20130504

‘हामीले रिहा गरिसकेका छौं, तर उनीहरु जहाँबाट ल्याएको हो, वहीँ पुर्याउनुपर्छ भन्दै चोकीमै धर्ना बसेका छन् ।’ - प्रशासन

* ‘मधेस आउँदा जाँदा तपाईहरुसँग मेरो गहिलो लभ परेको छ । त्यही भएर मैले मधेसबाट चुनाव लड्ने घोषणा गरेको हुँ’ - प्रचण्ड
* एकीकृत माओवादी सोझा जनतालाई ठग्ने ठग पार्टी - सुजाता
फोटोसहितको मतदाता नामावली संकलन गर्न खटिएको सरकारी टोलीसँग शुक्रबार धनकुटाको दक्षिणी गाविस ६ नं बुधबारेमा भएको झडपपछि पक्राउ परेका लिम्बुवान कार्यकर्ताहरु रिहा हुन नमानेको धनकुटा जिल्ला प्रशासनले बताएको छ । धनकुटाको राजारानी प्रहरी चौकीले थुनामुक्त गर्दा पनि उनीहरु रिहा हुन नमानी चौकीमै धर्ना दिएर बसेको प्रशासन कार्यालयले बतायो ।‘कार्यकर्तालाई रिहा गर भन्दै उनीहरुले बन्दको आयोजना गरेका छन् । तर, हामीले रिहा गर्दा पनि ५ जना कार्यकर्ता रिहा हुन नमानी राजारानी चौकीमै बसिरहेका छन् ।’-धनकुटा जिल्ला प्रशासन कार्यालयका एक अधिकारीले भने । ६ नम्बर बुधबारे गाविसमा आयोजित मतदाता नामावली संकलन कार्यको विरोधमा आफूहरुले शान्तिपूर्ण विरोध प्रदर्शन गर्दा प्रहरीले कुटपिट गरी पक्राऊ गरेको आन्दोलनकारी नेता कुमार लिङ्देनको आरोप छ । उता प्रशासनले चाहिँ फोटो खिच्ने क्रममा ल्यापटप फुटाएको हुनाले पक्राऊ गरिएको जिकिर गरेको छ । ‘शान्तिपूर्ण विरोध गरेको भए किन पक्रनु ? ल्यापटप फुटाएको हुनाले समातिएको हो ।’-जिल्ला प्रशासन स्रोले भन्यो । मोरङ, पाँचथर र धनकुटाको सीमाना जोडिएको विकट गाविस ६ नं बुधबारेमा शुक्रबार मतदाता टोलीको सुरक्षार्थ खटिएको प्रहरी र लिम्बुवान कार्यकर्तावीच झडप भएको थियो । बुधबारे धनकुटा जिल्लामा परे पनि
मतदाता टोली भने छिमेकी पाँचथर जिल्लाबाट दुर्दिम्बा गाविसका लागि खटिएको थियो ।
झडपपछि बुधबारेमा पक्राउ परेका ७ कार्यकर्तालाई शुक्रबारै धनकुटाको राजारानी प्रहरी चौकीमा ल्याइएको थियो । कार्यकर्ता रिहाइको माग गर्दै लिम्बुवान बन्दको घोषणा गरिएपछि धनकुटाका प्रमुख जिल्ला अधिकारीले सबैलाई तत्काल रिहा गर्न राजारानी चौकीलाई निर्देशन दिनुभएको थियो । राजारानी प्रहरी चौकीले शनिबार स्थानीयवासीको रहोबरमा उनीहरुलाई रिहा गरेको धनकुटा जिल्ला प्रशासन कार्यालयको दाबी छ । ‘हामीले रिहा गरिसकेका छौं, तर उनीहरु जहाँबाट ल्याएको हो, वहीँ पुर्याउनुपर्छ भन्दै चोकीमै धर्ना बसेका छन् ।’
जिल्ला प्रशासन स्रोतले भन्यो- ‘उनीहरुले नै बन्दको आयोजना गरेर गाडी चल्न दिएका छैनन्, कोही पाँचथरका छन् त कोही ताप्लेजुङका छन्, तिनीहरुलाई हामीले कसरी उनीहरुले भनेका ठाउँमा पुर्याउने ?’ पक्राउ परेकामध्ये दुईजना घाइते भएकाले उपचारका लागि धरान लगिएको र तिनीहरुलाई पनि सामान्य उपचारपछि रिहा गरिएकोमा ल्याएकै ठाउँमा पुर्याउनुपर्छ भन्दै अत्तो थापेको प्रशासन कार्यालय बताउँछ ।
गिरफ्तार गरिएका कार्यकर्ताको रिहाइको माग गर्दै संघीय लिम्बुवानले शनिबारदेखि पूर्वका ९ जिल्लामा अनिश्चितकालीन बन्दको घोषणा गरेको छ । बन्दले पूर्वका झापा, मोरंग, सुनसरी लगायत मेची कोशीका पहाडी जिल्लाको जनजिवनमा प्रभाव पारेको छ । पक्राउ परेका कार्यकर्ता रिहा नभएसम्म बन्द जारी रहने मञ्चका नेता लिङ्देनले बताएका छन् । बन्दकर्ता संगठन मोहन वैद्यको ३३ दलीय मोर्चामासमेत आवद्ध छ । प्रशासनले चाँहि रिहा गरिसक्दा पनि बन्दको नाटक गरेको जनाएको छ ।
यसैवीच शनिबार आन्दोलनरत ३३ दलका तर्फबाट विज्ञप्ति प्रकाशित गर्दै नेकपा माओवादीका सचिव देव गुरुङले पनि गिरफ्तार गरिएका लिम्बुवान कार्यकर्ताको तत्काल रिहाइ गर्न र घाइतेहरुलाई क्षतिपूर्ति प्रदान गर्न माग गर्नुभएको छ । ‘ आन्दोलनरत दलका नेता कार्यकर्तामाथि प्रहरी दमन गरी निर्घात कुटपिट गर्ने र गिरफ्तार गर्ने काम जुन ढंगले सरकारले गरेको छ, त्यसले हामी आन्दोलनरत दलहरुलाई थप आन्दोलित तुल्याएको छ ।’ गुरुङ्गको वक्तव्यमा भनिएको छ-’सरकारलाई यस्ता दमनकारी कार्यहरु तुरुन्त बन्द गर्न र गिरफ्तार गरिएका नेता तथा कार्यकर्ता अविलम्ब एवं बिना शर्त रिहा गर्नका साथै घाइतेहरुको निःशुल्क उपचार तथा क्षतिपूर्तिको माग गर्दछौँ ।’
शसस्त्र प्रहरीले आफ्ना कार्यकर्तालाई संवेदनशील अंगमा हिर्काएर गम्भीर घाइते बनाएको लिम्बुवानी नेता कुमार लिङदेनले आरोप लगाउनुभएको छ । ‘कार्यकर्तालाई प्रहरीले पक्राउ गरी अत्यन्त दुव्र्यवहार गरेको छ, त्यसमध्ये सुकबहादुर थेगिम र अग्नि पन्धाकलाई सम्वेदनशील अंगमा सशस्त्र प्रहरीले कुटपिट गरी गम्भीर घाइते बनाएका छन् ।’ शनिबार लिम्बुवान बन्दको आह्वान गर्ने मञ्चसम्वद्ध संघीय लिम्बुवान राज्य परिषद्का अध्यक्ष कुमार लिङ्देन मिराकले बताउनुभएको छ । धनकुटाको ६ नं बुधबारेमा आफूहरुले मतदाता नामावली संकलनमा अवरोध नपुर्याई शान्तिपूर्ण विरोध गर्ने क्रममा प्रहरीले बल प्रयोग गरेको लिङ्देनको आरोप छ । घटना जारी वक्तव्यमा भनिएको छ-’फोटोसहितको मतदाता नामावली संकलन रोकिनु पर्छ भनेर शान्तिपूर्ण आवाज उठाइरहेका मञ्च सम्वद्ध परिषदका नेता कार्यर्ताहरुमाथि एकात्मक प्रशासनले अमानवीय रुपले दमन गरेको छ ।’
‘प्रहरीको दमनमा परी केन्द्रीय सदस्य सुकबहादुर थेगिम, एलभी (लिम्बुवान भोलेन्टियर)का कमान्डर अग्नि पन्धाक गम्भीर घाइते हुनु भएको छ ।’ लिङदेनद्वारा जारी वक्तव्यमा भनिएको छ- ‘सोही ठाउँबाट सचिवालय सदस्य प्रेमदीप थाम्सुहांग, केन्द्रीय सदस्य सुकबहादुर थेगिम, एल भी सिनियर उपकमान्डर मुक्शाम लाबुंग, एलभी कमान्डर अग्नि पन्धाक, इलाम बाँझो गाविस अध्यक्ष राजन साम्बा, मिक्लुक थुम अध्क्षय नेल्कन माखिम र पाँचथर जिल्ला सदस्य खाम्बेक आङदेम्बेलाई प्रहरीले पक्राउ गरी दुव्र्यवहार गरेको छ ।’
शुक्रबारको झडपपछि मतदाता नामावली संकलन गर्ने टोलीले बस्ने घर नपाएको र सेनाको ब्यारेक छेउको चौरीमा पाल टाँगेको तर, झडपको डरले मानिसहरु डराएका कारण नामावली संकलन गर्न नगएको लिङ्देनको दाबी छ । आफूहरुसँग सवारी साधन नभएको र भाडाका गाडीहरु बुधबारे जान नमानेकाले थप एलभी कार्यकर्ता त्यसतर्फ पठाउन नसकिएको उहाँले बताउनुभएको छ । तर, प्रशासनले चाँहि मतदाता नामावली संकलन जारी रहेको दाबी गरेको छ । सिडियो कार्यालय धनकुटाका अनुसार शुक्रबार सामान्य झडप भए पनि मतदाता नामावली संकलन रोकिएको छैन ।
यसैवीच कुमार लिङदेनले शनिबार दिउँसो पुनः ६ नं बुधबारेमा झडप भएको र आफूहरुले मतदाता नामावली संकलन केन्द्र कब्जामा लिएको दाबी गरेका छन् । बुधबारेमा प्रहरी र लिम्बुवान कार्यकर्ता थपिने क्रम जारी रहनुका साथै ठूलो झडपपछि मतदानकेन्द्र कब्जामा लिने क्रममा मोरङका भोजकुमार लावती, विद्यार्थी संगठनका केन्द्रीय अध्यक्ष जेन्टल लावती र मोरङलेटाङका धनकुमार लिम्बूलाई प्रहरीले पक्राउ गरेको लिङदेनले बताएका छन् । झडपमा भोजकुमार गम्भीर घाइते भएको जनाइएको छ ।

नेपाली काँग्रेस नेतृ सुजाता कोइरालाले एकीकृत माओवादी सोझा जनतालाई ठग्ने ठग पार्टी भएको आरोप लगाउनु भएको छ । कोइरालाले एमाओवादी जनतालाई ठगेर, जनताको ढाडमा टेकेर कमाई खाने पार्टी भएकाले गाउँ प्रवेशमा रोक लगाउनु पर्ने वताउनुभयो । शनिवार दाङको रामपुरमा रहेको गंगा क्याम्पसको भवन उद्घाटन गर्दै कोइरालाले एमाओवादी आफ्नो पार्टी काँग्रेसलाई सिध्याउने खेलमा लागको भन्दै यदि माओवादी त्यस्तो षड्यन्त्रमा लागे ऊ आफै समाप्त भएर जाने चेतावनी दिनु भयो । काँग्रेससंग जोरी खोजेका जुनसुकै शक्ति सिद्धिएको चर्चा गर्दै कोइरालाले एमाओवादीले पनि काँग्रेससंग जोरी खोजिरहेकाले माओवादी पनि समाप्तीको बाटोमा लागेको बताउनु भयो । उहाँले जनतालाई मुक्ति दिलाउने एकमात्र पार्टी काँग्रेस भएकाले आगामी संविधासभाको निर्वाचनमा काँग्रेसलाई बहुमत दिलाउनु पर्नेमा जोड दिनुभयो ।
 एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले मधेसी जनतासँग आफ्नो लभ परेको बताउनुभएको छ । ‘मधेस आउँदा जाँदा तपाईहरुसँग मेरो गहिलो लभ परेको छ । त्यही भएर मैले मधेसबाट चुनाव लड्ने घोषणा गरेको हुँ’ सर्लाहीको हरिवनमा शनिबार आयोजित आमसभामा प्रचण्डले भन्नुभयो-’अब तपाईहरुले लभ गर्नुहुन्छ गर्नुहुन्न, अबको चुनावमा हेर्छु ।’
अन्तरिम संविधान निर्माणका क्रममा एमाओवादीको केही कमजोरी भएको र त्यसलाई केही दलाल पार्टीहरुले माओवादी संघीयता विरोध भनेर क्यास गरेको भन्दै उहाँले अबको चुनावमा त्यसको ब्याजसहित असुल गर्ने बताउनुभयो । ‘हामी मधेसी, जलित जनजाति, माओवादी मोर्चाबन्दी गरेर चुनाव लड्छौं’ उहाँले भन्नुभयो-’अबको चुनावमा दुईतिहाई ल्याउँछौं र अघिल्लो पटकको व्याजसहित असुल गछौं ।’
प्रचण्डले आफू मधेसबाट चुनाव लड्नु भनेको मधेसका मुद्दालाई कहिल्यै नछोड्ने बताउनुभयो । विगतका राजा र शासकले राष्ट्रघात गरेको भन्दै उहाँले भारत र चीनबाट सहयोग लिएर देशको विकास गर्नु नै राष्ट्रवाद भएको बताउनुभयो । अधिकांश समय मधेसी जनताको प्रशंसामा खर्चिएका प्रचण्डले आफूले जनयुद्ध थाल्नु अघि बम बनाउन पनि मधेसबाट सिकेको बताउनुभयो ।

एमाओवादी उपाध्यक्ष डा. बाबुराम भट्टराईले मधेसमा माओवादीको पक्षमा देखिएको जनलहर टेलर मात्र भएको बताउनुभयो । उहाँले भन्नुभयो-मधेसमा एमाओवादीको पक्षमा देखिएको उभार त टेलर मात्र हो । यो बढ्दो छ । बास्तविक फिल्म त कात्तिक/मंसिरमा हुने चुनावमा देखिन्छ ।’ कांग्रेस-एमालेले माओवादीले सम्पत्ति कमाएको भनेर गलत प्रचार गरेको भन्दै उहाँले भन्नुभयो -यदि साँचै त्यसो हो भने तिमीहरुको घर हामीलाई देऊ, माओवादी नेताहहरुको घर लैजाऊ । सक्छौ ?’ कांग्रेस र एमालेले आफ्नो अस्तीत्व जोगाउन नसकेपछि गठवन्धन गर्न खोजेको भन्दै उहाँले उनीहरुले ०४७ सालको भन्दा राम्रो संविधान बनाउन नसब्ने बताउनुभयो ।
मधेसवादी दलहरुसँग संघीयतामा कुरा मिले पनि पहिचान र अधिकार दिन किन डराएको भनी प्रश्न गर्नुभयो । अर्का उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशले कथित पहाडिया अहंकारवादी शासकहरुले राष्ट्रघात गरेको तर मधेसी जनताले कहिलै राष्ट्रघात  नगरेको बताउनुभयो । मधेसमा दलालहरु रहेको भन्दै उहाँले अबको चुनावमा उनीहरुलाई मत नदिने अपील गर्नुभयो । कार्यक्रममा एमाले छाडेर एमाओवादी प्रवेश गरेका रामचन्द्र झा, लक्की शेर्पा लगायतले सम्बोधन गर्नुभएको थियो ।

कार्यक्रममा एमालेका सचिव समेत रहेका केशव ढुंगानासहितका नेता कार्यकर्ता प्रचण्डसहितका नेताको हातबाट टीका लगाएर एमाओवादी प्रवेश गरेका छन् । नवप्रवेशी ढुंगानाले एमाले आफूलाई स्थान नभएको र एमाले झलनाथ खनाल, माधवकुमार नेपाल, केपी शर्मा ओली, ईश्वर पोखरेल र बामदेव गौतम पाँच बाहुनको पार्टी भएको बताउनुभयो ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक