20130521

पूर्वसभासद सदरुल मिया हकको निर्ममतापूर्वक घाँटी लगायत शरिरभरी धारिलो हतियार प्रहार गरि हत्या !



दिलीप सिंह / सिरहा, ७ जेठ/ छिमेकीको विहे हेर्न गएका सप्तरीका पूर्वसभासद सदरुल मिया हकलाई साँझ टेलिफोन आयो । ‘आफ्नै पेट्रोलपम्पमा आउनुस् काम छ’ भनेर कसैले बोलायो । आग्रह बमोजिम मिया पेट्रोलपम्प नजिकको अस्थाई निवास जान त गए, तर फर्किएन् । उनको कल्याणपुर २ विसनापुरमा रहेको आफ्नै अस्थाई निवासमा निर्ममतापूर्वक सोमबार राती हत्या गरियो ।
अज्ञात व्यक्तिहरुले मियाको घाँटी लगायत शरिरभरी धारिलो हतियार प्रहार गरि हत्या गरे । तर परिवारजनले विहान मात्र थाहा पाए । सबेरै उठेर नजिकैको स्थाइ निवासमा पुग्ने मिया विहान अबेरसम्म घर नपुगेपछि किन आएनन् भनेर हेर्न जाँदा जिवित देख्न पाएनन् परिवारले । घाँटी रेटिएको र शरिरको विभिन्न भागमा काटिएको अवस्थामा हकका शव फेला पर्यो । हत्याको कारण अहिलेसम्म खुल्न सकेको छैन । हकको हत्याले परिवारजन भावविह्वल
छन् भने सप्तरी जिल्लाबासी शोकमा डुबेका छन् ।

मियाले सोमबार मात्रै आफ्नै इट्टा भट्टाबाट करिब १२ लाख रुपैयाँ बराबरको इट्टा बिक्री गरेका र त्यही रकम लुट्ने मनसायसहित हत्या भएको हुन सक्ने स्थानीयले लख काटेका छन् । उनले बुझेको सो नगद रकम बैङकमा राखेका छन् कि छैनन् भन्ने बारे भने खुल्न सकेको छैन । 
प्रहरीका अनुसार मियाको हत्या भएको घरको कोठाको झ्याल खुल्लै रहेका थिए । हत्या गरिएका मियाँको सर्ट र चप्पल भने घटनास्थल पेट्रोलपम्पभन्दा तीन सय मिटर दक्षिणतर्फ फेला परेको छ । विहान हत्या लगत्तै प्रहरीले तालिमप्राप्त कुकुर लगेर घटनास्थलको अनुसन्धान गर्दा हत्याराले प्रयोग गरेको खुकुरी, लगाएको सर्ट र चप्पल फेला परेको हो । 
पूर्व सभासद मिया हत्याले आक्रोशित आफन्तजन तथा स्थानीयहरुले हत्याको विरोधमा मंगलबार विहानैदेखि पूर्व पश्चिम राजमार्ग अवरुद्ध गरेका छन् । घटनास्थल सदरमुकाम राजविराज देखि ३० किलोमिटर उत्तर पश्चिममा छ । घटना भएको ठाउ राजमार्गदेखि ३० मिटर मात्रै छ । हकको हत्या भएको ठाउदेखि सय मिटरको दुरीमा प्रहरी चौकी र ५ सय मिटरको दुरीमा इलाका प्रहरी कार्यालय कल्याणपुर रहेका छन् । प्रहरीले आवश्यक सुरक्षा प्रदान गर्न नसकेको आक्रोशमा आफन्तजन तथा स्थानीयले प्रहरी विरुद्ध चर्को नाराबाजी गरेका छन् । 
पूर्वसभासदको हत्या भएपनि बिहान साढे १० बजेमात्रै सप्तरीका प्रहरी प्रमुख एसपी सञ्जय सिंह बस्नेत र सशस्त्रका एसपी बेचन यादव घटनास्थल पुगेका थिए । आक्रोशित बासिन्दाहरुले दुबै जना प्रहरी प्रमुख माथि ढुङ्गामुढा प्रहार गरेका थिए । त्यसक्रममा प्रहरी र स्थानीयबीच केहीबेर झडप हु“दा स्थिती तनाबग्रस्त बनेको थियो । झडपका क्रममा स्थानीयले प्रहार गरेको ढुङ्गा लागेर सशस्त्र प्रहरीका असई दिपेन्द्रकुमार भुजेल र सशस्त्र प्रहरी जवान रमेश थापा घाइते भएका छन् । घाइते दुबै जनाका उपचार भईरहेको प्रहरीले जनाएको छ । 
हत्या गरिएको हकको शव घटनास्थलबाट मंगलवार दिउसोसम्म उठाउन दिइएको छैन । स्थानीयले आवश्यक सुरक्षा ब्यवस्था नभएको भन्दै हत्यारामाथि कारबाही हुनुपर्ने र गृहमन्त्री घटनास्थलमै आउनुपर्ने सहितका माग राखेका छन् । 
जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी संजयसिंह बस्नेत र सशस्त्र प्रहरीका एसपी बेचन यादव स्वयंले घटनाको मुचुल्का उठाइरहदा संचारकर्मीहरुलाई घटनास्थल जान दिइएको थिएन । संचारकर्मी हकको हत्या गरिएको तस्विर समेत संकलन गर्नबाट बञ्चित हुनु परेको थियो । 
यता घटनाको विरोधमा पूर्वसभासद मियाको समर्थकहरुले राजविराजको विभिन्न भागमा टायर बाल्दै बजारसमेत बन्द गराएका छन् । उनीहरुले हत्यारामाथि कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय अगाडी टायर बालेर प्रदर्शन समेत गरेका छन् ।  
घटनास्थल पुगेका पूर्वसभासद् मृगेन्द्र यादवले घटना रहस्यमय भएको बताए । मियासँग आफुले कुरा गर्दा पनि आगामी चुनावमा लड्दिन भन्ने गरेकाले राजनीतिक कारणले हत्या भएको हुने सम्भावना कम रहेको बताए । 
घटना भएको स्थल मियाको पेट्रोलपम्प घर नजिकै भएपनि उनी राती किन त्यहाँ  बस्थे भन्ने खुल्न सकेको छैन । नजिकै निवास भएपनि मिया विगत एक हप्तादेखि सो पेट्रोलपम्पमा बस्ने गरेका थिए । 
पूर्व सभासद मिया २०६४ सालमा भएको संविधान सभाको निर्वाचनमा सप्तरीको निर्वाचन क्षेत्र नम्बर ५ बाट स्वतन्त्र उम्मेदवार बनेर निर्वाचित भएका थिए । उनको  श्रीमती, दुई छोरा र तीन छोरी छन् ।  घटनाको अनुसन्धान गर्न सप्तरी प्रहरीले विशेष तालिमप्राप्त कुकुर ल्याईएको र विस्तृत अनुसन्धान भईरहेको सप्तरीका प्रहरी प्रमुख एसपी संजयसिंह बस्नेतले जानकारी दिए ।
सरकार द्धारा छानविन समिति गठन
यसैबिच सभासद मियाको हत्याबारे छानविन गर्न सरकारले समिति गठन गरेको छ । नेपाल प्रहरीका डीआईजी दिनकर शमशेर राणाको संयोजकत्वमा गठित समितिमा पूर्वाचल प्रहरी प्रमुख र राष्ट्रिय अनुसन्धानका पूर्वाञ्चल प्रमुख सदस्य रहेका छन् । समितिलाई ७ दिनभित्र प्रतिवेदन बुझाउन भनिएको छ ।-ओएनएस

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक