20130109

चार दलका नेताहरुले सहमति हुनै लागेको भन्दै आठ पटकसम्म समय मागेर जनता झुक्याएपछि ....!

माओवादी अध्यक्ष वैद्यले नेपालमा जनवादी क्रान्ति सम्भव रहेको भन्दै आवश्यक पर्‍यो भने १० वर्षे जनयुद्धमा भन्दा पनि ठूलो बलिदान गर्न तयार रहेको धम्की
 राष्ट्रपति डा. रामवरण यादवले सहमतिका लागि दलहरुलाई दिएको आठौ पटकको समयसीमा सकिएपछि अब सर्वदलीय बैठकबाट समाधान खोजिने भएको छ । चार दलका नेताहरुले सहमति हुनै लागेको भन्दै आठ पटकसम्म समय मागेर जनता झुक्याएपछि राष्ट्रपति कार्यालयले अब समय नथपी सर्वदलीय बैठकबाट समाधानको खोजी गर्न लागेको हो । राष्ट्रपति यादवले आज चार दलका शीर्ष नेतासंग छलफल गर्ने र भोलि विघटित संविधानसभाका रहेका सबै दलहरुको बैठक राख्ने तयारी गर्नुभएको छ । आठौ पटक दिईएको म्याद सकिएको अबस्थामा चालिने कदमबारे राष्ट्रपतिले विभिन्न पक्षसंग परामर्श गरिसक्नुु भएको छ । आजदेखि निर्वाचन आयोग पूर्ण रुपमा खाली हुने, ऐन कानून र राजनीतिक सहमतिको
अभावमा आगामी बैशाखमा निर्वाचन हुन नसक्ने अवस्थामा आफूले के गर्ने भन्नेबारे राष्ट्रपतिले दलका नेता, बुद्धिजीवि र संविधानविद्सँग छलफल केन्द्रित गर्नुभएको थियो ।
नेकपा–माओवादीको महाधिवेशन हिजोदेखि काठमाडौमा शुरु भएको छ । एकीकृत माओवादीबाट अलग भएर नयाँ माओवादी पार्टी गठन भएको ८ महिनापछि मोहन बैद्य नेतृत्वको माओवादीले पहिलो पटक महाधिवेशन गरेको हो । अध्यक्ष बैद्यले राजधानीको खुल्लामञ्चमा महाधिवेशनको उद्घाटन गर्नुभयो । महाधिवेशनलाई सम्बोधन गर्दै बैद्यले संसदवादी शक्तिहरु देश सञ्चालन गर्न असफल भएको भन्दै अब नयाँ ढंगले मुलुक चलाउनु पर्ने बताउनुभयो । त्यसका लागि देशभक्त र गणतन्त्रवादी शक्तिहरुलाई एक हुन उहाँले आग्रह गर्नुभयो । राजनीतिको नाममा ठूला दलले देश र जनतालाई धोका दिएको भन्दै उहाँले उनीहरुले गर्ने कुनै पनि सहमतिलाई आफूहरुले स्वीकार नगर्ने उद्घोष गर्नुभयो । विगतमा युद्ध थालेका बेला पार्टीले लिएको लक्ष्यबाट मूल नेतृत्व विचलित भएपनि आफूहरुले क्रान्तिलाई धोका नदिने उहाँको भनाइ थियो । त्यसका लागि आवश्यक परे फेरि क्रान्ति र संघर्ष गरेरै अघि बढ्ने बैद्यको भनाइ थियो । बैद्यले छिमेकी मुलुक भारतसँग आफ्नो पार्टीले सम्बन्ध सुधार्न चाहेको समेत बताउनुभयो । तर त्यसका लागि नेपाललाई हेर्ने भारतीय दृष्टिकोणमा परिवर्तन आउनुपर्ने उहाँको भनाइ थियो । महाधिवेशनको उद्घाटन कार्यक्रममा आमन्त्रित विभिन्न दलका नेताहरुले वर्तमान सरकार राजनीतिक गतिरोधको मूल कारक भएको भन्दै बाबुराम भट्टराई नेतृत्वको सरकारको बहिर्गमन सहमतिको एकमात्र विकल्प भएकोमा जोड दिएका थिए । तर काँग्रेस, एमाले एकीकृत माओवादी लगायतका दलहरुलाई भने माओवादीले महाधिवेशनको उद्घाट्न समारोहमा समेत आमन्त्रण गरेन । उद्घाटन कार्यक्रम अघि राजधानीका विभिन्न ठाउँबाट झाँकी सहितको ¥याली खुल्ला मञ्चमा पुगेको थियो । सातौं महाधिवेशनको नाम दिइएपनि मूल पार्टी एकीकृत माओवादी विभाजनबाट गठीत माओवादीको यो पहिलो महाधिवेशन हो । महाधिवेशन भाग लिन देशभरबाट करिब १ हजार ६ सय प्रतिनिधि तथा पर्यवेक्षकहरु काठमाडौंमा जम्मा भएका छन् । आजदेखि राजधानीको प्रज्ञा प्रतिष्ठानमा शुरु हुने बन्द सत्रमा अध्यक्ष बैद्यले जनविद्रोहको कार्यनीति सहित राजनीतिक प्रस्ताव, राष्ट्रिय अन्तर्राष्ट्रिय विश्लेषण गरिएको प्रतिवेदन र पार्टीको विधान गरी तीन वटा दस्तावेज पेश गर्ने कार्यक्रम रहेको छ ।
नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्य किरणले अब देशको जिम्मा आफूहरूले लिने बताउनुभएको छ ।
बुधबारबाट राजधानीमा सुरु भएको पार्टीको महाधिवेशन उद्घाटन समारोहलाई सम्वोधन गर्दै वैद्यले नयाँ जनवादी क्रान्ति सम्पन्न गर्न नयाँ नीति, योजना र कार्यदिशा पारित गर्ने बताउनुभयो । ‘नयाँ नीति, योजना र कार्यदिशा पारित गर्नेबाला छौं । सामन्तवाद, साम्राज्यवादविरोधी नयाँ जनवादी क्रान्ति कसरी सम्पन्न हुन्न भन्नेबारेमा गम्भीरतापूर्वक छलफल गरेर अगाडि जाँदैछौं’ वैद्यले भन्नुभयो-’अब देशको जिम्मेवारी हामी लिन्छौं र एउटा क्रान्तिकारी शक्तिका रुपमा अगाडि बढ्न चाहन्छौं ।’

संसदवादी शक्तिहरुले केही गर्न नसक्ने भन्दै उहाँले देशभक्त गणतन्त्रवादी र बामपथी शक्तिहरुको बीचमा मोर्चाबन्दी गर्नुपर्नेमा जोड दिनुभयो । ‘अब यो देशमा संसदवादी शक्तिहरुले केही गर्न सक्नेबाला छैनन् । देशको राष्ट्रिय स्वाधीनताको रक्षा गर्नका निम्ति, जनताका हक अधिकार स्थापना गर्नका निम्ति साँचै नयाँ जनवादी क्रान्ति गर्न जरुरी छ’ उहाँले भन्नुभयो-’यो क्रान्ति गर्न देशभक्त शक्तिहरुको बीचमा राम्रो मोर्चा बन्न जरुरी छ । संसदवादीहरुसँग मोर्चाबाट अब कुनै हालतमा देश अघि बढ्न सक्दैन ।’

माओवादी अध्यक्ष वैद्यले नेपालमा जनवादी क्रान्ति सम्भव रहेको भन्दै आवश्यक पर्‍यो भने १० वर्षे जनयुद्धमा भन्दा पनि ठूलो बलिदान गर्न तयार रहेको बताउनुभयो । रामबहादुर थापा बादललाई प्रधानमन्त्री बनाउँदैमा समस्या समाधान नहुने भन्दै सहभागीले मञ्चमा उठाएको प्रश्नको जवाफ दिँदै वैद्यले पुरानै तरिकाले सिंहदरवार नछिर्ने बताउनुभयो । उहाँले भन्नुभयो-’हामी पुरानो तरिकाले सिंहदरबारमा छिर्न चाहँदैनौं । हामी नयाँ सिंहदरवार बनाउन चाहन्छौं । नयाँ नेपाल बनाउन चाहन्छौं ।’

अध्यक्ष वैद्यले चीनले नेपालको राष्ट्रिय स्वाधिनताको सम्मान गरेको तर, भारतले हस्तक्षेप गरेको भन्दै दक्षिणी छिमेकीको आलोचना गर्नुभयो । वैद्यले चीनको प्रशंसा गरिरहँदा उद्घाटन समारोहमा चिनियाँ राजदूत याङ होउलान्समेत उपस्थित हुनुहुन्थ्यो । चिनियाँ कम्युनिष्ट पार्टीको शुभकामना पत्र प्राप्त भएको जनाऊ कार्यक्रम सञ्चालक सीपी गजुरेलबाट गराइएको थियो ।

‘उत्तरको छिमेकी चीनले नेपालको राष्ट्रिय स्वाधीनताको सम्मान गरेको छ तर दक्षिणबाट त्यो सम्मान भइरहेको छैन’ वैद्यले भन्नुभयो-’अनेकौं असमान सन्धी सम्झौता छन्, हामी भारतको विरोध गर्न चाहँदैनौं तर, त्यहाँका शासक वर्गले हाम्रो राष्ट्रिय स्वाधीनतामाथि गिद्धे दृष्टि लगाइरहेका छन् ।’ भारतीय जनताको सम्मान गर्ने भन्दै वैद्यले भारतीय सरकारले नेपालको राष्ट्रिय स्वाधीनतामा खतरा हुन नहुने बताउनुभयो । आफूहरु दुई देशको सम्वन्ध राम्रो बनाउने पक्षमा रहेको भन्दै उहाँले भन्नुभयो-’तर, नेपालमाथिको गिद्धे दृष्टिको अन्त्य हुनुपर्‍यो ।’

सम्मलेनको उद्घाटनमा शुभकामना दिन पुगेका पूर्वमाओवादी नेता मात्रिका यादवले वैद्यपक्षको लाइन स्पष्ट नभएको आरोप मञ्चबाटै लगाउनुभएको थियो । ‘धोका दिइयो भने बिद्रोह गर्ने रे, धोका भैसकेको छ, त्यसैले राजनीतिक दिशा स्पष्ट गर्नोस् ।’ यादवले मञ्चबाट भन्नुभयो । साथै बादललाई प्रधानमन्त्रीका लागि राष्ट्रपतिसमक्ष निवेदन दिएकोमा पनि यादवले आपत्ति जनाउनुभयो । ‘गद्दारहरुसँग केको राष्ट्रिय सहमति ?’ यादवले भन्नुभयो ।

अर्का पूर्वमाओवादी नेता मणि थापाले मोहन वैद्य र बादललाई प्रश्न गर्नुभयो- ‘हाम्रो जनमुक्ति सेना खोई ? अनि हाम्रो आधारइलाका खोई ?’ माओवादीमा चुनवाङ बैठकबाटै विचलन आएको बताउँदै थापाले यसको जिम्मेवारी लिन नेताहरुलाई आग्रहसमेत गर्नुभयो । सभामा प्रस्तुत गीतमा पनि ‘हाम्रो जनमुक्ति सेना खोई ? अनि हाम्रो आधार इलाका खोई ? हाम्रा जनअदालत खोई भनेर नेतृत्वलाई प्रश्न गरिएको थियो ।
नागरिक समाजका अगुवा सुन्दरमणि दीक्षितले बाबुरामलाई सरकारबाट हटाएपछि सजिलै समस्या समाधानको मार्गप्रशस्त हुन्छ भन्दै मधेसी दलहरुलाई बाबुरामको साथ छाड्न आग्रह गर्नुभयो ।

महाधिवेशनको उद्घाटन समारोहमा एमाओवादीका नेताहरु पार्टीबाट छटि्टएर गएका बैद्य नेतृत्वको माओवादीलाई शुभकामना दिन पुगेनन् । कांग्रेस, एमाले र सत्तारुढ मधेसी मोर्चाका नेताहरुलाई पनि नबोलाइएको प्रवक्ता पम्फा भुसालले जानकारी दिनुभयो । ‘संशोधनवादविरुद्ध लडौं भन्ने अनि तिनै एमाले, कांग्रेसका नेतालाई मञ्चमा राख्ने कार्य शोभनीय नहुने भएकाले एमाले, एमाओवादी, कांग्रेस र मधेसी मोर्चालाई निम्तो नदिइएको हो ।’-भुसालले भन्नुभयो ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक