20130907

हत्यारालाई कर्वाही गर्न पाइदैन भन्ने माओवादीको बन्दलाई उपत्यकाबासीको दरिलो झापड ! उत्रिए जनता प्रतिकारमा पनि



तीजको दर खाने दिन महिलाहरुको विशेष पर्व। माइती, मावल वा आफन्तकहाँ धेरै नै दौडधुप चल्छ। आज (शनिबार) उनीहरुको पर्वको पनि वास्ता नगरि माओवादीले उपत्यका, गोरखा र चितवन बन्द आह्वान
गर्‍यो। 
 निहुँ थियो, हत्या आरोपीलाई प्रहरीले गरेको पक्राउ। कृष्णप्रसाद अधिकारीको हत्या आरोपी रामप्रसाद अधिकारीलाई प्रहरीले पक्राउ गरेपछि माओवादीलाई के निहुँ चाहियो र । उसले आफ्ना कार्यकर्ताहरु सडकमा उचालिहाल्यो। संस्कृती वा चाडबाड उसको 'आइडियोलोजी'को शव्दकोषमा हुँदैन क्यार। 
तर बन्द माओवादीले सोचेजस्तो नभएको मात्र हैन प्रत्युत्पादक भयो। उनीहरुको एउटा विज्ञप्ति वा गर्जनका भरमा सडक ठप्प हुने दिन अब सकिएछ। महिला, केटाकेटी नै बन्दको अवज्ञामा उत्रे। 
तिजको दिन माओवादीले बन्द गरेकाले पनि यस्तो अवस्था आयो। बिहान ८ बजेदेखि माओवादीले आह्वान गरेको बन्दको शानदार प्रतिकार कलंकीमा भयो। २०६३/६३ आन्दोलनमा गौरबपूर्ण आन्दोलन गरेको कलंकीमा जम्मा भएका महिलाले त्यस्तै झल्को दिए। 
महिला, केटाकेटीले माओवादीको झण्डा खोसेर लेखेटेनन् मात्र सडक पनि खुलाए। बन्दको निहुँ र दिन दुवै अफाप भयो। 
बन्दका दौरान काठमाडौं र ललितपुरमा कार, मोटरसाइकल अघिपछिको शनिवार भन्दा केहि बढी नै चलेको देखिन्थ्यो। केहि रुटमा मिनिबस, माइक्रो र टेम्पोहरु पनि चलेका छन्। चक्रपथको बालाजु, गोगँवु, चावहिल, गौशाला, कोटेश्वर, ग्वार्को लगायतमा माओवादी कार्यकर्ताहरु जम्मा भएर बन्द गराउन भिडिरहेको देखिन्थ्यो।
पार्टीको आदेश शिरोपर गरेका कायकर्ता अघिपछि जस्तो आक्रामक भने देखिन्थेनन्। उनीहरुलाई नै आफ्ना नेताहरुको बन्दको निर्णय चित्त बुझेको नबुझेको हाऊभाऊबाट बुझिन्थ्यो। ग्लानी भावले सडकमा उभिइरहेका।
बन्दकर्ता र सर्वसाधरणबिच गलफत्ति नै चलिरहेको देखिन्थ्यो। साढे १० बजेतिर गौशालामा त्यस्तै दृश्य देखियो। एउटा काखे र अर्को टुकुटुकु हिँड्ने बच्चो च्यापेर आएकी उनले बाटो छेकेर बसेकाहरुलाई गाली गरिन्, 'लठैत असत्तीहरु।'
किन रिसाउनुभएको? 
'माइती हिँडेको वाफल, यहाँ आएर थाहाँ भो बन्द रहेछ,' उनले भनिन्, 'सबैजानाको ट्याक्सी चढ्ने गच्छे हुँदैन नी।' 
साढे १० बजेतिर गौशाला चोकबाट चाबहिल जाने बाटो माओवादी कार्यकर्ताहरुले छेकिरहे 
'माओवादीको तिघ्रासँग कति दिन डराउने,' उनले भनिन्, 'माइतीमा बिरामी आमा हुनुहुन्छ अर्को बर्ष के हो के हो। बन्द न सन्द।'    
उनी रहिछन् सीता बुढाथोकी। पर्स खोतलखातल गरेर हेरिन। अनि गौशाला चोकबाट ज्ञानेश्वरतिर जाने बाटामा रोकिएको ट्याक्सीसँग मोलमोलाइ गर्न थालिन्। निकैबेरको बार्गेनिङ्मा पनि भाडा तय हुन सकेनन्। 
अर्को ट्याक्सीतिर लागिन्। ट्याक्सीमा भएपनि छिटो माइती पुग्ने उनको चाहना पुरा भएन। भाडा मिलेन क्यार।  
बन्दको दिन ट्याक्सी चलाउनुभएछ? पत्रकार भएको परिचय दिँदै सेतापाटीका लागि ड्राइभरलाई प्रश्न गरे।
बा १ ज ७५४१ नम्बरको रातो ट्याक्सीका ड्राइभर बिनोद खतिवडाले जवाफ दिए, 'माओवादीले यस्तो दिन पारेर बन्द गर्‍यो, मान्छेले कहाँ सहन्छन्।' 
चेलीबेटीलाई दर, तीजको कत्रो स्वाद हुन्छ। बरु आफू धादिङ्ग घर जान नपाएकोमा उनी थक थक मानिरहेका थिए। 'दिदी बहिनी जम्मा भइसके होला,' पच्चिस वर्ष जति देखिने खतिवडाले भने। 
त्यति नै बेला फाट्टफुट्ट माइक्रो र सफा ट्याम्पो पनि चलिरहेका थिए। सीता एउटा सफा टेम्पुमा बसिन रत्नपार्क जाने। चक्रपथबाट एउटै बसमा पुगिनेमा गाडि फेर्न पर्‍यो भनेर उनी भुतभुताइरहेकि थिइन, समयको पनि नास पैसाको पनि। 
त्यो सफा टेम्पोका चालक विकास श्रेष्ठ। 
माओवादीको बन्दको दिन चलाउनुभएको? 
विकासले प्रश्न गरे, 'चाँडबाँडको दिन पेसेन्जर पनि ठाउँमा पुग्नुपर्‍यो। दिनभरि कमाएर हामीले पनि श्रीमती छोराछोरीलाई दर खुवाउनु परेन?'
८ बजे सुरु भएको बन्द पुरै फ्लप भएपछि माओवादीले नाकको चालले फिर्ता लिने भएको छ। जनबलको अगाडि बाहु, तिघ्रा वा हतियारको बल कति कमजोर हुन्छ भन्ने फेरि सिद्ध भएको छ। 
बन्द फिर्ता लिने निर्णय भइसकेकोबारे जानकारी दिने क्रममा नेवा राज्य समितिका सदस्य देवेन्द्र पौडेलले दिएको प्रतिक्रिया यस्तो छ– दर खाने दिन परेकाले फिर्ता लियौं। 
हिजो रातारात बन्द घोषणा गर्दा माओवादीलाई तीज वा दरको हेक्का भएनछ। उसकै भनाई आधार मान्ने हो भनेपनि जनताले अवज्ञा गरेपछि हराएको चेत खुल्दोरहेछ।  
Source: - किरण भण्डारी काठमाडौ/Setopati/ Video Mysansar

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक