(संसारका १७५ देशमा पढिने, फोहोरी राजनीतिबाट पुरै अलग, संसारभर छरिएर रहेका नेपालीहरुको साझा, स्वतन्त्र, अनलाइन पत्रिका www.NepalMother.com, एउटा क्लिकमा सबैथोक)

20131007

एउटा पढ्नै पर्ने उदाहरणिय र सकारात्मक समाचार : सार्वजनिक विद्यालयहरूको बेहाल र पाँचथर जिल्ला हल्लाउने शाहसी जिशिअ !

- अमित ढकाल फिदिम  

जिल्ला शिक्षा अधिकारीका रूपमा यो उनको पहिलो नियुक्ति थियो। जिल्ला शिक्षा कार्यालय फिदिममा उनी असार ३ गते हाजिर भए। असार ४ गतेदेखि शिक्षकहरूको तालिम थियो। उनी पनि तालिम हेर्न सहभागी भए। 

 
शिक्षकहरूले तालिम लिए, पाठ–योजना बनाएर देखाए। तालिम सकियो। जिशिअले सोधे, ‘तपाईंहरूले सिकेको तालिम कक्षाकोठामा कति लागू गर्नुहुन्छ? पाठ–योजनाअनुसार पढाउनु हुन्छ कि हुँदैन?’
 
शिक्षकहरूले उत्तर दिए, ‘तालिमको सिकाइ कक्षाकोठामा खासै पुग्दैन। पाठ–योजनाअनुरूप पढाउने गरेको छैन।’
 
जिशिअ ज्ञानमणि नेपाल राँकिए। 
 
‘गरिबहरूले तिरेको करबाट तपाईंहरू तलब खानुहुन्छ, तपाईंहरूको तलबमा लासको रेमिट्यान्सको अंश छ, किन यति गैरजिम्मेवार तपाईंहरू?’ 
 
जिशिअ नेपाल त्यसै झोँक्किएका थिएनन्। बित्थामा आवेगमा आउने उनको स्वभाव पनि होइन। उनको यो रुखो टिप्पणी गहिरो अनुभवबाट आएको थियो। जिशिअका रूपमा उनको पहिलो नियुक्ति भए पनि शिक्षाका विभिन्न विभागमा उनले १६ वर्ष काम गरिसकेका थिए। देशका दुर्गम जिल्लाहरू कालिकोट र दैलेखमा काम गर्दा शिक्षाको बेहाल देखेका थिए उनले। शिक्षा सेवा आयोग र पाठ्यक्रम विकास केन्द्रमा काम गर्दा शिक्षाको सुधारका लागि राज्यले गरेको अर्बौको लगानी देखेका थिए। 
 
अनि पशुपतितिर मर्निङवाक जाँदा खाडीबाट ल्याइएका नेपाली कामदारका लास आर्यघाटमा दिनहुँ जल्ने गरेका देखेका थिए। ती लासबाट उठेको धुँवा उनको नाक हुँदै मन–मस्तिष्कमा नराम्रोसँग ठोसिन्थ्यो। ‘दिनहुँ खाडीबाट कामदारहरूको लास आएर जलेको देख्दा मलाई साह्रै पीडा हुन्थ्यो,’ नेपालले सम्झिए। उनले गरेको यही अनुभूति शिक्षकहरूको सामू तिखो प्रश्न बनेर आएको थियो। 
 
उनले रेमिट्यान्सको जुन सन्दर्भ उठाएका थिए, त्यो पाँचथरका हकमा पनि लागू हुन्थ्यो। फिदिम वाणिज्य संघका नवराज घिमिरेका अनुसार पाँचथर जिल्लामा दैनिक एक करोडबराबर रेमिट्यान्स भित्रन्छ। धेरै विपन्न परिवारले यही रेमिट्यान्सको आयबाट आफ्ना नानीहरू विद्यालय पठाउँछन्। 
यही तथ्यलाई शिक्षकहरूले फरक हिसाबले अनुभूत गरे। जिशिअको टिप्पणी शिक्षकहरूले आफ्नो अपमान ठाने। आफ्नो बेइज्जत गरेकाले जिशिअले माफी माग्नुपर्छ भन्दै शिक्षकहरू सिडिओ कार्यालयमा धर्ना दिन पुगे। 
 
तालिममा जिशिअ जंगिएको दृश्य उनीहरूले मोबाइलमा कैद गरेका रहेछन्। स्थानीय मिडियाहरूमा पु¥याइदिए। 
 
लासको रेमिट्यान्स खाएको भन्ने हामीलाई? उल्टो शिक्षकहरू जंगिन थाले। 
 
जिशिअ नेपाल हच्किएनन्। बरु थप जागे। 
 
‘शिक्षकहरू आफ्ना छोराछोरी बोर्डिङ स्कुल पठाउने, अनि सार्वजनिक स्कुलमा ध्यान दिएर नपढाउने? तपाईंहरू फिदिम बजार घुम्ने, कतिले व्यापार गर्ने, कतिले राजनीति, जिल्लाभरमा जम्मा औसत १७ प्रतिशत विद्यार्थी एसएलसी पास हुने? अनि मैले केका लागि माफी माग्ने? बरू कुर्सीमा बस्दिन, माफी माग्दिन।’
 
शिक्षकहरूले पठाइदिएको भिडियो पत्रकारहरूले हेरे। उनीहरूलाई शिक्षक होइन, जिशिअ नै ठीक लाग्यो। भिडियोको उल्टो प्रभाव पर्यो‍। मिडिया शिक्षकमाथि खनिए। 
 
अभिभावक र आम मानिसको सहानुभूति जिशिअले पाए। शिक्षकहरू पछि हट्न बाध्य भए। 
 
‘मिडिया र पब्लिकले मलाई साथ नदिएको भए साथीहरूले दोस्रो दिन नै जिल्लाबाट लखेट्ने रहेछन्,’ जिशिअ नेपालले हाँस्दै भने।
 
...
 
शिक्षकसँगै काम गर्नु छ, उनीहरूसँग टाढिएर र भागेर भएन। 
 
जिशिअले शिक्षकहरूको भेला राखे। प्रधानाध्यापकहरूसँग अन्तक्र्रिया गरे। उनले थाहा पाए– जिल्लामा नौवटा शिक्षक संगठन रहेछन्। धेरै पार्टीहरूका जिल्ला कमिटीका निर्णयलाई प्रभावित पार्नसक्ने हैसियत रहेछ शिक्षकहरूको। चन्दादाता उनीहरू नै थिए र गाउँमा गुरुबा–गुरुआमाहरूको राम्रै प्रभाव थियो।
 
त्यसपछि उनले राजनीतिक पार्टीहरूसँग अन्तक्रिया राखे। सार्वजनिक विद्यालयहरूको बेहाल सुनाए। किन पाँचथरबाट १७ प्रतिशतमात्र विद्यार्थी एसएलसीमात्र उत्तीर्ण हुन्छन् भनेर आफ्नो व्याख्या सुनाए। ‘सुरुमा त कतिले शिक्षकहरू रिसाए भन्ने आफ्नो राजनीति नै सकिन्छजस्तो गर्नुभयो,' उनले भने।
 
तर शिक्षा आमसरोकारको विषय थियो, अभिभावकहरू त्यसै पनि विद्यालय सुधारका पक्षमा थिए, राजनीतिक पार्टीहरूले चाही–नचाही पनि शिक्षाको गुणस्तर उकास्ने जिशिअको योजनामा समर्थन जनाए। 
 
भेला र छलफल गर्दागर्दै लामो बर्खे छुट्टी सुरु भयो। त्यही मौका पारेर जिशिअ काठमाडौं हानिए। सामान्य खालको पुरानो मोबाइल सेट चलाउँथे उनी। त्यो फेरे। सामसुङको भिडियो रेकर्डिङ गर्नमिल्ने राम्रो मोबाइल सेट किने। रेकर्डिङ कसरी गर्ने, ससाना क्लिप कसरी तयार गर्ने भन्ने सिकाइमागे। र, पाँचथर फर्किए।
 
शिक्षकहरूले तालिममा उनले बोलेका कुरा मिडियाका कार्यालयमा पठाइदिएपछि त्यही भिडियो क्लिपले बचाएको थियो उनलाई। शिक्षकहरूले उनीबिरुद्ध उठाएको हतियार नै शिक्षाको सुधारका लागि प्रयोग गर्ने निर्णय गरेका थिए उनले। ‘डकुमेन्टेसन त गर्नुपर्ने रहेछ, प्रमाण काम लाग्ने रहेछ भन्ने सिकेँ मैले त्यो घटनाबाट,’ नेपाल भन्छन्। 
 
पाँचथर र इलाम जिल्लाको सीमानामा पर्ने राँकेभञ्ज्याङ अलि उचाइमा पर्छ। त्यसैले गर्मीयाममा पनि त्यहाँ चाँडै शीतल फिर्छ। जिल्लाका अरु विद्यालय खुलेकै थिएनन्, राँकेको जयसिंह माविमा भने बर्खेबिदापछि साउन १६ मा पढाइ सुरु भयो। 
 
स्कुल खुलेको केही दिनमै जिशिअ नेपाल ‘भेष बदलेर’ निरीक्षण गर्न जयसिंह मावि पुगे। विद्यार्थीहरू चौरभरि खेलिरहेका, कोठा रित्तै। जिशिअले सबै दृश्य भिडियोमा कैद गरे र अन्त्यमा प्रधानाध्यापकको कोठामा पुगे। प्रधानाध्यापक स्कुल खुलेपछि ‘कार्पेट किन्न’ तीन दिन काज लिएर झापा झरेका रहेछन्। जिशिअलाई लाग्यो, छुट्टीको समयमा कार्पेट किन्न गएका भए पनि हुन्थ्यो। फेरि एक फोन गरे त कार्पेटवालाहरू स्कुलमै आइपुग्छन्, त्यो उनीहरूको व्यापार हो। काज लेखेको भिडियो खिचे र फिदिमका मिडियाका कार्यालयमा पठाइदिए। एफएमहरूले फुके, प्रधानाध्यापक काज लिएर कार्पेट किन्न
गए। समाचार पाँचथर जिल्लामात्र होइन, झापासम्म पनि पुग्यो। पछि ती प्रधानाध्यापकले गुनासो गरे– मेरो बेइज्जत गरिदिनुभयो। जिशिअले उनलाई जिम्मेवारी सम्झाए। 
 
साउन २७ गतेसम्मका जिल्लाका प्रायः सबै विद्यालय खुलिसकेका थिए। जिशिअ नेपाल कार्यालयका प्रशासनिक काम बिहानबेलुका क्वार्टरमै बसेर सिध्याउन थाले। 
 
दिनभरि फुर्सद निकाले, मोबाइल बोके र गाउँले लवाइमा स्कुलका निरीक्षणमा निस्कन थाले। गाडीमा सम्भव भए गाडी, नभए मोटरसाइकल र पाँचथरका कतिपय विकट गाउँमा हिँडेरै पनि पुग्न थाले उनी निरीक्षणका लागि। 
 
प्रत्येक विद्यालयमा उनी पहिले कक्षाकोठामा पुग्छन्। अनिमात्र प्रधानाध्यापककहाँ। ‘प्रधानाध्यापकले थाहा पाउँदा त मैले स्कुल निरीक्षण गरिसकेको हुन्छु,’ उनले भने। उनीसँग कक्षामा पढाइ भए÷नभएको भिडियो प्रमाण हुन्छ, प्रधानाध्यापकहरू अ्वाक हुन्छन्। 
 
पाँचथरका प्रत्येक स्कुलमा हरेक दिन जिशिअ पुग्न सम्भव भएन। त्यसै पनि विकट जिल्ला। उनले आफ्ना ‘आँखाको संख्या’ थप्ने निधो गरे। जिल्लामा कार्यरत १६ स्रोतव्यक्ति, ६ विद्यालय निरीक्षक र तीनजना सहायक इन्जिनियरहरूसँग छलफल गरे। 
 
स्रोतव्यक्ति जिल्लाकै पाका पूर्वशिक्षक हुन् जसले विद्यालयमा स्रोतसाधन पुगेको छ कि छैन भनेर समन्वय गर्छन्। विद्यालय निरीक्षक निजामती कर्मचारी हुन् जसको जिम्मेवारी विद्यालय निरीक्षण गर्नु र पढाइ सुचारु गर्नु हो। सहायक इन्जिनियरले विद्यालयको पूर्वाधार हेर्छन्। 
जिशिअले जिल्ला कार्यालयका यी जनशक्तिसँग प्रस्ताव राखे– तपाईंहरू प्रत्येकले जिशिअको काम गर्नुपर्यो‍, म तपाईंहरूलाई लेखेरै अख्तियारी दिन्छु, शिक्षा सुधार्नुपर्यो‍। 
 
स्रोतव्यक्ति, विद्यालय निरीक्षकहरूसँग कुन दिन, कुन विद्यालय पुग्ने भन्ने योजना बनाउन र पेश गर्न भने उनले। अनि प्रत्येक स्कुलमा जाँदा विद्यालयका गतिविधिको भिडियो क्लिप ल्याउन भने। 
 
भिडियोले दुइटा काम गर्यो‍, एकातिर प्रधानाध्यापक र शिक्षकहरू जिम्मेवार बनायो, अर्कातिर स्रोतव्यक्ति र निरीक्षकहरूको पनि निरीक्षण हुने भयो। ‘भिडियोमा मिति र समय पनि हुन्छ, स्रोतव्यक्ति र निरीक्षकहरूले पेश गरेको कार्ययोजनाअनुसार विद्यालय पुगे कि पुगेनन् भनेर मलाई थाहा हुने भयो,’ उनले भने। 
 
उनले सहायक इन्जिनियरहरूलाई पनि विद्यालयबाट फर्कंदा रिपोर्ट ल्याउन भने। यसरी उनले आफ्ना एकजोडी आँखामा अठार जोडी स्रोतव्यक्तिका, छ जोडी विद्यालय निरीक्षकका र तीन जोडी इन्जिनियरका आँखा थपे। 
 
यतिले मात्र भएन, विद्यार्थी र अभिभावककै आँखाले विद्यालय हेर्नुपर्यो‍ भन्ने लाग्यो उनलाई। प्रत्येक विद्यालयका आठ, नौ र दशका विद्यार्थीसँग अन्तक्रिया गरे। विद्यालय र शिक्षकका बारेमा कुरा बुझे। र, ब्ल्याकबोर्डमा आफ्नो मोबाइल नम्बर लेखिदिए। विद्यार्थीहरूलाई भने, ‘विद्यालयमा पढाइ भएन वा कुनै शिक्षकले राम्रो पढाउनुभएन भने घर पुग्नेबित्तिकै आमाबुबाको फोनबाट मलाई फोन गर्नू।’
 
जिल्लामा आएको चार महिनाभित्र पाँचथरका एफएमहरूले उनलाई चारपटक ‘लाइभ अन्तक्रिया’मा बोलाइसकेका छन्। रेडियोबाटै उनले आफ्नो टेलिफोन नम्बर सार्वजनिक गरे र अभिभावकहरूलाई अनुरोध गरे, ‘तपाईंका नानीहरू पढ्ने विद्यालयमा राम्रो पढाइ भएन भने मलाई फोन गर्नुहोला।’ 
हालैमात्र सिद्धकालिका मावि फेदायकमा आफ्ना छोराछोरी पढाउने एक अभिभावकले जिशिअलाई फोन गरे– ‘धेरै दिनदेखि हेडसर स्कुलमा गयल हुनुहुन्छ।’
 
जिशिअ भोलिपल्टै सिद्धकालिका मावि पुगे। प्रधानाध्यापक जिल्ला शिक्षा कार्यालयबाट बिदा स्वीकृत नगराई ११ दिनदेखि ‘गायब’ रहेछन्। ‘स्पष्टीकरण मागेको छु, कारबाही हुन्छ,’ उनले भने। 
 
जिशिअ नेपालले जिल्ला शिक्षा कार्यालयले तयार पारेको शैक्षिक बुलेटिन सार्वजनिक गरेका छन्। धेरै ठाउँमा बाँडेका छन्। 
 
शैक्षिक बुलेटिनमा प्रत्येक विद्यालयलाई कुन–कुन शीर्षकमा के–कति रकम आएको छ भनेर स्पष्ट खुलाइएको छ। सबै कुरा पारदर्शी भएपछि दुरुपयोग गर्ने निरुत्साही हुन्छन् भन्ने उनको ठम्याइ छ। 
 
प्रत्येक विद्यालय र विद्यालयसँग काम गर्ने पक्षलाई उनले भनेका छन्– ‘कसैले कसैलाई पैसा दिनु पर्दैन। विद्यालयको एक पैसा पनि तलमाथि भयो भने म छाड्दिन।’ 
 
हाम्रा नीतिनियम कति जड रूपमा प्रयोग हुँदारहेछन् र कहिलेकाहिँ ती कति अव्यावहारिक भैदिन्छन् भन्ने उनले पाँचथरमा गएर भोगे। बुद्ध मावि फलैंचाका शिक्षक तथा अभिभावकहरूले हामी डेलिगेसन आउँछौं तपाईंसँग भेट्न, समय दिनुपर्यो‍ भन्ने खबर पठाए। ‘त्यत्ति धेरैजनाले दुख गरेर मलाई भेट्न आउनुपर्दैन, म आफैं तपाईंहरू भेट्न आउँछु भनेर मैले खबर पठाएँ,’ उनले भने। 
 
भूकम्पले भत्किएको बुद्धमाविको भवन पुनर्निमाण गरेपछि नियमानुसार नबनाएको भनी प्राविधिकले हिसाब मिलान रोकेका रहेछन्। उल्टै बेरुजु उठाइदिए। 
 
भएको के रहेछ भने दुईकोठे भवन निर्माण गर्न भनेर २०६८ सालमा छ लाख रुपैयाँ निकाशा दिएको थियो। गाउँलेले ४ लाख थपेर आठकोठे भवन बनाए। त्यो पनि भूकम्प प्रतिरोधक प्रविधि अपनाएर– तल ढुंगाको जग र गारो, अनि माथि काठको सिलिङ हालेर पहिलो तला थपे। प्राविधिकलाई यो चित्त बुझेन।
 
जिशिअ नेपालले प्राविधिक र लेखा शाखालाई तुरुन्त हिसाब फस्र्यौट गर्न भने। उनीहरूले कानुनी अड्चन देखाए। जिशिअले फस्र्यौटको लिखित आदेश दिए र भने, ‘कानुनले नमिले अब मलाई हथकडी लगाउँछ, लगाउन देऊ।’
 
...
जिशिअको निगरानीले परिणाम निकाल्न थालेको छ। विद्यालयहरूमा पढाइ सुचारु भएको छ। कोर्स पूरा गर्न कठीन परेका विद्यालयहरूले बिहान सातै बजेदेखि पढाउन थालेका छन्। विद्यार्थी तथा अभिभावकमा आशा पलाएको छ। जिल्लाभरि जिशिअको सराहना हुन थालेको छ। ‘सुशासन भनेको नागरिकले अनुभूति गर्ने कुरा रहेछ,’ उनी भन्छन्।
 
जिशिअ नेपालले दण्ड र पुरस्कारको व्यवस्था सुरु गरेका छन्। सिकाइ उपलब्धिका आधारमा यसपालि जिल्लाका छजना शिक्षक पुरस्कृत भए। प्रत्येकले तीन हजार नगद पुरस्कार पाए। राम्रो गर्ने विद्यालयले थप सहयोगको आश्वासन पाएका छन्। नराम्रो गर्नेले सजाय। 
 
राम्रो गर्ने विद्यालय र शिक्षकहरू हौसिएका छन्। जिल्लामै सर्वोत्कृष्ट नतिजा ल्याउने च्याङ्थापुको विष्णु माविका शिक्षकहरूले उनलाई भने, ‘जिशिअ साप्, हामी अब पाँचथरमा होइन, सीमापारि सिक्किमका स्कुलहरूसँग प्रतिष्पर्धा गर्न चाहन्छौं।’
 
शिक्षकहरूले यसो भन्दा जिशिअ हौसिएका छन्। तर, समग्र जिल्लाको शैक्षिक स्तर उकास्न ठूलो चुनौती छ भन्ने उनलाई थाहा छ।
 
हालैमात्र उनले विद्यालयहरूमा पाठ्यक्रमबाट प्रश्न निकाली ‘एचिभमेन्ट टेस्ट’ लिन लगाए। तीन र पाँचमा पढ्ने विद्यार्थीले लेखेका उत्तरपुस्तिका यति अस्पष्ट छन्, उनीहरूले लेखेका अक्षर बुझ्दै बुझिँदैनन्। ‘विद्यार्थीले लेख्न सिक्ने खालका कापी नै भएनन्,’ उनी भन्छन्, ‘अलिकति स्रोत जुटाउन सके बोर्डिङ स्कुलको जस्तो सिक्ने कापी डिजाइन गर्न लगाउने सोचमा छु।’
 
थोरै विद्यालयमा प्रयोग गरेर त्यसले राम्रो नतिजा निकालेपछि अभिभावकहरूलाई पैसा तिर्न अनुरोध गरेर अरू विद्यालयमा पनि यस्तै कापी लागू गर्न सकिन्छ भन्ने लागेको छ उनलाई। तर, समस्या ‘वर्क बुक’को मात्र होइन, समाजकै हो भन्नेमा उनी अनभिज्ञ छैनन्। 
 
‘एचिभमेन्ट टेस्ट’मा तीन कक्षा पढ्ने विद्यार्थीलाई एउटा प्रश्न सोधिएको थियो– तपाईंको घरका वरिपरि हालसालै भएको कुनै घटनाबारे चार वाक्यमा लेख्नुहोस्।
 
अधिकांश उत्तरपुस्तिकामा विद्यार्थीले ‘जाँड खाएर झगडा भएको, तास खेलेको, मारपिट भएको, घरमा बाआमा झगडा गरेर बोलचाल नभएको...’ लेखेका छन्। 
 
यस्तो सामाजिक र पारिवारिक परिवेशमा साना नानीहरूले कसरी पढ्लान्? उनीहरू कति सिर्जनशील हुन सक्लान्, अनि उनीहरूको सिर्जनशीलता बढाउने गरी शिक्षकले कसरी पढाउलान्?
 
‘शिक्षकहरूले पढाएमात्र, सिकाएनन्,’ जिशिअ नेपाल भन्छन्, ‘त्यो नै हाम्रो शिक्षाको सबैभन्दा ठूलो चुनौती हो।’ 
- News from setopati

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक