20130203

छोरीको बिहेमा जुटेका बाबु रामेश्वर राउत र विराटनगरका उद्योगी गंगाविशन राठीको बीभत्स हत्या !

भक्तपुर सिरुटार–७ का ४५ वर्षीय रामेश्वर राउतको घरभन्दा एक किलोमिटर पर बीभत्स तरिकाले हत्या गरिएको अवस्थामा शनिबार शव फेला परेको छ। माघ २२ गते हुने जेठी छोरी लक्ष्मी राउतको बिहेका लागि परिवारलाई बिहेको सामग्री तयार गर्न लगाएर शुक्रबार बिहान खाना खाई घरबाट निस्किएका राउतको शव शनिबार घरबाट उत्तरतर्फ हत्या गरिएको अवस्थामा परिवारले फेला पारेको छ। शुक्रबार राति घर नआएपछि र फोनसमेत सम्पर्क नभएपछि उनको खोजी शुरू गरिएको परिवारले जानकारी दिएको छ। बिहान मृतक राउतले चढ्ने मोटरसाइकल चित्रपुरको बाटोमा रहेको जानकारी पाएपछि सो स्थानमा पुगेका परिवारले दधिकोट–८ स्थित चित्रपुरमा गहुँ खेतमा राखिएको ढलका लागि प्रयोग हुने सिमेन्टको हिम पाइपभित्र जलेको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। घट्नास्थल दधिकोट–८ मा रहेको ढलको पाइपभित्र आगो लगाएको शव भेटिएको छ भने नजिकै रहेको दधिकोट ८ र ६ वडाको सिमानामा रहेको सडकमा उनकै बा३८प ५२५९ नम्बरको नीलो रङको पल्सर
मोटरसाइकल र हेल्मेट भेटिएको छ। त्यसको केही पर खेतमा उनले लगाएको कालो ज्याकेट तथा त्यसभन्दा तल खेतमा टोपी भेटिएको छ। ज्याकेटबाट नगद ६ हजार ८ सय ९० रुपियाँ, पञ्चशील सहकारीको १ लाखको हस्ताक्षरसहितको चेक, हिमालयन बैंकको चेकबुक, अन्ना क्यासिनोको बिजनेस प्रमोटर लेखिएको परिचयपत्र, टेलिफोनको पैसा तिरेको बिल, विभिन्न कार्डहरू र बिहेको निम्तो कार्डसमेत भेटिएको छ। ढलभित्र शव जलेर चिन्नै नसकिने अवस्थामा रहेको छ भने मृतकको देब्रे खुट्टा पूरै तथा दाहिने खुट्टाको घुँडाभन्दा तलको भाग र कम्मरको भाग छैन भने शरीरका अन्य अंगहरू जलेका छन्। मृतकका दाइ रामभक्त राउतले हिजो बेलुका सवा ५ बजे घरमा परिवारलाई फोन गरेर आफू ग्वार्कोमा रहेको र पैसा दिनेहरूसँग विवाद भइरहेको जानकारी दिएपछि भाइसँग कुनै सम्पर्क नभएको बताउनुभयो। ‘साँझ परिवारका सदस्यलाई आफू पैसा लिन जाँदा विवाद भएको जानकारी गराएपछि उसको फोन सम्पर्क भएन, घरमा नआएपछि फोन गर्दा मोबाइल अफ गरिएको थियो, रातभर परिवार चिन्तामै रह्यो, बिहान मोटरसाइकल बाटोमा भएको खबर आएपछि खोज्न जाँदा त यस्तो पो देखियो’ उहाँले बताउनुभयो।
उता अपहरणमा परेका विराटनगरका उद्योगी गंगाविशन राठीको हत्या भएको छ। अपहरणमा परेको २३ दिनपछि राठीको शव शनिबार भारतको पश्चिम बंगालस्थित टिस्टा खोलाको रोङपोङमा फेला परेको हो। जिल्ला प्रशासन कार्यालय, मोरङका अनुसन्धान उपरीक्षक निरज शाहीले उनको हत्या भएको पुष्टि गर्नुभएको छ। अनुसन्धान उपरीक्षक शाहीले विराटनगरबाट गएको प्रहरी टोलीसँगै रहेका राठीका ज्वाइँले उनको शव शनिबार राति ८ बजे पहिचान गरेको जानकारी दिनुभयो। राठीको शवसँगै फेला परेको अर्को शवको भने पहिचान भएको छैन। गत पुस २७ गतेबाट बेपत्ता राठीको बारेमा लामो समयसम्म घरपरिवार नै अनभिज्ञ थिए। माघ ५ गते राठीले प्रयोग गर्दै आएको मोबाइल नम्बरबाट फिरौती माग गरिएपछि परिवारले प्रहरीलाई खोजबिन गरिदिन अनुरोध गरेका थिए। राठी अपहरणमा नेपाली अपराधीको समेत संलग्नता रहेको हुन सक्ने भन्दै नेपाल र भारतको प्रहरीले संयुक्त खोजी कार्य गर्दै आएको थियो। अपह्त राठीलाई छुटाउन ५० लाख रुपियाँ फिरौती बुझाइसकिएको भए पनि उनी मुक्त हुन सकेका थिएनन्। राठीले प्रयोग गर्दै गरेको मोबाइल नम्बरबाट काठमाडौंमा बसी फिरौती माग्ने गरिएको थियो। नेपाल र भारतीय प्रहरीको संयुक्त अपरेसन टोलीले भारतीय नागरिक सुरेन्द्रकुमार र अभिजित वासुलाई पश्चिम बंगालको बोलपुरबाट नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको थियो। दुई आरोपीलाई नियन्त्रणमा लिई अनुसन्धान गर्न थालिएपछि राठीको अपहरणबारे यथार्थ खुल्ने डरले हत्या भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक