(संसारका १७५ देशमा पढिने, फोहोरी राजनीतिबाट पुरै अलग, संसारभर छरिएर रहेका नेपालीहरुको साझा, स्वतन्त्र, अनलाइन पत्रिका www.NepalMother.com, एउटा क्लिकमा सबैथोक)

20130428

कुन मान्छेहरू कतिखेर के सुन्न चाहन्छन्, त्योअनुसार बोली फेर्न सिपालु प्रचण्डले भारतीय जनता पार्टीका अध्यक्ष राजनाथ सिंह लाई उनीभन्दा बढी हिन्दुवादीका रूपमा आफुलाइ प्रस्तुत गरेर छक्कै पारे !

- - सेतोपाटीबाट
भारत भ्रमणमा रहेका एकीकृत नेपाल कम्युनिष्ट पार्टी माओवादीका अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ले नेपालमा जारी धर्मान्तरण र ‘इसाइ’ जनसंख्यामा भएको बृद्धिप्रति चिन्ता जनाएका छन् । ‘यो कुरा नेपालीहरूले पनि मलाई जानकारी गराएका छन्, मेरा आफ्नै पनि केही अनुभव छन् र त्यसबारे म गम्भीर रूपमा ध्यान दिनेछु,’ चारदिने भ्रमणमा शनिबार दिल्ली पुगेका प्रचण्डले भारतीय जनता पार्टीका अध्यक्ष राजनाथ सिंहसँग व्यक्त गरेको प्रतिबद्धताको हवाला दिदै एक जानकार सुत्रले भन्यो । सिंहले नेपालमा इसाइकरण जारी रहेको अनि हिन्दुहरूबिरुद्ध षड्यन्त्र भइरहेको भन्दै त्यसलाई रोक्न प्रचण्डसँग आग्रह गरेका थिए । प्रचण्डले धर्मकै नाममा कुनै व्यापार हुन नहुने आफ्नो धारणा व्यक्त गदै सिंहलाई आश्वस्त पार्ने कोशिश गरे । शनिबार प्रचण्डको सम्मानमा सिंहले दिएको रात्रिभोजका अवसरमा दुईजनाबीच करिब ४५ मिनेट वार्ता भएको र त्यसमा प्रचण्डले भारतसँगको सम्बन्ध चीन या अन्य मुलुकहरूभन्दा बेग्लै धरातलमा रहेको मान्यता पनि व्यक्त गरे ।
 
‘नेपाल र भारतमा जुनसुकै दल सत्तामा आए पनि त्यहाँ प्रजातान्त्रिक पद्धति बलियोसँग स्थापित हुनु पर्छ भन्ने हाम्रो दलको मान्यताको सेरोफेरोमै प्रचण्डजीसँग वार्ता भयो,’ सिंहले  भने । कुन मान्छेहरू कतिखेर के सुन्न चाहन्छन्, त्योअनुसार बोली फेर्न सिपालु प्रचण्डले उनीभन्दा बढी हिन्दुवादीका रूपमा आफुलाइ प्रस्तुत गरेर सिंहलाई छक्कै पारेको सुत्र बताउँछ ।
 
सिंहले निरन्तर रूपमा नेपाल हिन्दु राष्ट्र हुनुपर्ने, जातीयतामा आधारित राजनीति या राज्य पुनर्संरचनामा जान नहुने अडानका साथ गणतन्त्र या राजतन्त्रबारे निरपेक्षता अपनाउदै आएका छन् । ‘तर, मैले हिजो ती मुद्दामा प्रवेश नै नगरी  खाली नेपालमा प्रजातन्त्रको स्थायीत्व र छिट्टै निर्वाचनको पक्षमा कुरा गरेँ,’ सिंहले भने । उनले भारतको विगत सात वर्षको नेपाल नीति पूर्णतः असफल भएको भन्दै त्यसको समीक्षाको वकालत गर्दै आएका छन् ।
 
सिंहले प्रचण्डलाई भेट्नुअघि नेपालस्थित भारतीय राजदुत जयन्त प्रसादले भाजपा अध्यक्षलाई नेपालको परिस्थिति र माओवादी सम्बन्धमा भारतीय सरकारी अडानबारे ‘ब्रिफिङ’ गरेको बताइन्छ । हेटौंडा सम्मेलनपछि माओवादी दल र अझ खासगरी प्रचण्डले भारतविरोधी अडान छोडेको, असारमा चुनाव हुन नसके पनि मंसिरमा चुनाव हुँदा माओवादीले नै जित्ने सम्भावना बढी रहेको, नेपाली कांग्रेसलगायत अन्य दलहरू कमजोर हुँदा भारतले माओवादीहरूसँग नै काम गर्नुपर्ने अवस्था रहेको विश्लेषणका साथ प्रचण्डको यो भ्रमणलाई भारत सरकारले प्राथमिकता दिएको देखिन्छ ।  दिल्ली जानुभन्दा करिब एक साताअघि मात्र प्रचण्ड चीन भ्रमणबाट फर्केका थिए ।
 
भारत सरकार ‘नेपालमा बढ्दो भारत विरोधी गतिविधिबारे चिन्तित रहेको र त्यो पुरानो सामन्ती पद्धतिद्धारा प्रभावित ‘माइन्डसेट’ का कारण अद्यावधि रहेको माओवादी विश्लेषणलाई भारत सरकारले ‘स्विकारेको’ धारण पनि भाजपामा छ ।
नेपालमा चीनका ‘गतिविधि र संलग्नता’ बढेकामा भाजपाले चिन्ता व्यक्त गरेपछि प्रचण्डले खुला सिमानासाथै लामो ‘ऐतिहासिक र सांस्कृतिक’ सम्बन्ध रहेको भारतको विकल्प चीन या अन्य कुनै पनि मुलुक हुन नसक्ने बताए ।
 
राजनाथ सिंहले किन प्रचण्डलाई आमन्त्रण गरे भन्नेबारे दुई छुट्टा–छुट्टै तर्क छन् । सन् २००८ मा प्रचण्ड प्रधानमन्त्री भएको बेला भाजपा विदेश विभाग संयोजक विजय जोली नेपाल आई पार्टीका तर्फबाट सरकारको सफलताको कामना गरेको र माओवादीभित्र विदेश मामिला हेर्ने कृष्णबहादुर महरामार्फत माओवादी पार्टीसँग सम्बन्ध बनेपछि शिष्टाचार स्वरूप रात्रिभोज आयोजना गरिएको बताइन्छ । जोलीले नै उक्त कार्यक्रमका लागि विशेष पहल गरेको पार्टी सूत्रको भनाइ छ । 
 
दोस्रो, भारतको नेपाल नीतिका कटु आलोचक रहिआएका राजनाथ सिंहले केही महिनाअगाडि प्रमुख प्रतिपक्षी दलको नेतृत्व सम्हालेको र अर्को वर्षको निर्वाचनमा उक्त पार्टीको विजयसमेत हुन सक्ने अड्कलबाजी भइरहेको बेला नेपालको परिस्थिति र नीतिसँग जोडिएको भ्रमण कार्यक्रममा भाजपाको संलग्नताको लागि विदेश मन्त्रालयले नै अग्रसरता देखाएको मान्यता पनि छ ।
 
सरकारी आग्रहमै त्यसो गरिएको पुष्टि केले पनि गर्छ भने प्रचण्डसँग यसपल्ट आफूले उठाउँदै आएको हिन्दु राष्ट्रसम्बन्धी विषयमा सिंह प्रवेश नै गरेनन्, आफ्ना ‘अतिथि’ समक्ष । उनले खाली नेपालमा प्रजातान्त्रिक पद्धति र प्रजातन्त्रको स्थापना, छिट्टै चुनाव र ‘हिन्दु विरोधी गतिविधि नियन्त्रणका साथै धर्मान्तरणमा रोक’को मागमा नै आफूलाई सीमित राखे । 
************************

दिल्ली दूर नहीँ


- नारायण वाग्ले 

भारत आज छरछिमेकमै सबभन्दा कमजोर भइरहेको छ भनेर चिन्ता गर्ने भारतीय नागरिकहरुले बेलाबेखत दिने नेपालको सन्दर्भ घत्लाग्दा हुन्छन् । यस्तै भयो इन्दौर महानगरको प्रेस क्लबले स्वर्ण जयन्ती अवसरमा हालै आयोजना गरेको सार्कस्तरीय भाषा पत्रकारिता उत्सवको अनुभव।
छरछिमेकमा भारत कसरी हार्दै गएको छ भन्ने सिलसिला उप्काउँदै एक पुराना पत्रकारले औपचारिक छलफल सत्रमा प्वाक्क भनिदिए, आज नेपाल, पाकिस्तान, श्रीलंका सबैतिर चीनको सरकार छ।
उनको आशय थियो चीन समर्थित सरकारहरु छरछिमेकमा बनेका छन्, जसले भारतलाई छाडेर चीनसँग सहकार्य गरिरहेका छन् । पाकिस्तान र श्रीलंकालाई छाडौं । नेपालको राजनीतिक स्थिति बुझेको जो पनि त्यस्तो निश्कर्ष सुन्दा हाँस्नुपर्ने हो, तर मध्यप्रदेशको व्यापारिक राजधानी मानिने उक्त समृद्ध महानगरका सहभागी सबै गम्भीर देखिए।
साधारण भारतीय जनताका दृष्टिमा नेपालमा माओवादी पार्टीको जगजगी छ । उसले भर्खर प्रधानन्यायाधीशको नेतृत्वमा सरकार गठन गरिदिएको छ । माओवादी भन्नेवित्तिकै चीनसँग झुकाव राख्नु स्वाभाविक हो । भारतीय माओवादीसँग तिनको सम्बन्ध हुनसक्छ । नक्सलवादीहरु भारतीय राज्यको आन्तरिक सुरक्षाका नम्बर एक चुनौती हुन् । यस्तै यस्तै..।
हिन्दीभाषी प्रदेशका प्रायः हिन्दु भारतीयहरु माओवादीले जितेर नेपाललाई हिन्दु अधिराज्यबाट धर्म निरपेक्ष गणराज्यमा परिणत गरिदिएको र चीनको पोल्टामा पुर्‍याइदिएको ठानेका हुनसक्छन् । पुष्पकमल दाहालले प्रधानमन्त्रीबाट हटेपछि भारतलाई गरेका गाली टेलिभिजनमा हेरेको सम्झना रहेको पनि हुनसक्छ । उनीहरुलाई नेपालमा सबभन्दा हावी पार्टीसँग आफ्नो सरकारको कार्यगत सम्बन्धबारे जानकारी नभएको त प्रष्टै छ।
दिल्लीबाहिरका भारतीय पत्रकार र बुद्धिजीवीलगायतका नागरिकहरु नेपालबारे झनै कम राजनीतिक जानकारी राख्छन् । अध्यक्ष दाहालले बाबुराम भट्टराईले जस्तो भारतमा पढेनन्, भारतमा पनि भूमिगत जीवनै बिताए, एक्कासि काठमाडौंबाट माओवादको झण्डा समातेर तिलश्मी तरिकाले उदाए र प्रधानमन्त्री हुनासाथ चीन भ्रमणमा गए । यस्तैयस्तै साधारण छविहरुबारे सञ्चार माध्यमबाट धारणा बनाएका भारतीयहरु नेपालका माओवादीका कारण चीनको प्रभाव बढेको अनुमान गर्छन्।
अध्यक्ष दाहालले प्रधानमन्त्रीबाट हटेदेखि नै दिल्लीको दर्शन गर्न खोजेका हुन् । अझ सेनापति कटवाल प्रकरणमा भारतलाई सम्झाउनै खोजेका हुन् । त्यसपछि बरोबर आफ्नो सम्बन्धबारे भारतीयमा रहेका आशंका मेट्न प्रयासरत रहे तर दिल्लीले टेरपुच्छर लगाएन । उनले भ्रमणको निमन्त्रणा पाएनन् । फुली नलगाउने सुरक्षा संयन्त्रका प्रतिनिधिहरुस“ग मात्र उनको सम्बन्ध यथावत् राख्नुपर्‍यो।
भूमिगत जीवन छाडेर त्यत्रो चुनाव जितेको पार्टी अध्यक्ष र प्रधानमन्त्री भइसकेर पनि युद्धकालमा झैं उनले फुली नलगाउने सुरक्षा पदाधिकारीहरुलाई नै भेटघाट जारी राख्नुपर्‍यो । द्धिपक्षीय सम्बन्धमात्र होइन, राष्ट्रिय मामिलामै पनि सुझावहरु लिने र पालना गर्ने गरिरहनुपर्‍यो । कहिले बैंकक, कहिले लण्डन, कहिले क्वालालम्पुर त कहिले सिंगापुरदेखि सिलगुढीसम्म उनले चाहार्नुपर्‍यो । सोझै राजनीतिक नेतृत्वसँग वार्ता गर्ने उनको चार वर्षदेखिको चाहना हावामा अल्झिरहेको थियो।
धन्य, हेटौंडा महाधिवेशनबाट राजनीतिक रुपमा हतियारको औचित्य विसर्जन गरेर पुनः अध्यक्षमा निर्वाचित भएलगत्तै उनले दिल्लीसँग सम्बन्ध पुनः औपचारिक रुपमै कसिलो बनाउने कडी सुरु गर्न पाए । त्यस क्रममा भारतीय पक्षलाई विश्वासमा लिन चीनका नवनियुक्त राष्ट्रपतिको निमन्त्रणा समेत एक महिना झुलाइदिए । बेइजिंग प्रस्थान गर्नुअघि कम्तीमा तीनपल्ट भारतीय राजदुतलाई भेटेनन् मात्रै, चीनपछि भारत जाने भनेर घोषणै गरिदिए।
चीनलाई आज जसरी नेपालको स्थिरता र स्थायीत्वको सवाल आफ्नो सुरक्षा स्वार्थसँग गासिएको हुनाले माओवादीसँग बढी व्यवहार गर्नुपरेको छ, त्यसैगरी भारतलाई पनि यही माओवादी र यिनै अध्यक्षमार्फतै नेपालमा आफ्नो सरोकारको संरक्षणका लागि आफ्नो सुबिधाको सरकार बनाउनुपरेको छ । चुनाव जितेर होओस् कि चुनाव जित्ने परिस्थिति निर्माण गरेर होओस् वा चुनाव कहिले होला कसरी होला भन्ने संक्रमणमै पनि आफ्नो अनुकूल सरकार चाहिएको छ।
त्यस्तो अनुकुलता चीन र भारत दुबैले खोजिरहेका छन् भन्ने दाहालका भ्रमणबाटै देखिन्छ । दिल्ली जान विमानस्थल पुग्दा उनले राष्ट्रको प्रतिनिधित्व गरेको बताए । चीनले त उनलाई प्रधानमन्त्री वा राष्ट्रपति सरह वा अझ त्यसभन्दा बढी आतिथ्यता प्रदान गर्‍यो भनेर उनी आफैंले देशबासीलाई जानकारी दिए । एमाओवादी अध्यक्षलाई दुबै छिमेकीले सत्कार र सम्मान गर्नुपर्ने कारण उनी राष्ट्रको प्रतिनिधि भएर होइन तर प्रभावशाली नेता भएर भने पक्कै हो । उनले राष्ट्रको नेतृत्व गर्न सक्दैनन् किनभने उनी एउटा पार्टी अध्यक्ष र पूर्वप्रधानमन्त्री मात्र हुन् । साथै उनले नेपालका लागि आर्थिक सहायता माग्ने जुन प्रचार गरेका छन् त्यसको आधार, औचित्य र वैधता के हो भन्ने सबभन्दा अहम् प्रश्न छ।
न दाहालसँग विधायिकी अधिकार छ, न कार्यकारिणीको । उनले आफ्नो पार्टीगत वा व्यक्तिगत प्राथमिकतालाई राष्ट्रको प्राथमिकताका रुपमा विदेशीसामु कसरी प्रस्तुत गर्न सक्छन् ? के चार दलीय संयन्त्रले रातारात कुनै राजनीतिक सहमतिको दस्ताबेज बनाएर दिएको छ अनि त्यसलाई निजामती मन्त्रिपरिषद्ले अनुमोदन गरेर उनलाई राष्ट्रको प्रतिनिधित्व गर्ने अख्तियारी प्रदान गरेको छ?
दाहाललाई लाग्यो, दुबै छिमेकीले शीर्षस्थ स्तरमा भेटघाट गर्न निमन्त्रणा दिनु नै आफुलाई नेपालको राष्ट्रिय प्रतिनिधित्व वा नेतृत्वको स्तरमा वैधानिकता दिएको हो । राष्ट्रभित्रको वैधानिकता, वैधता, रीतपुर्वक विधि त उनको राजनीतिक र व्यावहारिक शब्दकोशमा छैन पनि । त्यही भएर उनले छिमेकको निमन्त्रणा र सत्कारलाई आफ्नो नेतृत्वको वैधानिकताका रुपमा लिने गरेका छन् । र, आफूलाई प्रधानमन्त्री वा राष्ट्रपतिभन्दा उच्च स्तरमा छिमेकले व्यवहार र सत्कार गरेकाले आफूमा असामान्य अधिकार आर्जन भएको सन्देश दिन खोजिरहेका छन्।
उनी दुबै छिमेकीलाई नेपालमा मिलेर लगानी गर्न आओ भन्न चाहेको देखाउँछन् । चीनमा त त्यही भनेको उनले दाबी गरे । जबकि त्यो चीनकै अवधारणा हो भन्ने प्रष्टै छ । किनभने चीनले लगानी गर्न र आर्थिक सहायता प्रदान गर्न खोज्दा पनि नेपालमा भारतीय प्रभावका कारण धेरै जटिलता उत्पन्न हुने गरेको महसुस गर्दै आएको छ । दाहालले अघिल्लो चीन भ्रमणका क्रममा पनि यस्तै त्रिद्धेशीय सहयोगको अवधारणा प्रस्तुत गरेको बताएका थिए । तत्कालीन चिनीया राजदुतले त्रिद्धेशीय सहयोगबाट बरु वातावरण अनुकूल होला भन्ने आफ्नो सल्लाह नेपाली नेताहरुलाई दिने गरेको अनौपचारिक भेटघाटमा बताएका थिए । दाहालले त्यही त भन्दैछन् नि भनेर सम्झाउँदा ती राजदूतले यस स्तम्भकारसँग प्रतिप्रश्न गरेका थिए, के उनले सार्वजनिक रुपमै भनिसकेका हुन् ?
नेपाललाई लगानी मैत्री राष्ट्र बनाउने बाह्य सदाशयको खाँचो परेको मात्र होइन, राजनीतिक नेतृत्वले त्यसअनुसार राष्ट्रभित्र वातावरण तयार गर्नु आवश्यक हो । तर राजनीतिक नेतृत्वको मौलिक सोच कुनै देखिँदैन । सोच र सिद्धान्तको अभावमा छिमेककै कार्ड खेल्नेमा ऊ अभ्यस्त छ । दाहालले चीनमा गएर भारतसँग मिलेर नेपालमा लगानी गरिदिनुहोला भनेर जसरी भने, त्यसैगरी भारतमा गएर चीनसँग मिलेर नेपालमा आउनुहोला भन्न मरिगए सक्ने थिएनन् । विदेश मन्त्री सलमान खुर्शिदले त उनलाई भ्रमणको पूर्वसन्ध्यामा भारतीय धारणा प्रकट गरिदिएर सजिलो पारिदिएका हुन् । किनभने दाहाललाई प्रष्ट छ, भारतीयहरु नेपालमा चीनसँग मिलेर काम गर्नुपर्छ भन्ने नै सोच्दैनन् मात्र होइन, सोच्न पनि चाहँदैनन्।
भारत के सोच्छ त्यहीअनुसार चीनसँग नेपालले व्यवहार गर्नुपर्छ भन्ने होइन । दुबै छिमेकीसँग असल छिमेकको व्यावहारिक र विश्वसनीय सम्बन्ध कायम राख्नु नेपालको हीतमा हुन्छ भन्ने नेताहरु बुझ्छन् । व्यावहारिक र विश्वसनीय कसरी हुन्छ भन्नेमात्र बुझ्दैनन् किनभने उनीहरु चीन र भारतसँगको सम्बन्धमा राष्ट्रलाई शीरमा राख्ने सामथ्र्यले सज्जित छैनन् । विशेषगरी बाह्र बुँदे समझदारीयता भारतसँगको सम्बन्धमा नेपाली नेताहरुका व्यवहार कूटनीतिक माध्यमबाहिर बढी हुने गरेका छन् । युद्धकालमा दाहाल र भट्टराईले भारतीय सुरक्षा निकायहरुसँग समन्वय गर्ने गरेको र भारतको हीतलाई आघात् नपार्ने शर्तनामा गरेको खुलासाले उनीहरुबाट हुने भारतसँगको व्यवहारमा सधैं प्रश्न उठिरहने नै छ।
अहिलेको प्रश्न भने दाहालको राजनीतिक अभिनयको हो । उनी चीन र भारतसँग एकसाथ व्यवहार कुशलता देखाउन उद्धत छन् । चीन र भारत दुबैतिर गएर भनिदिन्छन्, नेपालमा लगानी गर्नु भएन भने गरिब देशले तपाईंहरुको सुरक्षा सरोकार पूरा गर्न समर्थ नहोला । त्यो एउटा देखाउने मन्तव्य हो । उनको मुख्य चासो आफूलाई राजनीतिक रुपमा स्थापित गर्नु हो र आफूलाई भोलि नेपालमा निर्वाचित नेता बन्न सहयोग गरे छिमेकको ठूलो सहयोगी बन्नसक्छु भन्ने कबोल गर्नु हो । त्यसका लागि उनी दुबैतर्फका र विशेषगरी दक्षिणतर्फका शर्तहरु क्रमिक रुपमा पूरा गर्दै जान तल्लिन देखिन्छन् । यसपटकको भ्रमणले उनको काँधमा थप सर्तहरु थमाइदिनेमात्र हो।
चिनियाँ होउन् वा भारतीय प्रायः सबै नागरिक नेपालप्रति सद्भाव राख्छन्, सहानुभूतिशील पाइन्छन् । सम्बन्धप्रति भावुक भने भारतीयहरु बढी हुन्छन् । नेपालसँगको घनिष्टताका कारण उनीहरु दिल्लीलाई तर्साउन चीनतिर लाग्ला कि भन्नेमा धेरै तर्सिन्छन् । पाकिस्तान, बंगलादेश वा श्रीलंकाका जति जटिलता नेपालसँग छैनन् र नेपाल धेरै हद्सम्म हामीसँग निर्भर छ भन्ने उनीहरुको धारणा पाइन्छ।
गत संविधानसभा निर्वाचनलगत्तै भारतीय विदेश मन्त्रालयले पटनामा नेपाल र भारतका नेता र बुद्धिजीवीबीच दुई दिने सम्मेलन गर्दा भर्खरै प्राप्त विजयबाट पुलकित माओवादी नेताहरु के भन्लान् भन्ने चासोका केन्द्रमा थिए । पार्टीको विदेश विभागका प्रमुखका रुपमा सीपी गजुरेलले आफुहरु भारत र चीनसँग समदूरीको सम्बन्ध राख्ने भनेर सटिक र प्रष्ट तर्कहरु के राख्दै थिए, भारतीय संस्थापन पक्षले त तत्काल कुनै प्रतिक्रिया जनाएन तर बुद्धिजीवीहरु उनीमाथि खनिए।
पटना विश्वविद्धालयका एक पाका प्राध्यापकले आम भारतीयहरुले झैं आफ्नो विचार राख्दै नेपालसँगको घनिष्टताको गहिरो वयान गरे । अनि भने, नेपालले भारत र चीनलाई समान दूरीमा राख्छ भन्ने हामी सोच्न पनि सक्दैनौं, यो बडो अनर्थ होला, कृपया त्यसो नगर्नुहोला ए मेरा भाइ। - सेतोपाटी 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक