(संसारका १७५ देशमा पढिने, फोहोरी राजनीतिबाट पुरै अलग, संसारभर छरिएर रहेका नेपालीहरुको साझा, स्वतन्त्र, अनलाइन पत्रिका www.NepalMother.com, एउटा क्लिकमा सबैथोक)

20130828

३३ दलको बैठकले आन्दोलनका कार्यक्रमहरु तय, संविधानसभा निर्वाचनको उम्मेदवारी दर्तालाई लक्षित गरी बन्दसहितको आन्दोलन घोषणा

नेकपा-माओवादी नेतृत्वको ३३ दलीय मोर्चाले संविधानसभा निर्वाचनको उम्मेदवारी दर्तालाई लक्षित गरी बन्दसहितको आन्दोलन घोषणा गरेको छ । माओवादी पार्टी कार्यालय बुद्धनगरमा बुधबार बसेको ३३ दलको बैठकले आन्दोलनका कार्यक्रमहरु तय गरेको हो । आन्दोलन थाल्नुअघि सहमतिको अन्तिम प्रयास गरिने सामाजिक लोकतान्त्रिक पार्टीका नेता पासाङ शेर्पाले अनलाइनखबरलाई जानकारी दिनुभयो । उहाँका अनुसार भोलि बुधबार सहमतिका लागि मध्यतता गर्न आग्रह गर्दै राष्ट्रपतिलाई ज्ञापन पत्र बुझाइने छ । ‘हामीले अहिले पनि वार्ताको ढोका खुल्ला राखेका छौं । सहमतिका लागि मध्यस्तताको पहल गर्न आग्रह गर्दै राष्ट्रपतिलाई ज्ञापन पत्र बुझाउँदैछौं’ शेर्पाले भन्नुभयो । ३३ दलले घोषणा गरेको कार्यक्रमअनुसार भदौ दोस्रो साता नागरिक समाज, बुद्धिजिवी लगायतसँग अन्तरक्रिया गर्ने र सबै जिल्ला तथा निर्वाचन क्षेत्रमा ३३ दलीय मोर्चा विस्तार गर्ने रहेको छ । यस्तै ३३ दलले भदौ २७ गतेबाट असोज १ गतेसम्म क्षेत्र स्तरमा बन्द गर्ने घोषणा गरेका छन् । २७ गते पूर्व, २८ गते सुदूरपश्चिम, ३० गते पूर्वी तराई, ३१ गते मध्यपश्चिम र १ गते मध्यपहाड बन्द आहृवान गरिएको छ । २ गतेदेखि ७ गतेसम्म मुख्य शहरहरुमा बहिस्कार सभा हुनेछ । जसअनुसार २ गते जनकपुर र बुटबल, ३ गते चितवन र इटहरी, ४ गते बिराटनगर र धनगढी र ७ गते काठमाडौं र पोखरामा बहिस्कार सभा हुनेछ । ३३ दलले उम्मेदवारी दर्तालाई
लक्षित गरी असोज ९ र १० गते नेपाल बन्द घोषणा गरेका छन् । निर्वाचन आयोगले सार्वजनिक गरेको तालिकाअनुसार असोज १० गते प्रत्यक्षतर्फको उम्मेदवारी दर्ताको कार्यक्रम छ ।
यस्तो छ ३३ दलीय मोर्चाको आन्दोलनको कार्यक्रम
१) दलहरुको बीचमा गोलमेचसभाको निम्ति राष्ट्रपतिबाट सहजकर्ताको भूमिकाको अपेक्षा सहित यही भदौ १३ गते राष्ट्रपति कार्यालयमा ज्ञापनपत्र बुझाउने ।
२) यही भदौको दोस्रो हप्ता विभिन्न राजनीतिक दल, नागरिक समाज र सरोकारवाला बुद्धिजीवीहरुसँग ४ दलका नेताहरुले वार्ता भङ्ग गरेको विषयलाई लिएर काठमाडौंमा बृहत अन्तरक्रियात्मक गोष्ठी गर्ने ।
३) सबै जिल्लाहरुमा ३३ दलीय संयुक्त संयन्त्र अविलम्ब गठन गरी २४० वटा निर्वाचन क्षेत्रस्तरमा अभियान टोलीहरु बनाई प्रचार–प्रसार, चोकसभा, कोणसभा, घरदैलो, भित्तेलेखन लगायतका अभियानात्मक कार्यक्रमहरु सञ्चालन गर्ने ।
४) भदौ २६ गतेदेखि असोज १ गतेसम्म क्षेत्रगत बन्दका कार्यक्रमहरु सञ्चालन गर्ने । जसअनुसार,
भदौ २६ गते बुधबार – उपत्यका (काठमाडौं, ललितपुर र भक्तपुर) बन्द गर्ने । भदौ २७ गते बिहीबार – पूर्वी क्षेत्र (इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, धनकुटा, संखुवासभा, भोजपुर, खोटाङ, सोलुखुम्बु, ओखलढुङ्गा, उदयपुर, झापा, मोरङ र सुनसरी) ) बन्द गर्ने ।
भदौ २८ गते शुक्रबार – सुदुर पश्चिम क्षेत्र (अछाम, बाजुरा, बझाङ, दार्चुला, बैतडी, डडेलधुरा, डोटी, सुर्खेत, जाजरकोट, डोल्पा, जुम्ला, मुगु, हुम्ला, कालिकोट, दैलेख, कञ्चनपुर, कैलाली, बर्दिया, बाँके र दाङ) बन्द गर्ने ।
भदौ ३० गते आइतबार – पूर्वी तराई (सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा र रौतहट) बन्द गर्ने ।
भदौ ३१ गते सोमबार – मध्य पश्चिम (रुकुम, सल्यान, रोल्पा, प्यूठान, गुल्मी, अर्घाखाँची, पाल्पा, बाग्लुङ, म्याग्दी, गोरखा, लम्जुङ, मनाङ, मुस्ताङ, तनहुँ, कास्की, पर्वत, स्याङ्जा, कपिलवस्तु, रुपन्देही र नवलपरासी ) बन्द गर्ने ।
असोज १ गते मंगलबार – मध्य पहाड (सिन्धुली, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काभ्रे, नुवाकोट, रसुवा, धादिङ, चितवन र मकवानपुर) बन्द गर्ने ।
५) मुख्य–मुख्य शहरहरुमा बृहत जनसभाहरु आयोजना गर्ने ।
असोज २ गते बुधबार – जनकपुर र बुटवल
असोज ३ गते बिहीबार – चितवन र इटहरी
असोज ४ गते शुक्रबार – बिरगञ्ज र धनगढी
असोज ७ गते सोमबार – काठमाडौं र पोखरा
६) असोज ९ र १० गते नेपाल बन्द गर्ने । क्षेत्रगत बन्द तथा नेपाल बन्द गर्दा बजार, कलकारखाना, शिक्षणसंस्था र यातायात सम्पूर्ण रुपले बन्द हुनेछ ।
(बजारतर्फ औषधी पसलहरु भने खुला रहनेछ । यातायात तर्फ हस्पिटलका गाडी, एम्बुलेन्स, रेडक्रसका गाडी, शव वाहन, फोहोर बोक्ने गाडी, पानी बोक्ने गाडी, प्रेस र मानव अधिकारका गाडी र कूटनैतिक नियोगका गाडीहरु भने खुला रहनेछन् ।)
७) क्षेत्रगत बन्द तथा नेपाल बन्दको अघिल्लो दिन साझ सबै शहर तथा जिल्ला सदरमुकामहरुमा बन्दको लागि आह्वान गर्दै सिट्ठी जुलुश प्रदर्शन गर्ने ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक