनेर मलाई एमाआवादीले झुक्याएको नभई उनीहरु आफैं गलत सावित भएको बताए ।
एमाले अध्यक्ष झलनाथ खनालले संविधानसभा विघटन हुनुदेखि लिएर अहिले सहमति हुन नदिनुको मुख्य दोषी एमाओवादी रहेको आरोप लगाएका छन्  ।
उनले एमाओवादीले चलखेल र शक्ति संचयका निम्ति संविधानसभा विघटन गराएको दावी गरे । संवैधानिक निकाय सबै रिक्त हुँदै गएको बेला एमाओवादी जंगबहादुर शैलीमा शासन चलाउन खोजेको भन्दै उनले जंगबहादुर शैलीका अगाडि आफूहरु चुप लागेर नबस्ने बताए ।
'अब राष्ट्र धम्कीबाट चल्दैन,'उनले भने 'एमाओवादीको सर्वसत्ताविरुद्ध एमाले अगाडि बढ्छ ।'
पार्टी कार्यालय बल्खुमा आयोजित परिवर्तित सन्दर्भमा शिक्षा निती विषयक विचार गोष्ठीमा बोल्दै उनले एमाओवादी जनताको हक अधिकार कार्यान्वयनको ठाउँलाई बेवास्ता गर्दै विध्वंसात्मकम भूमिका बढी खेलेको आरोप लगाए । एमाले उपत्यका विशेष समन्य कमिटिी अन्तर्गतको शिक्षा तथा मानवस्रोत विभागले उक्त कार्यक्रमको आयोजना गरेको हो ।
'हामी सहमतिका लागि हामी तयार छौं,'खनालले भने 'तर, उसको निरंकुशता र सर्वसत्तावादलाई मानेर हिड्दैनौं ।'
कांग्रेस नेताहरूले प्रधानमन्त्री बाबुराम भट्टराई जंगबहादुर शैली देखाएर स्वतन्त्र प्रेस र लोकतन्त्र सिध्याउने अभियानमा लागेको आरोप लगाएका छन् । कांग्रेस केन्द्रीय सदस्य विमलेन्द्र निधि, ज्ञानेन्द्रबहादुर कार्की, एनपी सावद, धनराज गुरुङ, किशोरसिंह राठौर, महालक्ष्मी उपाध्याय, नेविसंघका प्रथम अध्यक्ष बिपिन कोइरालालगायतले पार्टीले सशक्त आन्दोलन नगरेमा उपलब्धिसमेत गुम्न सक्ने बताए ।
'माओवादीका जिम्मेवार नेताहरूले सबै सहमति च्यातिन्छ भनेर सार्वजनिक रूपमा बोल्न थालेका छन्, यो अराजकताको नमुना हो,' नेविसंघका पूर्वउपाध्यक्ष नैनसिंह महरद्वारा लिखित संकल्प पुस्तकको आइतबार विमोचन गर्दै निधिले भने, 'राजनीतिक सहमतिका सबै दस्तावेज च्यात्छु भन्नेले लोकतन्त्र र राष्ट्रियता बचाउन सक्दैन । अहिले यी दुवै धरापमा परेको छ ।'
माओवादी आफैंले सहमति र निर्वाचन दुवै नचाहेको विभिन्न घटनाक्रमले पुष्टि भइसकेको उल्लेख गर्दै निधिले भट्टराईले नेतृत्व गरेको सरकारले मुलुकको अवस्था क्यान्सर र टीभी एकैचोटि लागेको व्यक्तिको हविगतजस्तै बनाएको बताए ।
अर्का नेता कार्कीले पार्टीका भ्रातृसंस्था प्रभावी बनाएर अघि बढेमा मात्रै माओवादीको सर्वसत्तावादविरुद्ध लड्न सकिने बताए । गुरुङले प्रधानमन्त्री भट्टराई नयाँ जंगबहादुरको शैलीमा उदाएको बताउँदै उनलाई विस्थापित गर्न पार्टी आन्दोलित हुनुपर्ने बताए । 'डाक्टर भट्टराई नयाँ जबरा बनेका छन् । उनको शासनकालमा प्रेस स्वतन्त्रतालाई माटोमुनि गाड्न थालिएको छ,' गुरुङले भने, 'प्रेस स्वतन्त्रता मर्नु भनेको लोकतन्त्र समाप्त हुनु हो । यसको विरुद्ध पार्टीले सशक्त आन्दोलन चलाउनुपर्छ ।'


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक