20130128

जेल जानुपर्ने डरले प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सर्वोच्च अदालतलाई यसरी ढाँटे

* पत्रकार डेकेन्द्रराज थापाको हत्या अभियोगमा ९ जनाविरुद्ध दैलेख जिल्ला अदालतमा कर्तव्य ज्यान मुद्दा दर्ता,  सर्वस्वससहित जन्मकैदको माग
बाबुराम भट्टराई नेतृत्वको सरकार नेपालको इतिहासमै सबैभन्दा भ्रष्ट सरकार भएको आरोप
* अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्ष एवम् प्रधानमन्त्री डा बाबुराम भट्टराई र अर्का उपाध्यक्ष एवम् उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ समूहमा विभाजित माओवादी जिल्ला भेलामा कुर्सी हानाहान
  प्रधानमन्त्री डा. बाबुराम भट्टराईले द्वन्द्वकालमा मारिएका दैलेखका पत्रकार डेकेन्द्रराज थापाका हत्याको अनुसन्धान अघि नबढाउन आफूले कुनै आदेश नदिएको दावी गर्नु भएको छ । उहाँले थापाको हत्यासम्बन्धि अनुसन्धान रोकेको भनेर सञ्चारमाध्यमा हल्ला फैलाएर आफूमाथि झुटो आरोप लगाइएको वताउनु भएको छ । उहाँले आफूले सर्वोच्च अदालतको अबहेलना नगरेको  समेत दाबी गर्नु भएको छ ।  अदालतको सम्मान नगरेको भन्दै परेको अबहेलना मुद्दाको सोमवार सर्वोच्च अदालतलाई लिखित जवाफ दिदै प्रधानमन्त्रीले आफूले दैलेखका पत्रकार थापाको हत्याको अनुसन्धान रोक्ने कुनै आदेश नदिएको उल्लेख गर्नु भएको छ । प्रधानमन्त्री भट्टराईले आफूले जहिले पनि अदालतको सम्मान गरेको र अझ मुलुकको कार्यकारी प्रमुखको हिसाबले कुनै अनुसन्धान रोक्न आदेश नदिएको समेत उल्लेख गर्नु
भएको छ । आफूमाथि कुनै पनि आधारबिना झुठो लान्छना लगाउने उद्देश्यले अदालतमा दायर गरिएको रिट खारेज भट्टराईले माग गर्नुभएको छ । सर्वोच्च अदालतलाई बुझाएको ५ पृष्ठ लामो जवाफमा प्रधानमन्त्रीले १० वर्षे द्वन्द्वकालमा भएका घटना छानवीन गर्न लागि सत्य निरुपण तथा मेलमिलाप आयोग गठनसम्बन्धि अध्यादेश जारी गर्नका लागि सरकारले राष्ट्रपतिसमक्ष पठाएपनि त्यो जारी नहुँदा समस्या समाधान गर्न गाह्रो भएको उल्लेख गर्नु भएको छ । पत्रकार डेकेन्द्र राज थापा हत्याका आरोपीको बयान रोक्न आदेश दिएपछि अदालतको अबहेलना गरेको भन्दै सर्वोच्च अदालतले प्रधानमन्त्री र महान्यायाधिवक्ता मुक्ति प्रधानलाई सात दिनभित्र अदालतमा आफै उपस्थित भएर बयान पेश गर्न आदेश दिएको थियो । प्रधानले भने आइतवार नै सर्वोच्च अदालत पुगेर आफ्नो बयान दिएका थिए । अनुसन्धान रोक्न प्रधानमन्त्रीले अभिव्यक्ति दिएको र महान्यायाधिवक्ताले अनुसन्धान रोक्न पत्र काटेर अदालतको अवहेलना भएको भन्दै अधिवक्ता कमल प्रसाद इटनी र नेपाल प्रेस सचिव सन्तोष न्यौपानेले गरेको दायर गरेको रिटमा सुनुवाई गर्दै न्यायाधिश सुशीला कार्कीको एकल इजलासले सात दिनभित्र लिखित जवाफ सहित उपस्थित हुन आदेश दिएको थियो ।

 यता पत्रकार डेकेन्द्रराज थापाको हत्या अभियोगमा ९ जनाविरुद्ध दैलेख जिल्ला अदालतमा कर्तव्य ज्यान मुद्दा दर्ता भएको छ । उनीहरुलाई सर्वस्वससहित जन्मकैदको माग गरिएको छ । ‘मलुकी ऐनको ज्यानसम्वन्धी महलको १३ (३) अनुसार ९ जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरिएको छ’ अनुसन्धान अधिकृत एवं प्रहरी निरीक्षक विनोद शर्माले अनलाइनखबरसँग भन्नुभयो ।
प्रहरीले सरकारी वकिलको कार्यालयमार्फत लक्ष्मीराम घर्ती, जयबहादुर शाही, वीरबहादुर केसी, निरक घर्तीमगर र हरिलाल पुनविरुद्ध मुद्दा दर्ता गरेको हो । पुस २९ गते पक्राउ परेका उनीहरुले डेकेन्द्रको हत्या गरेको स्वीकार गरिसकेको प्रहरी प्रतिवेदन एवं अभियोगपत्रमा जनाइएको छ । यस्तै फरार रहेका अरुण भन्ने बमबहादुर खड्का, मुक्त भन्ने बमबहादुर खड्का, केशव खड्का र मुक्तिराम लामिछानेविरुद्ध पनि मुद्दा दायर गरिएको छ ।
तत्कालीन माओवादी कार्यकर्ताले ०६१ साउन २७ गते पत्रकार थापाको हत्या गरेका थिए । थापा हत्या प्रकरणमा ०६५ भदौ ५ गते प्रहरीमा उजुरी परेको थियो । प्रहरीले अनुसन्धान थालेको ४ वर्षपछि सोमबार अदालतमा अभियोग दर्ता भएको हो ।
यसअघि सरकारले महान्यायधिवक्ताको कार्यालयमार्फत् अनुसन्धान अघि नबढाउन निर्देशन दिएको थियो । तर, सर्वोच्च अदालतले मुद्दा नरोक्न आदेश दिएपछि थापाको मुद्दाले अदालतमा प्रवेश पाएको हो ।

यसै बिच नेपाली कांग्रेसका सभापति शुसील कोइरालाले सडक आन्दोलनबाट सरकारलाई घुँडा टेकाई छाड्ने बताउनुभएको छ । सहमतिका लागि तयार नहुने सरकार आन्दोलनको आँधीबेहरीबाट पाखा लाग्ने उहाँले दाबी गर्नुभयो । शहिद दिबसका अवसरमा सोमबार बाँकेको फत्तेपुरमा आयोजित कार्यक्रममा सभापति कोइरालाले सहमतिको मुख्य बाधक एमाओवादी भएका कारण मुलुक अनिर्णयको बन्दी बनिरहेको आरोप लगाउनुभयो । माओवादी डर, त्रास र धम्कीका भरमा सत्तामा टिकिरहन खोजेको भन्दै उहाँले सत्ता कब्जा गर्ने उसको चाहना दिवास्वप्न भएको समेत उल्लेख गर्नुभयो । कांग्रेस सभापति कोइरालाले जनतालाई दमन गर्ने माओवादी पतन भएर जाने समेत बताउनुभयो । उहाँले जनताको मन जितेर राजनीति गर्न माओवादीलाई आग्रह गर्नुभयो । माओवादी प्रेसप्रति अनुदार रहेको प्रष्ट भइसकेको बताउँदै उहाँले पत्रकारको आन्दालेनप्रति आफ्नो पार्टीको ऐक्यबद्धता रहेको बताउनुभयो । कार्यक्रममा कांग्रेस नेता मोहम्द अफताब आलमले माओवादीले नै मुलुकमा सहमतिको राजनीति तोडेको भन्दै विश्वासको वातावरण निर्माण गर्ने जिम्मा उसकै भएको बताउनु भयो ।

विपक्षी दलका नेताहरुले प्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको सरकार नेपालको इतिहासमै सबैभन्दा भ्रष्ट सरकार भएको आरोप लगाएका छन् । रिपोर्टर्स क्लब नेपालले आइतबार आयोजना गरेको साक्षात्कारमा कांग्रेस नेता डा. रामशरण महतले नेपालको इतिहासमै अहिले जस्तो खुलेआम र धेरै परिमाणमा भ्रष्टाचार नभएको बताउनु भयो । संसद नभएको, अख्तियार आयूक्त विहिन भएको, आफ्नो स्वार्थको कर्मचारीलाई अख्तियार पुर्याएको र अदालत समेत खाली गराउँदै छानविन हुने निकाय नै नराखी खुलेआम भ्रष्टाचार गर्ने योजनमा माओवादी रहेको भन्दै उहाँले अहिलेको सरकार भ्रष्टाचारलाई सम्मानित बनाउने ईतिहासकै सबैभन्दा कलंकीत र भ्रष्ट सरकार भएको आरोप लगाउनु भयो । माओवादी लडाकूको समायोजनमा खर्च भएको १७ अर्ब रुपैयाँ मध्ये फर्जी हस्ताक्षरबाट ५ अर्बसम्म भ्रष्टाचार गरेको दावी गर्दै उहाँले कुनै हालतमा नछाड्ने बताउनु भयो ।
एमालेका नेता रघुवीर महासेठले अहिलेको सरकारले राणा, पन्चायत र बहुदलीय कालमा भएको भ्रष्टाचारलाई समेत विर्साएको दावी गर्नुभयो । उहाँले अहिलेको भ्रष्टाचारको जिम्मेवारी एमाओवादीले लिनु पर्ने नभए नेपाली जनताले तह लगाउने चेतावनी दिनुभयो ।
साक्षात्कारमा शान्तिमन्त्री टोपबहादुर रायमाझीले विपक्षी दलहरुको आरोप चिल आयो भनेर स्यालको चल्ला खाने दाउ जस्तै भएको बताउुन भयो ।
राजनीतिक आन्दोलनबाट कुर्सी नपाएर विपक्षीहरुले भ्रष्टाचार र चन्दाको कुरा उठाएर कुर्सी पाईन्छ कि भनेर आरोप लगाएको दावी गर्दै उहाँले भदौमा आँखा फुटेको गोरुले सधै हरियो देख्छ भनेर विपक्षीलाई नै भ्रष्टाचारीको संज्ञा दिनुभयो । उहाँले भन्नुभयो-’हुने खाले एमाले र कांग्रेसले चन्दा उठाउँछन भने हामिले किन नउठाउने ?’
राजनीतिक निकासका विषयमा छलफल नै नगरी कुर्सीको मात्रै कुरा गरेर प्रतिपक्षीहरुले अल्पमतको अधिनायकबाद लाद्न खोजेको भन्दै सरकार निकम्मा भए निर्वाचनमा गएर हराउन चुनौति दिनुभयो ।


यता एकीकृत नेकपा माओवादीको महाधिवेशनमा सहभागी हुने प्रतिनिधि छनौटका लागि सुनसरीको इटहरीमा आयोजित जिल्ला भेलामा कुर्सी हानाहान भएको छ । दुई दिनसम्म अति गोप्य ढङ्गले भएको जिल्ला भेलाको दोस्रो दिन प्रतिनिधि छनौटका क्रममा आपसमा हात हालाहालको स्थिति पैदा भएपछि प्रहरी नै बोलाउनु परेको थियो । भेलामा प्रमुख अतिथि बनेर आएका कोचिला राज्य समिति संयोजक तथा पूर्वमन्त्री गोपाल किराँतीप्रति असन्तुष्ट जिल्लाका नेता तथा कार्यकर्ताले आक्रमण गर्ने परिस्थिति बनेपछि प्रहरी आउनु परेको थियो । प्रतिनिधि छनौटका क्रममा जुझारु युवा नेताहरुको प्रतिनिधित्व नगराइएपछि इटहरीको रिजाल्स भिजन हलमा नै कुर्सी हानाहान र तोडफोड हुन थालेपछि सम्मेलनस्थल तनावग्रस्त बन्न पुगेको थियो ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्ष एवम् प्रधानमन्त्री डा बाबुराम भट्टराई र अर्का उपाध्यक्ष एवम् उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ समूहमा विभाजित माओवादीमा समान प्रतिनिधि छनौटको वातावरण नबनेपछि कार्यकर्ताहरु गोपाल किराँतीप्रति आक्रोशित बनेको एक सहभागीले बताएका छन् । कार्यकर्ताको तीव्र आक्रोश बढेपछि केही कार्यकर्ता र प्रहरीले किराँतीलाई घेरामा राखेर सुरक्षित स्थानमा लैजानु परेको थियो । तीव्र विवाद र झडपका बीचमा पनि हिजो अबेरसम्ममा १८ जना महाधिवेशन प्रतिनिधिको छनौट भएका छन् । पार्टी सदस्यताका आधारमा सुनसरीबाट २२ जना प्रतिनिधि छनौट हुनुपर्ने थियो । पार्टी नीतिअनुसार २ सय सदस्यबाट एकजना महाधिवेशन प्रतिनिधि छनौट हुने प्रावधान रहेको छ ।
तनावका बीचमा छनौट भएका १८ जना महाधिवेशन प्रतिनिधिमध्ये अध्यक्ष पुष्पकमल पक्षबाट हिमाल सुवेदी, सन्तोष थारू, भूमिका चौलागाइर्ं, सपना परियार, शारदा बराल, बिस्ना राई, दिलु मियाँ, आइन्द्र मेघालगायत रहेका छन् । जिल्ला सम्मेलनमा छनौट भएका महाधिवेशन प्रतिनिधिमध्ये प्रधानमन्त्री भट्टराई पक्षका भनिएकाहरु केदार गुरागाईं र भोला बस्नेत परेका छन् भने अर्का उपाध्यक्ष श्रेष्ठका समर्थकहरुमध्येबाट अशोक राई, अनिता परियार र सिर्जना शिवामात्र छन् ।
पूर्वसभासद्समेत रहेका नेता सन्तोष थारूले बाँकी चारजना महाधिवेशन प्रतिनिधिको पनि छनौट हुने र त्यसमा मधेसी मुस्लिम वा छुट्नै नहुने समुदायका नेतालाई राखेर महाधिवेशन प्रतिनिधि पूरा गर्ने सहमति बनेको बताउनुभयो ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक